क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा सीपी गजुरेल (गौरव)

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा सीपी गजुरेल गौरव निर्वाचित हुनुभएको छ। पार्टीको असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म सम्पन्न केन्द्रीय समितिको बैठकले गजुरेललाई महासचिवमा निर्वाचित गरेको हो। मोहन वैद्ध किरणले महासचिव पदबाट राजीनामा दिए पछि केन्द्रीय समितिले किरणको राजीनामा स्वीकृत गरेर गजुरेललाई महासचिव बनाएको हो । २०८१ मंसिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबाट निर्वाचित मोहन वैद्य किरण अस्वस्थ भएकाले करिब १० महिना पहिलेदेखि सो पार्टीको कार्यवाहक महासचिवका रूपमा गजुरेलले काम गर्दै आउनुभएको थियो।

नेपालको कम्युनिस्ट आन्दोलनमा सीपी गजुरेलको लामो योगदान रहेको छ। पार्टी जीवनमा विभिन्न भूमिकामा रहेर काम गर्दै आएका गजुरेलले महासचिवको भूमिकालाई पनि कुशलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको छ। वस्तुपरक विचार राख्ने र आफ्नो टिमका सबै साथीहरूसँग सन्तुलित व्यवहार गर्न सक्ने क्षमता भएका कारण पनि गजुरेलले महासचिवको भूमिकालाई ठिक ढंगले अगाडि बढाउनुहुने छ  भनेर पार्टी पंक्तिमा विश्वास गर्ने गरिन्छ।

सीपी गजुरेलको पुरा नाम चन्द्रप्रसाद गजुरेल हो। पार्टी जीवनमा गजुरेलले विभिन्न उपनामबाट काम गर्नुभएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता उपनाम (टेक नाम) बाट उहाँले काम गर्नुभएको हो। रामेश्वर गजुरेल र टेक कुमारी गजुरेलको कोखबाट २००४ साल चैत्र १९ गते सिन्धुली जिल्लाको सिन्धुलीमाडीमा सी. पी. गजुरेलको जन्म भएको थियो । उहाँले B.SC. सम्मको अध्ययन पूरा गर्नुभएको छ।सी.पी.ले सिन्धुलीमाडीको कमला हाइस्कूलबाट अध्ययन शुरु गर्नु भयो र सोही स्कूलबाट एस.एल.सी.उत्तिर्ण गर्नुभयो । उहाँले त्रिचन्द्र कलेजबाट आइ.एस्सी र वि.एस्सी. अध्ययन गर्नुभयो । उहाँले ७ वर्ष शिक्षक जीवन बिताउनुभयो । आफै विद्यार्थी भएको कमला हाइस्कूलमा करिब साढे ४ वर्ष पढाउनुभयो । २ वर्ष रामेछापको सदरमुकामस्थित गौरीशङ्कर हाइस्कूलमा पढाउनुभयो र थोरै थोरै समय धनुषाको जनकपुर र दोलखाको जिरी पुगेर पनि शिक्षण कार्य गर्नुभयो ।

काठमाडौँको त्रिचन्द्र कलेजमा पढ्ने बेला साथीहरुको संगतमा परेर उहाँ मार्क्सवादी विचारप्रति प्रभावित हुनुभएको थियो। त्यसो त सिन्धुलीमा कम्युनिष्ट पार्टीसँग आबद्ध भएका व्यक्तिहरू काठमाडौँ आएका बेला सीपी गजुरेल लगायतका युवाहरुलाई भेटघाट गर्ने काम गर्दथे । त्यसले पनि उहाँलाई कम्युनिस्ट आन्दोलनमा लाग्न अझ प्रेरित गर्यो । २०२३ सालमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो । त्यतिबेलाका सक्रिय नेता ऋषि देवकोटा आजाद सहित उहाँ सिन्धुली जिल्ला पार्टीमा रहनुभएको थियो। उहाँले करिब साढे छ वर्षको जेल जीवनको पनि बिताउनु भएको छ ।  नेपालका विभिन्न जेलहरुमा राष्ट्र विप्लवको मुद्दामा २०३५ सालदेखि २०३७ सम्म उहाँ जेलमा बस्नुभएको थियो । खास गरी सिन्धुलीमा पटक पटक सार्वजनिक सुरक्षा ऐन अन्तर्गत उहाँलाई जेल र हिरासतमा राख्ने गरिएको थियो। २०३७ सालको जनमत संग्रहका दौरानमा सबै राजबन्दीको आम माफीमा काठमाडौँको नखु जेलबाट उहाँ रिहा हुनुभएको थियो । २०६० सालमा भारतको चेन्नैबाट लन्डन जान थालेको बेला एयरपोर्टबाट नै उहाँ गिरफ्तार हुनुभएको थियो । नेपालमा शान्ति सम्झौता र त्यसपछि विकसित स्थितिमा भारतको केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारबाट मुद्दा फिर्ता लिएपछि उहाँ जल्पाईगुडी जेलबाट किरणसँगै २०६३ सालमा रिहा हुनुभएको थियो ।

२०३७ सालमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ऋषिदेवकोटा आजादले पार्टी अनुशासन उल्लङ्घन गरेर पार्टीका नीति भन्दा बाहिर गएर गतिविधि गर्न थालेपछि पार्टीले देवकोटालाई कारबाही गरेर केन्द्रीय समितिबाट निष्कासन गरेपछिको अवस्थामा गजुरेल केन्द्रीय कमिटीमा नियुक्त हुनुभएको थियो। २०४० मा भारतको गोरखपुरमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट उहाँ नेकपा (मशाल) को वैकल्पिक पीबीएम बन्नुभएको थियो २०४१ साल मंसिरमा भारतको अयोध्यामा सम्पन्न नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट सीपी गजुरेल पीबीएम बन्नुभएको थियो। २०४२ सालमा नेकपा मशाल विभाजन भइसकेपछि उहाँ नेकपा मोटो मशाल मा रहनुभयो र उहाँले लामो समयसम्म प्रवासमा रहेर पनि काम गर्नुभएको थियो। उहाँ अविभाजितकालीनअखिल भारत नेपाली एकता समाजको महासचिव रहेर काम गर्नुभएको थियो । त्यतिबेला समाजकोअध्यक्ष गोबिन्द सिंह थापा हुनुहुन्थ्यो भने उहाँ विजय शर्माको नामबाट महासचिव हुनुहुन्थ्यो । २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको विभाजन भयो । दिल्लीमा सम्मेलन गर्ने पक्षलाई दिल्ली पक्ष र कलकत्तामा सम्मेलन गर्ने पक्षलाई कलकत्ते पक्ष भनियो । दिल्लीमा सम्मेलन गर्ने पक्षको नेतृत्व गोविन्द सिंह थापाले गर्नुभएको थियो भने कलकत्तामा सम्मेलन गर्ने पक्षको नेतृत्व विजय शर्माले गर्नुभएको थियो । तर अहिले संयोग यस्तो भएको छ कि ती दिल्ली पक्षको नेतृत्व गर्ने र कलकते पक्षको नेतृत्व गर्ने दुवै एउटै पार्टीमा हुनुहुन्छ । अहिले विजय शर्मा उर्फ सीपी गजुरेल पार्टीको महासचिव हुनुहुन्छ भने गोविन्द सिंह थापा सोही पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्छ।  गजुरेल २०४७ मा नेकपा (एकताकेन्द्र) को पि.वि.एम., १० वर्षे जनयुद्धमा एक महत्त्वपूर्ण नेताको भूमिका, २०६५ मा नेकपा (माओवादी) को सेक्रेटरीयट सदस्य, २०६७ मा एनेकपा (माओवादी) केन्द्रीय समिति सचिव, २०६९ मा नेकपा–माओवादीको केन्द्रीय उपाध्यक्ष, २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालय सदस्य र २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वरिष्ठ नेता रही काम गर्नु भएको थियो । उहाँले २०६४ सालमा सिन्धुली जिल्ला क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फबाट संविधान सभा सदस्य पनि निर्वाचित हुनु भएको थियो ।

२०५१ सालमा नेकपा (एकता केन्द्र) विभाजन भई एउटा पक्षले पार्टीको नाम नेकपा (माओवादी) राख्यो । उहाँ नेकपा (माओवादी)मा आबद्ध हुनुभयो। जनयुद्धको प्रारम्भिक कालमा उहाँ नेपालमै रहनुभयो भने उहाँ लामो समयसम्म प्रवासमा रहेर पार्टीको विदेश विभागको प्रमुख रहेर पार्टीको जिम्मेवारी पूरा गर्नुभयो। उहाँ रिममा आबद्ध भएर संसारभरि नै जनयुद्धको प्रचारप्रसार र त्यसको पक्षमा समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभयो । २०६९ सालमा एकीकृत नेकपा माओवादी संसदवादमा भाँसियो भन्ने निष्कर्ष निकाल्दै मोहनवैद्ध किरणको नेतृत्वमा नेकपा – माओवादी पुनर्गठन गर्ने काम भएको थियो। त्यस क्रममा उहाँ मोहन वैद्धको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्ने कार्यमा लाग्नुभएको थियो। २०७२ सालमा नेकपा – माओवादी र नेकपा (एकीकृत) का बीचमा एकता गरी नेकपा (क्रान्तिकारी माओवादी) निर्माण गरिएको थियो । नेकपा– माओवादीबाट विप्लव फुटेर जाँदा वा नेकपा (क्रान्तिकारी माओवादी) बाट बादल, देव गुरुङ लगायतको टिम पार्टी परित्याग गरी माओवादी केन्द्रमा समाहित हुन जाँदा पनि सीपी गजुरेलले क्रान्तिकारी धारको पक्षपोषण गर्दै मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादीलाई नै सुदृढ गर्ने कार्यमा लाग्नुभयो। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को बीचमा २०८० साल वैशाख १८ गते एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको थियो । २०८१ साल वैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा मशालका बीचमा पार्टी एकीकरण भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वरिष्ठ नेताको रुपमा काम गर्नु भयो । २०८१ साल मङ्सिर १३ देखि २३ सम्म कीर्तिपुरमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनबाट सीपी गजुरेल स्थायी सदस्य रहनुभएको थियो ।

बङ्गलादेश, बेल्जियम, चिन, फ्रान्स, जर्मनी, जापान, मलेसिया, कतार, नेदरल्यान्ड, पोर्चुगल, साउदी अरबिया, दक्षिण कोरिया ,स्विजरल्यान्ड, संयुक्त अधिराज्य युके ,संयुक्त राज्य अमेरिका, भेनेजुयला लगायतका देशहरूको उहाँले भ्रमण गर्नुभएको छ।  ऐतिहासिक भौतिकवाद के हो ? ,तीन महापुरुषको जीवनी (मार्क्स, लेनिन,माओ) , पेरु क्रान्तिबारे ,नेपाली क्रान्तिका राजनीतिक पहलुहरु, क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खला, Political Perspectives of the Nepalese Revolution लगायतका दार्शनिक, राजनीतिक तथा वैचारिक पुस्तकहरु उहाँले लेख्नु भएको छ । मधु (खण्डकाव्य), प्रतिरोध (कथासङ्ग्रह) लगायतका शीर्षकमा उहाँका साहित्यिक कृतिहरु प्रकाशित छन् ।

देश अहिले गम्भीर संकटमा परेको छ। यस्तो बेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई नेतृत्व प्रदान गर्ने कार्य ऐतिहासिक जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न उहाँ अबश्य सफल हुनुहने छ भन्ने अपेक्षा गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित