बाल शहीद राजन रायमाझी

– रामबहादुर बुढा

राजन रायमाझी २०४६ सालको जनआन्दोलनको बेला सहिद भएका थिए । उनको जन्म नुवाकोट जिल्ला लिखु गाउँपञ्चायत वडा नं ७ सल्य मैदान – गौजिनी, (हाल नुवाकोट जिल्ला शिवपुरी गा.पा.वडा नं ६ ) मा भएको थियो । उनी नुवाकोट जिल्लाकै प्रथम सहिद हुन् किनभने २००७ र २०३६ सालको आन्दोलनमा नुवाकोटबाट कोही पनि सहिद भएको थिएन । उनको बारेमा “अमर शहीदः राजन रायमाझी” शीर्षकमा लोक छन्द र परम्परागत शास्त्रीय छन्द प्रयोग गरी श्रीहरी फुयाँलले लेखेको खण्ड काव्य २०६१ वैशाखमा प्रकाशित भएको थियो । साहित्यकार केशव नेपालले पनि उनको जीवनी माथि २०४७ मा संक्षिप्त पुस्तिका लेखेका थिए । काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुको तरुन टोलमा शहीद राजन रायमाझीको नाममा २०५६ मा एउटा स्कूल स्थापना गरिएको थियो, जो अहिले पनि सन्चालनमा छ । त्यस स्कूलको अगाडि २०६६ मा उनको शालिक निर्माण गरिएको छ । त्यो शालिक अमर चित्रकारले तयार गरेका हुन् । कैयौं वर्ष शालिक राख्ने ठाउँ खोज्दा पनि उनले ठाउँ नपाएपछि अन्तमा त्यही बोर्डिङ स्कूल अगाडि त्यो शालिक राखिएको थियो ।

 

राजन रायमाझीको बुवाको नाम गणेश बहादुर रायमाझी र आमाको नाम अम्बिका रायमाझी हो । गणेश रायमाझीको २०७५ सालमा मृत्यु भएको थियो । गणेश रायमाझीले कान्छी श्रीमती ल्याएपछि अम्बिकाले अत्यन्तै दुःख पीडा भोग्नु प¥यो । बाल बच्चा पाल्नकोलागि मजदुरी गर्न अम्विका रेग्मी छोराहरु राजन र राजेशलाई लिएर काठमाण्डौ आउनु भयो । काठमाण्डौ आएर नक्सालमा बाग्लुङ गलकोटे राणाको घरमा बस्नु भयो र जुठा भाँडा माझेर छोराछोरी हुर्काउन थाल्नु भयो । नक्सालको बाल मन्दिरमा राजन रायमाझीलाई पठन पाठनकालागि भर्ना गर्नु भयो । ६ महिना राजनले बाल मन्दिरमा पढ्नु भयो । एक दिन रायमाझीका बुवाले अम्विकालाई थाहा नदिइ नुवाकोट लिएर गएछन् । अम्विका छोराको पीरले गाउँमै फर्किनु भयो र गाउँमा नै राजन रायमाझीलाई पढाउन थाल्नु भयो । लिखु गाउँ पञ्चायतको रामायण निमाविमा भर्ना गरी राजनलाई पढाउने काम भयो । २०३८ सालमा केटाकेटीहरु खेल खेल्दा राजन रायमाझीको खुट्टा भाँचिएको थियो । उनको खुट्टा पलाष्टर गरियो र सन्चो पनि भयो । राजन पाँच वर्ष पूरा गरेर ६ वर्षमा लागेपछि २०३९ सालमा बालबच्चा पढाउन भनेर बच्चा बच्चीहरु लिएर अम्विका फेरि काठमाण्डौ आउनु भयो । २०४१ सालमा राजन ७ वर्ष पुगेर आठ वर्षको हुँदा बोर्डिङ स्कुल छोडाएर क्षेत्रपाटीको जुद्धोदय मा.वि. मा कक्षा ४ मा भर्ना गरिदिनु भयो । अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले बोर्डिङमा पढाउन नसकिने भएकाले सरकारी स्कुलमा पढाउन थालिएको थियो । पतिबाट अपहेलित अम्विकालाई कहिलेकाहीँ माइतीले मद्दत गर्दथे । अम्बिकाले २०४२ मा पति गणेश सित सम्बन्ध विच्छेद गर्न भएको थियो । राजन रायमाझी निकै मिहेनती असल स्वभावका थिए । विदाका दिनमा उनले मौसम ,सुन्तला, स्याउलाई नाङले पसलमा राखेर बिक्री वितरण गर्दथे । भाइ र बहिनीको हेरचाह गर्दथे । सानै उमेरदेखि आफ्नोलागि मात्रै नभएर अर्काकोलागि र राष्ट्रको लागि बाँच्नु पर्दछ भन्ने उच्च भावना उनले राख्थे। राम्रो स्वभाव भएकाले उनलाई शिक्षक र साथीहरुले निकै मन पराउँदथे । उनी अनेरास्ववियु (छैठौं)का सदस्य थिए । २०४६ सालको जनआन्दोलनमा पर्चा, पम्पलेट टाँस्ने काम गरेका थिए । पञ्चायती व्यवस्थाका विरुद्धमा काठमाण्डांैमा चलेका भाषणहरु सुनेका थिए ।

पत्रकार विजयराज आचार्यसँग कुरा गर्दै राजनकी आमा अम्विकाले राजनलाई यसरी सम्झनु भएको छ ,सानैदेखि दुःख पाएकोले पनि हो ऊ सँधै दुःखका मात्रै कुरा गर्दथ्यो । कसैले कोठामा आएर शोषण अत्याचार र त्यसकोविरुद्धको आन्दोलनको कुरा गर्ने बित्तिकै ऊ ध्यान दिएर सुन्थ्यो । बजारमा पाइएका पर्चा र पम्पलेटहरु जम्मा गरेर ल्याउँथ्यो र नजिकै कोठामा नेकपा माक्र्सवादीका नेता लोकनारायण सुवेदीको डेरा भएकोले पनि उसले त्यस्ता सामाग्री हरु खोजी खोजी पढ्ने मौका पायो । उसले भन्ने गर्दथ्यो तपाइँ मेरो भाइ बहिनीको चिन्ता नलिनुस आमा ,उसले भाइ बहिनीको राम्रो रेखदेख गर्दथ्यो । ” उनकी आमा अम्बिका त्यसबेला नुवाकोट तिरै एउटा स्वास्थ्य तालिममा जानु भएको थियो । आमाले फोनबाट चैत्र २५ गते आन्दोलनमा नजानु भन्नु भएको थियो ।आमासित राजनले त्यसदिन फोनमा अलिकति सहयोग गर्नु नै पर्छ आमा नारा जुलुश गर्नेहरुलाई भनेका थिए । २०४६ साल चैत्र २६ गते रातीको राजा ,कांग्रेस वाममोर्चाको सम्झौतालाई अनेरास्ववियु छैठौंले धोका भनेर विरोध गरेको थियो । २६ गते राति सेनाले चलाएको गोलीबाट राजनको हत्या भएको थियो । लोकनारायण सुवेदीका छोरा र राजन एउटै उमेरका साथी–साथी थिए । २०४६ को जनआन्दोलनमा उनीहरुले काठमाडोँ क्षेत्रपाटी क्षेत्रमा निकै राम्रो भूमिका खेलेका थिए । टोल भरि पर्चा बाँड्ने, प्रहरीको चियो गर्ने, बच्चाहरु जम्मा भएरनारा लगाउने काम गरेका थिए ।

सन्दर्भ
फुँयाल ,श्रीहरी ,(२०६१ बैशाख ),अमर सहीद ः राजन रायमाझी (खण्डकाव्य), प्रकाशक राजनस्मृति प्रतिष्ठान बालाजु काठमाण्डौ
विजयराज आचार्य , …..सहीदको शालिक राख्ने ठाउँछैन

कुराकानी
अम्विका रायमाझी २०८२ जेष्ठ १९ गते
शारदारमण नेपाल २०८२ जेष्ठ १८ गते
लोकनारायण सुवेदी,२०८२ जेष्ठ २२ गते

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित