वर्गीय विचारधाराको वैज्ञानिक तथा अवैज्ञानिक अवधारणा

फ्रेडरिक एंगेल्स

(पाउल एर्नेस्तलाई एंगेल्सले बर्लिनमा यो चिठी लेख्नु भएको हो । “स्केन्डेनेभियाली देशहरुमा नारीको अवस्था र नारी आन्दोलन” विषय माथि भएको विवादबारे लेखेको पत्र हो ।)

(मसौदा),लण्डन, ५ जुन, १८९०

प्रिय महाशय,
दुर्भाग्यवश म तपाईको अनुरोध पूरा गर्न सक्दिन र त्यस्तो चिठी लेख्न असमर्थ छु । जुन तपाईले श्री बारको विरुद्ध प्रयोग गर्न सक्नुहुनेछ । यस्तो चिठीले मलाई उहाँसँग खुला वादविवादमा तान्नेछ र यसको लागि मसँग अलिकति पनि समय छैन । तसर्थ अहिले जुन पत्र म तपाईलाई लेख्दैछु, त्यो केवल तपाईको लागि मात्रै लेखिएको हो ।

साथै त्यस विषयमा मलाई कुनै जानकारी छैन, जसलाई तपाईले उत्तरमा महिला आन्दोलन भन्नुभएको छः म खाली इब्सनका केही नाटकहरुसँग मात्रै परिचित छु, परन्तु बुर्जुवा र आत्मोन्नतिपरस्त महिलाहरुको धेरथोर उन्मादपूर्ण रात्रिकालीन जाग्रामको लागि इब्सन कुन हदसम्म उत्तरदायी छन् भन्ने कुराको चाहिं मलाई कत्ति पनि ज्ञान छैन ।

अनि यो क्षेत्र, जसलाई महिला प्रश्न भन्ने प्रचलन छ, कति व्यापक छ भने एउटा चिठीमा पूर्ण रुपले अथवा केवल सन्तोषजनक रुपले मात्रै पनि लेख्नु असम्भव छ । तर एउटा कुरा सुनिश्चित छ–श्री बारले जुन कुरालाई माक्र्सको दृष्टिकोण भनेर दावा गर्नुभएको छ, माक्र्सले कदापि त्यस्तो दृष्टिकोण राख्न सक्नुहुन्नथ्यो । माक्र्स यस्तो मूर्खताको स्तरमा कदापि उत्रन सक्नुहुन्नथ्यो ।

जहाँसम्म भौतिकवादी तरिकाले प्रश्नको अध्ययन गर्ने तपाईको प्रयास छ, म सबैभन्दा पहिले के भन्न चाहन्छु भने त्यस बेला भौतिकवादी पद्धति आफ्नो प्रतिकूलतामा परिणत हुन्छ, जब त्यसलाई ऐतिहासिक अनुसन्धानको लागि पथप्रदर्शक सिद्धान्तको रुपमा होइन, अपितु त्यस्तो तम्तयार नमुनाको रुपमा ग्रहण गरिन्छ, जसको आधारमा ऐतिहासिक तथ्यहरुको काटछाँट गरिन्छ । यदि श्री बारले तपाईलाई यस गल्तीमा समातेका छन् भन्ने उनको भनाई छ भने मेरो विचारमा उनी कुनै मात्रामा सही छन् ।

सम्पूर्ण नर्वेलाई र त्यहाँ जे जति भइराखेको छ, तपाईले सबै कुरालाई एउटै श्रेणीमा राखिदिनुभएको छ–कुपमण्डुकता । अनि तपाईहरुले यस नर्वेली कुपमण्डुकतालाई निःसंकोच जर्मन कुपमण्डुकतासम्बन्धी आफ्नो सोचाईमा ढाल्नुभएको छ । तर दुई तथ्य यस कुरामा बाधा बन्न पुग्दछन् ।

प्रथमतः जब सम्पूर्ण यूरोपभरि नै नेपोलियनमाथिको विजय क्रान्तिमाथि प्रतिक्रियावादको विजय ठहरियो र जब केवल आफ्नो जन्मभूमि फ्रान्समा मात्रै पनि क्रान्तिले कस्तो त्रास उत्पन्न गरेको थियो भने पुनस्र्थापित लेजिटिमिस्ट राजतन्त्र उदारवादी बुर्जुवा संविधान प्रदान गर्न बाध्य भएको थियो, त्यस बेला नर्वेले आफू कहाँ त्यस्तो संविधान लागु गर्न सफल भएको थियो, जुन तत्कालिक यूरोपमा विद्यमान सबै संविधानहरुको दाँजोमा कता हो कता बढी प्रजातान्त्रिक थियो ।
द्वितीयतः गत बीस वर्षभित्र साहित्यको क्षेत्रमा नर्वेले कस्तो उत्थान अनुभव गरेको थियो भने यस अवधिमा रसिया सिवाय अरु कुनै पनि देशले यस्तो उपलब्धिको लागि गर्व गर्न सक्दैन । यी मानिसहरु कुपमण्डुक हुन् अथवा नहोउनु, अरुको दाँजोमा उनीहरुले धेरै बढी सिर्जना गरेका छन् र अन्य जनताहरुको साहित्यमा पनि छाप छोडेका छन् । अझ जर्मन साहित्यको त कुरै भएन ।

मेरो विचारमा यी तथ्यहरुले गर्दा नर्वेली कुपमण्डुकताका कतिपय विशेषताहरुको विश्लेषण गर्न हामी बाध्य भएका छौं ।
सम्भवतः तपाईले यहाँ अति महत्वपूर्ण अन्तर भेट्टाउनु हुनेछ । जर्मनीमा कुपमण्डुकता पराजित क्रान्तिको फल हो, अवरुद्ध तथा पछिल्तिर फर्केको विकाससको परिणाम हो । काँतरपन, संकुचितता, निस्सहायता, कुनै पनि प्रकारले तत्परता देखाउने क्षमताको अभाव जस्ता असामान्य तरिकाले विकसित विशिष्ट गुणहरु तीस वर्षीय युद्ध र त्यसपछिको अवधिमा जर्मन कुपमण्डुकतामा विकसित भए, जबकि ठीक यसै बेला झण्डै सबै जसो ठूलठूला जनताहरुले तीब्र विकास गरेका थिए । जर्मन कुपमण्डुकहरुले आफ्ना यी लाक्षणिक गुणहरुलाई त्यसबेला पनि अक्षुण्ण राखे, जब जर्मनीलाई फेरि एक पल्ट ऐतिहासिक विकासको प्रवाहले लपेट्यो । जर्मनीका अन्य सबै सामाजिक वर्गहरुमाथि एक अखिल जर्मन ढाँचाको रुपमा धेरथोर प्रभाव छोड्नको लागि ती गुणहरु पर्याप्त मात्रामा शक्तिशाली ठहरिए र केवल हाम्रो मजदुरवर्गले मात्रै अन्ततोगत्वा त्यस साँघुरो परिधिलाई तोड्यो । जर्मन मजदुरहरुले उनीहरुको कुनै आफ्नो “पितृभूमि छैन” (कम्युनिस्ट पार्टीको घोषणापत्र) भन्ने कुरा सम्पूर्ण जर्मन कुपमण्डुकीय संकीर्णताबाट आफूलाई स्वतन्त्र पारेर प्रमाणित गरे ।

यस प्रकारले जर्मन कुपमण्डुकता कुनै सामान्य ऐतिहासिक विकासको चरण होइन, अपितु एक अत्यन्त हाँस्यास्पद व्यंग्यचित्र हो, पतनको आफ्नै किसिमको दृष्टान्त हो, ठीक त्यस्तै किसिमले, जस्तो पोलिस यहुदी यहुदीपनको व्यंग्यचित्र हो । बेलायती, फ्रान्सेली अथवा अरु कुनै निम्न बुुर्जुवा कदापि जर्मन निम्नबुर्जुवा स्तरमा पुग्न सक्दैन ।

यसको विपरीत, नर्वेमा निम्नस्तरका किसानहरुले र मझौला बुर्जुवावर्गको किञ्चित सम्मिश्रणसहित निम्नबुर्जुवाहरुले जस्तै बेलायत र फ्रान्समा सत्रौं शताब्दीमा थिए–कैयौं शताब्दीसम्म समाजको सामान्य अवस्थाको प्रतिनिधित्व गरे । यहाँ कुनै ठूलो आन्दोलनको पराजय अथवा कुनै तीस वर्ष लामो युद्धले राष्ट्रलाई जबरजस्ती उही पुरानो व्यवस्थामा फर्कायो भन्ने प्रश्न उठ्दैन । आफ्नो पृथकता र प्राकृतिक स्थितिले गर्दा देश पछौटे अवस्थामा रहन गएको हो, परन्तु देशको आम स्थितिचाहिं त्यसको उत्पादनको अवस्थासँग पूर्णतः मेल खान्छ र त्यसैकारणले त्यसलाई सामान्य ठान्नुपर्छ । केवल हालसालै मात्रै देशमा बृहत् उद्योगका केही अंकुरहरु छिटपुट रुपमा देखा पर्न थालेका छन्, परन्तु पुँजीको संङ्केन्द्रणको शक्तिशाली उत्तोलकले र सट्टाबजारले यही अझै स्थान पाइसकेका छैनन् । अझ त्यसमाथि सामुद्रिक व्यापारको व्यापक विस्तारले रुढीगत प्रभाव पार्दछ, किनभने यदि अन्य सबै देशमा वाष्पजहाजले पालदार जहाजको स्थान लिंदै छन् भने नर्वेले व्यापकस्तरमा आफ्ना पालदार जहाजहरुको बेडा बढाउँदैछ र पालदार जहाजको समूहको दृष्टिकोणले संसारमा पहिलो नै नभए पनि दोस्रो स्थान त अवश्यक पनि ओगटेको छ, जुन प्रायशः साना र मझौला जहाजमालिकहरुको सम्पत्ति हो । उदाहरणको लागि लगभग सन् १७२० तिर बेलायतमा पनि यस्तै स्थिति थियो । जे होस्, यस कुराले पुरानो जड अवस्थालाई गति प्रदान ग¥यो र साहित्यिक उत्थानमा पनि यस आन्दोलनले आफ्नो अभिव्यक्ति पाएको छ ।

नर्वेली किसान कहिल्यै भूदास बनेन र त्यसले सम्पूर्ण विकासलाई नै सर्वथा अर्कै पृष्ठभूमि प्रदान गर्दछ, ज स्तो कास्तिलमा भएको थियो । नर्वेली निम्न बुर्जुवा स्वतन्त्र किसानको छोरो हो, तसर्थ पतित जर्मन कुपमण्डुकको तुलनामा ऊ राम्रो मान्छे हो । त्यस्तै किसिमले नर्वेली मध्यम वर्गीय महिला पनि जर्मन कुपमण्डुककी स्वास्नी भन्दा हजारौं गुना बेस छिन् । उदाहरणको लागि इब्सनका नाटकहरुमा जस्तो सुकै त्रुटी किन नहोस् र यी नाटकहरुले निम्न तथा मध्यम वर्गको संसारलाई प्रीतविम्बित गर्दछन्, तापनि यस संसार र जर्मनहरुको संसारमा आकासपातालको फरक उनीहरु आत्मनिर्भर भएर काम गर्दछन्, यद्यपि कहिलेकाही विदेशीहरुको दृष्टिमा अनौठो पनि देखिन सक्दछन् । मचाहिं, यस्ता कुराहरुको विषयमा आफ्नो मत प्रकट गर्नुभन्दा पहिले तिनबारे गम्भीर अध्ययन गर्न रुचाउँदछु ।

फेरि पनि त्यसै विषयमा फर्कदै, जसबाट हामीले यो ग न्थन थालेका थियौं, अर्थात् श्री बारको विषयमा फर्कने हो भने म भन्न चाहन्छु, जर्मनीमा मानिसहरुले एक अर्काप्रति यति गम्भीर दृष्टिकोण राखेको देख्दा उदेक लाग्छ । सम्भवतः बौद्धिक तिक्ष्णता र हास्यप्रेममाथि कुनै पनि बेलामा भन्दा बढी कडाइसाथ प्रतिबन्ध लगाइएको छ भने निरसता आज नागरिक कर्तव्य लाग्न जान्छ । अन्यथा “ऐतिहासिक रुपले विकसित” सबै गुणहरुबाट बञ्चित श्री बारको “नारीलाई” तपाईले बढी विस्तारपूर्वक विश्लेषण गर्नुपर्ने हो । तिनको छालाको रङ ऐतिहासिक प्रक्रियामा विकसित भएको हो, किनभने तिनी गोरी अथवा काली, पहेंली, खैरी अथवा राती हुन सकिन्छन्, फलतः छालाको रङ मान्छेको छालाको रङसँग मिल्दैन । तिनको केश ऐतिहासिक विकासको प्रक्रियामा विकसित भएको हो, लहरदार घुँघ्रिएको अथवा सीधा, कालो, रातो अथवा सुनौला । यसप्रकारले तिनको केश पनि मानिसको केशसँग मिल्दैन । यसरी तिनको छालाको रंग र केशसँगसँगै ऐतिहासिक रुपले बनेका सबै कुरा खोस्ने हो र “हाम्रो अगाडि स्वयं ती नारी प्रकट हुन्छिन्” भने बाँकी नै के रहन जान्छ र ? मानवरुपी बाँदरनीबाहेक अरु केही होइन, त्यसो भए श्री बारले यही सहज “स्पर्शणीय तथा पारदर्शी नारीलाई” तिनका समस्त “नैसर्गिक आन्तरिक प्रेरणासहित” आफ्नो ओछ्यानमा सुताओस् ।

नोटः
१) श्रीबार–एंगेल्सले यहाँ “बार” भनेर अस्ट्रियाका पत्रकार, साहित्यिक आलोचक तथा नाटककारको नाम उल्लेख गरेका हुन् ।
२) इब्सन–हेनरिक इब्सन नर्वेली नाटककार हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित