काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. व्यूरोको आयोजनामा २०८२ भदौ २७ गते संघीय जनगणतन्त्रको माग गर्दै नारा जुलुस सम्पन्न गरेको छ । जुलुस बुद्धनगरदेखि शुरु भई विजुलीबजार हुँदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नं. व्यूरो इन्चार्ज तथा पोलिटव्यूरो सदस्य दिनेश शर्माले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा शर्माले जेन जीको आन्दोलनले यो संसदीय व्यवस्था नै असफल भएको प्रमाणित हुन्छ, यो संविधानको घेरा भित्रबाट र संसदबाट देशको समस्याको निकास खोजेर यो समाधान हुँदैन । संघीय जनगणतन्त्रको स्थापना विना देशले निकास पाउँदैन भन्ने धारणा राख्नु भयो । उहाँले यो अवस्थामा प्रतिगामी तत्वहरु सलबलाइरहेको बताउँदै यदि प्रतिगामीहरु सत्तामा फर्किन खोजे भने जनताले उनीहरुलाई विगतमा जस्तै सजाय दिन पछि पर्ने छैनन् भन्नुभयो ।


