-कृष्णप्रसाद शर्मा भट्टराई
२०४२ साल असार महिनामा राम राजा सिंहको नेतृत्वमा ‘वम काण्ड’ भएको थियो । त्यस समयमा नेपाली कांग्रेसले २०४२ साल जेष्ठ १० गतेबाट “सत्याह ग्रह” को आन्दोलन शुरु गरेको थियो । त्यसबेला सभा, जुलुश मौन रुपमा नेपाली कांग्रेसले गरिरहेका थिए । पंचायती कालरात्रीको समयमा त्यो कार्यक्रम पनि पंचे सरकारलाई टाउको दुखाईको अवस्था थियो । निरंकुश राजतन्त्रको अवस्थामा सबै पार्टीहरु प्रतिबन्धित थिए । त्यो बेला जनता चुइक्क बोल्नसम्म पनि पाउँदैनथे । त्यस्तो अवस्थामा राम राजाको नेतृत्वमा केही सांकेतिक घटनाहरु भए ।
राष्ट्रिय पंचायतको सभा हल लगायत देशका मुख्य शहरहरु र कैलालीको धनगढी र अत्तरिया बजारमा बम राखेर पडकाउने काम भयो । त्यो घटनाले नेपाली कांग्रेसको “सत्याह ग्रह” आन्दोलनलाई असर पा¥यो। त्यही मौका छोपी प्रतिक्रियावादी सत्ताका भाडाका सिपाहीहरुले नेपालका कम्युनिस्टका नेता तथा कार्यकर्ता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई समात्ने काम भयो ।
त्यसै क्रममा हामी कैलाली जिल्लाका ने.क.पा. (चौथो महाधिवेशन) का नेता तथा कार्यकर्ताहरुलाई वारेन्ट काटेर खोज्न थाल्यो । त्यसै क्रममा हाम्रो पार्टीका जिल्ला नेताहरु डिसिएस रामचन्द्र भट्ट, डिसिएम कर्ण थापा (खैरीफाट,धनगढी), डिसिएम गगनसिंह थापा (कटासे), मेघराज आचार्य (टीकापुर)लाई धनगढी जेलमा पु¥यायो । त्यसै समयमा पार्टी सदस्य शितल लाल कर्ण, जुन खैरीफाँटको वन समितिका कर्मचारी तराई मूलका हुनुहुन्थ्यो । उहाँलाई हेलिकोप्टरबाट काठमाडौं र त्यहाँबाट आफ्नो गृह जिल्ला धनुषा जिल्लाको जनकपुर लगेरधेरै यातना सहित राखियो । जुन हाम्रो पार्टीको सीसीएम हुनुहुन्थ्यो । हाल उहाँ पार्टी एकता महाधिवेशनबाट पार्टीको संरचना सानो बनाउने क्रममा हट्नु भएको छ । त्यस्तै कैलाली जिल्लाका अन्य डिसिएमहरु म कृष्ण प्रसाद शर्मा भट्टराई, लेखराज भट्ट, यज्ञराज भट्ट, डिल्लीराज जोशी, कृष्ण धमला हामी त्यो समयमा भूमिगत भयौं ।
केही समयपछि हामी भारतको उत्तर प्रदेशको पलिया भन्ने ठाउँमा हाम्रो बैठक बस्यौं । लेखराज भट्ट महाजनको घरमा पलिया बजारमा वस्नु हुन्थ्यो । त्यो समयमा उहाँले त्यो सेल्टर देखाउनु भएन । त्यो बैठकमा पहिले जेलबन्दी र भूमिगत साथीहरुको घरमा भेटघाट गर्ने निर्णय गरियो । त्यस समयमा धनगढीका साथीहरु अलि आतंकित हुनुहुन्थ्यो । त्यो जिम्मा मैले नै लिनु प¥यो । अन्य साथी पलियामा नै बस्नु भयो र म धनगढी गएँ । धनगढीको भन्सार र चौकीलाई छल्दै एक्लै डिसिएस रामचन्द्र भट्टको घर कैलाली गाउँ बोराडाँडी भित्र थियो । उहाँका परिवारलाई सम्झाउने बुझाउने आदि कुरा गरी रातमा २–३ घण्टा बस्ने सबै कुरा परिवार र त्यहाँका पार्टी कार्यकर्तासँग भेट गर्ने काम भयो । त्यो रात रामचन्द्रको घरबाट अलि टाढा साथीको घरमा बस्ने काम भयो । अर्को रातमा लेखराजको आमा र परिवारलाई भेट्ने काम भयो । पार्टीको धारणा, हाम्रो जिम्मेवारी लगायत कुराहरु राखेर सम्झाउने काम भयो । त्यहाँबाट २ घण्टापछि अत्तरियाको अर्को घरमा गएर सेल्टर लिएर बसँे । अर्को दिन धनगढी गाउँको बाटो हुँदै डिल्ली जोशीको भान्जाको घरमा गएर रेस्ट गरियो । साँझ रातमा यज्ञराज भट्टको धनगढी गाउँको बाटो हुँदै यज्ञराजको घरमा पुगियो । जुन घरमा जाँदा एसएसपी कार्यालयको तारवार गरेको कम्पाउन्डको बाटो नै भएर जानुपर्ने थियो । त्यस कम्पाउन्डको लगभग ५०–६० मिटरमा घर छ । त्यहाँ अति संवेदनशील ठाउँ भएकोले छोरालाई बाहिर बस्न पठाएर आमा र छोराछोरीसँग कुरा भयो । यज्ञराज भट्टको परिवार अलि रुढीवादीभए पनि म भेट गरेपछि धेरै सम्झाएपछि उहाँले स्वीकार गर्नुभयो । मैले उहाँलाई भने म यस्तो खतरा अवस्थामा पनि आएको छु । मैले तपाईहरु नआत्तिनुस् भने केही हुँदैन भन्ने विश्वास दिलाएपछि खुशी हुनुभयो । अलि आत्मविश्वास भयो । त्यसपछि म एक जना चिनेको साथीको घरमा गएर सुतेँ । अर्को दिन पलिया गएँ । यसरी जस्तै पनि कठिन कामलाई आत्मविश्वास गरियो भने सजिलै हल गर्न सकिन्छ । म आफू पनि भूमिगत नै थिए । पार्टीको कामलाई सर्वोपरी मानी काम गर्ने चलन थियो । त्यो म पार्टीको सिपाही भएकोले जिम्मेवारी पूरा गरेरै छोडे । ३–४ दिनपछि म पलिया पुगे । अरु साथीहरु होटेलमा बस्नु हुन्थ्यो । लेखराज भने आफ्नो महाजनको घरमा बस्नु हुन्थ्यो । म गएपछि म, यज्ञराज भट्ट, डिल्ली जोशी, कृष्ण धमला त्यहाँ बसेका थियौं । यज्ञराज भट्ट र डिल्ली राज जोशीले केन्द्रीय कार्यालय गोखरपुर जान्छौं भन्नुभयो । लेखराज यसरी आरमसँग बस्ने हामीलाई कोठा पनि नदेखाउने, पार्टीभित्र पनि सामन्त र दुःखी दुई थरीका मान्छे हुन्छन् ? भनेर रिसाए र त्यसैले गोरखपुर पठाउने गरी भाडा पार्टीले मिलाउनुपर्छ मिलाउनुस भन्दै अलि कडा तरिकाले व्यक्त हुनुभयो तर मैले देशभित्र जाने जनताको माझमा गएर जनतासँग जोडिनुपर्छ भन्ने मैले सुझाव राख्दा यज्ञराज र डिल्लीजी हुँदैन हामी जान्नम् हामीलाई समात्छ । देशभित्र जानुहुँदैन भनेपछि कृष्ण धमलाजीले भित्रै गएर काम गर्नुपर्छ हल्का कुरा गर्ने काम गरे ।
तिमीहरुले हामीलाई जेलमा हाल्न खोजेका हौं भन्दै पलियाको बैठकमा भन्नुभयो । मैले तपाईहरुलाई बचाउन सक्छु, मेरो भनाईमा हिंड्नुपर्छ । किनभने २०३५–३६ सालको पूर्वी तराईमा किसान आन्दोलनमा हाम्रो पार्टीको नेतृत्वमा भएको थियो । त्यहाँ धेरै दमन भएपछि पार्टीले त्यहाँका साथीहरुलाई, कैलाली, कन्चनपुर, बर्दिया जिल्लामा लिएर धेरै कामरेडहरुलाई सिन्धुली तथा अन्य जिल्लाका कमरेडहरु सुरक्षित तरिकाले जन परिचालन गरेका थियौं । सुरक्षित तरिकाले संगठनहरु निर्माण प्रशिक्षण दिन सकिएको हुनाले ३–४ महिनासम्म व्यवस्था गरेको अनुभव थियो । त्यो बेला आएका कामरेडहरु कमैया भएर परिवार सहित बस्नु भयो पछि टीकापुरमा डकर्मी, त्यस्तै कैलालीमा वस्नु भएको थियो । लेखराज भट्ट आफू मात्र सुरक्षित हुनै अरु साथीको व्यवस्थाबारे वास्ता नगर्ने कुनै सरसल्लाह नगर्ने । कृष्ण धमलाजी सरकारी जागिर भएको हुनाले आफै सुरक्षित हुने कुरा भयो । यज्ञराज भट्ट र डिल्लीराज जोशी मेरो कुरामा कठिन अवस्थाबाट यज्ञराज भट्ट अलि चुप लाग्नु भयो । पछि डिल्ली राज शिक्षक थिए । उनी पनि मन्जुर भएर हामी त्यहाँ बस्दा पनि होटेल भाडा तिर्न असजिलो अवस्थामा थियौं । यज्ञराज भट्ट, म, डिल्लीराज जोशी पलियाबाट रेलको टिकट लिई बेलरायमा झ¥यौं । त्यसपछि हामी कैलालीको पृथ्वीपुरको चौकीलाई छलेर लाल भुजिगाउँ खैलाड हुँदै दरक गाउँ पंचायतको साडेपानी पु¥याएँ ।
डिल्ली जोशीको दाजुको घर साडेपानीमा थियो । त्यहाँ सतर्क सहित ३ रात बसियो । डिल्ली राज जोशी अलि आत्तिए र म त पहाड दाजुको घरमा पण्डौन खैरालातिर जान्छु भने यज्ञराज भट्टको आँखा कमजोर भएकोले पहाड कुरा राख्नु भएन मैले भने हामी जनताको बीचमा परिचालित हुनुपर्छ । संगठन निर्माण गर्नुपर्छ । हामीलाई जनताले नै पाल्छन् । लुकाउँछन्, डराउनु हुँदैन । सबै तिनै जना हिंडौ भन्दा डिल्लीराजजी एक्लै जान्छु भने पछि यज्ञराज भट्टले म त कृष्णजी जता जानुहुन्छ म उनैसँग जान्छु भन्नुभयो । त्यसै आधारमा मैले प्रहरी चौकीहरु छल्दै गाउँहरुमा राख्दै, प्रशिक्षण दिंदै कमिटी निर्माण गर्दै पथरैया गाउँ पंचायतको खैरीफाट पु¥याएँ । उहाँले आँखा नदेख्ने रातमा हिंड्न नसक्ने, मलाई त्यस एरियामा दिनमा हिंड्न नहुने अव समस्या भयो । मैले खैरी फाँटा मानसिंह नेपालीको घरमा उहाँलाई रातमा राखेर म, कर्ण थापा र गगन थापा जेलबन्दी साथीहरुको घरमा गएर परिवार छोराछोरीका आमा सबैलाई भेटनु पर्ने थियो । त्यसै आधारमा कर्ण थापाको घरमा रातको समयमा परिवारलाई भेट गरी सबै समस्याहरु र हामीले गर्नु पर्ने कर्तव्यहरु केही हुँदैन नआत्तिनुस् छिटै आउनुहुन्छ । कांग्रेस, कम्युनिस्टका नेता–कर्ताकर्ताहरु परेको हुनाले केही समय पछि छोड्दछ भनेर, आमा र मेडम र बच्चाहरुसँग बसी वैचारिक र सबै प्रकारले सम्झाउने काम भयो । विभिन्न प्रकार सान्तवना दिने काम भयो ।
त्यसपछि सेल्टर लिन अर्को साथीको घरमा गएँ जहाँ यज्ञराजजीलाई राखेको थिएँ । अर्को दिन कटासे बजारबाट ३०० मिटर जति टाढा गगन थापाको घर थियो । त्यहाँ चौकी पनि थियो । खेतको कुलै कुला र श्रावण महिनाको कुला पनि ठूला हुने कुला तर्न पर्नि अप्ठ्यारो हुने गगन थापाको घर जाँदा एउटा काठको डुङमा बाम्मे सर्दै रातको समयमा पार गरियो । टर्च लगाउने कुरा पनि भएन । प्रहरीको चौकी नजिक भएको हुनाले बाहिर तगालो लगाउने ठाउँमा एउटा घरको परिवारलाई राख्न लगाएर करिव आधा घण्टा जति परिवार छोराछोरीहरु राखेर व्यवहारिक वैचारिक सबै प्रकारका तर्क राखेर उहाँ छिट्टै छुट्नु हुन्छ । त्यस समयमा कांग्रेस–कम्युनिस्ट सबै परेको हुनाले छोड्छ नआत्तिनुहोस् भन्दै सम्झाउने काम भयो । त्यसपछि त्यहाँबाट फर्किए जुन बाटोबाट आएको थिए त्यही बाटो हुँदै यज्ञराज बसेको सेल्टर गएर सुतियो । यही क्रमबाट टिकापुर, बैदी, बटनपुर, सबै ठाउँ हिंडाले । उहाँ रातमा लामो हिंडाई गर्न नसक्ने अवस्थाले छोटो छोटो ठाउँमा सेल्टर राखेर क्लास, भेटघाट, संगठन निर्माण आदि गरिन्थ्यो । पुछरीगाउँमा मेघराज (जेलबन्दीको) घरमा भेटघाट गर्ने काम भयो । कुनै ठाउँमा यज्ञराजलाई लिएर जाने र नजान सक्ने ठाउँमा उहाँको व्यवस्था मिलाएर एक्लै पनि भेटघाट गर्ने काम हुन्थ्यो । कविराज र मेघराजहरु पहिले प्यूठानमा प्रहरीले लाने र छोड्ने गर्दथ्यो । उनीहरुका परिवारलाई सम्झाउन अप्ठ्यारो पर्दैनथ्यो । तैपनि पार्टीको कार्यक्रम बन्दी साथीका परिवारलाई भेटेर जानकारी गराउने हुन्थ्यो । कैलालीको पूर्वी बेल्टतिर करिव एक महिना बसियो ।
उता लेखराज भट्ट उनी अलि जमिन्दार भएकोले पलियाको महाजनको घरमा बस्थे । महाजन भनेको जनतालाई वाली नपाक्दै पैसा दिने र पछि जनताबाट धान सस्तो मूल्यमा लिनेलाई भनिन्छ । लेखराज भट्ट त्यसकारण सुख सुविधासँग बसेका थिए । यज्ञराज भट्टले सामन्त र गरिब दुई प्रकारका मान्छे पार्टीमा छन् दुःख र सुख बाँड्ने अवस्था छैन । यो भन्दै लेखराजको विरोध गर्दथे । डेढ महिना (१ महिना १५ दिन) पछि हामी भारतको तिकुनियाँबाट रेलको टिकट काटेर पलिया गयौं । लेखराजलाई तपाई बसेको ठाउँ पनि नदेखाउने भनेपछि उनले महाजनको घरमा बसेको डेरा देखाए । यसरी पार्टीको सम्पर्कहरु बनाए पनि संगठन पूर्वी वेल्ट र पश्चिम धनगढी क्षेत्रमा मात्र थियो ।
उता डिल्लीराज जोशी विद्यालयमा पढाउन थालिसकेका थिए । पन्चे र कांग्रेससँग मिलाएर वातावरण तयार पारेछन् । डिल्लीराजले पढाउन थालेको कुरा थाहा भयो । ढाई महिनापछि अलि हल्का भयो । पञ्च र उसका प्रहरीहरु निस्क्रिय भयो हामी पनि अर्ध भूमिगत भयौं । विस्तारै खुला हुन थाल्यौं । म नेपाल राष्ट्रिय संगठनको सदस्य थिए । त्यसैबेला “काठमाडौं जाऔं” भन्ने शिक्षक आन्दोलन थियो त्यो आन्दोलनमा सहभागी हुन म, डिल्लीराज जोशी र लेखराज भट्ट काठमाडौं गयौं । संजोकबस हामी सबै बालुवाटारमा गिरफ्तारी परियो । जुलुशबाट हामीलाई महेन्द्र पुलिस क्लवमा लग्यो । त्यहाँबाट केहीलाई हनुमान ढोका डिएपी खोरमा लग्यो । त्यसैबेला मोदनाथ प्रश्रित त्यही थिए । म, लेखराज, डिल्ली जोशी काभ्रेका सरहरु लगायत ९ जनालाई ३ जना राख्न मिल्ने ठाउँमा ९ जनालाई राख्यो । त्यसरी हामी ९ जना त्यही खोरमा बस्यौं । त्यहाँ भने लेखराज र हाम्रो अवस्था एकै रह्यो । ९ दिन पछि हामी सबै शिक्षक छाड्ने आदेश आएपछि हामी सबै छुट्यौं । कैलाली गयौं ६–७ महिनासम्म बम काण्डको अवस्था रह्यो । यो घटनाबाट साथीहरु खारिने काम भयो । जेल बसेका साथी मध्ये एक जना जेलबाट नै कांग्रेस बन्नेकाम भयो । गगनसिंह थापा जेलमा कांग्रेस भए ।
त्यसैबेला कर्ण थापाले भन्नुभएको थियो पहिले कांग्रेसबाट आएको हुनाले कांग्रेस भए ।जुन दुलोबाट आएको थियो त्यही दुलोमा पस्यो भन्नु भाथ्यो । तर अरु साथीहरु सबै वामपन्थी नै रह्यौं ।ती मध्ये अहिले कविराज शर्मा ,मेघराज आचार्य ,गगन थापा बित्नु भयो ।

