– हिमाल थापा
म अहिले बेल्जियममै छु । ईजरायल र प्यालेस्टाइन युद्धको ठूलो प्रभाव यहाँ छैन । विदेशबाट आएका व्यक्तिहरूले केही जम्मा भएर प्यालेस्टाइनी जनता र शान्तिको पक्षमा तथा युद्धको विरोधमा चोकचोकमा उभिएर नारा लगाउने , भाषण गर्ने गरेको पाइन्छ । यहाँका स्थानीयहरू त्यसरी सडकमा आएर उक्त विषयमा नारा जुलुस गरेको मैले थाहा पाएको छैन । यहाँको सरकारले उनीहरूलाई शान्तिपूर्ण तरिकाले बोल्न,जुलुस गर्न ,भाषण गर्न छुट दिएकै छ । त्यो स्वतन्त्रताको अधिकार उनीहरूले प्रयोग गर्दछन ।
जर्मनको फ्रेङ्कफर्टमा २०२४ नोभेम्बर ९ मा युवकहरूको कला र सँस्कृति सम्बन्धी कार्यक्रम थियो । परी थापाजीले मलाई त्यस कार्यक्रममा जान भन्नू भएको थियो । म त्यहाँ पुग्नका लागि छुट्टी लिएको पनि थिएँ । तर मेरो स्वास्थ्यमा केही समस्या आएकोले म युवकको कार्यक्रममा जर्मन जान असमर्थ भएँ । परीजीले पनि त्यस्तो स्वास्थ्यमा समस्या भएको भए नजानुस् भन्नू भएको थियो र म गएन ।
रूस – युक्रेन युद्धको सुरूसुरूको बेलामा यहाँ युरोपमा समस्याहरू आए । यहाँका सरकारहरूले रोजगारी दिनु पर्दा, बस्ने कोठा दिंदा,पहिलो प्राथमिकता युक्रेनी शरणार्थीलाई दिनु भनेर आफ्ना जनतालाई समेत आह्वान गरेका थिए । त्यतिबेला नेपाली लगायतलाई यहाँ कोठा पाउन पनि मुस्किल हुने अबस्था थियो । जागीर पाउने अबस्थामा पनि मुस्किल थियो । तर अहिले युरोपियनहरूले युक्रेनी शरणार्थीका समस्या व्यवस्थापन गरिसकेको भएरै होला अहिले खासै समस्या छैन । म नेपालमा परीजी,चक्रपाणी शर्माजी सित नियमित सम्पर्कमा नै छु। यहाँ युरोपमा हामी अनलाईनबाट भए पनि सम्पर्कमा छौँ । यहाँ युरोपमा गैरराजनीतिक प्रकारका क्षेत्रीय, जिल्ला, भेगीय, जातीय प्रकारका संगठनहरू छन् । तिनीहरूले भेटघाट ,मनोरन्जन र साँस्कृतिक कार्यक्रम राख्ने गर्दछन् ।

