राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा सरकारको नृशंश दमनको विरोध

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा सरकारको नृशंश दमनको विरोध गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीले २०८२ भाद्र २४ गते एक प्रेस बक्तब्ये जारी गरी सो विरोध गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

“ देशमा सर्बत्र बढ्दो ब्यापक भ्रष्टाचारको विरोध गर्न र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज उठाउन हिजो भदौ २३ गते आन्दोलित जेन–जी पुस्ताको जुलुसमाथि केपी ओली सरकारले अत्यन्तै नृशंश र घोर दमन मच्चाएर २० भन्दा बढी नागरिकको क्रुर हत्या गरेको छ । शान्तिपूर्ण आन्दोलनमाथि भएको यस प्रकारको क्रुर दमनको राष्ट्रिय क्रान्तिकारी मोर्चा घोर निन्दा र तीब्र भर्त्सना गर्दछ । आन्दोलनमा जीवन गुमाउने सम्पूर्ण आन्दोलनकारीप्रति भावपूर्ण श्रध्दाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा मोर्चा हार्दिक समवेदना प्रकट गर्दछ । शान्तिपूर्ण आन्दोलनमाथिको दमन तुरुन्त रोक्न र पदबाट राजीनामा दिन ओली सरकारसँग यो मोर्चा जोडदार माग गर्दछ । यो हत्या काण्डको छानबिन गर्न तत्कालै उच्च स्तरीय न्यायिक आयोग गठन गर्न र दोषीलाई कडा कारबाही गर्न पनि मोर्चा जोडदार माग गर्दछ । साथै, मृतक परिवारलाई अधिकतम क्षतिपूर्ति तत्काल उपलब्ध गराउन तथा घाइतेहरुको यथाशीघ्र निशुल्क उपचार गर्न पनि सरकारसँग माग गर्दछ।

सत्ताका दलाल र भ्रष्ट शासकहरुले दमनको माध्यमबाट भ्रष्ट व्यवस्था जोगाउन खोजे पनि जनताले त्यसको छिटोभन्दा छिटो विकल्प खोजिरहेका छन् भन्ने भदौ २३ को आन्दोलनले पनि प्रष्ट पारेको छ । अतः यस स्थितिमा यो जेन जी आन्दोलनलाई सही दिशा र गति दिन राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल यो भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाको विकल्प खोज्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरुलाई सुझबुझपूर्ण, मूर्त र सार्थक बिकल्पकासाथ एकताबद्ध हुन पनि जोडदार अपिल पनि गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित