काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका नेताहरुबीच भाद्र २ गते नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तर्फबाट स्थायी समिति सदस्य सन्तबहादुर नेपाली र पीवीएम दिनेश शर्मा तथा नेकपाको तर्फबाट केन्द्रीय प्रवक्ता प्रकाण्ड, पीवीएम चिरन पुन तथा के.स. जीतेन्द्र दाहाल हुनुहुन्थ्यो । भेटवार्ता विशेषत ः नेपालका वामपन्थीहरु बीच एकता, मोर्चा वा कार्यगत एकताको सम्भावना माथि केन्द्रित रहेको थियो । अहिले विश्व साम्राज्यवाद, विशेषतः अमेरिकी साम्राज्यवाद तथा इजरायलद्वारा प्यालेस्टाइन माथिको हमला झन झन जटिल बन्दै गएको अन्तर्राष्ट्रिय परिस्थिति, एमसीसी परियोजना, भ्रष्टाचार, मानव तस्करी, नयाँ संविधान निर्माणपछिको अवस्था, राष्ट्रियताको नाजुक अवस्था, युवा विदेश पलायन आदि विषय बारे चर्चा गरिएको थियो । छलफलको दौरानमा विगतमा वामपन्थी दलहरुले निर्माण गरेका मोर्चाहरुको बारे पनि चर्चा भएको थियो । त्यसमा भएका कमीकमजोरीलाई सच्चाउँदै मोर्चाबारे नयाँ प्रकारले सोच्नु पर्ने, मनोगतवाद, संकीर्णवादबाट माथि उठ्नु पर्ने, बारे पनि छलफल भएको थियो । अहिले वामपन्थीहरु बीचमा सकेसम्म स्थायी प्रकारको मोर्चा, यदि त्यो सम्भव नभए कार्यगत एकता गरेर भए पनि नेपाली जनताको प्रगति र समृद्धिमा बाधक रहेको दलाल राज्यसत्ताले उत्पन्न गरेका विकृतिका विरुद्ध संघर्ष आवश्यक रहेको छलफल गरिएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सन्तबहादुर नेपालीको संयोजकत्वमा चार सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको थियो । पार्टीले अमेरिकी साम्राज्यवाद विरुद्धको संघर्षलाई अगाडि बढाउन, एमसीसीलाई खारेज गर्न, राष्ट्रियता, जनतन्त्र र जनजीविका जल्दाबल्दा समस्या हल गर्न संयुक्त संघर्ष नै एउटा विकल्प रहेको हुँदा देशभक्त, जनवादी तथा क्रान्तिकारी शक्तिहरुको संयुक्त मोर्चाबारे सबै पक्षसँग भेटवार्ता गर्ने निर्णय गरेको थियो ।
यसभन्दा अगाडि श्रावण २४ गते नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल र उपाध्यक्ष राजकुमार हिङमाङ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका का.वा. महासचिव सीपी गजुरेल र सन्तबहादुर नेपालीबीच राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति तथा संयुक्त मोर्चा बारे छलफल भएको थियो ।
त्यसैगरी श्रावण २६ गते नेकपाका अध्यक्ष ऋषि कट्टेल र पीवीएम रामबहादुर भण्डारीसित पनि का.वा. महासचिव सीपी गजुरेल र सन्तबहादुर नेपालले छलफल गर्नु भएको थियो । श्रावण २८ गते नेकपा (मसाल) का तर्फबाट महामन्त्री मोहनविक्रम सिंह र आनन्द शर्मा तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तर्फबाट का.वा. महासचिव सीपी गजुरेल र सन्तबहादुर नेपाली कपन कार्यालयमा भेट गरी संयुक्त आन्दोलन तथा मोर्चा निर्माणका विभिन्न पक्षबारे छलफल गर्नुभएको थियो । छलफलमा महामन्त्री मोहनविक्रम सिंहले जति विषयमा सहमति गर्न सकिन्छ, ती विषयका आधारमा लचिलो प्रकारले संयुक्त मोर्चा बनाउने र वामपन्थीहरु बीच आपसी छलफललाई अगाडि बढाउन सुझाव पनि दिनु भएको थियो ।
श्रावण २९ गते नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, साध्यबहादुर भण्डारी लगायतका नेताहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टीका तर्फबाट सन्तबहादुर नेपाली तथा रामबहादुर बुढाका बीचमा उहाँकै निवासमा भेटवार्ता गरिएको थियो । देशको राष्ट्रियता अहिले संकटको अवस्थामा पुगेको, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताका निम्ति मिल्न सक्ने दलहरु मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकताबारे छलफल गरिएको थियो ।
संयुक्त मोर्चा निर्माणका लागि दलहरु छलफलमा
Comments

