कृष्णराज पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, पाँच नम्बर प्रदेश इन्चार्ज तथा कार्यालय सदस्य
० अहिले तपाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ५ नं. प्रदेशको इन्चार्ज हुनुहुन्छ, ५ नं. प्रदेशमा पार्टीको काम कसरी अगाडि बढिरहेको छ ?
–पार्टी एकतापछि हामीले ५ नं. प्रदेश समितिको दुईवटा बैठक बस्यौं । पहिलो बैठकले पार्टी एकीकरण, प्रदेश सदस्यहरुको कार्यक्षेत्र विभाजन ग¥यो । दोस्रो बैठकले जिल्लाहरुका प्रशिक्षणहरु र बैठकहरु ठेगान ग¥यो । यसरी दोस्रो बैठकका निर्णयहरु कार्यान्वयन भएका छन् । २,३ जिल्लामा वर्षादका कारणले बैठक बस्न सकिएन । अब हामी तत्काल तेस्रो बैठक बस्दैछौं । अबको बैठकले एकता महाधिवेशनको तयारीको लागि आवश्यक निर्णयहरु लिनेछ ।
२) ५ नं. प्रदेशमा त्यहाँको कम्युनिस्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा कसरी मूल्यांकन गर्नुहुन्छ ?
– यो प्रदेश नेपालको कम्युनिस्ट आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र हो । २०१० सालमा प्यूठानमा संचालन भएको किसान आन्दोलनदेखि २०३८ सालको पंचायती चुनाव बहिष्कार आन्दोलन त्यसमा खास गरेर रोल्पाको थवाङमा गरिएको बहिष्कार आन्दोलन विशेष उल्लेखनीय छ । २०५२ सालमा संचालित माओवादी जनयुद्ध र त्यसको विकास यी सबैको केन्द्र हालको ५ नं. प्रदेश हो । यसमा राप्ती र लुम्बिनी अंचलका जिल्लाहरु जोडिएका छन् ।
यहाँको कम्युनिस्ट आन्दोलनले २०१० सालदेखि नै एउटा उचाई हासिल गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको तुफानी केन्द्रको रुपमा परिचित गरायो । तर विडम्वना ! अहिले विगतलाई फर्केर हेर्दा यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन सकेन । आन्दोलनका एक थरी तत्वहरु लामो समयपछि दक्षिणपन्थी अवसरवादी दिशा समातेका र अर्का थरी तत्वहरु उग्रवामपन्थी गतिविधि गर्दै दक्षिणपन्थी संशोधनवादी दिशा समातेर संसदवाद, मिलेरावादमा पतन भएका छन् । र दुवै तत्वहरुले एकै साथ आन्दोलन र जनतालाई धोका दिएर विद्यमान संसदीय व्यवस्थाको पहरेदार बनेका छन् । दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थ हुँदै दक्षिणपन्थी अवसरवादमा पतन भएकाहरुसँग विद्रोह गर्दै आएका शक्तिहरुको बीचको यो पार्टी एकता हो । यसलाई क्रान्तिकारी दिशामा अगाडि बढाउने दायित्व हाम्रो काँधमा आएको छ । यहाँका जनताको त्याग र बलिदानलाई उच्च सम्मान गर्दै सही प्रकारले कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हाम्रो जिम्मेवारी हो ।
३) लुम्बिनी प्रदेशका समस्याहरु के के छन् ? त्यहाँको सामाजिक अवस्था र सामाजिक अन्तरविरोधको स्थिति के छ ?
–नेपालको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाभित्र ५ नं. प्रदेश पनि पर्दछ । यसरी यो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक प्रदेश हो । यहाँ जातीय,क्षेत्रीय अन्तरविरोध, शहर र ग्रामिण इलाकाहरुबीचको अन्तविरोध र समग्रमा वर्गीय अन्तरविरोध नै यहाँको अन्तरविरोधको सार हो । दलित जातिप्रति कथित उच्च जातिहरुबाट दमन उत्पीडन तिरस्कार घृणा र अपमान त छँदै थियो । संघीयता र जातीय राज्यको अवधारणा आएपछि एउटा जातिले अर्को जातिलाई घृणा गर्ने, तिरस्कार र अपमान गर्ने क्रम बढेर गयो । एउटा यस्तो समय आयो टोपी लगाएर मधेशी वस्तीमा जानै नसकिने । पहाडिया प्रतिको घृणा त्यसरी अभिव्यक्त भयो । यसरी वर्गीय अवधारणा भन्दा जातीय क्षेत्रीय अवधारणाले प्रश्रय पायो । अहिले जातीय विभेद बढेको छ । छुवाछूत प्रथा र जातीय विभेदको अन्त उच्च प्रकारको राजनीतिक चेतना र संगठनका साथै माक्र्सवादी लेनिनवादी चिन्तन र अवधारणाले मात्र हल गर्न सक्छ ।
४) तपाई बागलुङमा शिक्षण पेशा र राजनीति गर्दागर्दै नवलपरासी बसाई सर्नुभयो । तपाईले पहाडबाट बसाइसराई गर्दा र अहिलेको अवस्थामा राजनीतिक काम गर्न के फरक पाउनु हुन्छ ?
–म २०४२ साल मंसिर २२ गते छोराछोरी र श्रीमतिलाई लिएर बागलुङबाट नवलपरासीको सुनवल बसाई सरेको हुँ । त्यतिबेला सबै राजनीतिक दल र हामीहरुको पनि साझा दुश्मन राजा र उसको पंचायती व्यवस्था थियो । पंचायती व्यवस्था, त्यसको पुलिस प्रशासन र पंचहरुसँग संघर्ष गर्नुपर्दथ्यो । बागलुङमा पंचायत पंच र प्रशासन कमजोर र हामी बलिया थियौं । नवलपरासी झरेपछि ठिक उल्टो देखियो । पंचायत, पंच र प्रशासन बलियो । जनता एक दम कमजोर । नयाँ परिस्थितिमा नयाँ प्रकारले वर्गसंघर्ष चलाउँदै जाने काम शुरु गरियो । त्यतिबेला राजनीतिक पार्टी र तीनका संगठन प्रति जनताको विश्वास थियो । ०४६÷४७ को आन्दोलनले पंचायती व्यवस्था ढल्यो र संसदीय व्यवस्था स्थापना भयो । शुरुका दिनहरुमा संसदीय व्यवस्थाप्रति जनताको केही होला कि भन्ने आशा थियो । अहिले संसदवादी पार्टीहरुले शासनसत्तामा बसेर राष्ट्रघात, जनघात, भ्रष्टाचार, अनियमितता जस्ता जनविरोधी जुन हर्कतहरु गरिरहेका छन् त्यसले राजनीतिक दलहरुप्रतिको जनताको विश्वास पूरै धुलिसात भएको छ । हामीले बहुदलीय व्यवस्था आएपछि यो प्रतिक्रियावादीहरुकै व्यवस्था हो । यसले जनताका समस्या हल गर्न सक्दैन । निरंकुश पंचायती व्यवस्था भन्दा एक कदम प्रगतिशील भए पनि यो जनताको व्यवस्था होइन । जनताको जनवादी व्यवस्था अर्थात् नयाँ जनवादी व्यवस्था, समाजवाद र साम्यवादको लागि निरन्तर संघर्ष गर्दै जानु पर्दछ भनेका थियौं । तर त्यसको प्रचारात्मक आन्दोलनलाई तीब्र पार्ने काममा लागेको भए अहिले हामी संसदीय व्यवस्थाको बैकल्पिक शक्तिको रुपमा स्थापित हुने थियौं । तत्कालीन नेकपा (मसाल) को पार्टी नेतृत्वले पार्टीलाई संसदवादमा पतन गराएपछि हामीले त्यहाँ विद्रोह गर्नु प¥यो । अहिले जनतामा व्यवस्था प्रति तीव्र घृणा र रोष छ । साधारणा जनताले सबै पार्टीलाई एउटै डालोमा राखेर हेर्छन । संसदवादी दल र हाम्रो पार्टीको राजनीतिको बीचमा हामीले अन्तर देखाउन सक्नु परेको छ । विचार र राजनीति बुझेपछि आफ्नै मुक्तिको लागि जनता अगाडि बढ्छ । सबै संसदवादमा पतन भएसँगै हामीले व्यवस्थामा आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पुनर्गठन, पुनर्एकीकरण हुँदै पुनर्निर्माण तर्फ लागेका छांै ।
० तपाईसँग तत्कालिन मसाल र नेकपा एकताकेन्द्र मसालमा केन्द्रीय कार्यालय संचालनको अनुभव छ । कार्यालयलाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने मुख्य कुराहरु के के हुन् ?
–म २०५६ सालको माघ महिनादेखि नेकपा (मसाल) को केन्द्रीय कार्यालयमा बसें र २०५९ मा (एकताकेन्द्र–मसाल) बनेपछि पनि पूरै समय केन्द्रीय कार्यालयमा रहेर काम गरें । यसमा खास गरेर पार्टीका निर्णयहरुको कार्यान्वयन, अनुगमन, निर्देशन, रेकर्डहरुको व्यवस्थापनका साथै आर्थिक व्यवस्थापन र लेखा प्रणाली व्यवस्थित गर्ने कुरा आउँछ । यसमा कुनै विभागीय सोचाईबाट माथि उठेर समग्र पार्टी प्रणालीलाई व्यवस्थित गर्ने कुरा आउँछ । पार्टीमा पार्टी बनाउने मात्र कुरा आउँदैनन् । आफ्नो स्वार्थ अनुकूल पार्टीलाई घुमाउनेहरु पनि आउँछन् । पार्टी निर्णयहरुलाई अपाm्नो स्वार्थ अनुकूल बंग्याउने पनि हुन्छन् । हाम्रो जस्तो निम्न पुँजीवादी समाजमा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर विचार गर्ने प्रवृत्ति बढी हुन्छ । यसमा मुख्यतः आर्थिक प्रश्नमा विभिन्न ढंगले चलखेल गर्ने जस्तो आम्दानी लुकाउने छली गर्ने वनावटी र कृत्रिम प्रकारले खर्च देखाउने, कम खर्चले काम चलाउन सकिने ठाउँमा बढी खर्च गरेर पार्टीलाई समस्यामा पार्ने जस्ता छलकपटपूर्ण कामहरु पनि देखा पर्छन् । ती सबैलाई नियम बनाएर नियम र विधि सम्मत ढंगबाट कडाईका साथ काम गर्नुपर्ने हुन्छ । मुख्य कुरा हरहिसावमा पारदर्शिता हो । हिसाव पारदर्शी भएन भने गढबढी पैदा हुन्छ । केहीले नाजायज फाइदा उठाउँछन् । ज्यान फालेर पार्टीमा काम गर्नेहरु पछाडि पर्छन् । कार्यालयमा बसेर जवाफदेहिताका साथ सन्तुलिन र पारदर्शिताका साथ काम गरेपछि पार्टीलाई व्यवस्थित गर्न सकिन्छ ।
६) तपाईसँग प्रकाशन व्यवस्थापनको पनि अनुभव छ । अहिलेको अवस्थामा प्रकाशनलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?
–यसमा पनि पहिलो कुरा प्रकाशनको स्तरियता हो । खोज र अनुसन्धानमूलक समाचार, लेखका साथै सत्यतथ्य समाचारहरु नै आउँछन् । दोस्रो प्रकाशन विवरण प्रणाली व्यवस्थित गर्नुपर्ने हुन्छ । तेस्रो संवाददाताहरुको टीम हो । चौथो, आर्थिक प्रणाली हो । आजविचारको खडेरी पर्दै गएको बेला विचार प्रधान अथवा मिसन पत्रकारिताको संचालन एकदम कठिन काम हो तर नगरी नहुने काम पनि हो । यसका लागि एउटा टीम अहोरात्र खट्नुपर्दछ । यसमा कर्मचारीहरु र त्यसमा काम गर्नेहरुलाई खर्चको व्यवस्था गर्ने कुरा निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रीतबद्धताका साथ काम गरेपछि व्यवस्थित गर्न सकिन्छ । अरुले गरे मैले पनि गर्छु अरुले नगरे मैले पनि गर्दिन भन्ने सोचाईबाट माथि उठेर कसैले नगरे पनि मैले गरि छाड्छु भन्ने दृढइच्छा शक्ति भएका कार्यकर्ताले नै यी तमाम समस्यालाई पार लगाउन सक्छन् ।
७) भर्खरै सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट कार्तिकमा महाधिवेशन गर्ने निर्णयलाई बदल्नु भएछ । किन त्यसो गर्नु परेको हो ?
–हामीले २०८१ साल वैशाख १८ गते पार्टी एकता गरेका हौं । एकतापछि तलैसम्म पार्टी एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, महाधिवेशनमा पस्तुत गरिने दस्तावेजहरुको तयारी, जिल्ला सम्मेलनहरु फोरम संचालन र आर्थिक व्यवस्थापनको काम पूरा नगरिकन महाधिवेशनको तयारी पूरा हुँदैन । यसैमा चाड पर्वहरु पर्छन् तीनले पनि काममा केही अवरोध खडा गर्छन् । यी सबै कारणले तयारीको लागि समय पुग्दैन, केही समय पर सार्नुपर्छ भन्ने महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकले निर्णय ग¥यो त्यसै अनुसार २०८१ साल मंसिर १३ गतेदेखि २२ गतेसम्म एकता महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
८) तपाईहरुले क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने बताउनु भएको छ । तर तपाईकै पार्टीका साथीहरुले पार्टी परित्याग गर्नुभयो त ?
– नेपालको कम्युनिस्ट आन्दोलन एकता र फुटको बीचबाट अगाडि बढ्दै आएको छ । कम्युनिस्ट पार्टीमा एकता फुटलाई सापेक्ष रुपमा लिइन्छ । कम्युनिस्ट पार्टीमा सिद्धान्त, विचार र राजनैतिक कार्यदिशा समानता भएपछि एकता गर्न सकिन्छ । एकता गरेपछि पनि तात्कालिक राजनीतिक विषयमा मतभेदहरु हुन्छन् । मतभेदहरुलाई मैत्रीपूर्ण ढंगले छलफल गदै जाने र एकरुप साझ्दारी बनाउने कोशिश गरिन्छ । रुपान्तरण र जनवादी केन्द्रीयताको विधिबाट पनि हल गरिन्छ ।
अहिले बहुमत पक्षबाट आएका केही साथीहरुले पार्टी परित्यषग गर्नुभएको छ । उहाँहरुले पार्टी एकतताको समयमा नयाँ जनवाद नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक ससमाजवादमा जाने नीतिलाई स्वीकार गर्नुभएको हो । त्यसैले त्यसप्रति इमान्दार हुनुपर्दथ्यो । दोस्रो, उहाँहरुले खास गरेर धर्मेन्द्र वास्तोलाले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भन्ने प्रकारको दस्तावेज पनि पेश गर्नुभएको थियो । कमसेकम आफूले पेश गरेको दस्तावेजको नैतिक जिम्मेवारी लिएर महाधिवेशनको सामना गर्नुपर्दथ्यो । यसरी बीचैमा आफ्नो दस्तावेजलाई अलपत्र छाडेर पार्टीबाट बहिर्गमित हुनुभएको छ । त्यो राम्रो भएन । अरु कतिपय साथीहरु पदप्रतिष्ठालाई मूख्य बनाएर निस्कनुभएको छ । त्यो उहाँहरुको स्तरको कुरा हो ।
हेर्नुहोस् ! नेपालको कम्युनिष्ट आन्दोलनमा मूलतः दुईवटा धारहरु छन् । एउटा संसदवादी धार–संसदीय व्यवस्थाबाट सबै गर्न सकिन्छ भन्ने मान्यता राख्नेहरु त्यसमा एमाले, माओवादी केन्द्र, मसाल, नेमकिपा आदि पर्दछन् । यी मध्ये कसैले दीर्घकालीन रुपमा र कसैले तात्कालिक रुपमा भन्ने भ्रम दिएर संसदीय व्यवस्थालाई मलजल गरिरहेका छन् । अर्को धार भनेको संसदीय प्रणालीबाट होइन ।यसको अन्त गर्दै नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद, साम्यवादमा जाने भन्ने मान्यता राख्ने र त्यसका लागि विद्यमान व्यवस्था, त्यसले पैदा गरेका विकृति विसंगतिलाई उठाएर आन्दोलन संगठित गर्दै नयाँ जनवादी व्यवस्थाको आधार तयार गर्न आन्दोलनरत रहने । क्रान्तिकारी कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने कार्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लागिरहेको छ । अब हामीले विद्यमान व्यवस्थाको अन्त गरेर नयाँ जनवादमा जाने नीतिलाई मान्नेहरु हामीतिर आउँछन् हैन संसदीय व्यवस्थालाई मान्ने अर्को कित्तामा उभिन्छन् । यसरी नै आन्दोलन ध्र्रुवीकृत हुँदै जान्छ ।
९) पार्टी एकता गरे पनि तपाईहरुको बीचमा मतभेदहरु छन् । मतभेदलाई कसरी हल गर्नुहुन्छ ?
–पथप्रदर्शनमा पार्टीभित्र जनवादी केन्द्रियताको पद्धतिलाई अबलम्वन गरेर नेपाली समाजको अन्तरविरोधको ठिक ढंगले पहिचान गरेर नै अगाडि बढ्दछ । अहिलेसम्मको नेपालको कम्युनिस्ट आन्दोलनलाई २००६ सालदेखि अहिलेसम्मको आर्थिक, सामाजिक, राजनीतिक र संगठनात्मक गतिविधिको परिप्रेक्ष्यमा अध्ययन गरिनुपर्छ र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले नेपालमा पारेको प्रभावमाथि पनि विचार गर्नुपर्छ । नेपालका कम्युनिस्ट पार्टीहरुले दक्षिणपन्थी संशोधनवादी बाटो पक्रेर कार्यकर्ताको एउटा ठूलो हिस्साले त्यसलाई पछ्याउँदैछ । हामीले कम्युनिस्ट पार्टीको पुर्नगठन, पुनर्निमाणको अभियानमा जुटेका छौं । माथि नै भनी सकियो दक्षिणपन्थी संशोधनवादलाई वैचारिक राजनीतिक रुपले परास्त गर्दै वर्गसंघर्षको विकास गरेर अगाडि बढ्नुपर्दछ । यसरी क्रान्तिकारी पार्टी निर्माणका लाग्दा कैयौं गलत प्रवृत्ति र विचारहरु पार्टीभित्र छिरेर फेरि पनि तहसनहस पार्न सक्छन् । संगठनात्मक अनुशासन र सशक्त वैचारिक लडाईले नै अगाडि बढाउँछ ।
१०) नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन सरकार आएको छ । यो सरकारको गठनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–संसदको ठूलो दल र दोस्रो ठूला दल संसदीय चुनावका मुख्य प्रतिद्वन्द्वी मिलेर सरकार बनाएका छन् । यो गठबन्धन नै पश्चिमा संसदीय प्रणालीको विपरीत छ । संसदीय प्रणाली मान्नेहरुले विचार गर्ने कुरा हो । नेपालको शासनसत्ता भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र देशी विदेशी सबै दलाल तथा नोकरशाही तत्वहरुले चलाइरहेका छन् । आफ्नोबारे निर्णय लिने क्षमता यहाँका संसदीय व्यवस्था मान्नेहरुमा देखिएन । यहाँ अस्थिरता कायम गर्दै जाने र यहाँका राजनीतिक दलहरुलाई खेलाई खेलाई सिध्याएर आफ्नो चंगुलमा फसाउने डिजाइनका साथ यो भएको छ । नेपाल मानव श्रमशक्ति निकासी गर्ने देशमा परिणत भएको छ । देशभित्र बेरोजगारी सिर्जना गरेर सबै क्षेत्रमा परनिर्भर बनाउने डिजाइन साथ यो भएको छ । यहाँका कथित ठूला दलहरु भ्रष्टाचार र अनियमिततालाई ढाकछोप गर्न संविधानमा संशोधनको सर्तमा एक ठाउँमा भएको पनि संचारमाध्यममा आएको छ ।
१२) अन्तमा हाँक साप्ताहिक मार्फत् थप केही भन्नु छ कि ?
–अत्यन्त कठिन परिस्थितिमा पनि हाँक साप्ताहिकको प्रकाशन तथा वितरणमा निरन्तरता दिनुभएको छ । धेरै साप्ताहिक पत्रपत्रिकाहरु बन्द भैसके । यो कठिन यात्रामा अनवरत रुपमा लाग्नु भएका हाँक साप्ताहिकको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

