काठमाण्डौ । मृतक बालक किरण कोलीका परिवारप्रति संयुक्त राजनीतिक दलित सघर्ष समिति केन्द्रीय टोलीले भदौ २१ गते भेटेर ऐक्यबद्धता जाहेर गरेको छ । गत श्रावण १७ गते वैतडी जिल्लाको डिलासनी गापा वडा नं ३ को गिरिवगर्डका १४ वर्षीय बालक किरण कोलीको वालुवाको थुप्रोमा खेल्ने क्रममा करेण्ट लागेर मृत्यु भएको थियो । वालुवाको थुप्रोमा रहेको विद्युतको हाइटेन्सन लाइनले छोएर करेण्टबाट उनको निधन भएको थियो । सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालको योजनामा अवैध ढंगले वालुवा उत्खनन गर्दा उक्त वालुवा त्यहाँ थुपारिएको थियो। स्थानीय र जिल्ला स्तरमा न्याय नपाए पछि मृतक कोलीको पीडित परिवार काठमाण्डौ माइतीघर मण्डलामा आइ धर्ना बसेको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिको केन्द्रीय टोलीले माइतीघर मण्डला पुगी ऐक्यबद्धता जाहेर गरेको हो । प्रतिनिधिहरुमा क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका संयोजक टेकबहादुर वि.क. र केन्द्रीय सचिवालय सदस्य श्याम परियार ,नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली , नेपाल दलित संघका अध्यक्ष लोक बहादुर विश्वकर्मा , जातीय समता समाजका भक्त विश्वकर्मा , नेपाल दलित मुक्ति संगठनका श्याम विश्वकर्मा ,श्रमिक समुदाय मोर्चा नेपालका रामलाल सी , तथा दलित प्रतिनिधिहरु कमला विश्वकर्मा , प्रदीप घताल सहितको टोलीले भेटेर पीडित परिवारको आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गरेको हो ।
घटनाको पृष्ठभूमि हेरेर संयुक्त दलित संघर्ष समितिले सरकारसँग तीन वटा माग राखेको छ । १) उच्च स्तरीय छानविन समिति बनाएर मन्त्री सुरेन्द्र पालसमेतलाई छानविन गरिनु पर्दछ र दोषीलाई कारबाही गरिनु पर्दछ । २) पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नु पर्दछ ।३) पीडित परिवार असुरक्षित भएकाले उनीहरुको जीउधनको सुरक्षा सरकारले गर्नु पर्दछ ।
पीडित परिवारको खातामा रु पाँच लाख रुपिया पठाइएको छ । तर त्यो खातामा संकलन हुन आएको रकम पीडित परिवारले प्रयोग गरेको छैन ।यदि दोषी नभएको भए पैसा किन पठाउनु प¥यो ? दलित संगठनहरुले अविलम्ब न्यायको माग गरेका छन् ।

