महिला दिवशमा आऊ है

–मनु वि.क.
आउँदैछ महिला दिवश
श्रमिक महिलाहरुको अन्तर्राष्ट्रिय चाड
महिला दिवशमा आऊ है ।
हामीले तिमीलाई दिन सक्दैनौं खामभरी पैसा
हाम्रो महिला दिवशमा हुने छैन डिनर र वाइनर पनि
तर तिमी आऊ है ।

हामीले तिमीलाई ठूला स्टार होटेलमा लैजान पनि सक्दैनौं
हामीले तिमीलाई भाडा दिन पनि सक्दैनौं
तर तिमी आऊ है ।
हाम्रो महिला दिवशमा हुने छैन कुनै तामझाम
हाम्रो महिला दिवशमा हुने छैनन् कुनै सुकिला, मुकिला
हाम्रो महिला दिवशमा हुने छैनन् नारीवादका कुरा
तर तिमी आऊ है ।
हामीले गर्ने छौं महिला हक हितका कुरा
हामीले शोषण,दमनको विरुद्ध बोल्छौं,
हामीले पक्रने छौं साँच्चिकै महिला मुक्तिको कुरा
हामीसँग हुनेछ राता मुक्तिका झण्डा
हामीसँग हुने छ मानव मुक्तिका कुरा
हो तिमी आऊ है ।

हामीलाई सजिलो छैन महिला दिवश मनाउँन
हामीलाई दिने छैनन् डोनरहरुले डलर
हामीलाई दिने छैन सत्ताले सौगात
हामीलाई सके प्रहरीले दबाउँछन्
हामीलाई सके प्रशासनले घेरा हाल्छ
हामीलाई सके सी आइडीले पीछा गर्छ
तर हामी महिला दिवश मनाएरै छाड्छौं
त्यहाँ तिमी आऊ है ।

हामीले गाउने छैनौं सत्ताको गीत
हामीले गाउने छैनौं बेइमान र फटाहाहरुको गीत

 

हामीले गाउँछौ महिला मुक्तिको गीत
हामीले लाउँछौं मजदुरसँग प्रीत
मजदुर महिलाहरु,श्रमिक महिलाहरु
काखमा आफ्ना प्यारा नानी च्यापेर आउँछन्
आफ्ना नानीहरुलाई मुक्तिका कुरा सुनाउँछन्
विश्वका मजदुर आन्दोलनका कुरा सुनाउँछन्
क्लारा ,रोजा र क्रुप्सकायाको कहानी सुनाउँछन्
कोलोन्ताइ र च्याङचिङको गाना गाउँछन्
मजदुर आन्दोलन र विश्वका क्रान्तिका कुरा भट्याउँछन्
र साँच्चिकै महिला मुक्तिको
साँच्चिकै मजदुर मुक्तिको सपना सुनाउँछन्
त्यहाँ तिमी आऊ है ।

आमा दिदी बहिनीहरु
क्रान्तिको आशा बोकेर आउँछन्
परिवर्तनको सपना साँचेर आउँछन्
हो त्यहाँ आऊ है
त्यो दिवश साँच्चिकै महिला दिवश हुनेछ
जहाँ क्रान्तिको दीप बलिरहने छ
र परिवर्तनको संगीत घन्किरहनेछ ।
२०८१ फागुन ११

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित