– राजु थापा
मेरो जन्म वि.सं. २०३३ सालमा बाग्लुङ जिल्ला जैमिनी न.पा. ९, बिजुवा थापा डाँडामा भएको हो ।
हाल लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ४ धाबमा पनि बसोबास गर्छु । म संगठनमा २०५८ सालतिर अखिल (छैठौं) मा आबद्ध भएको थिएँ । म सानो हुँदा गाउँमा नेकपा (मसाल) को प्रभाव थियो । उतिबेला खुलारुपले राजनीति गर्न पाइँदैन थियो । कसैले सुराकी लगाइदिए पुलिसले लग्थ्यो । चुटाइ खानु पथ्र्यो । झुठो मुद्दा खेप्नु पथ्र्यो, विद्यार्थी कालमा बैठक बस्न विद्यालयबाट कसैले थाहा नपाउने गरी एक एक जनागरी कसैले नदेख्ने, कसैले थाहा नपाउने गरी अनकन्टार ओडारमा लुकेर बैठक बस्थ्यौ । उतिबेला संगठन गर्न निकै गाह्रो थियो । संगठनमा लाग्न मलाई पन्चायती तानाशाही ब्यवस्थाको विरुद्ध संघर्षले उत्प्रेरित गरेको हो । गाउँमा जीवन शर्माको गीतहरु गुन्जिन्थे ।
“कि यो पिर सहु भन थपक्कै बसेर ,
कि अव जाउँ भन कम्मरै कसेर ,
कोहिको लुगा बत्तुले बालेको,
कोहिको लुगा बाह्र ठाउँ टालेको ।”
यस्ता धेरै जनताका दुःख पीडा समस्यामा आधारित यथार्थ पीडा लुकेको जनवादी गीतहरु क्यासेट लगाएर सुन्थ्यौ, गाउँमा , सानै देखि जनवादी गीतमा नाच्ने गरिन्थ्यो । म सानै उमेरमा कलाकार भएँ । पहिलो पटक म १२ वर्ष हुँदा नाचेको थिएँ । पहिलो पल्ट म नाचेको गीत यस्तो थियो ः
“नखेल्नु जुवा र तास
धनको नास जीवनको बनिवास ।”
दर्शकले धेरै मन पराएर तालिले स्वागत गरेको सम्झना आउँछ । जनताको चेतना जगाउने उत्साहित प्रगतिशील गीतले मलाई सानैदेखि मानसपटलमा छोयो । अन्याय अत्याचारको बिरुद्ध जाग्नु पर्छ भन्ने प्रभाव र छाप बस्यो । बिस्तारै राजनीतितिर आबद्ध भएँ । अहिलेसम्म न्याय, स्वतन्त्रताको पक्षमा निरन्तर लागिरहेको छु । देशमा रोजगारको कुनै अवसर थिएन , जीवनको भबिस्य खोज्दै जागीरको खोजीमा आफ्नै भेना पुण ब थापा सङ्ग १९९५ मा दक्षिण भारत को पान्डेचेरीमा आएको थिएँ । जागीर सँगै उतिबेला नै अखिल भारत नेपाली एकता समज को सदस्यता लिएर सुरुवात भएको थियो ।
एकता समाजको सदस्यता लिए पछि, कलाकार क्षेत्रमा आबद्ध भएँ, १९९७ तिर दक्षिण भारतको कलाकार टोलीले छविलाल शर्माजीको नेतृत्वमा दक्षिण भारत लगायत कोलकत्तासम्म सास्कृतिक कार्यक्रम सम्पन्न पार्ने निर्णय भयो । मलाई अनिवार्य हिड्नु पर्छ भन्नु भयो, महिनौंसम्म छुट्टी मिलाउन निकै गाह्रो भयो, म्यानेजरसँग छुट्टी माग्दा छुट्टी मिल्दैन भन्यो, भनाभन भयो । उसले जागिर छोडेर जा भन्यो, मैले मेरो हिसाबकिताब दे जान्छु भने, फेरि भोलिपल्ट घरमा बाजे बिमारी छन भनेर फकाए, छुट्टि मिल्यो, कार्यक्रममा सहभागी भएँ, टोलीमा कुमारी बुढाथोकीको पनि सहभागिता थियो, उनीसँग परिचय भयो । १९९८ मा उनिसङ्ग चेन्नैको अम्बातुरमा प्रगतिशील बिवाह भयो । मेरा एक छोरी, एकछोरा छन, दुबै पढाई सिध्याएर पेशातिर लागे, जीवन सामान्य रूपमा चलेको छ ।
हाल अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सदस्य र कलाकारको नाताले दक्षिण भारतको रक्तिम विभागको इन्चार्जको पनि जिम्मा छ । सङ्गठनले दिएको जिम्मेवारी पुरागर्न फुर्सद मिलाएर सामाजिक काममा लागिरहेको छु । प्रवासमा नेपालीहरुको गम्भीर समस्या छ । भारतमा नेपालीहरुको धेरै अप्ठ्यारो, चुनौतीपूर्ण र दयनीय अवस्था छ । अहिले नेपालीलाई स्थायी काम मिल्दैन । नेपालीहरु आजभोलि धेरै होटेल लाइन र दैनिक ज्याला मजदुरी काम गर्छन् । अत्यधिक गर्मीमा लामो समय कठिन परिश्रम गर्नुपर्ने धेरै गा¥हो छ । दक्षिण भारतमा भाषाको समस्याले सुरुमा निकै कठिनाइ हुन्छ । अहिले भारत सरकारले आधार कार्डमा कडाइ गरेको छ, नयाँ आउने नेपालीलाई निकै समस्या छ । नेपालीहरूको समस्या समाधान गर्ने उपायहरूबारे कुरा गर्दा आफ्नो हकअधिकारको निम्ति आम नेपालीहरु सचेत र सङ्गठित हुनुपर्छ ।
संगठनमा काम गर्दाका केही भुल्नै नसकिने रमाईला,खुसी र दुखका केही घटनाहरू छन् । सुरुसुरुमा भाषा नजान्दा धेरै समस्या हुन्थ्यो ।
एकपटक मैले कामगर्ने नजिकैका नेपाली साथीहरू राती सिनेमा हलमा स्थानीय सङ्ग झगडा गरेछन,
भोलिपल्ट चेन्नैमा कार्यक्रम थियो ,म बसमा जानेबेला स्थानीय केटाहरूले घेरा हाले ।मलाई खासै भाषा आउदैन थियो, झगडा प¥यो, एकजनाले बियरको बोत्तलले हानेर भाग्यो, चन्द्रबहादुर के.सि.लाई लिएर चौकीमा केस दर्ता गरेर म कार्यक्रममा चेन्नै तिर लागे । दोषीलाई पक्राउ मलाई खोजेको रहेछ, म कार्यक्रममा थिए , त्यो केस त्यत्तिकै हरायो । नेपालमा सेप्टेम्बर ७ र ८ को जेनजी आन्दोलन र घटनाबारे प्रवाशबाट हेर्दा त्यो आन्दोलन देशमा सरकारको चरम भ्रष्टाचार र सामाजिक सन्जाल माथिको प्रतिबन्ध विरुद्धको आक्रोश थियो ।
जेनजी पुस्ताको आन्दोलन कुनै वैचारिक, राजनैनिक धरातलमा थिएन । त्यो मुख्यत ः सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्धका विरुद्धको आक्रोश घृणा र असन्तोषको प्रतिफल नै थियो । जसले युवापुस्ता मात्रै होइन, सबै नागरिकहरुमा समेत सरकार प्रति एक प्रकारको घृणा र विद्रोहको भावना पैदा गराएको थियो । तर त्यसलाई तात्कालिक प्रधानमन्त्री अहंकारी ओली सरकारले समयमै सही परिणाम दिन सकेन र आन्दोलनमा देशी विदेशी शक्तिको घुसपैठ भयो । जनधनको धेरै ठूलो क्षति भयो । जेन्जी आन्दोलनले सृर्जना गरेका सकारात्मक र नकारात्मक पक्षको वस्तुनिष्ट समीक्षा गर्दै, देशको संकटको निकास खोज्न बृहत योजना, कार्यक्रम र सघर्षको साझा अवधारणा निर्माण गर्नु अहिलेको मुख्य आवश्यक हो । त्यसका लागि मुख्यतः सबै कम्युनिस्ट क्रान्तिकारीहरु, वामपन्थी प्रगतिशील देशभक्त शक्तिहरु एकता तथा बृहत मोर्चा निर्माण गरी देशलाई निकास दिनुु अहिलेको आवश्यकता हो भन्ने लाग्छ । मेरो अझ केही वर्ष सर्भिस बाकी छ । फुर्सदमा क्षमताले भ्याएसम्म सामाजिक काममा निरंतरता दिइरहेको छु ।
अन्तमा हाँक पत्रिका र सम्पादकले मेरो आफ्नो परिचय र आफ्ना बिचार राख्ने मौका दिएकोमा धन्यवाद
शोषित पीडित जनताको न्यायपूर्ण आवाजलाई निरन्तर उजागर गरिरहोस हाँक पत्रिकालाई शुभकामना दिन चाहान्छु ।

