साहित्यकार केशव नेपाल र उनका सिर्जना

रामबहादुर बुढा , काठमाडौ । केशव नेपाल राजनीतिकर्मीका साथै साहित्यकारको रुपमा नेपाली समाजमा परिचित छन्। साहित्यकार नेपालले राजनीतिक पुस्तक र साहित्यका विभिन्न विधाहरू उपन्यास, कथा, कविता,नाटक ,जीवनीमा कलम चलाएका छन् । अहिलेसम्म उनले २२ वटा कृतिहरू सिर्जना गरिसकेका छन् । साहित्यकार नेपाल सिन्धुपाल्चोक जिल्लाको बलेफी – ४ मा बाबा उमाकान्त नेपाल र आमा जोगमाया नेपालको कोखबाट २०१७ साल पौष २९ गते जन्मिएका थिए ।

बाल शिक्षा प्रा. वि.( हाल मा.वि.) खाडीचौर,सिन्धुपाल्चोकबाट उनले आफ्नो अध्ययन सुरु गरेका थिए। उनले कक्षा ४ सम्म खाडीचौरमै अध्ययन गरे। त्यसपछि उनी जालपा निमावि ( हाल मा. वि. ) कोठे बाट छ र सात कक्षा अध्ययन पूरा गरेका थिए। त्यसपछि सिन्धुपाल्चोककै बाह्रबिसेको शारदा माविबाट कक्षा ८,९ र १० उत्तीर्ण गरेका थिए । एसएलसी उत्तीर्ण गरिसकेपछि उनी काठमाडौमा पिपुल्स क्याम्पसमा आई।.कम. मा भर्ना भएका थिए। तर उनले त्यस क्याम्पसमा नपढेर महेन्द्र रत्न क्याम्पस ताहाचलमा आइ.एड.मा भर्ना भए र त्यहीबाट आई .एड. उत्तीर्ण गरे ।उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट आइ. ए .र बि. ए.प्राइभेटबाट अध्ययन पूरा गरेका थिए। कीर्तिपुर केन्द्रीय क्याम्पसबाट उनले एम.ए.उत्तीर्ण गरेका हुन्।

केशव नेपालले विद्यार्थी राजनीतिका रोचक अनुभवहरू पनि जम्मा गरेका छन्। उनी विद्यार्थी जीवनमा शिक्षकहरूबाट प्रभावित भएर राजनीतितिर आकर्षित भएका थिए। २०३८ सालतिर अखिल छैठौंको तर्फबाट महेन्द्र रत्न बहुमुखी क्याम्पस ताहाचलमा स्व .वि .यु . उपसभापति उम्मेदवार भइ निर्वाचित भएका थिए। त्यसरी नै २०४३ तिर उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढ्दा अखिल संयुक्त प्यानलका तर्फबाट स्व. बि. यु. सहसचिवका उम्मेदवार बनेकाथिए । त्यतिखेर अखिलको सबै हारेकाथिए ।एकजना गौरी प्रधान मात्रै निर्वाचित भएका थिए ।

केशव नेपाल सानै उमेरदेखि नै साहित्यमा रुचि राख्ने व्यक्ति हुन्। उनले जीवनमा लेखेको सबैभन्दा पहिलो साहित्य सिर्जना हो “हिमाल चुली”शीर्षकको कविता । यो सृजना उनले २०२७ सालतिर १० वर्षकै उमेरमा लक्ष्मी प्रसाद देवकोटाको बिहानीको उज्यालो कविताबाट प्रभावित भएर लेखेकाथिए । पुस्तकाकारकै रूपमा सबैभन्दा पहिलो पटक प्रकाशित भएको उनको कृति “ सत्यको विजय” शीर्षकमा लेखिएको २०३८ सालको बालकथा हो। अहिलेसम्म उनका चारवटा उपन्यास प्रकाशित भएका छन्– लाहुरेको चिठी, टुहुरीको जिन्दगी , चिथोरिएको देश र आमालाई चिठी। लाहुरेको चिठी उपन्यास लेखिनुमा त्यसका पछाडि महत्वपूर्ण पृष्ठभूमि रहेको छ। २०३९ सालमा बाग्लुङमा अखिल नेपाल युवक सङ्घको प्रशिक्षणमा गएका बेला साहित्यकार केशव नेपालले त्यहाँका लाहुरेका श्रीमतीहरू , लाहुरेका छोराछोरीहरूको कथा सुनेका थिए र लाहुरे विदेशबाट फर्किदा उनीहरुमा छाएको खुसियालीलाई पनि उनले नजिकबाट नियालेका थिए। केशव नेपालको अहिलेसम्म सर्वाधिक बिक्री भएको उपन्यास बेचिएकी चेली हो। यो उपन्यास एघारौं संस्करणसम्म छापिएको छ। पछिल्लो पटक साझा प्रकाशनले यस पुस्तकलाई बजारमा ल्याएको छ। बेचिएकी चेली उपन्यासको पनि त्यस्तै रोचक प्रसङ्ग उपन्यास सिर्जना हुनुमा जोडिएको देखिन्छ । नुवाकोट, सिन्धुपाल्चोक जस्ता ठाउँहरूबाट नेपाली चेलीहरू बिक्री हुने घटनालाई यस उपन्यासमा आधार बनाइएको छ। प्रसङ्ग कस्तो छ भने एउटी नेपाली चेलीलाई मुम्बईको वेश्यालयमा बिक्री गरिएकी नेपाली चेलीलाई भारतमा कृयाशील नेपालीहरूको सामाजिक संगठन अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले बेस्यालयबाट उद्धार गर्दछन्। उद्धार गरिएकी नेपाली चेलीलाई मुम्बईबाट दिल्ली स्थित अखिल भारत नेपाली एकता समाजको कार्यालयमा ल्याइन्छ । दिल्लीबाट गोरखपुर ल्याइन्छ र उनलाई काठमाडौ ल्याएर काठमाडौँमा भब्य पत्रकार सम्मेलन गरिन्छ । त्यस पछि उनलाई उनको घर नुवाकोट पठाइन्छ । ती बेचिएकी चेलीलाई गोरखपुर देखि काठमाडौ सम्म ल्याउने कार्यमा स्वयंसेवकको भूमिकामा केशब नेपालले पनि अवसर पाएकाथिए । उनले ती पीडित महिलाको पीडादायी कथा नजिकबाट सुन्ने र बुझ्ने अबसर प्राप्त गरे । बेचिएकी चेलीको कथालाई आधार बनाएर केशव नेपालले “बेचिएकी चेली” उपन्यास लेखेका हुन् र यो सर्वाधिक मन पराइएको उपन्यास बन्न पुग्यो । एउटा सामान्य मान्छेलाई ती महिलाको ख्याल राख्ने जिम्मा भएको भए महिलालाई ल्याउँथे ,घर पठाउँथे, कथा सकिन्थ्यो । तर एउटा साहित्यकारको हातमा त्यो कथा परे पछि कसरी एउटा राम्रो साहित्यिक रचना बन्दो रहेछ भन्ने कुराको उदाहरण त्यो उपन्यास हो ।

केशब नेपालका कविता संग्रहहरू नयाँ नेपाल बनाऔं , जेलको आवाज , सहिदको सम्झना,नयाँ मान्छे चारवटा प्रकाशित छन्। त्यसैगरी हाम्रो हाम बालकथा संग्रह शीर्षकमा उनको कथा संग्रह पनि प्रकाशित छ। केशव नेपालले राजनीतिक विषयहरूमा पनि कलम चलाएका छन्।।जेल तोडियो शीर्षकमा नाटक लेखेका छन् । संविधानसभा नै किन? जनविद्रोहका आधार, राजनीतिक कृतिहरू पनि उनले लेखेका छन्।असल लेखक कसरी बन्ने शीर्षकमा लेखक बन्न रुचि राख्नेहरूका लागि उपयोगी पुस्तक पनि लेखेका छन । सहिद राजन रायमाझीको जीवनी उनले लेखेका छन् । अनेरास्ववियुको इतिहास ,महिला प्रश्नोत्तर माला भाग १ र २,शब्द परिचय माला,अखिल नेपाल बाल संघको संक्षिप्त परिचय,नेकपा मसाल के चाहान्छ, लगायतका उनका पुस्तकहरु छन् ।

सिन्धुलीका ईश्वरी दाहाल जसलाई असारे काका भनेर पनि चिनिन्छ , उनी पुराना कम्युनिस्ट नेता हुन्। उनलाई पार्टी राजनीतिमा ल्याउने रामेछाप घर भएका श्री शारदा माबिका लेखा शिक्षक रेशम चौलागाईं हुन्। दाहालले चौलागाइलाई र चौलागाईले केशव नेपाललाई कम्युनिष्ट बनाएको बुझिन्छ । जयराम पराजुली कम्युनिस्ट पार्टीमा काम गर्थे । उनको प्रभाबले उनी राजा बिरोधि भए। २०२८ सालमा त्यहाँका किसानहरुलाई पञ्चायती व्यवस्थाले दमन गरेको थियो । थुनामा राखेको थियो । राजतन्त्र विरुद्धको मानसिकता उनले त्यसै बेला बनाएका थिए । अर्कोतिर २०२३ सालदेखि चीनले सिन्धुपाल्चोकमा अरनीको राजमार्ग बनाइरहेको थियो र सिन्धुपाल्चोकको बाह्रबिसेमा अरनिको राजमार्ग बनाउने चिनियाँहरूको क्याम्प थियो। त्यो क्याम्पमा फिल्म देखाउने गर्दथे। महिला लालसेना शीर्षकको नाटक उनलाई धेरै मनपर्यो। र त्यसबाट प्रभावित भएर नै उनी उपन्यास लेख्नुपर्छ भन्ने मानसिकता उनले त्यतिबेलै बनाएका थिए । नेत्र प्रशाद तिमिल्सिनाले २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट एम. ए. नेपाली साहित्यमा केशव नेपालको जीवनी,व्यक्तित्व र कृतित्व माथि शोध पत्र लेखेका छन् ।

युवा उमेर छिप्पिदै जाँदा उनको सांगठनिक जिम्मेवारी पनि बढ्दै गयो । २०३६सालमा अखिल छैठौ सिन्धुपाल्चोकको संयोजक भए। सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा २०३७साल बैशाख १४ गते सम्पन्न प्रथम सम्मेलनबाट उनी छैठौंको अध्यक्षमा निर्वाचित भए । उनले २०३२ सालमा नै रेशम चौलागाईं मार्फत नेकपा चौथो महाधिवेशनको पार्टी समर्थक सदस्य बनेकाथिए । २०३७ सालमा उनी नेपाल कम्युनिष्ट पार्टी चौ म धारको जिल्ला सदस्य बने । २०४१ सालमा अयोध्यामा सम्पन्न नेकपा मशालको पाँचौं महाधिवेशनमा उनी सिन्धुपाल्चोकबाट प्रतिनिधि बनेका थिए । २०४२ सालमा पार्टी विभाजन भइ सकेपछि केशव नेपाल पातलो मसाल पक्षको अखिल नेपाल युवक संघको अध्यक्ष बनेका थिए । २०३८ सालमा पुष्पकमल दाहाल अखिल नेपाल युवक सङ्घको अध्यक्ष थिए। त्यसपछि अखिल नेपाल युवक सङ्घको अध्यक्षमा रामसिंह श्रीस अध्यक्ष बने र त्यस पछि अखिल नेपाल युवक सङ्घको अध्यक्षमा केशव नेपाल बने र लामो समय सम्म त्यस संघको नेतृत्व गरेका थिए । २०४२ देखि २०५२ सालसम्म लगातार अखिल नेपाल युवक सङ्घको अध्यक्ष रहेर केशव नेपालले युवाहरूको नेतृत्व गर्ने काम गरेका थिए । २०४४ मा युवक सङ्घको पहिलो सम्मेलन ललितपुरको गोदावरीमा भूमिगतरूपमा ,२०४८ सालमा नै दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौं, त्रिचन्द्र कलेजमा खुलारुपमा भए । काठमाडौँमा सम्पन्न भएको २०५२ सालको युवक संघको तेस्रो सम्मेलनबाट केशव नेपालले विदा लिएकाथिए ।

नेकपा(मसाल ) को २०४२मा बागमती क्षेत्रीय ब्युरो सदस्य बने र २०४२ मा पार्टीको केन्द्रीय संगठन कर्ता बनेर देश भर घुम्ने अबसर प्राप्त गरे । २०४६ पछि नेकपा (मसाल) को बागमती क्षेत्रीय ब्युरो को प्रबक्ता बने । बेग्लाबेग्लै समयमा उनी मेची कोशी, नारायनी,भेरी(कर्णाली सगरमाथा र जनकपुरको ईन्चार्ज भइ जिम्मेवारी पूरा गरे । २०४९ मा उनी नेपाल कम्युनिस्ट पार्टी मसालको केन्द्रीय सदस्य बनेका थिए र त्यसपछि २०५९ सम्म १० वर्षसम्म नै उनी नेपाल कम्युनिष्ट पार्टी मसालको केन्द्रीय सदस्य रहेर काम गरे ।२०५९ सालमा नेकपा मसाल र नेकपा एकता केन्द्रको बीचमा पार्टी एकीकरण गर्दा उनी नेकपा एकता केन्द्र– मसालको केन्द्रीय सदस्यमा राखिएनन् । २०६३ साल श्रावण २६ गते उनले नेकपा एकता केन्द्र मसालबाट विद्रोह गर्दै नेकपा २००६ गठन गरे । १९ सदस्य त्यस नेकपा २००६ र नेकपा माओवादी बीचमा २०६३ साल चैत्र २२ गते एकता भयो। २०६५ सालमा उनी माओवादीका तर्फबाट समानुपातिकको तर्फबाट संविधानसभाका सदस्य बने र अहिलेसम्म पनि उनी नेकपा माओवादीको केन्द्रीय कमिटीमा रहेर काम गर्दै आइरहेका छन्। नेकपा(माओवादी ) को केन्द्रीय सदस्य,पोलिट ब्युरो सदस्य हुदै स्थायी समिति सदस्य सम्मको जिम्मेवारीमा उनी रहेकाछन ।

केशव नेपालले प्रगतिशील लेखक संघमा सचिव सम्मको पदमा रही काम गरे । उनीद्वारा लेखिएको सबैभन्दा पछिल्लो कृति आमालाई चिठ्ठी हो । यो चिठी साहित्य अन्तर्गत पर्दछ। जनयुद्धमा हिँडेकी मुना नाम गरेकी एउटी योद्धा जो शाही नेपाली सेना ब्यारेक फुलबारी पोखराबाट आफ्नै आमालाई लेखेको चिठीको सुरुवात देखि चिठीको अन्त्य सम्म एउटा चिठी ढाँचामा यो कृति तयार गरिएको छ । यसका दुईवटा मुख्य पात्रहरू छन्– अनुपम र मुना । जसमा मुना मुख्य पात्र हुन्। र मुनाले आफ्नी आमालाई अनुपमसँगको प्रेम सम्बन्ध र विवाहसम्मको कथा र प्रतिक्रियावादीहरू सितको संघर्षको कथा ,आफ्नो पृय मान्छे, जीवन साथी अनुपमको हत्याको घटनालाई बिस्तृत रूपमा चिठीमा लेखेकी छिन । नेपालको प्रगतिशील साहित्यको फाँटमा मोदनाथ प्रश्रितको नारी बन्धन र मुक्ति , हरी बहादुर श्रेष्ठको नानीहरूलाई चिठी जस्ता चर्चित र जीवन उपयोगी कृतिहरू छन् । केशव नेपालले यो कृति तयार गरेर नेपाली प्रगतिशील साहित्य भण्डारको चिठी साहित्यमा अर्को ईंट्टा थपेका छन् ।

यो कृतिमा अनुपम र मुनाको मुखबाट बोल्न लगाइएका कुराहरू निकै मर्मस्पर्शी छन् । जस्तै अनुपम भन्छन –
ू मानिसको हृदयमा ज्ञानको ज्योति झलमल्ल भएर बल्नुपर्दछ। त्यही ज्ञानको ज्योतिले नै सारा अन्धकारलाई चिर्नेछ र उज्यालो संसार देख्न सकिनेछ। ज्ञानले मात्रै सम्पूर्ण सत्य र सम्पूर्ण झुटलाई राम्ररी जान्न र बुझ्न सकिन्छ । जनतामा महान अजयशक्ति र क्षमता लुकेर बसेको हुन्छ। जब जनतालाई चेतना भरेर बिउँझाइदिनेछौं त्यतिखेर यो धर्तीमा असम्भव भनिएका सबै कुराहरु सम्भव हुन जानेछन् । (पृष्ठ ४३)

अनुपमले मुनालाई फेरि भन्छन्,” हामी त यो पुरानो मरणासन्न राज्य व्यवस्थालाई धुलोपिठो पार्न र त्यसलाई विशाल चिहान खनेर गाड्ने अनि त्यहाँ त्यही पुँजीवादी चिहान माथि समाजवादी व्यवस्था स्थापना गर्न हिँडेका पुँजीवादी व्यवस्थाका मलामी हौँ। अर्कातिर यो पुरानो पतित, भ्रष्ट र सडे गलेको नोकरशाही दलाल पुँजीवादी व्यवस्थालाई बचाउन साम्राज्यवादी र विस्तारवादीहरु अन्तिम प्राण भर्न असफल प्रयास गर्दैछन्। त्यो सम्भव छैन हामीलाई विश्वास छ एक दिन यसको अन्त्य अवश्यम्भावी छ। हामी उदयमान शक्ति हौँ। तिनीहरू मरणासन्न र पुरातन शक्ति हुन् । समाज विकासको नियम नै छ कि पुरानो पात झर्छ नयाँ पात पलाउँछ।”

“निराश, कायर मानिसहरूले जीवनभर अर्काको दासता र पराधीनतालाई स्वीकारीरहन्छन् तर हामी त्यस्ता मान्छे होइनौं हामी त क्रान्तिकारी कम्युनिस्ट हौँ। हामीले दासता र पराधीनतालाई ठाडै दुत्कार्छौ । हामी त स्वतन्त्रता, समानता र न्यायको निम्ति जीवनभरि बाँच्ने मान्छे हौ ।हामी त्यसरी नै बाँचिरहनेछौ।”

मुनाले अनुपमलाई भन्छन् ,“हामी हाम्रो महान लक्ष्य एवं उद्देश्य लिएर निरन्तर लामो यात्रा गरिरहेका छौं । यो क्रान्तिको यात्रा लामो प्रक्रिया हो। यो निरन्तर चलिरहन्छ।एउटा व्यक्ति र पीढीद्वारा मात्र क्रान्ति पूरा हुँदैन । नयाँ जनवाद, समाजवाद हुँदै साम्यवाद सम्मको लामो यात्रामा थुप्रै व्यक्ति र पीडितहरुले निरन्तर त्याग बलिदान र समर्पण गरेर मात्रै पूरा गर्न सकिनेछ । क्रान्तिको प्रवाहलाई निरन्तरता दिनका लागि नयाँ युगमा नयाँ क्रान्तिको रथलाई निरन्तरता दिन सकिन्छ।”

मुनाले थप्छिन् ,“ हाम्रो यात्रामा तल्लो तहका केही कार्यकर्ताहरू बिग्रे भने पनि क्रान्तिलाई खासै केही असर पर्दैन। मुख्य नेतृत्व पंक्ति बिग्रियो भने क्रान्तिलाई ठूला धक्का लाग्न सक्छ । गम्भीर क्षति पुग्छ। नेतृत्व वैचारिक रूपमा विचलित र स्खलित पनि हुन सक्छ। क्रान्तिप्रति धोका, विश्वासघात र गद्दारी गर्ने खतरा हर हमेशा रहिरहन्छ। त्यसैले हामी क्रान्तिकारीहरु त्यो कुरामा निकै चनाखो भइरहनु पर्दछ सत्तामा पुगेपछि वा त्यसअघि नै सत्ताको सुखभोगले नेतृत्व भ्रष्ट र पतित भई आफ्नो वर्ग ,विचार, आस्था र आदर्शहरुलाई त्यागेर पुरानो वर्ग र विचारमा फर्कने खतरा रहिरहन्छ । नेतृत्वले धोका दियो भने क्रान्तिलाई निरन्तरता दिने नयाँ क्रान्तिकारी उत्तराधिकारीहरुको ऐतिहासिक जिम्मेवारी हो ।”

अनुपमले भन्छन्, “ हामी कम्युनिस्ट हौँ। नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने आफ्ना विचार, लक्ष्य र उद्देश्यहरु जनताका सामु सिधा र स्पष्ट रुपमा राख्छौं । हामी जनताका अगाडि लुकाउने र छिपाउने कहिल्यै गर्दैनौं किनभने जनता नै इतिहासका निर्माता हुन् । हामीले उनीहरुबाट सिक्ने उनीहरुलाई सिकाउने गर्छौं । ”

क्रान्तिकारी उद्देश्य राख्ने सबैका लागि माथि उल्लेखित कुराहरू प्रेरणादायी छन् । यो उपन्यासमा लेखकले हुम्लामा रहेका अनुपम र संखुवासभामा रहेका मुनालाई गोर्खामा भेट गराउँछन । युद्धकालमा एक्लाएक्लै हिंडेको देखाउँछन । उपन्यासमा कल्पनाको जालो बुनिन्छ तर यो अलि बढी नै काल्पनिक भयो भन्ने लाग्छ । लेखक नेपाल जनयुद्धमा प्रत्यक्ष सहभागी व्यक्ति नभए पनि जनयुद्धको पृष्ठभुमिलाई उपन्यासमा उजागर गर्न सफल भएका छन् । २०८० चैत्रमा प्रकाशित यस कृतिको १०३ पृष्ठ छ । बिक्री मूल्य २५० राखिएकोछ । कभरमा एउटी बुढी महिलाले उदाँदै गरेको घाम हेरेको देखिन्छ । यसले भबिस्य प्रति आसालाई प्रतिबिम्बित गरेको छ । लेखकले यसलाई उपन्यास नभनेर चिठी साहित्य लेखे पनि यसलाई उपन्यास भन्न मिल्छ भन्ने लाग्छ । लेखक निरन्त लेखकीय कर्ममा लागेका छन । आसा गरौं लेखकबाट अझ राम्रा राम्रा कृतिहरू पाठहरूले आगामी दिनमा पढ्न पाउने छन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित