गौरी देवकोटा
फूलका दुश्मनहरू
उफ्रिरहन्छन् चिच्याइरहन्छन्न्
र बेलाबेला सन्दर्भविनै भनिरहन्छन्
हटाउँछौँ फूलको व्यवस्था
मेरो माटोमा
मेरो श्रमले
मेरै घरलाई
सुगन्धित बनाउन
मैले फुलाएको
भलै कसैलाई विद्रुप लाग्ला
कसैले च्यातेर फाल्न खोज्ला
कसैले चोरेर
सजाउला आफ्नै बैठक
वा लगाउला गलामा
हरेकको पहुँचमा रहेको फूल
गर्लान् उपयोग
आआफ्नै चेत अनुसार
तै पनि
मेरो श्रमले
मेरो मर्जीले फुलाएको
मेरो माटोको सीमाभित्र
कसैले दुर्भाव नफैलाए हुन्छ
घरका एक एक सदस्यको
रगत पसिना सद्भाव र समर्पणमा
फुलेको फूलले
बिझायो भने कसैलाई
हट्न सक्छौ स्वयम्
फूलको संसर्गबाट
फूलको राज्यबाट
अति भयो
बन्द गर फूलमाथिको बलात्कार
बन्द गर फूलको बदनाम ।
सिमलको भुवा होइन यो फूल
हावासँगै उँडी जाने
बोटबाट सजिलै छुटि जाने
छोप्नै नमिल्ने ज्वाला टेकी
जोख्नै नमिल्ने त्यागमाथि
आफ्नै श्रमले फुलाएको
अझै मनमोहक बनाउने प्रयत्नमा
च्यात्नेहरूलाई खबरदारी गर्छुर गरिरहेछु
टिपेर आफ्नै निम्ति सजाउने लगाउनेलाई
सावधान ,भन्छुरभनिरहेछु
औंलो कसैले नठड्याए हुन्छ
मेरो श्रममाथि
कसैले धावा नबोले हुन्छ
मन पर्दैन जसलाई यसको सौन्दर्य
हट्न सक्छौ
फूलको व्यवस्थाबाट
फूलको सम्राज्यबाट
फूलमाथि दुर्भाव नफैलाए हुन्छ
उखेल्ने दुस्साहस नदेखाए हुन्छ ।

