-रामसिंह श्रीस
ऐतिहासिक स्थलहरुको अवलोकन
यसपालीको जनसम्बन्ध विस्तार अभियानको क्रममा कतिपय ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने अवसर प्राप्त भयो । अवलोकन गरिएका स्थलहरुको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
१) हलेसी खोटाङ
खोटाङको हलेसीको बारेमा कैयौं कुराहरु सुन्ने गरिएको थियो तर प्रत्यक्ष देखेको थिएन । वि.सं. २०८१ साल चैत्र १८ गतेका दिन हाम्रो अभियान टीम हलेसी पुग्यो । १÷२ घण्टाको बसाइमा यसको बारेमा विस्तृत जानकारी हुने त कुरै भएन तर पनि यसबारे आफूलाई लागेको कुराहरु उल्लेख गर्न गइरहेको छ । यो विशिष्ट प्रकारको प्राकृतिक गुफा रहेछ । मानव वस्ती आउन भन्दा अगाडि नेपालको पहाडहरु बन्ने क्रममा बनेको गुफा र ओडार हो जस्तो लाग्यो । पछि यसलाई मानिसहरुले धार्मिक कथाहरुसँग जोडेर अनेक कथाहरु बनाएका रहेछन् । यहाँ पहिले बौद्धिष्टहरुको प्रभाव भएको देखियो । बौद्धिष्ट गुम्वा पनि नजिकै रहेछ । हिन्दुहरुको प्रभाव बढेपछि ठूलाठूला मन्दिरहरु बनेका रहेछन् । खासमा प्राकृतिक रुपमा एउटा पहाडको सानो थुम्कोमा दुईवटा गुफाहरु रहेछन् । एउटा मुख्य पुजाआजा गर्ने गोलो खालको माथिबाट तलतिर जाने रहेछ । यहाँ अहिले सिंढीहरु बनाएर व्यवस्थित गरिएको छ । अर्को यसै थुम्कोमा अर्को पट्टीबाट तलबाट माथितिर जाने सुरुङ जस्तो गुफा रहेछ र अलि भित्र पुगेपछि बाहिर निस्कन नसकिने तर आकाश देखिने भ्वाङ रहेछ । यसै भ्वाङबाट छिरेको प्रकाशले भित्र शुरुमा उज्यालो पाइन्छ । यहाँ पुजा गर्न टाढाटाढाबाट मानिसहरु आउँदा रहेछन् । जसले गर्दा यहाँ एउटा सानो बजार नै बसेको रहेछ ।

२) जनकपुर जानकी मन्दिर
वि.सं. २०८१ साल चैत्र २३ गते जनकपुरको जानकी मन्दिर र रेल्व स्टेशन हेर्ने काम भयो । जनकपुर नेपालको एउटा ऐतिहासिक स्थल हो । जनकपुरको बारेमा इतिहासमा धेरै लेखिएका छन् । जनकपुरको जानकी मन्दिर प्रख्यात मन्दिर नै हो र त्यहाँ म यसभन्दा पहिले पनि कैयौं पटक गएको थिएँ । तर हाम्रो टीममा रहेका कतिपय साथीहरुको यो पहिलो पटकको यात्रा थियो । उहाँहरुले जानकी मन्दिरको बारेमा सुनेको प्रत्यक्ष नदेखेको अवस्था पनि थियो । जनकपुर जयनगर (इन्डिया) रेल चल्छ भन्ने मैले सुनेको तर प्रत्यक्ष देखेको थिएन । म जस्ता अन्य साथीहरु पनि रहेछन् । त्यसैले यो अभियानको क्रममा जनकपुर पुगेको अवस्थामा जानकी मन्दिर र जनकपुर रेल हेर्ने योजना बनायौं । हामी जानकी मन्दिर र जनकपुरको रेल्वे स्टेशन गयौं । जयनगरबाट रेल आउने बेला भएको रहेछ । विहान १०ः५५ मा जनकपुर आउने समय रहेछ । रेल ठीक समयमा नै आयो । जयनगरबाट आउने रेल जनकपुर भन्दा अगाडि कुर्था भन्ने ठाउँसम्म पुग्दो रहेछ । जनकपुरबाट जयनगर पुग्न सामान्य कोचको भाडा रु. ७० र एसी कोचको भाडा रु. ३५० रहेछ । रेलमा यात्रुहरुको भीडभाडै देखियो ।

३) सिमरौनगढ
हाम्रो अभियान टीम २०८२ साल वैशाख ६ गतेमा दिन सिमरौनगढ पुग्यौं । सिमरौनगढको बारेमा पढ्ने, सुन्ने त गरिएको थियो तर प्रत्यक्ष त्यस भूगोलमा गइएको थिएन । यसपालीको अभियानले सिमरौनगढ हेर्ने अवसर जुटाइदियो । इतिहासकार डा. सुरेन्द्र के.सी.का अनुसार सिम्रौनगढ राज्य इ. १०९७ देखि ई. १३२४ (तदानुसार वि.सं. ११५४ देखि १३८१) सम्म जम्मा २२७ वर्षसम्म कायम रह्यो । यस राज्यको प्रथम राज्य नान्यदेव थिए भने अन्तिम राजा हरिसिद्धदेव थिए । यो राज्यले पटकपटक नेपाल उपत्यकामा आक्रमण गरेका थिए । यो अवधिका काठमाडौं उपत्यकामा समकालीन राजाहरु जयस्थिति मल्ल भन्दा पहिलेका मल्ल राजाहरु थिए । यो राज्यको पतन दिल्लीको बादशाह गयाशुद्धिन तुलालकले ध्वस्त पारेर भएको थियो । यसपछि यहाँ बलियो राज्य निर्माण हुन सकेन । पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा यो क्षेत्र मकवानपुरको सेन राजाको मातहत थियो भनिन्छ । यो घटना धेरै पहिलेको भएको हुनाले भग्नावेशहरु देख्न पाइएन । त्यहाँ अहिले जंगबहादुरको छोराले बनाइदिएको रानीमहल रहेछ । बीचमा मन्दिर वरीपरी मान्छे बस्ने पाटी रहेछ । यसबाहेक अन्य स्थानहरु समय अभावका कारणले अवलोकन गर्न सकिएन ।

४) चुरिया सुरुङ मार्ग
हाम्रो अभियान टीम वि.सं. २०८२ साल वैशाख १० गते पर्सा जिल्लाबाट मकवानपुर जिल्लातिर लाग्यो । मकवानपुर आउने क्रममा चुरियामाई सुरुङ मार्ग अवलोकन गर्ने काम भयो । यो चुरिया माई भएर धेरै प टक आउने जाने गरियो । चुरिया माइको मन्दिर बसबाट देखिन्थ्यो । त्यहाँ एउटा सुरुङ मार्ग रहेछ । त्यसबारे मलाई केही थाहा थिएन । बाटामा आउने क्रममा चुरिया माई मन्दिरनिर सुरुङ मार्ग छ हेरौं भन्ने कुरा चल्यो । हामी चुरिया माई सुरुङ मार्ग हेर्न त्यहाँ रोकियौं । त्यहाँ शिलालेखमा लेखिए अनुसार यो दक्षिण एसियाकै पहिलो चुरिया सुरुङ मार्ग रहेछ ।
यो निर्माण गर्ने व्यक्ति प्रथम ग्राजुयट सिभिल इन्जिनियर ब्रिगेडिएर कर्णेल डिल्लीजंग थापा रहेछन् । उनले अमलेखगञ्ज भिमफेदी सडक निर्माण गर्ने क्रममा सन् १९१७ देखि सन् १९१८ सम्म दुई वर्ष लगाएर निर्माण गर्नु भएको रहेछ । अहिले यस सुरुङ मार्ग चल्तीमा छैन । पूर्व पश्चिम राजमार्गको साइडमै छ । अहिले यसको रेखदेख हेटौंडा उपमहानगर पालिकाले गर्दो रहेछ ।

५) मकवानपुरगढी
हाम्रो अभियान टीमले वि.सं. २०८२ साल वैशाख १२ गतेका दिन मकवानपुरगढीको अवलोकन ग¥यो । यस गढीको सम्बन्ध पाल्पाका सेन राजाहरुसँग थियो । पाल्पाका राजा मुकुण्दसेन प्रथम (वि.सं.१५६५–१६१०) ले आफ्नो विशाल राज्यलाई आफ्नो छोरा, भतिजा, नातिहरुको बीचमा बाँडिदिएका थिए । मुकुण्ड सेनका कान्छा छोरा लोहाङसेन कोशी क्षेत्रको राज्य परेको थियो, जसको राजधानी विजयपुर थियो र मकवानपुर पनि यसै राज्य भित्र पथ्र्यो भनिन्छ । पछि कोशी क्षेत्रबाट चौडण्डी र मकवानपुर अलग अलग राज्य बने र राजाहरु बिनै पाल्पाले सेन वेशकै सन्तानहरु बने । यो मकवानपुर राज्यको अन्त्य पृथ्वी नारायण शाहको राज्य विस्तारको क्रममा भयो । दिगबन्धन सेनका समय वि.सं. १६८४ भदौ ९ गते (अगस्ट १७६२) का दिन मकवानपुर माथि गोरखाले अधिकार जमायो । यो गढी अलि पछिल्लो भएको सरणले त्यतिबेलाका किल्लाको भग्नावेशहरु अहिले पनि प्रशस्तै छन् । ती भग्नावेशहरुको जति संरक्षण हुन पथ्र्यो त्यति भएको पाइएन । प्रयास भने भइरहेको रहेछ ।


