‘मान्छे’ खण्ड काव्यले उठाएको सवाल

मोदनाथ मरहट्टा

कवि मनु बिकको चौथो कृतिका रूपमा ‘मान्छे’ खण्डकाव्य पढेपछि केही कुरा लेख्ने जमर्को गरेको छु ।
मनु वि.क. (२०४१) सशक्त प्रगतिवादी कवि हुन । पाल्पा जिल्लाको गेझामा जन्मिएकी उनीले आफु जन्मिएर हुर्किएको समाजमा देखिएको दलन उत्पीडनले जन्मिएको प्रतिरोधी चेतना स्वरुपका विद्रोही स्वर आप्mना सिर्जनामा व्यक्त गरेकी छन् । साठीको दशकदेखि कविता सृजनामा उपस्थिति जनाएकी कवि मनुले बिभिन्न बिधामा कलम चलाएकि छन् । उनको पहिलो प्रकाशित कृति ‘युगको आह्वान’ कविता संग्रह (२०७५) हो भने ‘भान्से महिला’(खण्डकाव्य–२०७६), कालीकी वेग (खण्डकाव्य–२०७७) र ‘मान्छे’(खण्डकाव्य–२०८१) हुन् । आठवटा खण्डमा सिर्जना गरिएको यस काव्य ९१ पृष्ठमा बाँधिएको छ । नेपाली समाजमा जात व्यवस्थाले बचाई राखिएको विभेदलाई कविले केन्द्रीय कथ्य बनाएकी छिन् ।
खण्ड काव्य भन्ने बित्तिकै महाकाव्य भन्दा सानो र लामो कविता भन्दा ठूलो मध्यम खालको भनेर बुझिन्छ । आख्यानिकता भन्दा अनुभूतिको एक्लो प्रवाह रहेको यसकृति लोक छन्दमा रचिएको छ । मेला पर्व, वनपातमा श्रमसँगै उत्पन्न हुने शुध्द जनबोलमिा आउने शब्द र लयनै लोकछन्द हो । लोकछन्द अर्थात् गीति लयमा सलल बगेको यस खण्डकाव्यमा समाजको अस्तित्वमा रहेको विभेद (छुवाछुत)ले बनाएको आक्रान्तलाई उठाइएको छ ।
खण्ड काव्य जेका विषयमा लेखिन्छ त्यसमा आख्यानता हुनुपर्छ भनिन्छ तर यस खण्डकाव्यमा अनुभूतिजन्य व्याख्यान भेटिन्छ । कुनै पनि सिर्जनाकोलागि सैद्धान्तिक अवयवहरूको निरूपण गरिएका हुन्छन् तर सर्जकले ती आवश्यक अवयवमा नढाली आवेगमा वा उद्वेलनमा सिर्जना गर्छ । प्रस्तुत खण्ड काव्यमा पछिल्लो मान्यतामा सिर्जना गरिएको देखिन्छ। यस खण्डकाव्यका हरेक खण्डलाई शीर्षक वा नामदिई रचना गरिएको छ । खण्ड एकमा ‘समानता र विभेद’ नामाङ्कन गरी कविभित्रको विवेक र बौद्धिकताले विषयको बयान गरिएको छ । ठूलो जात भनिएका र सानो जात बनाइएकाहरूको शारीरिक बनोट सबै एकै प्रकारका हुन्, यो प्रकृतिमा उस्तै श्रम गतिविधि हुन्छन् । आकाश उस्तै हो। धर्ती उस्तै छ सास लिने कृया र हाजा पनि उस्तै छ भन्ने अभिव्यक्ति रहेको छजुन सार्वभौम सत्य हो ।
तिमी पनि उही घामको ताप नै ताप्दछौ।
म पनि उही घामको ताप ताती तात्छु।
तिमी पनि फूलको बासनाहरूमा रम्छौ ।
म पनि त त्यही फूलको बासनामा रम्छु।
पृष्ठ–१२
हो, को छुत को अछुत जन्मने प्रकृति एउटै हो । रुने, हाँस्ने संवेदना पनि उस्तै हो । भोक, तिर्खा, थकाई, निन्द्रा सबै उस्तै हुन् । यस्ता क्रियाकलाप एकै हुँदा पनि उपल्लो जात भनिएकाहरूले कुकुर बिरालाहरूलाई छुन, अङ्गमाल गर्न घरभित्रसँगै राख्न मिल्ने तर बहिष्करणमा पारिएकाहरूलाई छोइछिटो गराउने जुन कुरुप मान्यता छ । यसले कवि हृदयलाई बेस्सरी छोएको छ।
जात व्यवस्थाबारे एउटा असत्य र भ्रम छ त्यो हो ब्राम्हणको जन्म मुखबाट र शुद्र भनिएकाहरु पैतालाबाट जन्मिएका हुन् भन्ने मान्यताले अछुतलाई जबरजस्त लादिइ रह्यो । यो अवैज्ञानिक र भ्रामक मान्यताले विभाजनको पर्खाल उभिइरह्यो । यो भ्रमका विरुद्ध कविले प्रतिरोधी स्वर उठाएकी छन् । कुनै पनि मानवको जन्म मुख जा पैतालाबाट हुँदैन यस्तो कृया मानवबाट मात्र संभब हुन्छ ।
आर्यसभ्यता अन्तर्गतको हिन्दू धर्मावलम्बी भित्रका कयौं ढोङ र पाखण्ड विद्यमान छन् । समाजभित्रका सबै वर्गको प्राकृतिक स्रोत र जीवन जिउन अनिवार्य मानिएको पानीका लागि दलित वा अछुत बनाइएकाहरू वञ्चित हुन पुगेका छन्। नेपाली समाजमा लामो समय बाँचेको कुरुप यथार्थ हो। कवि विकले आफू जन्मिएर हुर्किएकी समाजमा भोगेको, देखेको र सुनेको साविती हो। यो कुरुपताले समतावादी मन मस्तिष्कलाई झस्काउँछ।
‘पानी भर्ने पधेरोमा एक्लै पानी भरेर
पानी भर्ने मुहानमा छेकबार गरेर
कैयौँ आमा दिदीबहिनी मुहानबाट खेदायौ
गाग्री, घैँटा अछुतका त्यही धारामा फुटायौँ।
पृष्ठ–१७
वर्णवादी समाजबाट कविले भोगेको उत्पीडनको साक्षी यी पंक्तिहरू हुन्। कवि विक यो कुप्रथाको प्रतिकारमा प्रकृतिलाई मानवीकृत गरेर प्रश्न गर्छिन्–
हे! प्रकृति पानी दियौ पानी अछुत हुन्छ र?
हे ! प्रकृति मूल दियौ मूल अछुत हुन्छ र ?
मैले छुँदा तिम्रो मूल भन अछुत हुन्छ र?
उही पृष्ठ
नेपाली समाजमा तल्लो जात मानिएको श्रमजीवी वर्ग हो। यो वर्गको श्रम र सीप बिना माथिल्लो जात मानिएकाहरूको जीवन चल्न सकसपूर्ण छ। अछुत भनिएका जातिहरू मेहनती र श्रमप्रति इमान्दार छन् तर पाइला पाइलामा उपेक्षित र अपमानित छन्। कविले खण्ड दुईमा अछुतका अमूल्य काम उपशीर्षकमा मानव जीवनोपयोगी शिप र उत्पादकलाई गतिलय मार्फत व्यक्त गरेकी छन् । अछुत बनाइएका जातिभित्र साना घरेलु उद्योगका लागि आवश्यक सीप र लगाव छ चाहे त्यो सिनोको छाला निकालेर जुत्ता तयार होस् अथवा कडा फलाम पगालेर कृषि उत्पादनका लागि तयारी औजारहरु हुन्। यी सबै निर्माणमा अछुतहरूकै सीप प्रयोग भएको व्यहोरा कविले उल्लेख गरेकी छिन् ।
समाजका लागि जुत्ता बनाउने, औजारको निर्माण पोषाक सिलाउने, गीत संगीतबाट मनोरञ्जन दिने, बादी वा गन्धर्व यी सबैलाई अछुतका दर्जामा राखी शोषण गर्दै आएको जुन विकृत मान्यता छ यसमा कविजीको आक्रोश छ, जुन यथार्थमा ग्राह्य छ । उपल्ला जात भनिएकाहरुले त्यही काम गर्दा उनीहरु अछुत हुँदैनन् तर पुख्र्यौली श्रम र शिपको आधारमा यो वर्गलाइ सधैं उपेक्षित गरिन्छ।
खण्ड तीनमा अछुतले डेरा नपाउने समस्याको उजागर गरिएको छ । यो समस्या मुख्यत सहर केन्द्रित समस्या हो। सहरिया सम्भ्रान्त घरधनीहरू डेरावालसित जात सोधेर विभेद मात्र गर्दैनन् डेरादिन अस्वीकार समेत गर्छन् वर्तमानमा पनि यो समस्या निराकरण हुनुको सट्टा ज्यू का त्युँ बाँचिरहेको छ कविका आफ्नै भोगाई जस्तो लाग्ने यो अंश—
‘रूप रङ्ग छाला हेरी जातपात सोधेर
कोठाभाडा दिने सधैँ धनी गरिब जोखेर
धन पैसा मन होइन तर जातभात सोधेर
डेरा छैन मानवलाई तल्ला जाति भनेर’
पृष्ठ–५०
धन ऐश्र्यले पूर्ण ठूला घरधनीहरू बाह्य मुलुकका गोरो छाला भएका पात्र डेरा खोज्न आए बिना सोधपुछ डेरा दिन्छन् तर आफ्नै स्वदेशी बन्धुहरूलाई डेरा नदिने मान्यताको अन्त्य हुनुपर्ने कविको मान्यता रहेको छ।मानव मानव एक हौँ भन्ने मान्यतालाई स्थापित गर्न कवि विकले अन्तरजातीय प्रेमको विषय उठाएकी छन्। प्रेम र विवाह मानव समाज अस्तित्वमा आएदेखि अनिवार्य रहँदै आएको छ। चाहे ग्रामीण समाजमा होस् चाहे सहरी सभ्यता त्यहाँ विपरीत लिङ्ग बीच माया प्रेम प्रस्फुटन भएको हुन्छ। माया, प्रेम र सद्भावबाट मात्र समाज चलेको हुन्छ। कवि बिकले खासगरी अन्तर्जातीय प्रेममा समाजले गर्ने अवरोध, छेकबार तथा जातीय अन्तरका कारण तल्लो जात बनाइएकाहरु माथिको हिंसाको विषय उठाएकी छन्। उनी लेख्छिन्—
’प्रेमले सोच्दैन धनी अनि गरिब
प्रेमले सोच्दैन जातजातिको त्यो सीमा
प्रेमले सोच्दैन सिमानाको बन्धन
प्रेम त फैलन्छ सबै जनको मनमन’
पृष्ठ–५८
समाजमा जातीय बन्धनलाई भत्काएर अन्तरजातीय प्रेम सम्बन्धमा रहेकाहरूले खेप्नु परेको अपमानलाई कवि विकले नजिकैबाट भोगेकी छन्। दलित र गैरदलित बीचको प्रेमिल सम्बन्धका कारण दलितहरू हिंसामा परेको तित्तो यथार्थ कविले उजागर गरेकी छन्।
नेपाली समाजमा दलित बनाइएकाहरू आर्थिकरूपले कमजोर छन्। शिप र श्रमले सजिएका भएर पनि धेरै जसो दलितहरू भूमिहीन छन्। उपल्ला जात भनिएकाहरूले आफ्ना खेतबारीमा काम गर्न वा गृहस्थ जीवनका लागि औजार निर्माण, लुगा सिलाउने तथा कृषि उत्पादनका लागि हलो, कोदालो, खेताली र गोठालोको रूपमा बस्न बाध्य हुन्छन् र त्यस्ता काम गरे बापत केही अन्न प्राप्त गर्छन् त्यस्तो प्रथा बालीघरे प्रथा हो र कवि मनुले त्यस्तो प्रथाले निकै सकस कटाएकोमा थुप्रै प्रश्न उठाएकी छन् । त्यस्तो प्रथाले जीवन धान्नेहरूको कहाली लाग्दो अवस्था खण्ड पाँचमा देखाइएको छ। अभाव, गरिबी, अशिक्षाले त्यस्ता परिवार सधैंभरि थिचिएका छन् । आफ्नो काव्यमा उनी भन्छिन्।
‘अछुतका आँखाहरू गडेका छन् किन हो
अछुतका नशाहरू बाउडिएका छन् किन हो
अछुतका ज्यू सदा हाड छाला मात्रै किन
अछुतका मुहार उदास उदास मात्रै किन’
पृष्ठ–७१
अछुत आफ्नो निजी जीवनमा दर्दनाक पीडा भोगेर पनि उनका सीप उपल्लो श्रेणीका जनहरूका नाक, कान शिरमा लट्केका छन् । खेतबारी वनपाखामा मात्र अछुतहरूको श्रमसीप पोखिएको मात्र होइन, समाज रूपान्तरणको अभियानमा पनि अछुत बनाइएकाहरूले योगदान र बलिदान दिएको छ। यस विषयमा पनि कविले मसिना गरी केलाएकी छन् । माओवादी जनयुद्धको सन्दर्भमा धेरै अछुतहरूले सहभागिता मात्रै जनाएनन् जिउ ज्यानको समेत बलिदान गरे। कैयौँ आरनमा भरुवा बन्दुक र खुकुरी जस्ता हतियार पनि निर्माण भए। उनी लेख्छिन् —‘ ए विभेदको पर्खाल ठड्याउनेहरू मानवताको पाठ सिक’
‘मान्छे मान्छे भेद रच्ने जन्जालहरू भत्कियोस्
मान्छे उच्च निच देख्ने मानसिकता रितियोस्
मान्छे मान्छे फुट पार्ने संरचना सिद्धियोस्
मानवता फुलाउने रचना नै निस्कियोस्’
यसरी विभेद निमिट्यान्न पार्न सबैमा मानवता होस् भन्ने काव्यको निष्कर्ष रहेको छ।
काव्य सिर्जनामा केही सीमाहरू रहेको छन् । सिङ्गो काव्य गीति लयमा लेखिएकोले कतिपय पंक्तिहरूमा लय भत्किएको छ। गीतिलयमा पनि पंक्तिको मात्र मिलाउँदा त्यो गेयमा ढाल्न सकिन्छन् कतिपय गीतमा लय र गेय पनि भत्किएको छ। प्रगतिवादीहरूलाई लाग्दै आएको आरोप के हो भने यिनीहरु कलापक्षलाई ध्यान दिँदैन। यसबारे हामी कवि लेखक हरदम चनाखो रहनुपर्दछ। काव्यमा कतिपय वाक्यांशको पुनर्उक्ति भएको छ। यसले पाठकलाई तान्न सकिँदैन। भने व्याकरणका मान्यतामा पनि विचलन देखिन्छ। अर्को मुख्य विषय के उठाउनुपर्नेछ भने कवि मनु मालेमाको आदर्शलाई आत्मसात गर्ने योद्धा हुनुहुन्छ तसर्थ मन्दिर प्रवेशमा अछुतलाई अवरोध गरिएकोमा चित्त दुखाई जायज देखिँदैन। सर्वहारा सांस्कृतिक क्रान्तिलाइ पछ्यायनु पर्नेले यो चिन्ता लिनु जायज होइन । ऐतिहासिक द्वन्दात्मक भौतिकवादलाई जीवन दर्शन मानेर आन्दोलनमा होमिएका योद्धालाई यो विषय गौण हुनुपर्छ । काव्यमा कविको निष्कर्ष छ सबैमा मानवतावाद हुनुपर्यो। यो समाज बिग्रिएछ भन्ने ज्ञात भइसकेको स्रष्टाले बुर्जुवा मानवतावाद होइन सर्वहारा मानवतावादले मात्र उत्पीडनको अन्त्य हुन्छ भन्ने ठोकुवा गर्नुपर्छ।
कृति पठनीय छ । प्रकाशनको व्यय आफैले ब्यहोरेर पनि पाठक सामु आइपुग्नु सह्रनिय छ । ९२ पृष्ठमा सजिएको कृतिको मूल्य २००। स्वभाविक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित