डा. अमर गिरी
१. आरम्भ
नेपाली साहित्यको प्राथमिककालदेखि नै राष्ट्रिय स्वाधीनता चेतले अभिव्यक्ति पाउँदै आएको छ । स्रष्टाहरुले आफ्नो मुलुकको सार्वभौमिकता, क्षेत्रीय अखण्डता एवं स्वाधीनताप्रतिको आफ्नो प्रतिबद्धता र प्रेमलाई साहित्यमा अभिव्यक्ति दिंदै आएका छन् । राष्ट्रिय स्वाधीनताचेतको अभिव्यक्तिका दृष्टिले नेपाली साहित्य समृद्ध रहेको छ । प्राथमिक कालदेखि नेपाली साहित्यमा अभिव्यक्ति पाउँदै आएको यस चेतले आज अझ सशक्त र तीक्ष्ण रुपमा अभिव्यक्ति पाएको छ। स्रष्टाहरु राष्ट्रिय स्वाधीनताप्रति अझ गम्भीर र संवेदनशील भएका छन् । उनीहरुले सिर्जना र प्राज्ञिक लेखनका माध्यमबाट नेपालमाथि खुल्ला र प्रच्छन्न रुपमा हुने गरेको बाह्य हस्तक्षेपको विरोध मात्र गरेका छैनन्, यसको प्रतिवादका निम्ति सडकमा समेत निस्किएका छन् ।
साहित्यका सबैजसो विधामा यसले अभिव्यक्ति पाए पनि यसले सबैभन्दा बढी अभिव्यक्ति कवितामा पाएको छ । सबैभन्दा शक्तिशाली अभिव्यक्ति पनि कवितामै देखिन्छ । समकालीन साहित्यमा पनि यसको अभिव्यक्ति कवितामै सर्वाधिक शक्तिशाली रहेको छ । राष्ट्रिय स्वाधीनताचेत समकालीन नेपाली साहित्यको एक महत्वपूर्ण विशेषता हो । नेपाली साहित्यको अध्ययनबाट राष्ट्रिय स्वाधीनताप्रति स्रष्टाहरुको सरोकार, गम्भीरता र संवेदनशीलताको मापन त हुन्छ नै, बाह्य हस्तक्षेप, त्यसविरुद्धको संघर्ष, जनताले खप्नुपरेको कष्ट एवं शासकीय मनोवृत्तिको तस्बिर पनि अगाडि आउँछ । आफ्नो मुलुकको स्वाधीनताका निम्ति नेपाली जनताले गरेको संघर्ष अद्वितीय रहेको छ र त्यसलाई नेपाली साहित्यले सजीव अभिव्यक्ति दिएको छ ।
नेपाली साहित्यको एक महत्वपूर्ण विशेषताका रुपमा रहेको यस चेतनाको अध्ययन, विश्लेषण र मूल्यांकन अझैसम्म पनि गहन रुपमा हुन सकेको छैन । विधागत रुपमा समेत व्यापक र गहिरो अध्ययन भएको पाइन्न । यस अवधारणापत्रमा संक्षेपमा राष्ट्रिय स्वाधीनताको तात्पर्य, यसको ऐतिहासिक सन्दर्भ, नेपालमाथि बाह्य हस्तक्षेप, हस्तक्षेपका रुपहरु यसका उद्देश्य र सन्दर्भहरुको चर्चा गर्दै नेपाली साहित्यमा स्वाधीनताचेतको अभिव्यक्तिका विषयमा संक्षिप्तमा आफ्नो धारणा प्रस्तुत गरिएको छ ।
२. राष्ट्रिय स्वाधीनताको तात्पर्य
‘स्वाधीनता‘ शब्दको निर्माण ‘स्वाधीन शब्दबाट भएको छ । बृहत् नेपाली शब्दकोषका अनुसार ‘स्वाधीन’ शब्दको अर्थ आफ्नै अधीन वा आत्मनिर्भरतामा रहेको, पराधीन नभएको, स्वतन्त्र भन्ने हुन्छ । ‘स्वाधीनता’ को अर्थ स्वाधीन हुनुको भाव वा अवस्था, स्वतन्त्रता हो । यस कोशीय अर्थबाट पनि ‘स्वाधीनता’ शब्दको तात्पर्य धेरै स्पष्ट हुन्छ, तर यसको तात्पर्यलाई अझ स्पष्ट हुने गरी थोरै विस्तारमा चर्चा गर्न आवश्यक छ । स्वतन्त्र अस्तित्व वा पहिचानसँग राष्ट्रिय स्वाधीनता गाँसिएको छ । स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि हुने प्रत्यक्ष वा अप्रत्यक्ष बाह्य हस्तक्षेपले राष्ट्रिय स्वाधीनताको विषयलाई गम्भीर, संवेदनशील र महत्वपूर्ण बनाउँछ । राष्ट्रिय स्वाधीनताको संघर्ष मूलतः औपनिवेशिक उत्पीडन विरुद्धको संघर्षका रुपमा रहँदै आएको छ । साम्राज्यवाद, उपनिवेशवाद विरोधी संघर्षहरु मुलुकको स्वतन्त्र अस्तित्वको रक्षा, पराधीनताबाट मुक्ति एवं स्वतन्त्र अस्तित्वको निर्माणसँग सम्बन्धित छन् । राष्ट्रिय स्वाधीनता राष्ट्रवादको अवधारणाभित्र समेटिन्छ । राष्ट्रवादको मूल आधार स्वतन्त्र राष्ट्रिय अस्तित्व र पहिचान हो । यो देशभक्तिका रुपमा प्रकट हुन्छ । राष्ट्रवादको एक मुख्य पक्ष राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य हस्तक्षेपबाट जोगाउनु एवं त्यसका विरुद्ध संघर्ष गर्नु हो । साम्राज्यवाद, उपनिवेशवाद विरुद्धको संघर्ष राष्ट्रवादको एक प्रमुख अभिलक्षण हो । आफ्ना केही सीमाहरुका अतिरिक्त साम्राज्यवाद, उपनिवेशवाद विरुद्धको संघर्षमा राष्ट्रवादले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो र गर्दैछ (अहमद, सन् २००७ः ६६–८०) । राष्ट्रवादका सीमाका कारण यो अन्धराष्ट्रवादमा बद्लिन पनि सक्छ । अन्धराष्ट्रवाद फासीवादको जन्म र विकासको आधार पनि बन्न सक्छ । हाब्सवाम (सन् २००९ः २०१–२२) राष्ट्रवादको भूमिका र महत्वलाई रेखांकित गर्दै राष्ट्रवाद अध्नराष्ट्रवादको बाटो हुँदै फासीवादमा बद्लिन सक्छ भन्छन् । राष्ट्रवादको अभ्यासमा अन्धराष्ट्रवाद र फासीवादको जोखिम सधै रहन्छ ।
राष्ट्रिय स्वाधीनता प्रत्यक्ष अप्रत्यक्ष वैदेशिक हस्तक्षेप र त्यस विरुद्धको खुला एवं प्रच्छन्न संघर्षसँग जोडिन्छ । मूलतः यससँग दुईवटा पक्षहरु सम्बन्धित भएर आउँछन् । पहिलो, देशप्रतिको प्रेम, कसैको अधीनमा बस्न नपरोस् भन्ने सचेतता, दोस्रो, हस्तक्षेप भइसकेपछिको प्रतिवाद र प्रतिरोध । राष्ट्रिय स्वाधीनताका निम्ति संघर्षका क्रममा अन्धराष्ट्रवाद जस्तै राष्ट्रिय आत्मसमर्पणवाद पनि देखापर्छ । आरम्भदेखि नै कमवेशी यस्ता प्रवृत्तिहरु रहन्छन् । यस्तो प्रवृत्ति कम्युनिस्ट आन्दोलनमै पनि पाइन सक्छ । यी भिन्नाभिन्नै प्रवृत्तिहरुलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरु पनि अस्तित्वमा रहन्छन् । राष्ट्रिय स्वाधीनताका निम्ति संघर्ष गर्दा यी दुवैको वैचारिक प्रतिवाद आवश्यक हुन्छ । यी दुवैले स्वाधीनताको संघर्षलाई गलत दिशा दिन्छन् । यी प्रवृत्तिहरु एउटै सिक्काका दुई पाटा हुन् । साम्राज्यवादी उत्पीडनको अन्त भएको छैन । उपनिवेशवादको ठाउँमा नवउपनिवेशवाद छ । साम्राज्यवादी एवं नवऔपनिवेशिक उत्पीडनका विविध रुपहरु छन् । यसभित्र आर्थिक, राजनीतिक सांस्कृतिक एवं सैन्य रुपहरु पर्छन् । आज प्रत्यक्ष सैनिक हस्तक्षेपका माध्यमबाट कुनै मुलुकलाई आफ्नो अधिनमा राख्ने तरिकाभन्दा आर्थिक, राजनीतिक, सांस्कृतिक रुपमा अधीनस्थ तुल्याउने तरिका अपनाएको पाइन्छ । कतिपय बेलामा सैनिक हस्तक्षेपहरु पनि हुने गरेका छन् । बाह्य हस्तक्षेप र उत्पीडनबाट मुक्तिको विषय आन्तरिक उत्पीडनबाट मुक्तिसँग पनि जोडिएको छ । खुल्ला र प्रच्छन्न बाह्य हस्तक्षेप र उत्पीडन प्रायः घरेलु सत्तारुढ वर्गसँग एकीकृत भएर हुने गरेका छन् । यसैले राष्ट्रिय स्वाधीनताका निम्तिको संघर्ष घरेलु सत्तारुढ वर्गको उत्पीडन विरुद्धको संघर्ष पनि बन्छ । दुवैका विरुद्ध संघर्ष नगरी वास्तविक अर्थमा मुलुकलाई स्वाधीन गराउनै सकिन्न ।
३. नेपालमाथि बाह्य हस्तक्षेप र उत्पीडन
नेपाल कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश रहेन । यस अर्थमा नेपाल सधै स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा रह्यो । आज पनि यो एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा रहेको छ । सुगौली सन्धिपछि भने यसले निरन्तर बाह्य हस्तक्षेप र उत्पीडन खप्दै आएको छ । यस सन्धिले नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रहार ग¥यो । भट्ट(२०५५ः६१) यस यथार्थतर्फ संकेत गर्दै हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि नै प्रत्यक्ष नियन्त्रण गर्दै वि.सं. १८७२ मा असमान सुगौली सन्धि नेपाली जनतामाथि बलजफती थोपरियो भन्छन् । सुगौली सन्धिपछिको वास्तविक स्थितिको विश्लेषण गर्दै चैतन्य (२०६५ः९३) यस सन्धिको तात्कालिक परिणाम नेपालको राज्यविस्तारमा अवरोधका रुपमा देखा परे पनि यसको वास्तविक र दीर्घकालीन परिणाम नेपालको सार्वभौमिकतामाथिको साम्राज्यवादी हस्तक्षेप, प्रभुत्व र घुसपैठका रुपमा अभिव्यक्त भयो भन्छन् । गोर्खाभर्ती केन्द्रको स्थापना, दरबारिया गुटहरुको अन्तर्विरोध र शक्ति संघर्षमा अंग्रेजहरुको संलग्नता, नेपालको राजनीतिमा अंग्रेज दलालहरुको पकड, नेपाली आत्मनिर्भर अर्थव्यवस्थामा व्यवधान, कालिम्पोङ, व्यापारमार्गद्वारा नेपाल–तिब्बत सम्बन्धको विच्छेदन आदि यसकै सबुत हुन् भन्ने धारणा पनि चैतन्यको रहेको छ ।
भट्टले जस्तै चैतन्यले पनि सुगौली सन्धिसँगै नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता परिसीमित भयो भन्ने दृष्टिकोण व्यक्त गरेको देखिन्छ । नेपालमाथि साम्राज्यवादी हस्तक्षेप र उत्पीडनको आरम्भविन्दु सुगौली सन्धि थियो । यसपछि यस मुलुकमाथि बाह्य हस्तक्षेप र उत्पीडन पनि बढ्दै गयो । यस सन्धिपछि बढेको साम्राज्यवादी हस्तक्षेप र उत्पीडनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई मात्र परिसीमित गरेन, समग्र भौतिक एवं आत्मिक विकासलाई पनि अवरुद्ध ग¥यो । भट्टराई (२०६३ः१४) ले यही यथार्थलाई दृष्टिगत गर्दै यो गरिबी र अल्पविकासको स्थिति प्राकृतिक साधन र स्रोतको अभाव वा श्रमिक जनताको अल्छीपनाले नभएर देशको भित्री र बाहिरी प्रतिगामी वर्गसम्बन्धको कारणले हो भन्ने कुरा सन् १८१६ को सुगौली सन्धि पहिलेको नेपाल र त्यसपछिको नेपालको अवस्थालाई समकालीन विश्वका अरु देशहरुको अवस्थासँग दाँजेर हेर्दा प्रष्ट हुन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् ।
सुगौली सन्धिबाट नेपालले आफ्नो भूभाग मात्र गुमाएन, स्वनिर्णयको क्षमता पनि गुमाउँदै गयो । नेपालको अर्थ, राजनीति, प्रशासन आदिमा बाह्य भूमिका र स्वार्थहरु हस्तक्षेपकै तहमा बढ्न आरम्भ गरे । नेपाल एक पूर्ण स्वाधीन राष्ट्रका रुपमा अघि बढ्नै नसक्ने अवस्थामा पुग्यो । एउटा मुलुक कति स्वाधीन छ भन्ने कुराको एक महत्वपूर्ण आधार ऊ आफ्नो बारेमा निर्णय गर्न पूर्ण स्वतन्त्र छ कि छैन भन्ने पनि हो । सैनिक हस्तक्षेप र प्रत्यक्ष उपनिवेश मात्र कुनै मुलुक पराधीन हुनुको आधार होइन । मानचित्र वा भूगोलमा एक सिंगो देश बाँचेर पनि देशहरु पराधीन हुन्छन् र भएका छन् । सुगौली सन्धिसँगै नेपालमा साम्राज्यवाद पस्यो र त्यसले नेपालको औपनिवेशीकरणको प्रक्रियालाई पनि अघि बढायो । मिश्र (२०६२ः१३८) एकीकरण भएदेखि नेपाल पुँजीवाद र साम्राज्यवादको हाराहारीमा बस्दै आएको छ भन्दै नेपालले साम्राज्यवादसँग कहिले लड्दै कहिले सम्झौता गर्दै आएको उल्लेख गर्छन् । उनी सुगौली सन्धिपछि अंग्रेजहरुले छानीछानी नेपाली लडाकु जातिलाई आफ्नो सेनामा भर्ती गर्न थाल्यो, साम्राज्यवादले नेपालबाट पछिल्लो सेवा यहीबाट प्राप्त ग¥यो पनि भन्छन् । यस साक्ष्यले नेपालमाथिको साम्राज्यवादी उत्पीडनलाई देखाउँछ । गोर्खा भर्तीकेन्द्रको स्थापना सुगौली सन्धिकै परिणाम थियो । यो नपालको गरिमा र आत्मसम्मानमाथिको गम्भीर आघात थियो । सुवेदी (सन् २०१२ ः २५६) यसलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र र जातिको आत्मसम्मानको विरुद्ध मात्र ठान्दैनन्, यसबाट नेपालको छवि पनि नराम्रो बनेको छ, भन्छन् । उनी यसलाई भाडाको सिपाही बन्नु ठान्छन् । गोर्खाभर्ती केन्द्र हाम्रो स्वाधीनता र आत्मसम्मानका विरुद्धको कदम थियो ।
भीमसेन थापाको अवसानपछि नेपाली राष्ट्रवाद कमजोर बन्यो । त्यसको ठाउँ अंग्रेज भक्तिले लिन सुरु ग¥यो । राणाशाससनको अवधिमा अंग्रेजभक्तिले मौलाउने अवसर प्राप्त ग¥यो । भीमसेन थापाले सुगौली सन्धिपछिको कठिन परिस्थितिमा राष्ट्रवादी भावनालाइई बलियो बनाउन ठूलो भूमिका सम्पादन गरेका थिए । त्यो बेला भीमसेन थापा मुख्तियार नभएको भए नेपाल स्वतन्त्र रहने थिएन भन्ने भनाई नेपाली (२०५६ः१३५–१५०) को छ । नेपाललाई पूर्ण औपनिवेशिक मुलुक हुनबाट जोगाउन भीमसेन थापाको महत्वपूर्ण योगदान रहे पनि त्यसपछि स्थिति बद्लिन सुरु ग¥यो । नेपालमा अंग्रेजहरुको दख्खल बढ्न थाल्यो । जंगबहादुर कै समयदेखि दख्खल झांगिन सुरु गरेको थियो । त्यसपछि नेपालको दैनिक शासन प्रशासनमा अंग्रेजहरुको हस्तक्षेप बढ्दै गयो । साना साना विषयहरुमा समेत परामर्श लिन थालियो । भारतबाट अंग्रेजहरुको बहिर्गमन र राणाशासनको अन्त्यपछि स्थितिमा परिवर्तन आउनुपथ्र्यो तर त्यसो हुन सकेन । सन् १९५० को सन्धि गरियो । यो सुगौली सन्धिपछिको अर्को असमान र अपमानपूर्ण सन्धि थियो । २००७ सालको राजनीतिक आन्दोलनसमेत आफ्नै बुतामा लडिएन र टुंगिएन । दिल्लीमा भएको सम्झौताबाट आन्दोलन टुंगियो । सन् १९५० को असमान सन्धिले नेपालमाथि भारतको खुला र प्रच्छन्न हस्तक्षेपलाई वैधानिक आधार प्रदान ग¥यो । लोकतन्त्रको स्थापनापछि पनि नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भई नै रह्यो । कतिपय अवस्थामा नेपाली शासकहरु रबरस्ट्याम्प जस्ता देखिए । २००९ सालमा नेपालको उत्तरी सीमामा भारतलाई चेकपोष्ट राख्ने अनुमति प्रदान गरियो । यही एउटा दृष्टान्तबाट पनि राष्ट्रिय स्वाधीनताका सन्दर्भमा त्यसबेलाको स्थितिलाई बुझ्न सकिन्छ । २००७ सालपछि नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतालाई कमजोर बनाउने विभिन्न सन्धिसम्झौताहरु भए । राजनीतिक नेतृत्वमा रहेका कमजोरीहरु यसका प्रमुख कारक थिए । प्रश्रित (२०५८ः४०) ले यसलाई त्यसबेलाको सत्तारुढ पार्टीको सम्झौतापरस्त चरित्र एवं पुँजीवादको दलालीको संज्ञा दिएका छन् । त्यसबेलाको सत्तारुढ राजनीतिक शक्ति खास गरेर कांंग्रेस सामन्तवाद र साम्राज्यवादपरस्त देखियो । उसले राष्ट्रियता र जनतन्त्रको विषयलाई सँगसँगै अघि बढाउन सक्नुपथ्र्यो तर बढाएन । राष्ट्रियतालाई गौण ठान्ने दृष्टिकोणले लोकतन्त्रलाई बलियो हुन दिएन । नेपालको पुँजीवादी शक्तिमा ज्ञानोदयकालीन चरित्र नै विकसित हुन सकेन । कोशी र गण्डक जस्ता सम्झौताहरु राष्ट्रिय स्वाधीनता र हितका दृष्टिले गलत थिए । राष्ट्रियतालाई हेर्ने विषयमा रहेका कमजोरीकै कारण यस्ता सम्झौताहरु भएका थिए ।
२०४६ सालमा पंचायती व्यवस्थाको अन्त्य भयो । लोकतन्त्रको पुनः स्थापनापछि पनि नेपालमाथि हुने गरेको बाह्य हस्तक्षेप र उत्पीडनमा कमी भएन । नवउदारवादी बाटोको अवलम्वनले साम्राज्यवादी उत्पीडनलाई बढायो । भारतीय हस्तक्षेप पनि बढ्यो । २०६२–२०६३ को आन्दोलनपछिको परिवर्तित परिस्थितिमा बाह्य हस्तक्षेप र उत्पीडन अझ बढेर गएको देखिन्छ । आज नेपालको स्वाधीनतालाई परसीमित गरेका सन्धिसम्झौताहरु एकातिर छन् भने अर्कातिर साम्राज्यवादी उत्पीडनका विविध रुपहरु खप्नु पर्दैछ । वनायक (सन् २०११ः ८१–९३) ले राष्ट्रवादको चर्चाका सन्दर्भमा नवउदारवाद र भूमण्डलीकरणलाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । नवउदारवाद र भूमण्डलीकरण राष्ट्रवादको विपक्षमा र बजारको पक्षमा छन् भन्दै उनले यी दुवैको तिखो आलोचना गरेका छन् । आजको साम्राज्यवाद भन्नाले मूलतः वित्तिय पुँजीको भूमण्डलीय वर्चश्व भन्ने बोध हुन्छ । यसले उत्पीडित राष्ट्रहरुको सार्वभौमिकता र स्वतन्त्रतालाई परिसीमित नगरीकन आफ्ना रणनीति र कार्यनीतिहरुको कार्यान्वयन नै गर्न सक्दैन । इतिहासमा साम्राज्यवाद सैन्य शक्तिसहित उपस्थित हुन्थ्यो । राष्ट्रहरु देखिने गरी औपनिवेशिक उत्पीडनको सिकार हुन्थे । सिधै सैनिक हस्तक्षेपका माध्यमबाट आधिपत्य कायम गर्ने साम्राज्यवादी उत्पीडनको यस रुपमा आज परिवर्तन आएको छ । पटनायक (सन् २०११ः८५–२७१) यसै सन्दर्भमा साम्राज्यवादको वर्तमान अध्यायलाई नयाँ अध्यायका रुपमा उल्लेख गर्दै आज यसले पुँजी, प्रविधि र संस्कृतिका माध्यमबाट आफ्नो हस्तक्षेप र उत्पीडनलाई कायम राखेको बताउँछन् । यसलाई उनले वित्तिय पुँजीको विचाराधारात्मक वर्चश्वका रुपमा विश्लेषण गरेको पाइन्छ । अर्को शब्दमा यसलाई नवऔपनिवेशिक उत्पीडन पनि भन्न सकिन्छ । नेपाल आज यही नवऔपनिवेशिक एवं विस्तारवादी हस्तक्षेप र उत्पीडनको सिकार छ ।
४. बाह्य हस्तक्षेप र उत्पीडनको विरोध
नेपाली जनता राष्ट्रिय स्वाधीनताका निम्ति इतिहासदेखि संघर्ष गर्दै आएका छन् । उत्तर र दक्षिणका विशाल मुलुकको बीचमा रहँदै आएको नेपालले भारतको इष्ट इण्डिया कम्पनी सरकारको आक्रमण मात्र खप्न परेन, तत्कालीन चीनको आक्रमणको सामना पनि गर्नुप¥यो । नेपालमा राष्ट्रिय स्वाधीनताचेत र राष्ट्रवादी भावनाको विकास आफ्नो मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता जोगाउन भएका युद्धहरुको क्रममा भएको थियो । यसको विजारोपण नेपालराज्यको विस्तारसँगै भएको देखिन्छ । नेपाल–अंग्रेज युद्धमा नेपाल पराजित भयो । सुगौली सन्धि यसकै परिणाम थियो । सुगौली सन्धिबाट विशाल नेपाली भूभाग त गुम्यो नै, नेपालको स्वाधीनतामाथि गम्भीर आघात पनि पुग्यो । यसपछि पनि अंग्रेज साम्राज्यवादको विरोध भइ नै रहयो । अंग्रेज साम्राज्यवादको विरोधको दृष्टिले भीमसेन थापाको मुख्तियारीको समय विशेष महत्वपूर्ण रहेको छ । राणाशासनको उदय र अंग्रेजभक्तिको आरम्भले जनतामा रहेको देशभक्तिको भावना प्रकट हुन सकेन । परिवर्तनकारी सोचको विकास र राणाविरोधी संघर्षको आरम्भसँगै देशभक्तिको भावना पुनः प्रबल बन्न सुरु ग¥यो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसले राष्ट्रियता र जनतन्त्रको विषयलाई सँगसँगै अघि सा¥यो । यसले एकातिर राणाशाहीको अन्त्य र जनअधिकार प्राप्तिका निम्ति संघर्षको आह्वान ग¥यो, अर्कातिर साम्राज्यवादी हस्तक्षेप र उत्पीडनको सशक्त प्रतिवाद पनि ग¥यो । राष्ट्रिय स्वाधीनता र जनतन्त्रको स्थापना यसका मुख्य उद्देश्यहरु थिए । इतिहासमा सुस्पष्ट दृष्टिकोणसहित राष्ट्रिय स्वाधीनताको विषयलाई पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीले उठाएको थियो ।
नेकपाले दिल्ली सम्झौताको विरोध ग¥यो । यो सम्झौता दिल्लीमा भारतीय प्रधानमन्त्री नेहरुको मध्यस्थतामा भएको थियो । यस सम्झौताका कारण राजनीतिक परिवर्तन मात्रै अपूर्ण रहेन, नेपालको स्वाधीनतामाथि नै गम्भीर चोट लाग्यो । निर्णय नेपाली जनता र राजनीतिक पार्टी आफैले गर्नुपथ्र्यो । राणा, राजा र कांग्रेस यस सम्झौताका कारक थिए । भारतको उद्देश्य त नेपालमाथि आफ्नो प्रभुत्व स्थापना गर्नु नै थियो । सन् १९५० को सन्धि र दिल्ली सम्झौताले यसलाई बलियो आधार प्रदान गरे । नेकपाले सबै असमान सन्धिसम्झौता लगायत नेपालमाथिको बाह्य हस्तक्षेप र उत्पीडनका सबै रुपहरुको निरन्तर विरोध गर्दै आयो । यसको नेतृत्वमा राष्ट्रिय स्वाधीनताका निम्ति ठूलठूला संघर्षहरु भए । साम्राज्यवाद, विस्तारवाद विरुद्धको संघर्षमा यसको अग्रणी भूमिका रह्यो । राष्ट्रवादी चेतनालाई अन्तर्राष्ट्रियतावादसँग जोड्नु यसको अर्को महत्वपूर्ण विशेषता हो । संसारमा चल्दै आएको साम्राज्यवाद, उपनिवेशवाद र नवउपनिवेशवाद विरुद्धका संघर्षहरुमा यसले ऐक्यबद्धता जनाउँदै आएको पाइन्छ । कम्युनिस्ट आन्दोलन विभाजित भएपछि पनि राष्ट्रियताको मुद्दालाई सबै कम्युनिस्ट घटकहरुले महत्व दिएको देखिन्छ ।
सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनमा बाह्य हस्तक्षेप र उत्पीडन विरुद्धको संघर्षमा कुनै कमजोरी नभएका भने होइनन् । समकालीन कम्युनिस्ट आन्दोलनमा यी कमजोरीहरु अझ बढेका छन् । उग्र र दक्षिणपन्थी प्रकृतिका कमजोरीहरु कम्युनिस्ट आन्दोलनमा पाइन्छन् । राज्यसत्तामा कम्युनिस्टहरुको उपस्थितिसँगसँगै साम्राज्यवाद, प्रभुत्ववाद विरोधी संघर्षमा शिथिलता मात्र देखिएको छैन, सम्झौतापरस्त चरित्रको विकास पनि भएको छ । राष्ट्रिय स्वाधीनताका निम्ति चलाइएका आन्दोलनहरुमा उग्र प्रकृतिका कमजोरीहरु पनि रहेका छन् ।
अन्धराष्ट्रवादका कतिपय लक्षणहरु कम्युनिस्टहरुले अगुवाई गर्ने गरेको राष्ट्रवादी आन्दोलनमा पाइन्छ । कम्युनिस्ट आन्दोलनले राष्ट्रिय स्वाधीनताको निम्ति चलेको संघर्षमा अन्य राजनीतिक दलहरुमा रहेको यससम्बन्धी गलत दृष्टिकोण र भूमिकाको विरोध र आलोचना पनि गर्दै आएको छ । आफ्ना कतिपय कमीकमजोरीहरुका अतिरिक्त राष्ट्रिय स्वाधीनताका निम्ति कम्युनिस्ट आन्दोलन नै सबैभन्दा अगाडि छ । समकालीन नेपाली राजनीतिमा कम्युनिस्टहरुले नै राष्ट्रिय स्वाधीनताको झण्डालाई सबैभन्दा बलियो गरी समातेका छन् र यससम्बन्धी आन्दोलनको अगुवाई गरेका छन् । यससँग सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरु नै यससम्बन्धी संघर्षको अग्रभागमा देखिन्छन् ।
नेपालको इतिहासमा शासकवर्गले पनि राष्ट्रवादको कुरा गर्दै आएको पाइन्छ । नेपालको एकीकरण र त्यसपछि विकसित राजनीतिक परिस्थितिलाई हेर्दा भीमसेन थापाको समयसम्म शासक वर्गमा राष्ट्रवादी भावना बलियो देखिन्छ । एकातिर यो मुलुकको सार्वभौमिकता र स्वतन्त्रतासँग जोडिएको थियो भने अर्कातिर सत्तारुढ वर्गको हितसँग पनि गाँसिएको थियो । यो आधुनिक राष्ट्रवादी चेतना थिएन । यससँग जनतन्त्र जोडिएको थिएन । मुलुकका सबै जाति, भाषा, लिंग आदिलाई समान अधिकार प्रदान गर्दै बलियो राष्ट्र निर्माण गर्ने कुरासँग पनि यो सम्बन्धित थिएन । यो शासकहरुको आफ्नो मुलुकको भौगोलिक सीमालाई अक्ष्णु राख्ने र स्वतन्त्रतापूर्वक रहने कुरासँग सम्बन्धित थियो । राणाशासनको उदयसँगै अंग्रेजपरस्त दृष्टिकोणको विकास भयो । जंगबहादुरबाटै यसको थालनी भएको थियो । यो दृष्टिकोणको अन्तर्य ठूलो शक्तिलाई रिझाउनु, आफ्नो सत्तालाई सुरक्षित राख्नु र अनेकौं अन्य फाइदा लिनु थियो । जंगबहादुरलाई राष्ट्रवादीका रुपमा हेर्नेहरु पनि छन् । खासगरी अंग्रेजहरुबाट नयाँ मुलुक प्राप्त भएको विषयलाई यस सन्दर्भमा महत्व दिएर हेरेको पाइन्छ । अंग्रेजहरुको दबदबा रहेको त्यो समयमा जंगबहादुर र अन्य राणाशासकहरुले चतु¥याइँपूर्वक मुलुकलाई जोगाए भनेर विश्लेषण गर्नेहरु पनि छन् । तर यस्तो विश्लेषण तर्क र तथ्यपरक देखिन्न । यसलाई अंशमा हेर्न सकिन्न । राणाहरुमा अंग्रेजभक्ति थियो र उनीहरु आफ्नो शासनसत्ताको निरन्तरता चाहन्थे । उनीहरुकै समयमा नेपालमाथि अंग्रेजहरुको बलियो पकड बन्यो । नेपालको स्वाधीनतामा गम्भीर आघात पुग्यो । उनीहरुका समयमा गरिएका सन्धि सम्झौताहरु नै यसका दृष्टान्तका रुपमा रहेका छन् । केसी (२०६४ः१०) राणाशासकहरुका बारेमा टिप्पणी गर्दै उनीहरुले गौरवशाली, देशभक्तिपूर्ण एवं साम्राज्यवादी र विदेशी थिचोमिचो विरुद्ध लड्ने परम्पराको स्थानमा ब्रिटिसलाई रिझाएर देश लुट्ने दलाल राष्ट्रवादको नमुना प्रस्तुत गरे भन्छन् । उनले त्यस समयमा सिंगो राणाराज्य नै ब्रिटिसको गुलाम बन्न पुगेको पनि उल्लेख गरेका छन् । पुष्पलाल (२०७३ः३६) राणाहरुको उदयसँगसँगै विदेशी साम्राज्यवादीहरुले नेपालमा आफ्नो पञ्जा छिटोछिटो फैलाउन थाले भन्दै राणाशाहीको लगाम साम्राज्यवादीहरुको हातमा रह्यो र जनतालाई साम्राज्यवादको हातमा बेच्ने कामको मुख्य नाइके पनि राणा प्रधानमन्त्रीहरु नै बने भन्छन् । यसबाट राणाशासकहरुको चरित्रलाई राम्रोसँग नियाल्न सकिन्छ ।
एकथरीले राजा महेन्द्रलाई ‘महान राष्ट्रवादी राजा’का रुपमा प्रस्तुत गर्दै आएका छन् । यो क्रम अहिले पनि यथावत छ । यस पंक्तिमा उनका समर्थक र मुलुकलाई पछिल्तिर फर्काउन चाहनेहरु मात्र पर्दैनन्, कतिपय स्वनामधन्य वामपन्थीहरु पनि पर्छन् । उनको पश्चगमन र निरंकुशतालाई उनको ‘राष्ट्रवादी’ छविलाई अगाडि सारेर छोप्ने कार्य पनि हुँदै आएको छ । नेपाली मुद्राको प्रचलन, पूर्व–पश्चिम राजमार्ग, राजा रजौटाहरुको उन्मूलन, नेपालको उत्तरी सीमाबाट भारतीय चेकपोष्टको विस्थापन, आन्तरिक बसाइसराई, भारत–चीनसँगको सम्बन्धलाई समदुरी र सन्तुलनमा राख्ने प्रयास, मुलुकलाई आत्मनिर्भर बनाउने प्रयत्न, बैदेशिक सम्बन्धको विस्तार, असंलग्न राष्ट्रहरुको आन्दोलनमा सक्रियता आदिका आधारमा यसो भन्ने गरिन्छ ।
सिंगो पंचायती शासनको कालखण्डलाई नै राष्ट्रवादका दृष्टिले नेपाली राजनीतिको उत्तम अध्यायका रुपमा प्रस्तुत गर्ने प्रयत्न पनि गरिएको पाइन्छ । गम्भीरतापूर्वक तथ्यहरुको विश्लेषण र मूल्यांकन गर्ने हो भने राजा महेन्द्रको राष्ट्रवाद रुपमा मात्र राष्ट्रवाद देखिन्छ । उनकै समयमा कालापानीमा भारतीय सेनाको अतिक्रमणलाई देखेको नदेख्यै गरियो । सन् १९६५ मा भारतसँग नेपालको राष्ट्रिय स्वाधीनतालाई आघात पुग्ने गरी सम्झौता गरियो । सन् १९५० को सन्धिको पुनरावलोकन वा अन्त्यका निम्ति कुनै विशेष प्रयत्नहरु भएनन् । लोकतन्त्रको निषेध र जनअधिकारको कठोर नियन्त्रणमा जीवित पंचायती राष्ट्रवाद सारतः राष्ट्रवाद नै थिएन । पंचायती शासकहरुको समयमा साम्राज्यवादी एवं प्रभुत्ववादी शक्तिहरुको हस्तक्षेप र उत्पीडनको प्रतिवाद होइन, त्यसलाई सघाउने र सत्तालाई सुरक्षित राख्ने काम बढी गरियो । कालापानीप्रतिको मौनता यसको उत्तम दृष्टान्त हो । राष्ट्रिय स्वाधीनताका सन्दर्भमा नेपाली कांग्रेसबाट पनि गम्भीर कमजोरीहरु भएका छन् । स्वयं वी.पी. बाटै यसप्रकारका कमजोरीहरु भएको पाइन्छ । कांग्रेसलाई जतिसुकै राष्ट्रवादी देखाउने कोसिस गरे पनि ऊ राष्ट्रियताका मामिलामा सधै कमजोर रह्यो । मूलतः यस मुलुकका कम्युनिस्ट, प्रगतिशील एवं देशभक्त शक्तिहरुले नै निरन्तर साम्राज्यवाद एवं प्रभुत्ववादको विरोधमा आफूलाई उभ्याउँदै राष्ट्रिय स्वाधीनताका निम्ति संघर्ष गरेको पाइन्छ ।
५. नेपाली साहित्यमा राष्ट्रिय स्वाधीनता
नेपाली जनतामा राष्ट्रिय स्वाधीनताचेतको अंकुरण बाह्य हस्तक्षेपभन्दा पहिले भएको पाइन्छ । यो आफ्नो माटोप्रतिको प्रेमको रुपमा प्रकट भएको थियो । यस चेतको निर्माण नेपाल एकीकरणको आरम्भदेखि हुन शुरु गरेको हो । नेपालमाथि साम्राज्यवादी हस्तक्षेप सुरु भएपछि यो चेत बढी स्पष्ट र प्रखर बन्यो । साहित्यकारहरुले त्यसलाई आफ्ना रचनामा अभिव्यक्ति दिए । नेपाली साहित्यमा यथार्थको प्रतिबिम्बनका क्रममै राष्ट्रिय स्वाधीनताचेतले अभिव्यक्ति पाएको देखिन्छ । नेपाली साहित्यको प्राथमिककाल वीरधारा र भक्तिधाराको काल हो । पूर्वाद्र्धमा वीरधारा र उत्तराद्र्धमा भक्तिधारा पाइन्छ । सामान्यतः वीरताको भाव राष्ट्रिय स्वाधीनताको भाव होइन तर नेपाल एकीकरणको क्रममा विकसित वीरताको भावबाटै राष्ट्रिय स्वाधीनताचेतको निर्माण पनि भएको थियो । एकीकरण अभियानले नेपालीहरुमा आफ्नो मुलुकप्रतिको प्रेमलाई गहि¥यायो, राष्ट्रिय अस्तित्व र सम्भावित बाह्य हस्तक्षेपप्रति संवेदनशील र सजग तुल्यायो । यही संवेदनशीलता र सजगता राष्ट्रिय स्वाधीनताको चेतका रुपमा विकसित भयो । पूर्वाद्र्धका वीरधाराका कवितामा राज्यविस्तारका नायकको स्तुति र वीरभावना पाइन्छ र तुलनात्मक रुपमा शासक स्तृति नै बढिरहेको छ । यस यथार्थप्रति संकेत गर्दै भण्डारी (२०५५ः३७) यस अवधिमा लेखिएका रचना व्यक्तिप्रशंसा वा स्तुति पद्यका रुपमा रहेको बताउँछन् । भण्डारीको यो कथन उपयुक्त नै देखिन्छ । व्यक्ति प्रशंसा वा स्तृति पद्य बढी लेखिए पनि वीरधाराको कवितालेखनको अन्त्यतिर आइपुग्दा साहित्यमा (कवितामा) राष्ट्रिय स्वाधीनताचेतलाई सुस्पष्ट रुपमा नियाल्न सकिन्छ । पाण्डेय (२०७३ः ६०) प्राथमिक कालको साहित्यमा स्वतन्त्रताचेत भन्दा शासकको स्तुतिचेत नै बढी प्रबल छ भन्दै यसो हुँदाहुँदै पनि त्यो युद्धकै काल थियो र एकातिर राज्यविस्तारको अभियानमा वीरताको भावधारा उद्भुत भएको थियो भने नेपाल–अंग्रेज युद्धको परिघटनाले आम नेपालीमा राष्ट्रिय स्वाधीनताको चेत विकसित भएको, अंग्रेजहरुको आक्रमणका विरुद्ध वीरतापूर्ण युद्धमा उनीहरु सामेल भएको गौरवपूर्ण परिवेशले देशप्रेम तथा राष्ट्रिय स्वाधीनताचेत विकसित हुन पुगेको उल्लेख गर्छन् । उनका अनुसार यस गौरवपूर्ण परिघटनाले पछिसम्म साहित्यकारहरुलाई साहित्य रचनाको उपजीव्यता प्रदान गरिरह्यो ।
यदुनाथ पोखरेलसम्म आइपुग्दा राष्ट्रिय स्वाधीनताचेत प्रखर बनेको छ । उनी वीरधाराको पुछारतिरका कवि थिए । उनका कवितामा देशभक्तिको भावना, साम्राज्यवादको आलोचना र स्वाधीन राष्ट्र निर्माणको चेतना पाइन्छ । उपाध्याय (२०३२ः६२–६३) यदुनाथका कवितामा देशभक्ति वा राष्ट्रवाद देख्छन् र उनले वीर स्तुतिलाई देशस्तुतिको आशय दिए भन्छन् । उपाध्यायले भनेझैं नेपाली कवितालाई वीर स्तुतिबाट देश स्तुतिमा लिएर आउने श्रेय यदुनाथ पोख¥याललाई नै जान्छ । उनले देशप्रेम र साम्राज्यवाद विरोधी भावनालाई मात्र आफ्ना रचनामा अभिव्यक्ति दिएका छैनन्, सुगौली सन्धिपछि पनि विशाल नेपालको परिकल्पना गरेका छन् । प्रसाई (२०४४ः ६६) उनलाई सुगौली सन्धिपछि त्यस्तो आशा र कल्पना गर्ने पहिलो र अन्तिम कवि भन्छन् । पौडेल (२०७२ः १७९) को दृष्टिकोण पनि यस्तै रहेको छ । प्राथमिक कालको उत्तराद्र्ध भक्तिधाराको समय हो । भक्तिधाराका स्रष्टाहरुका रचनामा राष्ट्रिय स्वाधीनताचेत पाइन्न । सुगौली सन्धिपछि राष्ट्रिय स्वाधीनताचेत अझ शक्तिशाली हुनपथ्र्यो तर यसो हुन सकेन । उनीहरुका रचनामा राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको आक्रमणको कुनै प्रतिवाद देखिंदैन । भानुभक्तजस्ता धेरै प्रशंसा गरिएका र महत्व दिइएका कविमा समेत यसको प्रतिवाद गर्ने चेतना पाइन्न । मुलुकको सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको हस्तक्षेपले राष्ट्रिय स्वाधीनताचेतलाई बढाउँदै जानुपथ्र्यो तर उल्टो भक्ति र श्रृंगारधाराको अध्याय आरम्भ भयो । राष्ट्रिय स्वाधीन्ताचेत शिथिल बन्न पुग्यो । राष्ट्रिय स्वाधीनताचेतको अभिव्यक्ति भक्तिधारा र माध्यमिक कालीन साहित्यमा पाइन्न । यस दृष्टिले यो समय निराशाजनक रहेको छ । माध्यामिक कालको पुछारतिरबाट नेपाली साहित्यमा क्रमशः परिवर्तन आउन शुरु ग¥यो । साहित्य आफ्नो समय र समाजसँग जोडिदै अघि बढ्न थाल्यो । साहित्यमा जागरण र परिवर्तनका स्वरहरुले अभिव्यक्ति पाउन थाले । महानन्द सापकोटा, धरणीधर शर्मा हुँदै सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालसम्म आइपुग्दा जागरण र परिवर्तनको स्वरमात्र प्रबल बनेन, राष्ट्रिय स्वाधीनताचेत पनि प्रखर बन्न सुरु ग¥यो । राणाविरोधी आन्दोलन र आधुनिक चेतनाको निर्माणले नेपाली साहित्यमा राष्ट्रिय स्वाधीनताचेतलाई पुनः जागृत ग¥यो । राष्ट्रिय स्वाधीनताचेत साम्राज्यवादको विरोधसँग मात्र नजोडिएर सामन्तवादको अन्त्य, जनतान्त्रिक अधिकारको प्राप्ति, आफ्नो मुलुकको इतिहास, सभ्यता, संस्कृतिप्रति प्रेम र एक नवीन नेपालको निर्माणसँग पनि जोडियो । राष्ट्रियता र जनतन्त्रलाई सँगसँगै राखेर हेर्न थालियो । साम्राज्यवादी एवं सामन्तवादी उत्पीडनको अन्त्य नभई स्वाधीन राष्ट्रको निर्माण सम्भव छैन भन्ने दृष्टिकोण यसको मूल आधार थियो । साहित्यका सबैजसो विधामा राष्ट्रिय स्वाधीनताचेतले अभिव्यक्ति पाउन थाल्यो । आधुनिक नेपाली साहित्यमा राष्ट्रिय स्वाधीनताचेतलाई अभिव्यक्ति दिने साहित्यकारहरुको सूची निकै लामो रहेको छ । प्रगतिवादी स्रष्टाहरुले मात्र होइन, प्रगतिशील देशभक्त एवं समानान्तर धाराका स्रष्टाहरुले पनि यस चेतलाई अभिव्यक्ति दिएका छन् । समानान्तर धाराका कतिपय स्रष्टाहरुका रचनाहरुमा राष्ट्रिय स्वाधीनताचेतले अभिव्यक्ति पाए पनि अधिकांशको लेखनमा यस चेतको अभिव्यक्ति पाइन्न । कतिपय त राष्ट्रिय स्वाधीनताचेतकै विरोधमा उभिएका पनि पाइन्छन् । यो प्रवृत्ति मूलतः दृष्टिकोणसँग जोडिएको छ र यसले राष्ट्रियतालाई कम महत्व प्रदान गर्छ । राष्ट्रियतासँग सौदाबाजी गर्ने राजनीतिक आन्दोलन र त्यससँगको निकटताले यसलाई गहिरोगरी प्रभावित गरेको छ । राष्ट्रिय स्वाधीनताचेतको अभिव्यक्तिमा अन्धराष्ट्रवादी प्रवृत्ति पनि पाइन्छ । पंचायती राष्ट्रवाद र निरंकुशतालाई समर्थन गरेर र जनतान्त्रिक अधिकारको विपक्षमा उभिएर ‘राष्ट्रवादी’को छवि निर्माण गरेका स्रष्टाहरु पनि नेपाली साहित्यमा रहेका छन् । नेपाली साहित्यको आधुनिक कालखण्डलाई हेर्दा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, हृदयचन्द्र सिंह प्रधान, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, गोविन्द भट्ट, केवलपुरे किसान, गोकुलप्रसाद जोशी, पारिजात, मोदनाथ प्रश्रित आदिका रचनामा राष्ट्रिय स्वाधीनता र जनतान्त्रिक चेतना पाइन्छ । विधागत रुपमा कवितामै यस चेतनाले सबैभन्दा बढी अभिव्यक्ति पाएको छ र कलात्मक मूल्यका दृष्टिले पनि उच्च रहेको छ ।
साहित्यमा आधुनिक युगको आरम्भ सँगसँगै प्रखर बन्न सुरु गरेको राष्ट्रिय स्वाधीनताचेत समकालीन साहित्यमा अझ प्रखर र समृद्ध बनेको छ । राष्ट्रिय स्वाधीनताचेत समकालीन साहित्यको एक प्रमुख विशेषताका रुपमा रहेको छ । समकालीन साहित्यमा पनि कविता विधामै यस चेतले सबैभन्दा बढी अभिव्यक्ति पाएको छ । यसपछि आख्यान, निबन्ध, नाटक लगायतका विधाहरु पर्छन्, प्रगतिवादी स्रष्टाहरुले नै यस चेतलाई सबै भन्दा बढी अभिव्यक्ति दिएका छन् । समानान्तर धाराका कतिपय स्रष्टाका रचनाहरुमा पनि राष्ट्रिय स्वाधीनताचेत पाइन्छ । स्रष्टाहरु सिर्जनात्मक कर्मका साथसाथै बाह्य हस्तक्षेपका विरुद्ध सडकमा समेत ओर्लिएका छन् । राष्ट्रियता र जनतन्त्रका निम्ति नेपाली स्रष्टाहरुले गर्दै आएको सडक संघर्ष अत्यन्त महत्वपूर्ण रहेको छ । यस संघर्षका केन्द्रमा प्रगतिवादी स्रष्टाहरु रहे पनि यसमा अन्य स्रष्टाहरुको सहभागिता पनि पाइन्छ । समकालीन साहित्यमा खुला र प्रच्छन्न रुपमा हुने गरेको बाह्य हस्तक्षेपले सिंगो नेपाली साहित्यको इतिहासकै तुलनामा सबैभन्दा बढी अभिव्यक्ति पाएको छ । यस दृष्टिले समकालीन नेपाली साहित्य बाह्य हस्तक्षेप र त्यस विरुद्धको संघर्षको सुक्ष्म अध्ययन गर्ने महत्वपूर्ण कलात्मक दस्तावेज हो भन्न सकिन्छ । राष्ट्रिय स्वाधीन्ता चेतको अभिव्यक्ति बाह्य हस्तक्षेपको विरोधका रुपमा मात्र भएको छैन, यसको अभिव्यक्ति यस चेतनाको विरोधमा उभिने दलाल चरित्रको सशक्त प्रतिवादका रुपमा पनि भएको छ । मूलतः प्रगतिवादी स्रष्टाहरुले यससम्बन्धी दृष्टिकोणजन्य कमजोरीहरुबाट सकेसम्म बच्न कोसिस गर्दै आफूलाई अभिव्यक्त गरेका छन् । उनीहरु अन्धराष्ट्रवादका साथसाथै राष्ट्रिय आत्मसमर्पणवादका विरोधमा पनि उभिएका पाइन्छन् । राष्ट्रवादी चेतनालाई प्रखर अभिव्यक्ति दिंदै गर्दा उनीहरुले अन्तर्राष्ट्रियतावादलाई बिर्सिएको पाइन्न । राष्ट्रवाद सम्बन्धी गलत दृष्टिकोण फासिवादको विकासको सहयोगी बन्न सक्छ भन्ने सजगता पनि उनीहरुमा पाइन्छ । उनीहरुले राष्ट्रिय स्वाधीनतालाई बाह्य उत्पीडनबाट मात्र नभएर आन्तरिक उत्पीडनका सबै रुपहरु विरुद्धको संघर्ष, त्यसबाट मुक्ति र नयाँ नेपालको निर्माणका रुपमा हेरेका छन् । समग्र उत्पीडनबाट मुक्त हुँदा मात्र साँचो अर्थमा राष्ट्रिय स्वाधीनता प्राप्त हुन्छ भन्ने दृष्टिकोण उनीहरुमा पाइन्छ ।
राष्ट्रिय स्वाधीनताचेतका विविध पक्षहरु रहेका छन् । बाह्य हस्तक्षेपको विरोध यसको प्रमुख पक्ष हो । बाह्य हस्तक्षेपको विरोध र त्यसबाट मुक्तिलाई मात्र राष्ट्रिय स्वाधीनताका रुपमा बुझ्ने गरिएको पनि पाइन्छ । यस्तो बुझाई त्रुटिपूर्ण रहेको छ । यसको संकेत माथि पनि गरिएको छ । खासगरी प्रगतिवादी स्रष्टाहर यस विषयमा सचेत रहेका पाइन्छन् । उनीहरुका रचनामा राष्ट्रिय स्वाधीनताचेतले विविध रुपमा अभिव्यक्ति पाएको छ । बाह्य हस्तक्षेपको प्रतिवाद, आफ्नो माटोप्रतिको प्रेम, बलियो राष्ट्रनिर्माणको चाहना, मुलुकको निर्माण र यसको सार्वभौमिकता एवं क्षेत्रीय अखण्डताको रक्षाका निम्ति प्राणको आहुति दिने नायकहरुप्रति सम्मान, आफ्नो इतिहास, सभ्यता र संस्कृतिको महिमागान, आफ्नो स्वतन्त्र अस्तित्वको निर्माणप्रतिको सजगता, जातीय एकता र सद्भावको चाहना, आफ्नो भाषाप्रतिको प्रेम, राष्ट्रिय स्वाभिमान र गौरवको बोध, उत्पीडनका सबै रुपहरुको अन्त्य र जनतन्त्रको प्राप्तिका निम्ति संघर्ष, समतापूर्ण र समृद्ध समाज निर्माणको चाहना आदि राष्ट्रिय स्वाधीनताचेतसँग जोडिएको विषयहरु हुन् । यी सबैको समष्टि स्वरुप नै राष्ट्रिय स्वाधीनताचेत हो । समकालीन साहित्यसम्म आइपुग्दा यी सबै पक्षहरुले साहित्यमा अझ सघन र सुक्ष्म अभिव्यक्ति पाएका छन् ।
नेपाली साहित्यमा पाइने राष्ट्रिय स्वाधीनता चेतको अभिव्यक्तिका सन्दर्भमा आउँदा दिनहरुमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयहरु पनि रहेका छन् । यसबाट साहित्यमा राष्ट्रिय स्वाधीनताचेतको समृद्ध अभिव्यक्तिमा योगदान पुग्नेछ । पहिलो, स्रष्टाहरुले राष्ट्रिय स्वाधीनता चेतलाई कलात्मक विशिष्टतासहित अभिव्यक्ति दिने कुरामा विशेष ध्यान दिन आवश्यक छ । यस विषयमा वाङ्मयका अन्य क्षेत्रका लेखकहरुले पनि कलम चलाएको पाइन्छ । साहित्यमा यसको अभिव्यक्तिको आफ्नो वैशिष्टय रहन्छ । यसको निर्वाह स्रष्टाले गर्न सक्नुपर्छ । दोस्रो, आख्यान, नाटक र निबन्ध जस्ता विधामा यसको अभिव्यक्ति व्यापक रुपमा हुन आवश्यक छ ।
विधागत रुपमा कविताका आफ्ना सीमा छन् । स्वाधीनताचेतको अभिव्यक्ति यसमा सुक्ष्म र सांकेतिक रुपमा नै बढी हुन्छ । अन्य विधामा यसलाई विस्तृत रुपमा प्रस्तुत गर्न सकिन्छ । यसका समग्र पक्षहरुले गहिराइसहित अभिव्यक्ति पाउन सक्छन् ।
स्वाधीनताका निम्ति चलेको संघर्षको समग्र प्रतिबिम्बनका दृष्टिले अन्य विधाहरुमा यसको अभिव्यक्ति आवश्यक छ । तेस्रो, साम्राज्यवादी हस्तक्षेप र उत्पीडनको वर्तमान स्वरुपको मसिनो विश्लेषण र त्यस आधारमा प्रतिबिम्बन आवश्यक छ । नवउदारवाद, भूमण्डलीकरण, उपभोक्तावाद आदिका विषयमा हामी कहाँ अझै पनि हुनुपर्ने जति विमर्शहरु भएका छैनन् । साम्राज्यवादी उत्पीडनलाई वैचारिक आधार प्रदान गर्ने पछिल्ला विमर्शहरुबारे पनि पर्याप्त छलफल भएको पाइन्न । यस विषयमा स्रष्टाहरुको ध्यान गम्भीर रुपमा जान जरुरी छ । चौथो, नेपालमा सबैभन्दा बढी हस्तक्षेप र उत्पीडन भारतको हुने गरेको छ । यस हस्तक्षेप र उत्पीडनको स्वरुप पनि विविध रहेको छ । यसको प्रतिवाद पनि सशक्त रुपमा हुँदै आएको छ । यस यथार्थको प्रतिबिम्बन अहिले पनि नेपाली साहित्यमा अधुरै रहेको छ । पाँचौं, अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसमर्पणवादको व्यापक प्रतिबिम्बन पनि हुन सकेको छैन । यस्ता गम्भीर हुनुपर्ने विषयहरु अरु पनि रहेका छन् । आउँदा दिनमा स्रष्टाहरुले यस विषयमा आफूलाई बढी सजग बनाउन सके राष्ट्रिय स्वाधीनताचेतले अझ व्यापक र सशक्त अभिव्यक्ति पाउनेछ ।
६. निष्कर्ष
नेपाली साहित्यमा सुरुदेखि नै अभिव्यक्ति पाउँदै आएको राष्ट्रिय स्वाधीनताचेत समकालीन साहित्यसम्म आइपुग्दा निकै समृद्ध बने पनि यसको अझै सुक्ष्म र व्यापक अभिव्यक्ति आवश्यक छ । नेपालमाथि जनऔपनिवेशिक एवं विस्तारवादी हस्तक्षेप र उत्पीडन पनि बढेको छ । यी सबैको सशक्त प्रतिवाद पनि भएको छ । स्रष्टाहरु समेत सिधै यसका विरुद्धको संघर्षसँग जोडिएका छन् । उनीहरुका निम्ति राष्ट्रिय स्वाधीनता साहित्यमा प्रतिबिम्बनको विषयका रुपमा मात्र रहेको छैन । साहित्यमा स्वाधीनताचेत र यसका निम्ति गरिएको संघर्षको प्रतिबिम्बन यथार्थको प्रतिबिम्बनकै क्रममा हुन्छ । राष्ट्रिय स्वाधीनता मुलुकको सार्वभौमिकता, क्षेत्रीय अखण्डता एवं स्वतन्त्र अस्तित्वसँग जोडिएको विषय भएकाले यो यथार्थको निकै संवेदनशील पक्षका रुपमा रहन्छ । स्रष्टाहरु यस विषयमा बढी उद्देलित पाइनुको कारण पनि यही हो । नेपालको भूभाग नै अतिक्रमित भएको यस घडीमा स्रष्टाहरुले आफ्नो कलमलाई अझ धारिलो र दृष्टिकोणमा आफूलाई अझ स्पष्ट बनाएर नै आफ्नो लेखनीलाई सबल बनाउन सक्छन् । यो स्रष्टाहरुले भौतिक संघर्षमा पनि आफूलाई अझ सशक्त बनाउनुपर्ने बेला हो । राष्ट्रिय स्वाधीनताका निम्ति बाह्य हस्तक्षेपका विरुद्ध गरिने संघर्ष मात्र पर्याप्त छैन, बाह्य स्वार्थलाई सघाउने भित्री शक्तिहरुका विरुद्ध संघर्ष गर्न पनि आवश्यक छ । समयले स्रष्टाहरुको काँधमा अझ बढी जिम्मेवारीको भारी बोकाएको छ ।
सन्दर्भ सामाग्रीः
अहमद, एजाज (२००७), “संस्कृति, राष्ट्रवाद और बुद्धिजीवियों कि भूमिका” इतिहास के पक्ष मे. सम्पा .इलेन मिकसिन्स उड, जान बेलमी फास्टर. दिल्लीः ग्रन्थ शिल्पी ।
उपाध्याय. केशवप्रसाद (२०३२) प्राथमिककालीन कवि र काव्य प्रवृत्ति. ललितपुर साझा प्रकाशन ।
के.सी., सुरेन्द्र (२०६४) “नेपाली राष्ट्रवादः उद्भव, विकास र चुनौती”, नेपालको सन्दर्भमा राष्ट्रवाद. सम्पा. महेन्द्र प्रकाश शिवाकोटी. काठमाडौंः मधुवन प्रकाशन ।
चैतन्य (२०६५), नेपाली समाज र संस्कृतिः एक संक्षिप्त अध्ययन. काठमाडौंः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
पटनायक, प्रभात (२०११), रि इनभिजिनिङ सोसियालिज्म. नयाँ दिल्लीः तुलिका बुक्स ।
पाण्डेय, ताराकान्त (२०७३). “राष्ट्रिय चिन्तनको विकासमा लक्ष्मीप्रसाद देवकोटाको योगदान”, काव्यविमर्श. सम्पा. अमर गिरी, काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठान ।
पुष्पलाल (२०७३) छानिएका रचना (भाग १) काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
पौडेल, हेमनाथ (२०७२) “नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत” काव्यविमर्श.सम्पा. अमर गिरी. काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रसाई, गणेशबहादुर (२०४४) . सुवानन्ददासदेखि राजीव लोचनसम्म. ललितपुरः साझा प्रकाशन ।
प्रश्रित, मोदनाथ (२०५८). मोदनाथ प्रश्रितका रचना (खण्ड ६) काठमाडौंः पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर ।
मिश्र, चैतन्य (२०६२) पुँजीवाद र नेपाल काठमाडौंः मूल्यांकन प्रकाशन गृह प्रा.लि. ।
भट्ट, गोविन्द (२०५५) गोविन्द भट्टका समालोचनाः काठमाडौंः बगर फाउन्डेसन ।
भट्टराई, बाबुराम (२०६२) राजनैतिक अर्थशास्त्रको आँखीझ्यालबाट काठमाडौंः जनध्वनी प्रकाशन ।
भण्डारी, जगदीश चन्द्र (२०५५), प्रगतिवादी नेपाली कविताः रेखांकन र विश्लेषण काठमाडौंः मुन्नी भण्डारी ।
वनायक, अचिन (२०११) “अन्डरस्ट्यान्डिङ नेशनालिज्म एण्ड इन्टरनेशनालिज्म टुडे”, इन्ट्रोगेटिङ इम्पायर्स. सम्पा. जयसेन.न्यू दिल्लीः ओपन वर्ड ।
सुवेदी, झलक (२०६८) ब्रिटिश साम्राज्यका नेपाली मोहरा, काठमाडौंः हिमाल बुक्स ।
नेपाली, चितरञ्जन (२०५६), जनरल भीमसेन थापा र तत्कालीन नेपाल. काठमाडौं, रत्नपुस्तक भण्डार ।
हाब्सवाम, एरिक (२००९), क्रान्तिका युग.मेरठः संवाद प्रकाशन ।
(नोटः लेखकको यो रचना “प्रवर्तक” पूर्णाङक ७, २०७६ कार्तिक–चैत्रमा प्रकाशित भएको थियो । )
(समाप्त)

