–थमन थापा
मेरो जन्म २०४० वैशाख १५ गते नेपालको पुर्तिघाट गाउपन्चायतको फुर्सेखानी (हाल काली गण्डकी गाउँपालिका ४ ,मा भएको थियो । म सानै उमेर देखि
रक्तिमको गीत सुनेर संगठन प्रति आकर्षित भएको हुँ । गाउँमा रक्तिमको गीतमा गाउने नाच्ने माहौल थियो ।सन् २००३ मा भारतको यु।पि।को अलिगढमा आठ महिना कोठीमा काम गरेको थिएँ । आमाको बुबा अर्थात मेरो माइतको बाजेले त्यहाँ काम लगाइदिनु भएको थियो । तलब पनि साह्रै थोरै भयो जम्मा तीन सय भारू। घर फर्किएर आएँ।
घर फर्किएर बसेको थिएँ । प्रकाश दाइ सित फोनमा कुरा भइरहन्थ्यो । त्यत्ति बेला प्रकाश दाइ दिल्लीमा हुनुहुन्थ्यो र प्रकाश दाइले दिल्ली बोलाउनु भयो । दिल्ली गएँ । नोकरीमा हाम्रै संगठनका कपिलवस्तुका शङ्कर पराजुलीले टेक्नो अटो कम्पनीमा जागीर लगाइदिनु भयो । हिरो होण्डा मोटरसाइकलको रबर आइटमका सामग्री त्यहाँ बन्दथे । ४ वर्ष मैले त्यहाँ काम गरे । म घर फर्के पछि प्रकाश दाइले साथी चेतमान सित मलाई कुवेत पठाउने सल्लाह गर्नु भएको रहेछ । फेरि म दिल्ली गएँ र उहाँहरूकै सल्लाहमा चेतमानको भाइले काम गर्ने देश कुबेत गए । कुबेत गएर जम्मा तीन महिना बसेँ। फोक्सोमा दाग छ भनेर फिर्ता गरिदियो । निमोनिया भएको सबैको दाग देखिने रहेछ । तीन महिनामा दिल्ली फर्किएँ। ८ महिन चौकैदारी गरें। शङ्कर जीले मलाई फेरि साही एक्स्पोर्ट कम्पनीमा जागीर लगाइदिनु भयो ।त्यो कपडा कम्पनी थियो । कपडा प्याकिङ गरेँ । ११ साल काम गरे । सुरुमा ओटी लाग्थ्यो । ओटी लाग्न छाडे पछि यहाँ काम गर्न छाडे ।
अहिले अर्कै ठाउँमा फरिदावादमा काम गर्छु ।अहिले काम गर्नेकम्पनीको नाम ओजन बायी टेक भो । एक हप्ता नाइट एकहप्ता डे ड्युटी गर्नु पर्दछ । असिस्तेन्ट अपरेटर भएर काम गरेको छु ।तमिल नाडुबाट निमको दाना खरिद गरेर ल्याएर त्यसलाई पिसेर महङ्गो तेल र पाउडर बनाउँछ । समय मिलाएर संगठनमा पनि काम गर्दछु संगठनमा लाग्न मलाई गाउँ देखिकै छाप थियो । संगठनमा काम गर्नाले आफैलाई पनि फाइदा छ ।दुख परेको बेला आफूलाई अरुले मद्दत गर्दछन र अरूलाई दुख पर्दा आफूले पनि मद्दत गर्न पाइन्छ । लौ न साथी हो अप्ठ्यारो पर्यो भनेर भन्न सजिलो हुन्छ । सानातिना जागीर लगाइदिने वा जागीर पाउन पनि संगठनका साथीको सहयोगले सजिलो हुन्छ ।
प्रवाशमा आए पछि मैले २००४ मा सगठनको सदस्यता लिएको थिएँ । अहिले म अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सदस्य छु । श्रीमतीले एक्सपर्टमा काम गर्छिन । सन्तानमा दुई छोरा १३ वर्षको पृन्स र दस वर्षको छोरा प्रबिण छन् ।प्रवाशमा नेपालीहरूका समस्या धेरै छन् । भारतमा नेपालीहरूलाई आधार कार्डकै समस्या छ । अहिले आधारकार्ड बनाउन मुस्किल छ । आधार कार्ड नभइ साना तिना काम गर्न र व्यवहार चलाउन पाइँदैन ।
संगठनमा काम गर्दाका केही भुल्नै नसकिने रमाईला,खुसी र दुखका केही घटनाछन् । म मसालमा छँदा २०६६ सालमा संघीयता विरोधी कार्यक्रममा दिल्लीबाट डाइरेक्ट काठमाण्डौ गएको थिएँ । विभिन्न ठाउँमा बस्ने क्याम्प थिए । म भक्तपुर पार्टी स्कूलमा बसेको थिएँ । प्रतिगमनका विरुद्धमा दिल्लीको जन्तरमन्तरमा विशाल जुलुस भएकोथियो । हामीले फरिदावादबाट गाडी बुक गरेर सभामा गएका थियौँ । नेपालमा रोजगारी नपाएकाले विदेश बस्नु परेको छ । मेरो भाइ हरीले गाउँमा शिक्षक भएर बसेका छन । हामी पनि त्यस्तै गाउँमा रोजगारी पाएर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ । देश छाडेर प्रदेशिन मन कसलाई हुन्छ र ? बाध्यताले प्रदेशिनु पर्दछ । विदेशमा अर्काको अपमान सहनु पर्दछ । आगामी दिनमा कम्युनिस्ट विचार नटुटोस भन्ने छ । पढ्ने धोको साह्रै थियो ।पढ्न पाइएन । कमसेकम मेरा सन्तानहरूले राम्रो सँग पढुन र मैले जस्तै अपमान सहन नपरोस भन्ने लाग्छ ।

