प्रगतिवादी दृष्टिमा उत्तरआधुनिक प्रवृत्ति

-डी.आर. पोखरेल

१) प्रस्तावना
नेपाली समाज र संस्कृतिको अध्ययन अन्वेषण गर्ने सिलसिलामा “प्रगतिवादी दृष्टिमा उत्तर आधुनिक प्रवृत्ति”विषयक जुन विचार गोष्ठीको आयोजना अध्ययन केन्द्र दाङले गर्न लागेको छ यो सामयिक र औचित्यपूर्ण छ ।
हामी इतिहासको यस्तो मोडमा आइपुगेका छौं जहाँ हाम्रा पुराना विचार र संस्कृति चाहिं निरन्तर भत्किइरहेका छन् तर नयाँ विचार र संस्कृति भने निर्माण हुन सकेका छैनन् । एक प्रकारले विनिर्माण मात्र भएका छन् । पुरानो केन्द्र राजसंस्था त भत्कायौं तर नयाँ केन्द्र स्थापना गर्न सकेनौं । धर्म निरपेक्षता भन्यौं तर रामचन्द्रको सालिक राख्न छोडेनौं । समाजवाद भन्यौं तर भ्रष्टाचार गर्न छोडेनौं । एउटा गायकलाई गीत गाउन रोक्यौं तर धेरै डनलाई भने छाडा छोड्यौं ।
देशभित्र यसप्रकारको भाँडभैले छ भने बाहिरी मुलुकको फोहोरहरुको डम्पिङ साइट पनि मेरो देश नै बनेको छ । राजनीतिको बहुलवाद र समाजको बहुल चिन्तन र यसको असर यहाँको साहित्य र संस्कृतिमा पनि परेको छ । आमाहरु ‘ममी’, बाबाहरु‘ड्याडी’मात्र बनेका होइनन्, उहाँहरुको भेषभुषा पनि बदलिएको छ । रहनसहन बदलिएको छ । आकांक्षा फेरिएको छ । मलेच्छको मुलुकमा गएर आएपछि पतिया गर्नुपर्दैन । उल्टो ‘तेलभिसा’ मा ‘अमेरिका यति बसें’, ‘अष्टे«लिया यति बसें’ भनी गर्व गरिन्छ । साउदीमा काम गर्न गएको छोरा लास घरमाआउन नपाउँदै बुहारीले डिभोर्सको कागजप्रति ससुरालाई थमाइसकेकी हुन्छे । यति मात्र होइन, हाम्रो गुठी व्यवस्था, हाम्रो विवाह प्रथा, हाम्रो आस्था ढाल्न खोजिंदै छ। भकाभकी ‘विभिषण’हरु पनि निस्किरहेका छन् । कला साहित्यको क्षेत्रमा पनि यस्तै भाँडभैलो नै छ । सरकारले यसलाई जतिसुकै अनुत्पादक क्षेत्र भने पनि यो क्षेत्रमा बाहिरी प्रभाव पर्न छोडेको छैन । अनेक विचलनहरुको प्रवेश भएको छ साहित्यका क्षेत्रमा ।
हाम्रो सिर्जनाका क्षेत्रमा पश्चिमाका विचार, वाद, प्रणाली, अभियान या आन्दोलनको प्रभाव त छँदैछ । स्वच्छन्दतावाद, अस्तित्ववाद,विसंगतिवाद,प्रगतिवाद, प्रयोगवाददेखि उत्तर आधुनिकवादसम्मका वादहरुको अनेक समालोचना प्रणालीहरु र हङ्ग्री जेनेरेशन, कोलाज आन्दोलन, एङ्ग्रीजेनेरेशन, विटल्स जस्ता केही सांगीतिक–सांकृतिक आन्दोलनहरु र हिप्पीसंस्कृति लगायतका बाहिरी कुराहरुको हामी कहाँ ठूलो प्रभाव परेको देखिन्छ । यसको प्रभावमा केही नेपाली आधार भएका विचार, संस्कृति र आन्दोलनहरु पनि उठेको देखिन्छ । हलन्त बहिष्कार आन्दोलन, भाषा आन्दोलनको रुपमा देखा प¥यो भने, राल्फा लगायतका केही आन्दोलन सांगीतिक सांस्कृतिक आन्दोलनको रुपमा देखा परे । यस्तै भाषा, साहित्य, विचार र संस्कृतिको क्षेत्रमा तेस्रो आयाम देखा प¥यो भने, सांस्कृतिक–साहित्यिक क्षेत्रमा बुट पालिस, अस्वीकृत जमात, सडक कविता क्रान्ति, गणतान्त्रिक कविता आन्दोलन आदि देखा परे । यसरी नै विचार साहित्य र संस्कृतिको क्षेत्रमा लीलालेखन देखा प¥यो । लीलालेखन त नेपालको परिप्रेक्ष्यमा उत्तर आधुनिकवादको श्री गणेश नै बनेर देखा प¥यो ।
लीलालेखनकै प्रयोगकर्ताले गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ लाई विनिर्माण गरे । यसलाई ‘कठपुतलीको मन’ शीर्षक दिएर लीलालेखनका इन्द्रबहादुर राइले “परालको आगो” को पुनसंरचना गरे । ‘परालको आगो’ की ‘गौथली’ लाई “कठपुतली” को उपमा दिए । एक हिसावले त नारीवर्ग पुरुषसत्ताले कुल्चिएर कठपुतली जस्ता बनेका छन् । पुरुष सत्ताको निर्णय बेगर उनीहरु आफ्नो खुशीले केही गर्न सक्दैनन् । हिन्दु नारी सिउँदोको सिन्दुरमाथि प्रश्न उठाउन सक्दिन, त्यो विधवाले गर्ने काम हो । सदुवाले सिन्दुर घस्नै पर्छ सिउँदोमा यो परम्परा हो पुरुषसत्ताको । यस्तै एउटी मुस्लिम नारीले बुर्कामाथि प्रश्न उठाउन पाउँदिन, उनको स्वास्थ्यको लागि पनि प्रश्न उठाउन पाउँदिनन् । उठाइन भने उनमाथि ‘फतवा’ (मृत्युदण्ड) जारी हुन्छ । विचरा नारी कठपुतली त भएका छन् नि । तर यतिकै भरमा कठपुतली भनिदिंदा इन्द्रबहादुर राई स्वयं कठपुतलीको छोरो हुन आइपुग्छन् । अनि ‘कठपुतली’ मात्रै त होइन रहेछ त्यसमा मातृत्वको पनि भाग रहेछ । अनि गौंथलीलाई ‘कठपुतली’ भन्नुभयो त ? ‘गौथली’लाई चामेले त कठपुतली बनाएको होइन । चामेको त्यत्रो सामाजिक हैसियत कहाँ छ र । ऊ त गौथलीलाई धेरै माया गर्छ र उसलाई घुक्र्याउने गर्छ । रिसाउने गर्छ । कठपुतली मात्रै भएको भए यसरी घुक्र्याउने पर्ने थिएन ।
हो, एउटा समय परिवेशमा ठीक भएका कुराहरु अर्को परिवेशमा ठीक हुँदैनन् । त्यस परिवेशका पात्र, घटना, कथा, पात्रगत आकांक्षा सबै फेरिएका हुन्छन् ।
पात्रहरु परिवेशका उपज हुन् । हिजोको परिवेशमा पात्रलाई आजको आँखाले हेर्दा पात्रप्रति अन्याय हुन्छ । विनिर्माणको नाममा आज त्यसो गर्नु न्यायोचित हुँदैन ।
तर हामी कहाँ खाली भत्काउने काम मात्र भएका छन् । बहुलताका नाममा भत्काउने मात्रै गर्ने हो कुनै पनि वस्तु आफ्नो अस्तित्वमा रहन सक्दैन । पानी (एचटुओ) लाई भत्कायौं भने हाइड्रोजन र अक्सिजन भएर छुटिन्छ । कुनै वस्तुलाई भत्काऔं भने त्यो तत्वमा फेरिएला, तत्वलाई पनि भत्कायौं भने त्यो अणु परमाणुमा बदलिएला । अझ त्यसलाई पनि भत्कायौं भने इलेक्ट्रोन, प्रोटोन, एजिटोनमा फेरिन्छ । अझै ती पनि भत्किएलान् । त्यसकारण भत्काउने मात्र कुरा एक पक्षीय कुरा हो । सारा नेचरको धर्म नै बहुलता र एकत्वको द्वन्द्वात्मक सम्बन्ध हो । बहुलता मात्रै खोज्ने र एकत्वको अस्तित्व नै नदेख्नु भनेको प्रकृति विरोधी कुरा हो ।
भत्काउनुपर्छ पर्न त । हामी घरको कसिंगर बढार्छौं । समाजका विकृति विसंगतिलाई पनि भत्काउनै पर्छ । बहुलताको होस् वा एकत्वको होस् त्यसमा विवेक पनि हुनुपर्छ । के भत्काउने, के बनाउने भन्ने चाहिं स्पष्ट विचार विना तय हुन सक्दैन र विवेकविना स्पष्ट विचार पैदा पनि हुँदैन ।
विवेकको कुरो गर्दा विवेक हामीसँग मात्र नभएको होइन, नेपालको सम्बन्धमा विदेशीहरुको पनि विवेक देखिन्न । बेलायतीहरुले नेपालको एक तिहाई भूमि भारतको पोल्टामा हालिदिए । स्वतन्त्र भनिएको भारतले नेपालको उल्टै सिमाना मिचिरहेको छ । युरोपियन कम्युनिटी यस कुरामा बोल्दैन तर क्रिश्चिनिटी फैलाउन, होली वाइन बाँड्न भने तिम्सितम्सी आएको देखिन्छ । चास्नीमा पल्केका नेपालीका कारणले कतिपय न्यायपूर्ण वैदेशिक संस्थाहरुले पनि नेपालबारे बोल्दैनन् । नेपालको राजनीतिक, आर्थिक, सामाजिकदेखि साहित्यिक र सांस्कृतिक क्षेत्र पनि वैदेशिक हस्तक्षेपको सिकार बनेको देखिन्छ । मध्ययुगीन सामन्ती विचार, भाग्यवादी संस्कारबाट मुक्ति नपाउँदै पुँजीवादी विंगतिहरुको मारमा पर्नु परेको छ नेपाली समाजले । यहाँ उत्तर आधुनिकतावादका विचार र संस्कृति भित्रिएको देखिन्छ । आधुनिक विचार र संस्कृति (विज्ञान र प्रविधि) सँग आत्मसात नहुँदै आधुनिकताको विघटन, महाआख्यानहरुको विघटना, विपठन, विनिर्माण र बहुलवादी सत्यको बोझिलो विचारको भार वहन गर्न परेको छ नेपाली समाजले । यति मात्र नभई लेखकको मृत्यु, नवमाक्र्सवाद, उत्तर संरचनावाद, उत्तर औपनिवेशिक समालोचना, नारीवादी लेखन, लगायत एप्रो प्रिएसन (सिर्जनामा आफ्नो र अर्काको मिश्रण गरिने), कल्चरल फ्यूजन, कमोडिफिकेशन, साइबोर्ग, डिक्न्स्ट्रक्सन, डिफ्रेरेन्सेस (अर्धभिन्नता) संकथन, हाइपर रियालिटी, इन्टर टेक्सुयालिटी (अन्तरपाठियता) आदि अनेक विचार एवं धारणाहरु हाम्रो बौद्धिक क्षेत्रमा थुप्रिएका छन् । प्रभावशाली विचारहरु यसरी नै माथिबाट तलतिर बहने गर्छ । तर समस्या कहाँनेर छ भने ती विचारहरु यहाँ आएर छलफलिंदैनन् । ती हाम्रा आवश्यकता बनेर आउँदैनन् । ती ‘खाए खा नखाए घिच’ भन्ने आशयले आउँछन् । ती केवल डम्पिङ हुन आइपुग्छन् । हामी कहाँ त सिद्धान्तसम्बन्धी बहस हुँदैन, दर्शनबारे चर्चा हुँदैन । ‘जोगी जहाँ जाला उही खाला’ भन्ने स्थिति छ । एक थाल भातमा आफ्नो अमूल्य भोट बिक्री हुने देशमा, ‘अगुवाहरु नै बाटो हगुवा’ भएको देशमा यूरोप, अमेरिकाका अति विकसित देशका विकसित विचारहरुमाथि छलफल किन हुन्थ्यो र ! यसर्थ पनि आजको गोष्ठीको अहम् महत्व छ ।
२) विवेच्य विषयको परिचय
२.१. उत्तर आधुनिकतावाद
उत्तर आधुनिकतावाद आधुनिकताभन्दा पछाडिको चिन्तन हो । अंग्रेजीमा यसलाई पोष्ट मोडर्निज्म भनिन्छ । यो एउटा सामाजिक–सांस्कृतिक– साहित्यिक अभियान हो । यसमा उत्तर आधुनिकताले विशिष्ट, ऐतिहासिक समय अवधिलाई संकेत गर्छ भने उत्तर आधुनिकतावादले चाहिं अति विकसित देशहरुमा पैदा भएको सांस्कृतिक–सामाजिक–साहित्यिक चिन्तनको शीर्ष रुपलाई व्यक्त गर्दछ । यो सन् १९६० पछाडि यूरोपमा जन्मिएको दार्शनिक विचार हो । यसले ‘बहुलवाद’ र ‘सापेक्षतावाद’ माथि विशेष जोड दिन्छ । तर शाश्वत मूल्यहरुलाई मान्दैन, कुनै विश्वास, कुनै विचार मान्दैन ।
यस विचारलाई संस्थागत गर्ने काममा धेरै विचारक एवं अभियन्ताहरुको भूमिका रहेको छ । सन् १९३४ मा स्पेनिस फेडरिकको डिओनिसले ‘पोस्टमोर्डनिज्मो’ शब्दको प्रयोग गरेका थिए भने कवि चाल्र्स ओल्सनले वैज्ञानिक आविष्कार र औद्योगिक क्रान्तिपछिको युगलाई ‘उत्तर आधुनिक संसार’ भनेका थिए । अंग्रेज लेखक आर्नोल्डटो यन्वीले सन् १९५४ मा नै विश्वयुद्धपछिको युगलाई उत्तर आधुनिक युग मानेका थिए ।
यसलाई एउटा विचार या दर्शनको रुपमा व्याख्या गर्ने काम भने फ्रान्सका ज्याँ फ्रान्स्वाँ ल्योर्तार्डले गरे । उनले पश्चिमका अति विकसित मुलुकका ज्ञान र चेतनाको स्तर र अवस्थालाई संकेत गर्न ‘उत्तर आधुनिकतावाद’ शब्दको प्रयोग गरेका थिए ।
२.२ प्रगतिवाद
‘प्रगतिवाद’ नेपाल÷भारतमा अर्जा पिएको (कोइन्ड) शब्द हो । यहाँ यो शब्द माक्र्सवादको सट्टामा प्रयोग भएको पाइन्छ । नेपालमा ‘प्रगतिशील र प्रगतिवादी’ भनी वामपन्थी विचार र माक्र्सवादी विचारको भिन्नता देखाउन प्रयोग भएको देखिन्छ । माक्र्सवादी साहित्य र कलालाई जनाउन गोर्कीले सन् १९३६ मा ‘समाजवादी यथार्थवाद’ शब्द चयन गरेका थिए तर नेपालमा यो शब्द भन्दा पनि बढी ‘प्रगतिशील’ र ‘प्रगतिवाद’ नै चलेको थियो र छ । यस गोष्ठीपत्रमा ‘प्रगतिवादी’ शब्द लेख्नुका पछाडि भने उत्तर आधुनिकतावादीका रुचिको कारण छिपेको छ । उनीहरुको कुनै पनि विचार र महाआख्यान (मेटानेरेटिभ) लाई मान्देनन् तर रैथाने शब्दलाई मन पराउँछन् । ‘प्रगतिवाद’ यताको रैथाने शब्द भएकाले यसको प्रयोग गरिएको हो ।
माक्र्सवाद ‘एकत्ववादी’ चिन्तन हो । यो ‘बहुलवादी’ होइन । यसले ‘सत्य’ लाई समग्रमा, ठोस रुपमा ग्रहण गर्दछ । सत्य सापेक्ष पनि हुन्छ र निरपेक्ष पनि हुन्छ भन्ने मान्दछ । समाजको हितलाई सर्वोपरी ठान्दछ । यो भौतिकवादी चिन्तनमा, वस्तुगत चिन्तनमा वा वैज्ञानिक चिन्तनमा आधारित छ । यो आधुनिक युगको सर्वाधिक वैज्ञानिक विचार हो । द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद परस्पर विरोधी तत्वहरुको एकता, मात्रात्मक र गुणात्मक परिवर्तन, वर्गसंघर्ष, पुँजी र अतिरिक्त मूल्य जस्ता युगीन विचारहरुलाई यसले बहन गरेको छ ।
३) विचारहरुको परिवेश
कुनै पनि विचार वा दर्शन भौतिक परिवेशको उपज हो । सामाजिक चेतनाको उपज हो । माक्र्सवाद आधुनिक युगको उपज हो भने उत्तर आधुनिकतावाद आधुनिकताको अस्वीकृतिमा उब्जेको विचार हो । आधुनिक विज्ञान, प्रविधि, राजनीति, दर्शन, वाद र विचारहरु सबै असफल भए, यिनले मानवजातिको हित गरेनन् भन्ने भावबोधका साथ यूरोप र उत्तर अमेरिकाका केही बौद्धिक व्यक्तिहरुको निष्कर्ष हो । अति विकसित देशहरुमा भएको औद्योगिक क्रान्ति, सहरीकरण, विद्युतीकरण, इलेक्ट्रोनिक्स उद्योगहरुको चमत्कार, अर्कोतिर विश्वयुद्धहरुको विभिषिका, आणविक शक्तिको त्रास, घट्दो मानवीय मूल्य, बढ्दो हुने र नहुनेबीचको खाडल र पुँजीवाद एवं एकाधिकार पुँजीवादले गरेको श्रमशोषण, अमानवीयकरण, रोबोटहरुको प्रयोग, प्राकृतिक सम्पदाको दोहन, पर्यावरणको विनास, आदि इत्यादि कुराहरुको सामाजिक–आर्थिक–सांस्कृतिक–राजनीतिक परिवेशमा उत्तरु आधुनिकतावाद जन्मेको देखिन्छ । माक्र्सवाद र उत्तर आधुनिकतावाद दुवै पाश्चात्य अति विकसित मुलुकहरुमा पैदा भएका विचार हुन् । माक्र्सवादले बढ्दो औद्योगिक क्रान्ति, मजदुर वर्गको उत्पत्ति, श्रमशोषण, पुँजीपति वर्ग र सर्वहारा वर्गको उदय भइरहेको र हुने र नहुनेको बीचको खाडल बढिरहेको सामाजिक आर्थिक, राजनीतिक, सांस्कृतिक आदि भौतिक परिवेशमा सर्वहारा र पुँजीपति वर्गको बीचको खाडल पुर्न वर्गसंघर्षको वा सर्वहारा क्रान्तिको एवं सर्वहारा वर्गको अधिनायकत्वको क्रान्तिकारी सिद्धान्त प्रतिपादन गरेको थियो ।
४) उत्तर आधुनिकतावादका प्रमुख विचार र विशेषता
४.१. बहुलवाद
उत्तर आधुनिकतावादका प्रमुख विचारमा बहुलवाद ( एगिचबष्किm) एक हो । यसको दार्शनिक अधार के हो भने यस जगतको सृष्टि गर्ने बहुतत्व छन् । ती बहुदेवता, बहुचेतना, बहुतत्व, बहुअणु÷परमाणु छन् वा आदि जुनसुकै पनि हुन सक्छन् । सृष्टि एक प्राथमिक तत्व (पदार्थ वा चेतना) बाट भएको नभई बहुल कुराहरुबाट भएको हो । यसैगरी सत्य पनि बहुल छ । सत्य वैयक्तिक वा हरेक व्यक्तिको हितसँग जोडिएको हुन्छ भने विचार रहेको छ उत्तरआधुनिकतावादको ।
४.२ सापेक्षतावाद
उत्तर आधुनिकतावादलाई संस्थापन गर्ने विचारक ल्योतार्ड अनुसार, सबै कुराहरु सापेक्ष छन् । निरपेक्ष कुनै कुरा छैन ।
४.३ विनिर्माणवाद
फ्रान्सिसि ज्याक डेरिडाको यो विनिर्माणको सिद्धान्त साहित्यमा प्रयोग भएको देखिन्छ । उनका अनुसार कुनै पनि स्रष्टाको सिर्जनामा भनिएका वा लेखिएका कुरा सबै खुलेर आउँदैनन् । धेरै कुराहरु अव्यक्त हुन्छन् । ती अव्यक्त कुराहरुलाई खोजेर निकाल्नु पर्दछ । किनभने शब्द संकेत मात्र हो त्यसको निश्चित भाव र अर्थ हुँदैन । भाव र अर्थ अनुपस्थित हुन्छ । पाठकले स्वयं त्यसमा आफ्नो अर्थ लुकाउँछन् । पाठको भाव र पाठकको भावको बीचमा काफी अन्तर हुन्छ । त्यसलाई फरकको सिद्धान्त भनिन्छ । यसैगरी उनका अनुसार एउटै पाठको अनेक पठन हुन्छ । त्यसको अर्थको निश्चितता हुँदैन । शब्दले आफूभन्दा बाहिरको अर्थ दिंदैन । तथापि लेख्यको महत्व हून्छ । जहाँसम्म भाषाको कुरा छ सबै भाषा आलंकारिक हुन् । साहित्यमा मात्र आलंकारिक भाषा हुन्छ भन्ने होइन । यस्तै उनको अर्को विचार छ पठनको । पहिलो पठन पाठ जस्तै हुन्छ, दोस्रो पठनले पाठको आधारशीला बदलिदिन्छ । उनी अझै अगाडि भन्छन्–पठनमा हरेक पाठको ‘अपव्याख्या’ हुन्छ ।
४.४ उत्तर संरचनावाद
यो फ्रान्सिसी साहित्य चिन्तक रोलौं बार्थको अध्ययनको सिद्धान्त हो । यसको चुरो कुरो कृति केन्द्रित अध्ययन हो । यसो हेर्दा वस्तुवादी सोच त यसमा देखिन्छ तर कृतिलाई बाहिरी परिवेश, इतिहास, समाज, संस्कृति आदिका पक्षलाई हेरी केवल पाठमा मात्र अर्थ खोज्ने विचार हो । यसले कृतिको संरचनागत पक्षलाई हेर्दैन । यो संरचनावादको विपक्षमा खडा भएको विचार हो ।
४.५. लेखकको मृत्यु धारणा
साहित्यकार तथा भाषाविज्ञानी रोलाँबार्थको साहित्यसम्बन्धीको धारणा हो । ‘लेखकको मृत्यु’ को धारणा । उनको धारणा के हो भने एउटा लेखकले आफ्नो कृति (पाठ) मा जुन अर्थ वा आशय प्रस्तुत गरेको हुन्छ, पाठकले त्यही बुझ्नुपर्छ भन्ने हुँदैन । पाठकले आफ्नो अलग बुझाई राख्न सक्छ । यसरी पाठकको पृथक बुझाइका कारण लेखकको मूल आसय मर्छ । यस अर्थमा ‘लेखकको मृत्यु’ भएको हुन्छ ।
४.६. नारीवादी लेखन
उत्तर आधुनिकतावादले पुराना केन्द्रहरुको विखण्डन गर्ने आफ्नो घोषित नीति अनुसार नारीवादी लेखनलाई पनि उत्तर आधुनिक प्रवृत्ति ठानेको छ । वास्तवमा नारी युगौंदेखि पुरुषसत्ताको उत्पीडनमा पर्दै आएका छन् । वास्तवमा पुरुषकेन्द्रित सत्ताले नारीवर्गलाई उन्मुक्त हुन दिएन पनि । यसो भएकाले यसको बोध गरी नारी जागरण शुरु भएको हो । “नारीवादी साहित्य एवं समालोचना” शुरु भएको हो । नारी आन्दोलन सुरु भएको हो । पुरानो पुरुषसत्ताको विरुद्ध नारीवर्ग जागृत भएकाले उत्तर आधुनिकतावादले यसलाई उत्तर आधुनिक प्रवृत्ति ठानेको हो ।
४.७. महाआख्यान (ःभतबलबचचबतष्यल) हरुको अस्वीकृति
उत्तर आधुनिकतावादले महाआख्यानहरु (पूर्व आधुनिक कालका धार्मिक विचार, दर्शन र संस्थाहरु) आधुनिक कालका विचार, सिद्धान्त, दर्शन, इतिहास, वाद, प्रणाली, साहित्य, संस्कृति, राज्यसंस्था, विज्ञान एवं प्रविधि आदि सारा कुराहरुको अन्त्य भएको उद्घोष गरेको छ । यसका साथै वर्तमानको असफलताको घोषणा पनि गरेको छ ।
४.८. शक्तिको नयाँ परिभाषा
यो फ्रान्सेली लेखक मिशेल फुकोको ज्ञान र शक्ति सम्बन्धीको नयाँ धारणा हो । आधुनिक र आधुनिकपूर्व युगमा शक्तिको परिभाषा, पैसा, सत्ता, संगठन र हतियार भए पनि अहिले ज्ञान नै शक्ति हो भनी उनले भनेका थिए र उनलाई उत्तर आधुनिकतावादीहरुले यसै कित्तामा राखेका थिए ।
४.९. नवमाक्र्सवाद
माक्र्सवादका आम सिद्धान्तहरु मध्ये ऐतिहासिक भौतिकवाद अपुरो छ र वर्गभेद रहे पनि अब मजदुर र मालिक वा पुँजीपति र सर्वहाराको बीचमा वर्गसंघर्षको स्थिति छैन । माक्र्सवादबाट भयभित भएका पुँजीपति र मजदुर बीचको सम्बन्धलाई सुमधुर बनाउन मजदुरको जीवनका सुविधाहरु बढाइएको उद्घोष ग¥यो नवमाक्र्सवादले । माक्र्युज, जर्ज लुकाच र ग्राम्सीहरुले यसको वैचारिक नेतृत्व गरेका थिए । माक्र्सवाद जस्तो “महाआख्यान” माथि यसरी प्रश्नचिन्ह उठाएकाले नवमाक्र्सवादलाई उत्तर आधुनिकतावादभित्र पारिएको देखिन्छ ।
४.१०. विकेन्द्रवाद
सबै महाआख्यानहरुको अन्त्य र सबै विचारका केन्द्रहरु, शक्तिका केन्द्रहरु, राज्यका केन्द्रहरु विखण्डित हुन्छन् । केन्द्रहरुको विघटन भएपछि विकेन्द्रहरु बन्छन् भनिएको छ उत्तर आधुनिकतावादमा ।
४.११ उत्तर औपनिवेशिक समालोचना
अठारौं शताब्दीमा यूरोपमा औद्योगिक क्रान्ति भयो । क्रान्तिपछि यूरोपिय देशहरु संसार हत्याउने उपक्रममा लागे । उनीहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिए र संसारभरी आफ्नो उपनिवेश खडा गर्न लागे । एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, मलेसिया आदि देशहरुमा उपनिवेश खडा गरे । त्यहाँको राज्यसत्ता पनि हत्याए । त्यहाँको प्राकृतिक सम्पदा लुटे । भारतमा बेलायतको उपनिवेश कायम भयो । इष्ट इण्डिया कम्पनीको नामबाट भारत पसेका बेलायतीहरुले भारत नै कब्जा गरेर शासन चलाए । पछि कतिपय देशहरु उपनिवेशबाट मुक्त त भए तर सभ्यता संस्कृतिको हिसाबले धेरै पछि परे । यस्ता मुलुकका मानिसको सामाजिक, आर्थिक जीवन, मानसिकता, संस्कृति र सोचसम्बन्धी अध्ययन र मूल्यांकनकै सिलसिलामा उत्तर औपनिवेशिक समालोचना प्रकट भएको हो । रैथाने विचार र संस्कृतिमाथि भएको हिजोको उपनिवेशवादी हमलाको विरुद्धमा उठेकाले उत्तर औपनिवेशिक समालोचनालाई पनि उत्तर आधुनिकतावादी चिन्तनभित्र गाभिएको देखिन्छ ।
४.१२. सांस्कृतिक समालोचना
समालोचनाका क्षेत्रमा आधुनिकतावादको प्रवेश निकै कठोर ढंगको देखिन्छ । कृतिमा अनुपस्थित वा अव्यक्त कुराको खोज, पाठको एकन्वतीको विरोध, अर्थ भिन्नताको खोजी, विद्याभञ्जन, अकथा, अउपन्यास, अकवितालाई प्रोत्साहन, कृतिको संरचना भत्काएर दोहोर पठन, पाठमा लेखकीय दृष्टिकोणभन्दा पाठकीय दृष्टिकोणको समर्थनः कार्यकारणको विरोधः अनुपस्थितिको खोजी, पाठभन्दा परको अर्थको विरोध, पाठलाई उल्टाउने, विधामिश्रणको स्वागत इत्यादि प्रकृति बोकेको छ उत्तर आधुनिक समालोचनाले र यसलाई सांस्कृतिक समालोचनाको नामाकरण गरिएको छ ।
यसबाहेक सांस्कृतिक अवधारणाको रुपमा केही कुराहरु अघि सारेको छ ः
क) कल्चरल फ्युजनः तिब्बतीयन खादालाई पाल्पाली ढाका बनाउनुलाई क.फ्यु.को नाम दिइएको छ ।
ख) हाइब्रिडिङ(क्रस संस्कृति) ः वर्णशंकर संस्कृति । दुई संस्कृतिको मिश्रण ।
ग) ब्उउचयउचष्बतष्यल (मिश्रण) ः सिर्जनामा आफ्नो र अर्काको मिसाउने । नेपाली लोकगीतहरुका ¥याप गीत मिसाउने÷¥याप लय र कविता मिसाउने ।
घ) कोमोडिफिकेशनः नयाँ मालको उपभोग गर्ने र फ्याँक्ने संस्कृति ।
ङ) ऋथदयचन (साइबोर्ग) ः मान्छे यन्त्रजस्तो शुष्क र यन्त्र मान्छे जस्तो संवदेनशील वा आर्टिफिसियल इन्टेलिजेन्सको संस्कृति ।
च) हाइपर रियालिटीः अहिलेको यथार्थ हो कि होइन जस्तो मौलिकताको फोटो कपी जस्तो अति यथार्थ । फिल्ममा मानिस उडेको, भीरबाट हाम फालेको आदि ।
छ) क्ष्लतभचतभहगबष्तिथ (अन्तर पाठियता) लेखकले कस्तै मौलिक लेखे पनि अरुका विचार भित्रिन्छन् अरुका कुरा आउँछन् । लेखकले मौलिक केही पनि लेख्न सक्दैन भन्ने विचार ।
५) उत्तर आधुनिकतावादप्रति माक्र्सवादी दृष्टि
उत्तर आधुनिकतावादका कतिपय विचारहरु क्रान्तिकारीजस्ता पनि देखिएका छन् । जस्तो आधुनिकयुग पूर्वका धर्म र ईश्वर केन्द्रित विचारहरुले मानिसलाई स्वतन्त्र मानव हुन दिएको थिएन । मानवले ईश्वरको , धर्म ग्रन्थको वा बाइबलको खटनमा हिंड्नु पर्दथ्यो, नहिंडे जर्नार्दो बु्रनोलाई झैं जिउँदै जलाउँथे वा ग्यालिलियोले झैं पृथ्वी घुम्छ भन्दा माफी माग्नु पर्दथ्यो । मानिसले यथार्थ चिन्तन गर्न पाउँदैन थिए । धर्मशास्त्रहरुले भनेका कुरामा प्रश्न उठाउन पाउँदैन थिए । हो, यस सम्बन्धीका आधुनिकतावादीका विचारहरु ठीकै जस्ता हुन् । माक्र्सवादले पनि धर्मलाई ‘अफिम’ को उपमा दिएकै छ ।
तर उत्तर आधुनिकतावादले इतिहासलाई नै अस्वीकार गर्ने उद्घोष गरेको छ । जुन इतिहासको आधारमा मानिस आजको युगसम्म आइपुगेको छ, त्यसलाई पूरै नकार्नु भनेको बाउबराजुलाई नमान्नु हो । यो अराजक दृष्टिकोण हो । यस्तै अराजक दृष्टिकोण विज्ञान र प्रविधिप्रति पनि रहेको छ उत्तर आधुनिकतावादको । यसले विज्ञान र प्रविधिका सारा कुरालाई नकारेको छ तर साइबर संस्कृतिलाई भने काँधमा बोकेको छ । यो विरोधाभाष सँगै यसको अतिवादी दृष्टिकोण पाइन्छ । विज्ञानका उपलब्धिलाई कुनै सन्काहाले दुरुपयोग ग¥यो भन्दैमा अर्थात् अमेरिकाले जापानमाथि अणुबम प्रहार ग¥यो र हिरोसिमा र नागासाकी ध्वस्त ग¥यो भन्दैमा मानवजातिको विकासशील विवेकलाई र समग्र उपलब्धीलाई नकार्न मिल्दैन । यत्रो विद्युतीकरण, औद्योगिकीकरण, सहरीकरण, मानवजातिको अन्तरिक्षयात्रा, भयंकर प्राकृतिक प्रकोप, महामारीबाट मानवजातिको उद्धार, औषधिविज्ञानको खोज, ठूलठूला गगनचुम्बी भवनहरु, समुन्द्रमाथिका पुल, पुलेसा, बाटोघाटो, यतिका यातायातका साधन, उद्योगहरुमा यान्त्रिकीकरणबाट मानवको दुःसाध्य श्रम घण्टामा बचाउ, इलेक्ट्रोनिक्स उद्योगको चमत्कार, आणविक भट्टीहरुको निर्माण, युरेनियमको प्रयोग, समुन्द्को पिँधको खोजी, ग्रह नक्षत्रको खोजी इत्यादि सबै विज्ञान र प्रविधिका व्यापक उपलब्धिहरुलाई नकार्नु मानवोचित विचार होइन, यसमा बौद्धिक अराजकता, विध्वंशक दृष्टिकोण र संकटाग्रस्त पुँजीवादले ल्याएको पश्चिमी समाजको एक्लोपना, निराशा र डिप्रेशनको बौद्धिकवर्गमा परेको प्रतिविम्व मात्र हो । नत्र भने पुँजीवादी समाज संस्कृति र विचारले ल्याएको यस विसंगतिबाट बच्ने उपायहरु पो उत्तर आधुनिकतावादले खोज्नु पर्दथ्यो । विध्वंशक कुराहरु गरेर मानवसमाजलाई भयभित तुल्याउनु कुनै बुद्धिजीवीको काम होइन भन्ने धारणा माक्र्सवादको रहँदै आएको देखिन्छ ।
अर्को महाआख्यानहरुको अन्त्य भयो भनेर उत्तर आधुनिकतावादले उद्घोष गरे पनि उसको उद्घोषसँगै विश्व व्यापार संगठन, संयुक्त राष्ट्रसंघ जस्ता संस्थाको स्थापना भइरहेको छ । बहुराष्ट्रिय कम्पनीहरु विश्वभरी फैलिइरहेका छन् । सोभियत संघको विघटन भए पनि चीन विश्वको शक्तिशाली राष्ट्रको रुपमा उदाइरहेको छ। महाआख्यानकै रुपमा रहेको उत्तर आधुनिकतावादका विचारहरु केही समय संसारभर फैलिए पनि आज यसको चर्चा हराउँदै गएको छ । आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरेर चीनले आफ्नो आकाशमा चन्द्रमा राख्न लागेको छ । बुलेट टे«न, सुपर सोनिक जहाजहरु विकसित देशहरुले बनाइरहेका छन् । यूरोपका गल्ली गल्लीमा स्कोनले धार्मिक प्रदर्शन गरिरहेको छ भने खै कहाँनेर महाआख्यानको अन्त्य भएको छ र !
साहित्य क्षेत्रमा विधाभञ्जन, विधामिश्रण, विपठन, विकेन्द्र, अव्यक्तको खोजी, लेखकको मृत्यु आदि जे जे भनिए पनि विधागत लेखन भइरहेको छ । विद्यागत विशेषताहरु सकिएका छैनन् । पाठको एकन्वित कायम छ । लेखकका विचार मरेका छैनन् । एउटा लेखक लेखेकै कारणले प्रसिद्ध बनेको देखिन्छ । नलेखेको भए गोर्की, सेक्सपियर, बाल्जाक, लुस्युन, टैगोरको नाम निशान हुने थिएन । डेरिडा, बार्थ, ल्योत्तर्ड, फुकोको नाम पनि हुने थिएन । उनीहरु पाठकका माझ यसरी जीवन्त हुँदैनथे ।
जहाँसम्म क्रस संस्कृतिको वा हाइब्रिडिङको कुरो छ, त्यो आजको मात्र प्रवृत्ति होइन । गणेशको शरीरमा हात्तीको टाउको जोडेको प्रसंग पौराणिक प्रसंग नै हो । आर्यहरुले नेग्रोटो जातिको गणचिन्हलाई आफ्नो पवित्र वस्तु बनाएको उदाहरण वर, पिपल, तुलसी हाम्रै अगाडि छन् । संस्कृतिको मिश्रण पहिलेदेखि हुँदै आएको छ । अझ यति मात्र नभएर जाति, भाषा, संस्कृतिको मिश्रण भएरै आज नेपालमा अनेक जातिहरु अस्तित्वमा आएका छन् । मौलिक जाति भनेर भन्न सकिने जातिहरु कमै होलान् । यहाँसम्म कि रक्तहरुको मिश्रण भएर नै अनेक गु्रपका र गत समूह बनेका हुन् । के यसरी उहिल्यै भएका र हुँदै आएका कुराहरु पनि उत्तर आधुनिकतावादका नै कुराहरु हुन् ।
अर्को कुरो सिर्जनामा आफ्नो र अर्काको मिसाइने कुरो रामायणकालदेखि हुँदै आएका हुन् । वाल्मीकि स्वयंले पहिलेदेखि नै चल्दै आएको राम, रावण, हनुमानका कथाहरुलाई जोडेर आप्mनो सिर्जना बनाएका हुन् भन्ने विद्वानहरुको भनाई पाइन्छ । के उसो भए वाल्मीकि पनि उत्तर आधुनिक प्रवृत्तिका भए त ?
हो, साइबोर्ग चाहिं आधुनिक युगको पछिल्लो प्रवृत्ति हो । यो भनेको यन्त्र र शरीरको संयुक्त रुप हो । यसलाई आर्टिफिसियल इन्टेलीजेन्सी पनि भनिन्छ । यसमा यन्त्र चाहिं मान्छे जस्तो संवदेनशील र मान्छे चाहिं यन्त्र जस्तो शुष्क । तर यसलाई उत्तर आधुनिक प्रवृत्ति कसरी भन्ने ? यो त आधुनिक विज्ञान र प्रविधिको देन हो । आधुनिक विज्ञान र प्रविधिलाई अस्वीकार गर्ने उत्तर आधुनिकतावादले कसरी यसको उच्च संस्कृति साइबोर्ग संस्कृतिलाई आप्mनो मतभित्र पारेको होला ! जबकि उत्तर आधुनिकतावादले उच्च संस्कृतिलाई अस्वीकार गर्छ र भिन्न र रैथाने संस्कृतिलाई मात्रै स्वीकार गर्छ । यसमा उत्तर आधुनिकतावाद कन्फ्युजनमा रहेको देखिन्छ । आप्mनै मत आफैले काट्नु त अन्यौल हो ।
अर्को कमोडीफिकेशन वा उपभोग्य वस्तुकरण भनेको नयाँ नयाँ वस्तुको उपभोग गर्नु र उपभोग गर्दै फ्याँक्दै गर्नु हो । यो संस्कृति पुँजीवादी उत्पादनको देन हो । आधुनिक युगको देन हो । लौ यो नयाँ संस्कृतिलाई उत्तरआधुनिक संस्कृति नै भनौं तर यो अविकसित देशका लागि के काम छ हँ ! मानिस खान नपाएर मरिरहेका छन् ।
तिब्बतीयन खादाको सट्टामा पाल्पाली ढाकाको ‘खादा’ बनाएकोमा हाम्रा नेपालका उत्तरआधुनिकतावादी बुद्धिजीवीहरु रमाउँछन् । यसलाई उत्तर आधुनिकप्रवृत्ति देख्छन् । यसमा रैथानेपन देख्छन् । रैथानेपन हुनु नराम्रो होइन तर यो व्यापारीको चलाखी मात्र हो, नाफा हुने भयो भने उसले जुनसुकै कुरालाई आफ्नो टे«डमार्क बनाउँछ । यो नेपाली समाजको “आत्मा” बोलिरहेको हो जस्तो लाग्दैन । फेरि ढाकाको धागो त नेपालमा उत्पादन भएको होइन होला !
अब उत्तर आधुनिकतावादीहरुले बडो प्रफुल्ल मुडमा भन्ने गरेको ‘हाइपर रियालिटी’ लाई लिऔं । टेलिभिजनको पर्दामा अहिले मान्छे उडेको देखाइन्छ । भीरबाट हाम फालेको देखाइन्छ । दृश्यहरु अति यथार्थवादी लाग्छन् । तर चराजस्तो मानिस उडेको त यथार्थमा त देखिन्न । जहाजमा मात्र उड्छन् । यसलाई हाइपर रियालिटी भनेर उत्तर आधुनिकतावादीले भन्ने गरेको छ । यसरी अति यथार्थ वा स्वेयर कल्पनालाई ने उत्तर आधुनिकतावादको प्रवृत्ति भन्ने हो भने रामायणमा हनुमान उडेर रामेश्वरबाट श्रीलंका पुगेको उल्लेख पाइन्छ । यसलाई के भन्ने त्यतिखेरै थियो त उत्तर आधुनिक काल ?
यस्तै अर्को संस्कृति क्ष्लतभचतभहगबष्तिथ को पनि देखिन्छ । यसमा उत्तर आधुनिकतावादले के भन्छ भने लेखकले जुन कृति लेख्छ त्यसमा अरुको कुरो मिसिन्छ । उसले चोखो रुपमा वा मौलिक रुपमा आफ्नो कृति जन्माउन सक्दैन । यसरी उत्तर पाठयिता हुन्छ । माक्र्सवादले त उहिले नै हरेक सिर्जना अन्तर्सम्बन्धित हुन्छन् र सिर्जनामा प्रकट भएको चेतना सामाजिक चेतनाकै रुप हो, कुनै पनि स्रष्टाले सामाजिक परिवेश, सामाजिक चेतनाबाट अलग गएर लेख्न सक्दैन किनभने लेखन त सामाजिक वा भौतिक परिवेशको उपज हो भनेर भनिसकेकै कुरा हो । उत्तर आधुनिकतावादले व्यक्तिलाई अलग अलग र एकदमै स्वतन्त्र वस्तु मानेकाले उनीहरुलाई सामाजिक अन्तर्सम्बन्ध अनौठो लागेको मात्र हो । ज्याँ, फ्रान्स्वाँ ल्योतार्डले माक्र्सवादको विरुद्धमा आफ्नो सिद्धान्त प्रस्तुत गर्ने धुनमा दर्शनका आधारभूत प्रश्नलाई पनि उठाएका छन् । तर उनले इमान्दारीपूर्वक यो उठाएका छैनन्, त्यसलाई उत्तर आधुनिकताको खोलले ढाकेर उठाएका छन् । उनले कुनै एक विचार, एक सिद्धान्त, एक व्यवस्था, कुनै एक महाआख्यानले मानवको समस्या समाधान गर्न सक्दैन । कुनै एक सत्य मात्र सत्य होइन भन्दै बहुलताको सिद्धान्त अघि सारेका छन् । बहुसत्यको वकालत गरेका छन् । एकत्व चिन्तनको विरोध गरेका छन् । यो एकत्व र बहुलताको प्रश्न दार्शनिक प्रश्न हो । यो विश्वदृष्टिकोण्को प्रश्न हो । भौतिकतत्व वा पदार्थद्वारा नै जगतको सृष्टि भएको हो भन्ने यसको भौतिकवादी दृष्टिकोण रहेको छ । अर्को चेतनाद्वारा भौतिक जगतको सृष्टि भएको ठान्ने आदर्शवादी दृष्टिकोण पनि छ । अध्यात्मवादीहरु चित् (चेतना) बाटै सत् (जगत) को सृष्टि भएको भन्छन् । तर उत्तर आधुनिकतावादले भने सत् चित्मध्ये कुनै एकबाट मात्र सृष्टि भएको होइन, यसमा धेरै सत् धेरै चित् मिलेर सृष्टि भएको हो भन्ने ठान्दछ । यो बहुलवाद (एगिचबष्किm) हो । बहुलवादको हेर्ने दृष्टि निरपेक्ष सत्य भनेको कुनै वस्तु वा घटनाबारेको पूर्ण र प्रमाणित वा व्यवहारद्वारा सिद्ध भएको ज्ञान हो । “वास्तविकताका विभिन्न पक्षहरुको बारेमा मानिससँग थुप्रै ज्ञानहरु छन् । तिनको चरित्र शाश्वत वा निरपेक्ष छ । ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो ।’ चेतना मानिसको स्वभाव हो इत्यादि । (अफनासदे भसन् १९७७.१८५) । सत्य ज्ञानमिमांसाका कुरो हो । जुन वस्तु र घटनाबारे निश्चित, निर्णायक, प्रमाणिक ज्ञान प्राप्त हुन्छ, त्यसलाई निरपेक्ष सत्य भन्न सकिन्छ । ‘चेतना मानिसको स्वभाव हो’ भनेको निरपेक्ष ज्ञान हो । तर उत्तर आधुनिकतावादीहरु यस्तो धु्रवतत्वलाई मान्न अस्वीकार गर्दछन् । उनीहरु भावनात्मक कुरा गर्छन् ।
यसरी दर्शनका मूलभूत क्षेत्रहरु ज्ञानमिमांशा, तत्वमिमांशा र आचार मिमांशाका तीनवटै क्षेत्रहरुमा उत्तर आधुनिकतावादीको वस्तुगत विचार पाइन्न । तत्वमिमांशाका क्षेत्रमा उनीहरु आदर्शवादका पक्षपोषक देखिन्छन् । सृष्टि गर्ने प्राथमिक तत्वबारे मै उनीहरुमा भ्रम रहेको छ । यसैगरी ज्ञान सिद्धान्तका बारेमा पनि उनीहरुको धारणा छिपछिपे नै रहेको देखिन्छ । सत्यलाई उधिन्न सकेका छैनन् उनीहरुले । यसैगरी आचार मिमांशाको क्षेत्रमा पनि उनीहरु स्पष्ट छैनन् । उनीहरुलाई समाजको हितको मतलव नै रहेको देखिन्न । उनीहरु व्यक्तिहितलाई सर्वोपरी मान्छन् । उनीहरुमा व्यक्तिवादी प्रवृत्ति रहेको देखिन्छ । उनीहरुले पनि आफ्नो मान्छेलाई नै राम्रो भन्छन् । त्यहाँ योग्यताको, नैतिकताको उच्च आदर्शको कुनै भाउ नै हुँदैन । उनीहरुमा आप्mनोको पक्षपोषण गर्ने, अवसरवादी चरित्रसमेत रहेको देखिन्छ ।
६. अध्ययनको उपलब्धि
अध्ययन गरिएका कुराहरुलाई विचार गोष्ठीमार्फत् छलफल, संशोधन र परिमार्जन गरी सार्वजनिक जानकारीमा ल्याउने जुन प्रक्रियाको थालनी अध्ययन केन्द्र दाङले शुरु गरेको छ, यो स्तुत्य छ । यसबाट विश्वतहमा विभिन्न विषय र विधामा भएका खोज, शोध, सिद्धान्त, वाद, प्रणाली र अभियानहरुका बारेमा हाम्रा जानकारीहरु बढ्नेछन् । विश्व विचारको रंगमञ्चमा हाम्रो स्थान कहाँनेर छ भन्ने बोध हामीलाई हुनेछ । यसबाट हामीले आफ्नो बुद्धिविवेकलाई तिखार्ने मौका प्राप्त गर्नेछौं । एउटा सभ्य, बौद्धिक, जागरुक र संवदेनशील नागरिकको रुपमा आफूलाई उभ्याउने छौं ।
यसर्थ यसप्रकारका विचार गोष्ठीहरु पालोपालो गरी विभिन्न विषय र विधाहरुको छनौट गर्दै ठाउँठाउँमा सम्पन्न गर्ने कोसिस गर्नु जरुरी छ र गोष्ठीमा आएका विचारहरुलाई समेत संकलन गरी गोष्ठीपत्रहरुलाई प्रकाशन गर्ने व्यवस्था गर्न सक्दा झन् यो उपलब्धिपूर्ण हुनेछ ।
साथै आगामी दिनमा यसप्रकारका गोष्ठीहरुको आयोजना गरिंदा गोष्ठीका विषयहरुलाई निम्नअनुसार छनौट गर्न पनि सकिन्छ भन्ने लागेको छ । १) नारीवादी चिन्तन र आन्दोलन (२) चिनियाँ सांस्कृतिक क्रान्ति (३) श्यामप्रसाद शर्माका साहित्यिक योगदानहरु इत्यादि ।
७) उपसंहार
गोष्ठीको उपलब्धिका कुरा गरिसकेपछि गोष्ठी पत्रको उपसंहारबारे केही नभन्दा पनि हुने हो । तर “प्रगतिवादी दृष्टिमा उत्तरु आधुनिक प्रवृत्ति” जुन विषय चयन गरिएको छ, यो गहन छ । यसलाई ठूला विद्वानहरु, दार्शनिकहरु एवं विषयविज्ञ व्यक्तित्वहरुले उठाइदिंदा राम्रो हुने विषय हो । तर पनि यहाँ यति ठूलो विषयमा बोल्ने बबुरो प्रयास गरिएको छ ।
उत्तर आधुनिकतावादी चिन्तन र अभियान युरोप र अमेरिकाका ठूला विद्वानद्वारा थालिएको कुरा हो । सुरुमा यसले कला र साहित्य क्षेत्रबाट आवाज उठायो। पछि वास्तुकला, समाजशास्त्र, संस्कृति साहित्य समालोचना आदि धेरै क्षेत्रलाई समेट्दै गयो र आधुनिककाल र पूर्व आधुनिककालका यावत महाआख्यानहरु (ःभतबलबचचबतष्यल) को अन्त्य भएको घोषणा ग¥यो । विकेन्द्र र विनिर्माणको धारणा अघि सा¥यो । दार्शनिकतहमा वहुलवादलाई स्वीकार ग¥यो । एकत्ववादको घनघोर विरोध ग¥यो । यो विरोध माक्र्सवादपति लक्षित थियो । उत्तर आधुनिकतावादले आधुनिकताको जुन विरोध गरेको छ, यो मानवोचित छैन । किनभने पूर्व आधुनिककालमा त मानवजाति मानवको रुपमा स्वतन्त्र नै भएको थिएन । ऊ आफै आफ्नो ठीक बेठिक छुट्याउन सबल छ भन्ने धारणा पनि जन्मिएको थिएन । मानिस त निकम्मा थियो अलौकिक शक्तिको खटनमा हिंड्न बाध्य थियो । तर प्लेगको महामारीबाट आक्रान्त इटली, रोम र अन्य यूरोपियन सहरहरुका मानिसहरु कुनै दैवीय शक्तिबाट, पोप र पादरीबाट सुरक्षित हुन सकेनन् । हजारौं लास सडकमा परे । उठाउने मानिस भएन । यसमाथि घोरिएर मानवले आफ्नो हित आफूले नै गर्नुपर्दो रहेछ भन्ने ठान्यो । उपचारका विधिहरु खोज्यो । भ्याक्सिन पत्ता लगायो । विस्तारै अनेक कलाकृतिको जन्म दिंदै गयो । यसरी मानवकेन्द्रित सोचहरुको विकास भएको हो । आफ्नो भाग्यको निर्माता स्वयं मानिस नै हो भन्ने सोचको विकास भएको हो । मानवतावादको विकास भएको हो । पुनर्जागरणकालले मानवलाई प्रबोधन (भ्लष्निजतभललभम) को स्थितिमा ल्याइपु¥यायो । विज्ञान र प्रविधिको विकास ग¥यो । औद्योगिक क्रान्ति ग¥यो । नयाँ नयाँ आविष्कारहरु ग¥यो । यसरी आधुनिकताले मानवलाई एउटा विवेकशील प्राणीको रुपमा उभ्याउँदै व्यापक विद्युतीकरण, सहरीकरण, औद्योगिकरण, आणविक शक्तिको केन्द्रीकरण, अन्तरिक्ष यात्रा लगायतका अपूर्व उपलब्धीहरु प्रदान गरेको छ । यसप्रकारको मानवजातिको महान् प्रबोधनको युगलाई दुत्कार्नु, मानवजातिले आजसम्म आर्जन गरेको समस्त भौतिक बौद्धिक मूर्त अमूर्त उपलब्धीलाई दुई कौडीको ठान्नु वास्तवमा उत्तर आधुनिकतावादको मानवता विरोधी एवं मानव विरोधी चिन्तन हो । यसले आधुनिकता मानवको कल्याण गर्न असफल भएको छ भनेर घोषणा त ग¥यो । तर कुन कुन काम कसरी गरे मानवको कल्याण हुन्छ भनेर कुनै निकास ग¥यो । माक्र्सवादले त वर्गसंघर्षबाट समाजवाद निर्माण गर्ने र मानवजातिको सुखद् र सुन्दर भविष्य निर्माण गर्ने बौद्धिक वैचारिक, सांस्कृतिक निकास दिएको थियो र छ तर उत्तर आधुनिकतावादीले कुनै निकास दिन सकेको छैन, केवल विध्वंशक, भ्रमपूर्ण र अमानवीय विचार मात्र प्रस्तुत गरेको छ ।
सन्दर्भ सामग्रीः
अफ्नासयेभ, भिक्टर, दर्शनशास्त्रको प्रारम्भिक ज्ञान (अनु. कृष्णप्रकाश श्रेष्ठ) मास्कोः प्रगति प्रकाशन, सन् १९७७
चापागाई, निनु, आधुनिकतावाद भ्रम र वास्तविकता, काठमाडौं , सहस्राब्दी प्रकाशन, २०६१
पोखरेल, डी.आर. समालोचनाको रुपरेखा, चितवनः साहित्य संगम चितवन, २०६७
बराल, ऋषिराज, माक्र्सवाद र उत्तर आधुनिकतावाद, विराटनगरः सविता बराल, २०५२
भट्टराई, गोविन्दराज, उत्तर आधुनिक ऐना, काठमाडौं, रत्नपुस्तक भण्डार, २०६२
मिश्र, डा. भगीरथ, पाश्चात्य काव्यशास्त्र इतिहास, सिद्धान्त और वाद, वाराणसीः विश्वविद्यालय प्रकाशन, सन् १९९९
शर्मा, प्रा. मोहनराज र डा. खगेन्द्रप्रसाद लुइँटेल, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार, २०६७ ।
(अध्ययन केन्द्र, दाङको आयोजनामा संवत् २०७८ श्रावण २३ गते भर्चुअल विधिबाट सम्पन्न विचारगोष्ठीमा डी.आर. पोखरेलद्वारा प्रस्तुत कार्यपत्र)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित