क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भ्रष्टाचार विरोधी अभियान सम्बन्धी पर्चा

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरोधी अभियानसम्बन्धी प्रचार प्रकाशित गरेको छ। २०८२ असार ५ गते प्रकाशित उक्त प्रचारको व्यहोरा निम्नअनुसार रहेको छ –

भ्रष्टाचार विरोधी अभियान सफल पारौँ।
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पिबी बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ। यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ। देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन। मन्त्रालय,प्रशासनिक तथा स्थानीय निकायहरू , अड्डा ,अदालत, प्रहरी प्रशासन,विकास निर्माणका काम जहाँ जाउ त्यहाँ भ्रष्टाचार छ। घुसखोरी व्याप्त छ। घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो। तर स्वयं सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ। सरकारमा सामेल भएका मात्र होइन केही अपवाद बाहेक प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरू समेत भ्रष्टाचारबाट मुक्त छैनन्। भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सहकारी ठगी काण्ड, गिरिबन्धु टि स्टेट काण्ड, भिजिट भिसा काण्ड लगायत दर्जनौं काण्डहरुले यही कुराको पुष्टि गर्दछन् । भ्रष्टाचार गर्न र त्यसबाट प्राप्त रकम बाँडफाँड गर्न सफ्टवेयर समेत विकास गरेको कुरा चर्चामा आइरहेको छ।

यी घटनाक्रमहरूले के कुरा प्रष्ट गर्दछन् भने नेपालमा भ्रष्टाचार संस्थागत रुपमा विकास भएको छ र त्यसको नेतृत्व सरकारले गरिरहेको छ। सरकारमा सामेल राजनीतिक पार्टी तथा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरु पनि संस्थागत भ्रष्टाचारको पक्षमा रहेका हुनाले नेपालमा भ्रष्टाचारको विषय अत्यन्तै गम्भीर बन्न गएको हो। विकास निर्माणका कामहरू जति हुनसक्ने त्यति पनि हुन सकिरहेका छैनन् र विदेशी ऋणको भार वर्षेनी बढ्दै गइरहेको छ । देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो। तर स्वयं सरकार त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन। त्यसकारण हाम्रो पार्टीले भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक ठानेको हो। यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन र विभिन्न ढङ्गबाट यस अभियानलाई सहयोग गर्न हामी सम्पूर्ण जनसमुदायसँग हार्दिक अपिल गर्दछौं।

आदरणीय जनसमुदाय ,
हामी तपाईँहरूलाई यो कुरा पनि स्पष्ट गर्न चाहन्छौं कि यो प्रतिक्रियावादी संसदीय व्यवस्था र बुर्जुवा गणतन्त्र भनेकै भ्रष्टाचारी, घुस्याहा र शोषक वर्गको हित गर्ने व्यवस्था हो। त्यसकारण यो व्यवस्था अन्तर्गत हुने भ्रष्टाचार विरोधी आन्दोलनले भ्रष्टाचारको न्यूनीकरण गर्न त सम्भव छ तर निर्मूल गर्न सक्दैन । देशमा संस्थागतढंगले फैलिँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न र त्यसका विरुद्ध जनतालाई सुसुचित गर्न हामीले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न आवश्यक ठानेका छौ। देशलाई सधैंका लागि भ्रष्टाचारबाट मुक्त गर्न हामीले संघीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्नु अनिवार्य छ । वैज्ञानिक समाजवादले मात्र भ्रष्टाचारको पूर्ण उन्मूलन गर्ने छ ।

२०८२÷ ३ ÷ ५
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

केन्द्रीय कार्यालय

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित