२०८२ असार ३१ गते काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले नेपालको क्रान्तिकारी आन्दोलनमा प्रचण्ड,बाबुरामले क्रान्तिलाई मात्र धोका दिएको नभएर आफ्नो वर्ग नै छोडिदिएको बताउनु भएको छ ।
मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गजुरेलले जनगणतन्त्र नै अबको विकल्प रहेको बताउँदै त्यसकोलागि कम्युनिष्ट पार्टीहरुलाई तयार गर्नेमा आफ्नो पार्टी रहेको बताउनु भयो ।वहाँले वर्तमान अवस्थामा केही कम्युनिष्ट पार्टीहरुले गरेको उत्पादनको कुरा जुझारु अर्थवाद हो भन्दै त्यो कुरा माक्र्सवाद विरोधी रहेको बताउनु भयो । वहाँले युवाहरुलाई जुझारु अर्थवादमा लागेर महत्वपूर्ण समय नसक्न पनि अनुरोध गर्नु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्यपत्रमाथि आफ्नो धारणा राख्दै सो कार्यपत्रले विकल्पको खोजी गरेको आफूले पाएको बताए । सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई मध्यनजर गरेर कार्यक्रम र कार्यनीति ल्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहल गर्नेमा आशावादी भएको बताउँदै भने,“अब आउने कायनीति र कायक्रमले जनवादी संघीयता दिन्छ कि दिदैन बहसमा जानुपर्छ ।”
नेकपा(मसाल)का प्रवक्ता राम प्रकाश पुरीले कार्यत्रपत्रमा इतिहासको राम्रो व्याख्या रहेको भएपनि अहिले के गर्ने ? हाम्रो कार्यक्रम के हो ? संघीय जनगणतन्त्रमा जाने बाटो के हो लगायतका विषय अस्पष्ट रहेको बताउनु भयो । ।
नेकपा(ऋषि कट्टेल)का उपाध्यक्ष शम्भु कट्टेलले कार्यपत्र जनगणतन्त्रमा कुन बाटोबाट जाने भन्ने कुरा स्पष्ट नआएको बताउनु भयो ।उहाँले अहिले केन्द्रीय विद्रोहको मात्रै कुरा भइरहेको भन्दै जनवर्गको संयुक्त मोर्चाको विषय पनि ध्यान दिनु पर्ने बताउनु भयो र आन्दोलनमा जान सबै पार्टीकोबीचमा समन्वय र समझदारी हुनुपर्ने औंल्याउनु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य राजकुमार हिङ्वाङले दलाल संसदीइ व्यवस्थाले निर्माण गरेका स्तम्भहरु भत्काउनु पर्ने कुरामा जोड दिनु भयो ।नेकपा(विप्लव) का केन्द्रीय सदस्य चिरञ्जीवी सिले कार्यपत्रले प्रष्टसँग विकल्प दिएको बताउँदै पुँजीवादले आफ्नो विकल्प दिएको छ, तर कम्युनिस्टहरुले विकल्प दिन सकेका छैनन्, त्यसका लागि कम्युनिस्टहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यपत्र प्रस्तोता ,कार्यक्रमका अध्यक्ष तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य केदार खतिवडाले ‘दलाल संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’का लागि जनयुद्धको उद्देश्य संसदीय व्यवस्था थिएन, २०६२÷६३को जनआन्दोलनको जनभावना के थियो ? दलाल संसदीय गणतान्त्रिक व्यवस्थाको चरित्र, अहिले जनजीविकामा परेको संकट र संघीय जनगणतन्त्र आजको आवश्यकता उपशिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले सञ्चालन गरेका थिए भने अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले स्वागत मन्तव्य राखेका थिए

