-दिल साहनी
नेपालको बान्की मादलको जस्तै छ, यसैले जब मादल बज्छ मलाई नेपाल बजे जस्तै लाग्दछ । शान्तिको अवसरमा श्रृंगार रसदेखि देशलाई आपत्ति आइपरेको बेलामा समेत वीर रसमा मादल बजेको ताल तालमा वीरहरु अघि बढ्दछन्, प्रत्येक क्षेत्रमा । म चाहन्छु मादल बजिरहोस्, मादल बोलिरहोस्, अनि हामीमा जागृति आओस् । ‘मादल’ नामको पत्रिकालाई पनि मैले यस्तै चैतन्य दिने साधन सम्झेको छु, यो यस्तै होस् ।
(बालकृष्ण सम)
२०२७ माघ ३ गते
मैले अन्य लेखमा पनि उल्लेख गरेको छु मेरा मित्र प्रेमलाल जोशी र उहाँकी सासु आमासित कलैया नजिकैको एउटा गाउँ हुँदै हामीहरु पहिलोपल्ट काठमाडौं पुगेका थियौं । काठमाडौंमा हामी मारवाडी सेवा सदनमा बसेका थियौं । आसाम डोग्बोईबाट काठमाडौं आएका कवि हरिभक्त कटुवाल त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा काम गर्दथे । उनलाई मैले भेट्न भन्दा पहिले नै उनले म काठमाडौं आएको थाहा पाएर मारवाडी सेवा सदनमा फोन गरेर भोलि विहान उनलाई भेट्ने आग्रह गरेका थिए । उनले नै मलाई त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा विभिन्न पद र जिम्मेवारीमा रहेका साहित्यिक बौद्धिक व्यक्तित्वहरुसित भेट र परिचय गराइदिएका थिए । त्यतिबेला मैले प्रज्ञा प्रतिष्ठानमा केदारमान व्यथित, माधवप्रसाद घिमिरे, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङेदेल, सत्यमोहन जोशी, जगदीश घिमिरे आदिलाई भेटेको थिएँ ।
कथाकार भवानी भिक्षु र बालकृष्ण समलाई भने मैले आफ्नै पहलमा भेटेको थिएँ । यहाँ मैले चर्चा गर्न चाहेको बालकृष्ण समसितको भेट सम्बन्धमा नै हो ।
सम्भवतः मैले बालकृष्ण समको सर्वप्रथम पढेको कविता हो ‘इच्छा’ । यो कविता मैले नेपालमा छँदा नै पढेको थिएँ । बालकृष्ण समका नाटक “मुकुन्द इन्दिरा” र “प्रल्हाद” मैले सिलङमा कलेजमा पि.यु. र वि.ए. मा नेपाली विषयको रुपमा अध्ययन गरेको थिएँ । बालकृष्ण समको ‘चिसो चुल्हो’ महाकाव्य र ‘आगो र पानी’ नाटक लेखेर प्रगतिवादी चिन्तन राख्ने व्यक्तिबीचमा पनि लोकप्रिय हुन सकेका थिए । त्यतिबेला नेपाली साहित्यका पाँच दिग्गजका रुपमा भानुभक्त आचार्य लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा र माधव प्रसाद घिमिरेलाई चिनिने गरिएको थियो । लक्ष्मीप्रसाद देवकोटाको नाम मैले उनको जीवनकालमा सुनेको जस्तो लाग्दैन । सम्भवतः लक्ष्मीप्रसाद देवकोटाको मैले पहिले पढेको कविता ‘यात्री’ हो । यो कविता मैले कण्ठ नै पारेको थिएँ । त्यतिबेला म कवि लक्ष्मीप्रसाद देवकोटाको नामसित भन्दा पनि उनको कविता ‘यात्री’सित परिचित थिएँ । मलाई यो कविता निकै मन परेको पनि थियो । लेखनाथ पौड्यालको म काठमाडौं पुग्नु भन्दा पहिले नै मृत्यु भैसकेको हुनाले उनीहरुलाई मैले भेट्न सक्ने कुरा भएन । म पहिलोपल्ट १९७१ मा काठमाडौंमा जाँदा जसरी पनि बालकृष्ण समलाई भेट्ने मनस्थितिमा थिएँ ।
त्यतिबेला म एक्लै काठमाडौं नगएको हुनाले मैले एक्लैले बालकृष्ण समलाई भेट्ने कुरा भएन । यसैले बालकृष्ण समलाई भेट्न मसित मेरो मित्र प्रेमलाल जोशी र उनकी सासु आमा नै साथमा थिइन् । हामी तिनै जना बालकृष्ण समलाई भेट्न उनी बस्ने ठाउँ ज्ञानेश्वर सोध्दै खोज्दै त्यहाँ पुगेका थियौं । अहिले ज्ञानेश्वरमा बालकृष्ण समको घर कहाँ छ मलाई थाहा छैन । तर पनि अझ पनि मलाई त्यतिबेला देखेको बालकृष्ण समको निवासको झल्को स्मरण हुन्छ ।त्यसको धुमिल चित्र मेरो सामुन्ने उपस्थित हुन्छ । बालकृष्ण समको घर गेटदेखि निकै पर थियो । मलाई लाग्दछ हामीलाई परै गेटमा देखेपछि शायद बालकृष्ण समलाई हामी उनलाई भेट्न आएका व्यक्ति जस्तो नलागी कुनै मान्छे कसैको घर सोधखोज गर्न त्यहाँ उभिएको जस्तो लाग्यो होला । अथवा विना मेसो उनका घरतिर आउन थालेका काम न काजका मान्छे जस्तो पनि लागेको हुन सक्दछ । उनले परैबाट चर्को स्वरमा हामीलाई तपाईहरु को हो ? के खोजिरहेको हुनुहुनछ ? कता जान खोजिरहनु भएको हो ? भन्ने जस्तो भाषा प्रयोग गरे । त्यो भाषा पक्कै पनि कर्णप्रिय थिएन । भनौं हामीलाई कर्णप्रिय जस्तो लागेन । हुन त उनले टाढैबाट बोल्न परेको हुनाले चर्को आवाज निकालेका पनि हुन सक्दछन् । उनको बोली हामीसम्म पुगोस् भनेर सकी नसकी चर्को स्वरमा बोलेका पनि हुन सक्दछन् । तर हामी बालकृष्ण समलाई नै भेट्न सोध्दै खोज्दै त्यहाँ पुगेको हुनाले हामीले उनको चर्को आवाजलाई कुनै महत्व दिएनौं । उसरी हामीसित चर्को स्वरमा बोल्ने मान्छे बालकृष्ण सम नभएर अरु कोही पनि त हुन सक्दथ्यो ।
जेहोस्, हामी बालकृष्ण समलाई भेट्न गएका थियौं । उनको घर सोधखोज गरी निश्चित भएर नै गएका थियौं । उनको घर पहिल्याएर नै गएका थियौं । यसैले हामी बालकृष्ण समलाई भेट्न आएका हौं भन्दै उनको घरतिर लम्कियौं । चर्को आवाजमा हामीसित कुरा गर्ने व्यक्ति अरु कोही नभएर बालकृष्ण सम नै थिए भन्ने कुरा हामीलाई पक्कापक्की भयो । बालकृष्ण समलाई व्यक्तिगत रुपमा पहिले भेटेको नभए पनि मैले उनको फोटो कैयौं पुस्तक र पत्रपत्रिकामा देखिसकेको थिएँ । म उनको अनुहारसित राम्ररी नै परिचित थिएँ । मेरा मित्र प्रेमलाल जोशी (बञ्जाडे) पनि बालकृष्ण समको फोटोसित निश्चित रुपमा परिचित थिए होला । उनी शिलाङमा धानखेतीमा स्थित नेपाली लाइब्रेरीका लाइबेरियन पनि रहेका थिए ।
हामीलाई गेटमा देखेर चर्को आवाजमा बोल्ने बालकृष्ण सम आफ्नो घरको बरण्डामा उभिएका थिए । भनौं पिंढीमा उभिएका थिए । मैले उनलाई भेट्नासाथ आफ्नो परिचय दिंदै खडा खडा भने–लक्ष्मीप्रसाद देवकोटालाई भेट्न पाइएन । लेखनाथ पौड्याललाई भेट्न पाइएन । तपाइलाई त भेट्नै प¥यो भनेर आएको हुँ । उनले फ्याट्ट मेरो अभिव्यक्तिको प्रतिक्रियामा भने–‘म पनि अब बुढो भैसकेको छु ।’ बालकृष्ण समले यस्तो प्रतिक्रिया दिंदा मलाई मैले कुरा सही तरिकाले राखिन जस्तो ठाने । फेरि मैले बालकृष्ण समलाई गलत तरिकाले कुरा राखेको भए पनि उनले म पनि अब बढें । भैसके भन्ने खालको अभिव्यक्ति दिएको भए पनि त हुन्थ्यो । तर पनि मैेले भन्न खोजेको कुरो सही थियो । बालकृष्ण समले प्रतिक्रियामा व्यक्त गरेका कुरो पनि सही नै थियो । अभिव्यक्तिमा कमी कमजोरी रहे भए पनि तथ्यमा कुनै विवाद थिएन ।
हामी भेट्न आएका व्यक्तिलाई बालकृष्ण समले तुरुन्त सामुन्नेको बैठक कोठामा पु¥याए । हामी तिनै जना बालकृष्ण समको बैठक कोठामा गएर बस्यौं । म त्यतिबेला हामीले शिलाङमा स्थापना गरेको नेपाली साहित्य परिषद्को मूल सचिव थिएँ । अध्यक्ष थिए प्रा.गोपीनारायण प्रधान । म नेपाली साहित्य परिषद्ले प्रकाशन गर्ने पत्रिकाको प्रारम्भको सम्पादक थिएँ । प्रधान सम्पादक प्रा. गोपीनारायण प्रधान थिए । मैले बालकृष्ण समलाई भेट्ने प्रमुख कारण उनीबाट ‘मादल’ साहित्यिक पत्रिकाको लागि शुभकामना लिनु भने अवश्य पनि थिएन । तर उनलाई भेट्न पाएको अवस्थामा भने ‘मादल’ पत्रिकाको लागि शुभकामनाको अपेक्षा गर्नु आवश्यक र उचित कुरा नै हुन जान्थ्यो । यो स्वाभाविक कुरा पनि थियो । यसैले मैले शिलाङबाट नेपाली साहित्य परिषद्को तर्फबाट ‘मादल’ साहित्यिक पत्रिका प्रकाशित गर्न थालेको र त्यसको निम्ति हामीले उनीबाट शुभकामनाका दुई शब्दको अपेक्षा गरेको कुरा बताए । बालकृष्ण समले मेरो अनुरोधलाई सहर्ष स्वीकार गर्दै हाम्रै सामुन्ने एउटा चिर्कटोमा दुई शब्द कोरेर दिए । एक दिन अघि हरिभक्त कटुवालले मेरै सामुन्ने एउटा चिर्कटोमा साथीलाई कोरेर दिए जस्तै । एउटा खुशी र गर्वको कुरा के छ भने मेरा कति बहुमूल्य वस्तुहरु खासगरी पुस्तक र पत्रपत्रिकाहरु विभिन्न ठाउँमा विविध कारणले बेपत्ता भए पनि हरिभक्त कटुवाल र बालकृष्ण समले ‘मादल’ को लागि लेखेर दिएको कागजको चिर्कटो मसित अझै सुरक्षित रहेका छन् । यद्यपि उनीहरुले मलाई लेखेर दिएका चिर्कटाका कुरा ‘मादल’ पत्रिकाका प्रकाशित भैसकेका छन् । हुन त कसैका हस्ताक्षरको कति महत्व हुने रहेछ भन्ने कुरा म आफैलाई थाहा थिएन । कुरा के भने मैले साप्ताहिक ‘समकालीन’ मा हरिभक्त कटुवालले मलाई लेखेर दिएको ‘साथीलाई’ शीर्षकको चिर्कटो अझै मसित सुरक्षित छ भन्ने कुरा उल्लेख गर्दै एउटा लेख लेखेर प्रकाशित गरेको थिएँ । मेरो साप्ताहिक समकालीनमा प्रकाशित लेख पढेर हरिभक्त कटुवालको बहिनी रोएकी रहिछन् र त्यो चिर्कटो हेर्न चाहिछन् । यो कुरा जनाउँदै गोरखापत्रमा कार्यरत कार्टुनिष्ट बलराम थापाले मलाई फोन गरेर बताएका थिए । साथै त्यो चिर्कटोको फोटोकपी पठाइदिन अनुरोध समेत गरेका थिए । मैले तुरुन्त फोटोकपी गरेर बलराम थापालाई गोरखापत्रको ठेगानामा पठाइदिएको थिएँ । शिलाङका बलराम थापा, हरिभक्त कटुवालका बहिनी ज्वाइँ थिए ।
बालकृष्ण समसित मेरो लामो कुराकानी भयो । त्यतिबेला मेरो र बालकृष्ण समबीच के के कुराकानी भए ती सब म अहिले सम्झिन सक्दिन । तर उनले हामीबीच कुराकानी हुँदा मलाई नेपाली हिन्दु संस्कृति र भारतीय हिन्दु संस्कृति सम्बन्धमा जे कुरा बताए त्यो म कहिले बिर्सन सक्दिन होला । बिर्सिन सकिने कुरा पनि थिएन त्यो । मलाई लाग्दछ उनले भारतीय संस्कृति र नेपाली संस्कृतिका सम्बन्धमा जुन कुरा बताए त्यो नै हामीबीच भएको कुराकानीको केन्द्र विन्दु थियो । उनको अभिव्यक्तिले म बालकृष्ण समको नेपाली संस्कृति र भारतीय संस्कृतिका सम्बन्धमा रहेको अवधारणा मात्र बुझ्न होइन कि उनको हाम्रो नेपाली संस्कृति वा राष्ट्रियता सम्बन्धमा सचेतताप्रति पनि अवगत हुन सके । उनका प्रायः सबै विचार मलाई सही र उचित लागे । उनले नेपाली संस्कृति र भारतीय संस्कृति सम्बन्धमा फैलाएको भ्रमलाई चिर्दै भनेका थिए –भारतीयहरु हामी नेपालीहरुको छुट्टै संस्कृति, परम्परा र पहिचान छ भन्ने कुरा ओझेलमा पार्न खोज्दछन् । भारतीय र हामी नेपालीहरुबीच प्रशस्त मात्रामा फरक छ भन्ने कुरा स्वीकार गर्दैनन् । उनीहरु हामीलाई भारतीय संस्कृति र परम्पराको एउटा अंग हो भन्ने ठान्दछन्, त्यसैको एउटा अंश ठान्दछन् । उनीहरु हामीलाई भारतीय संस्कृति र परम्पराभित्र हेर्न, चिन्न र प्रस्तुत गर्न खोज्दछन् । उनीहरु भारतीय हिन्दु र हामी नेपाली हिन्दुबीचमा कुनै अन्तर छैन भन्ने जस्तो भ्रामक विचार प्रचार गर्दछन् । हामीले यस कुराको खण्डन गर्न आवश्यक छ । हामीले यस कुरालाई अस्वीकार गर्नु आवश्यक छ । हामी नेपालीहरुको छुट्टै भूगोल, इतिहास पृष्ठभूमि र परिवेश छ । हाम्रो धार्मिक, सामाजिक, राजनैतिक, आर्थिक जीवन फरक छ । हाम्रो जातीय संरचना छुट्टै छ । हाम्रो रीतिथिति प्रचलन फरक छ । हाम्रा चाडपर्व फरक छन् । हरेक दृष्टिकोणले हामी नेपाली भारतीयहरुभन्दा फरक छौं । हामी नेपाली भिन्न अस्तित्व र पहिचान भएका जाति हौं ।
खुदै भारतीयहरुले भारतलाई विविधतामा एकता भएको देशको रुपमा बुझ्दछन् । यसको अर्थ यही हुन्छ भारतमा पनि एउटै भाषा, धर्म, संस्कृति, रीतिथिति, परम्परा र रीतिरिवाज छैन । एउटै जातीय संरचना छैन । एउटै आर्थिक, राजनैतिक, सामाजिक जीवन छैन । नेपाल त छुट्टै इतिहास, भूगोल, धर्म, परम्परा, संस्कृति, रीतिरिवाज, चाडपर्व, जातीय संरचजना आदि बोकेको एउटा स्वतन्त्र देश हो । निश्चित रुपमा नेपाली धर्म स.स्कृतिमा भारतको प्रभाव परेको होला । चीनको प्रभाव पनि परेको होला । पश्चिमीमा मुलुकको प्रभाव पनि परेको होला । प्रभाव पर्नु एउटा कुरा हो । कति कुरामा केही समानता हुनु पनि स्वाभाविक कुरा हो । तर जसरी नेपाली संस्कृति र परम्परालाई भारतीय संस्कृति भन्न सक्दैनौं त्यसरी नै भारतीय संस्कृतिलाई हामी नेपाली संस्कृति भनन सक्दैनौं । यसैले मलाई बालकृष्ण समले मुख्यतः भारतीय संस्कृति र नेपाली संस्कृति एउटै होइन भन्ने कुरा शत प्रतिशत सही लागेको थियो ।
बालकृष्ण समले भने जस्तै भारतीयहरुले खास गरी त्यहाँका शासकवर्गले नेपाली संस्कृति भारतीय संस्कृति एकै हो भन्ने जस्तो दुष्प्रचार गरिरहेका छन् त्यसरी नै यहाँका कति अन्ध परम्परावादी तत्वहरुले पनि भारत र नेपालको धर्म संस्कृति र परम्परा एउटै भन्ने जस्ता घातक कुरा प्रचार गर्दछन् । निश्चित रुपमा यो उनीहरुको दासत्व मनोवृत्तिको अभिव्यक्ति हो । यस्तो भ्रामक विचारको हामीले कडा शब्दमा प्रतिवाद गर्न आवश्यक छ । निश्चित रुपमा हामी नेपाली भएको हाम्रो छुट्टै भाषा, साहित्य, संस्कृति र परम्परा भएर हो । हाम्रो नेपाली संस्कृतिको भूगोल हिमाल, पहाड र तराई हो । हामी नेपाली भारतीय परम्परा र संस्कृतिमा होइन कि नेपाली परम्परा र संस्कृतिमा बाँच्दछौं । हामी संस्कृतिमा पनि विविधतामा एकता निहित छ । मलाई लाग्दछ नेपाली राष्ट्रियता झल्काउने खालको नेपाली संस्कृति र पहिचान बारेको बालकृष्ण समको विचार गम्भीर रुपले चिन्तन मनन र अनुशरण गर्नुपर्ने कुरा हो । यसमा नै नेपाली राष्ट्रिय भावना जागृत र संरक्षित हुन सक्दछ । हाम्रो नेपाली पहिचान कायम रहन सक्दछ ।
‘मादल’ पत्रिकाको लागि बालकृष्ण समले दिएको शुभकामना पनि उनको नेपाललाई हेर्ने र बुझ्ने दार्शनिक दृष्टिकोण अभिव्यक्त छ । उनको कल्पनाको सजीव चित्रात्मक अभिव्यक्ति पनि प्रतिविम्वित भएको छ । हो, बालकृष्ण समले भने जस्तै नेपालको आकार ‘मादल’ को जस्तै छ । नेपालरुपी मादल शान्तिको बेलामा पनि बज्दछ । युद्धको बेलामा पन बज्दछ । बजेकै छ । हाम्रो इतिहास साक्षी छ । फेरि समले मादललाई हामीलाई जागृत पार्ने वस्तुको रुपमा पनि हेरेका छन् । यसको अर्थ यही हुन्छ मादल शान्तिको प्रतिक हो । संकट परेको बेलामा युद्धको प्रतिक पनि हो । फेरि यो जागृतिको प्रतिक पनि हो नै ।
जेहोस्, केही बेर कुराकानी गरेर हामी तिनै जना बालकृष्णबाट विदा भएका थियौं । मैले बालकृष्ण समलाई भेटेको र उनीसित कुराकानी गरेको झण्डै पाँच दशक पनि भयो । मैले उनीसितको भेटका सम्बन्धमा संस्मरणात्मक लेख लेख्ने विचार बनाएको धेरै वर्ष पहिलेदेखि नै हो । भए पनि यो वा त्यो कारणले मैले त्यसतर्फ कलम चलाउन सकेको थिइन । कोरोनाले मलाई घरमा नै कैद गरेर राख्यो । यस प्रतिकूल अवस्थालाई अनुकूल अवस्थामा प्रयोग गर्दै मैले बालकृष्ण समसँगको भेटघाट र कुराकानीलाई वाणी दिने कार्य सम्पन्न गर्न सकेको हुँ । कोरोना नआएको भए यो लेख यतिबेला लेखिने थिएन होला ।
(२०७६÷१२÷२७)
बालकृष्ण समसितको भेटघाट र कुराकानी
Comments

