– प्रेम कुमारी वि.क.
नेपालमा मेरो घर दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नं ४ गब्दुवामा हो । मेरो एक छोरा र एक छोरी गरी दुई सन्तान छन् ।आफ्नो जीवन चलाउन ,छोराछोरीको भविष्यलाई ख्याल राख्न म विदेशको जागिरे बनेकी हुँ । मैले मलेशियामा जागिर गर्न थालेको ८ वर्ष पूरा भएर ९ वर्ष शुरु भयो । विदेशी भूमिमा यति वर्ष पसिना बगाएर छोराछोरीलाई पढाउने,गाउँमा बस्न मिल्ने एउटा घर बनाउने र थोरै जग्गा जोड्ने–यति काम भयो । छोरीले काठमाण्डौमा पढ्न थालेकी छिन् । केही समय त मैले अझै विदेशमा जागिर गर्नु पर्छ भन्ने सोचेकी छु ।
मैले काम गर्ने कम्पनीको नाम इस्काटेक कम्पनी हो । यो इलेक्ट्रोनिक्स कम्पनी हो ।यो मलेशियाको जोहोरवारु भन्ने ठाउँमा छ । विजुलीको मिटर बक्स बनाउने काममा मेरो जिम्मेवारी छ । यस कम्पनीमा करिब ४ हजार मजदुरहरु छन् । जसमा सबैभन्दा धेरै मलेशियालीहरु त्यसपछि इण्डोनिशियनहरु ,त्यसपछि म्यानमारका र हामी नेपालीहरु छौं । नेपालीहरु करीब ५० जना छौं । नेपालीमा धेरै जसो झापा ,मोरङतिरका पूर्वेली हुनुहुन्छ । दाङ ,बाँकेतिरका ४÷५ जना थोरै छौं ।नेपालीहरु पहिले धेरै हुनुहुन्थ्यो तर अहिले थोरै छौं ।
छुट्टिको दिन बाहेक बिहान ७ः४० देखि बेलुकी ५ बजे सम्म काम हुन्छ । २ घण्टा ओटी गर्न पाइन्छ । यहाँ हामीले यस कम्पनीमा तलबमा ठगिनु परेको छैन । तोकिएको तलब बेलैमा प्राप्त भएको छ । हामी ठगिन नपरेपनि कतिपय नेपालीहरुले बेस्सरी दुःख पाएको पनि सुनेका छौं । सप्लाई कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने नेपालीहरुले बेलैमा तलब नपाउने,तलब प्राप्त गरे पनि घटाएर मात्र दिने र ठगिने गरेका घटना हामीले थाहा पाएका छौं ।
कतिपय नेपालीहरुले आफ्नो बानी व्यवहारले गर्दा पनि दुःख पाएका छन् । रक्सी खाएर राती ११÷१२ बजे हिंड्नेहरु लुटिएका छन् । नेपालीहरु रक्सी खाएर आफूआफूमा लडाइँ भिडाइ गर्छन् । हाम्रै कम्पनीका दुई जना दाईहरु कुटाकुट गरेछन् । एक जनाले टाउकाबाटै रगत बग्ने गरी हानेछन् । रगत बग्नेवालालाई राखे , अर्कोलाई कम्पनीबाट निस्काशन गरेर घर पठाइदिए । हाम्रो कम्पनीबाट अर्को नजिकै अर्को बेग्लै कम्पनी छ । त्यहाँ बंगालीहरुले काम गर्छन् । कहिलेकाही रक्सी खाएर वंगाली र नेपालीको बीचमा भीडन्त हुन्छ ।
नेपालीहरु आफू आपूm लडेपनि वंगालीहरु, इण्डोनेशियनहरुसित झगडा परेपछि नेपालीहरु एक जुट हुने बानी छ । अरु देशका बहिनीहरुले मलाई सोध्छन्– विवाद एउटा सित भयो भने नेपालीहरु किन सबै एकजुट भएर झगडा गर्छन् ? मैले ती बहिनीलाई भनें–“यो नेपालीहरुको संस्कार हो । बहादुर जाति हो नि बहिनी । मलेशियाको स्वतन्त्रता दिवस (मार्डेका) घुमधामसित मनाउँछौं तर नेपालीले तिमीहरुको मार्डेका जस्तो मनाउँनै पर्दैन किनभने नेपाल कसैको उपनिवेश भएन । नेपालीहरु मिलेर एकजुट भएर लड्ने संस्कृति छ । त्यसैको प्रभाव होला ,यहाँ पनि एकजुट भैहाल्छन् ।”
यति ठूलो कम्पनीमा मजदुर संगठन छैन । गोप्यरुपमा कसैले बनाएको भए बनाएको होला ,हामीले थाहा पाउने गरी मजदुर संगठन छैन । मलेशियामा यस कम्पनीमा खासै ठगिएका छैनौं । कतिपय मजदुरलाई तलब नदिने कम्पनीहरुलाई सरकारले खारेज पनि गरिरहेको छ ।
मलेशियाको भूगोल नेपालको भन्दा ठूलो छ – ३ लाख ३० हजार ८ सय ३ वर्ग कि.मि । मलेशियाको जनसंख्या झण्डै साढे ३ करोड छ । जसमध्ये करिब ५७ प्रतिशत मलेया,३० प्रतिशत चिनियाँ र १० प्रतिशत तमिल (भारतीय)छन्।
मलेशिया मिश्रित जातीय समुह भएको देश हो । दक्षिण भारतमा तमिलहरु मलेशिया आएर यतै बसेछन् । सन् १८५७ अगष्ट ३१ मा ब्रिटिशबाट मलेशिया मुक्त भएको हो । हरेक वर्ष ३१ तरिखमा जताततै झण्डा झुण्डिन्छन् । हाम्रो कम्पनीमा पनि झण्डा लगाउँछन् । स्वतन्त्रता दिवस (मार्डेका) भव्य रुपले मनाउँछन् । यहाँ नेपालीहरुको विभिन्न संघ संगठन छन् । मगर संघको कार्यक्रममा हाम्रो कम्पनीका बहिनीहरु जान्छन् । म गएको छैन । पहिले एकता समाजमा केही समय काम गरेकी हुँ । मैले काम गर्ने ठाउँबाट राजधानी क्वालालाम्पुर ५ घण्टामा गाडीमा पुगिन्छ । पहिले एकता समाजको तर्फबाट क्वालालाम्पुरमा राजदूतावास जाने सल्लाह भएको थियो तर म गएन ।
विदेश आउन चाहनेहरुलाई मेरो सल्लाह के छ भने कम्पनीको बारेमा बुझेर मात्र आउनु होला । आउन खोजेको कम्पनीमा नेपाली भएको भए उनीहरु मार्फत पनि बुझ्नु होला। नबुझिकन आउँदा ठगिने सम्भावना हुन्छ ।
मलेशियामा जागिर गर्न थालेको ८ वर्ष भयो
Comments

