स्पेनमा नेपाली सहित आप्रवासीहरुलाई दाससरह व्यवहार

काठमाडौं । स्पेनमा नेपाली सहित सयौं आप्रवासीहरुलाई ‘दास सरहको व्यवहार’ गरेको पाइएको छ । स्पेनमा कृषि क्षेत्रमा ’आधुनिक दास’ सरह काममा लगाइएका सयौँ नेपाली लगायतका आप्रवासीलाई प्रहरीले उद्धार गरेपछि सो कुरा स्पष्ट भएको हो ।
गत साता स्पेनको प्रहरीले अधिकांश नेपालीसहित झन्डै ३०० जना आप्रवासीहरूलाई ’आधुनिक समयको दासता’ जस्तो अवस्थामा राखेर काममा लगाएको अभियोगमा ११ जनाको गिरोहलाई पक्राउ गरेको थियो।
उक्त प्रकरणले युरोपमा बढ्दो मानव तस्करी र नेपालीहरूको अवस्थाबारे चासो र चिन्ता बढेको हो।
आप्रवासी कामदारहरुलाई अत्यन्तै दयनीय अवस्थामा राखेको, बसबाट काम गर्ने फार्मसम्म ल्याउने र लैजाने गरिएको, न्यूनतम तलब दिने वा तलबै नदिने गरिएको र उल्टो उहाँहरूबाट आवास, खाना र यातायातबापत भन्दै पैसा लिने गरिएको संचार माध्यमहरुले जनाएका छन् । उद्धार गरिएका नेपालीहरूका लागि स्थानीय रेडक्रसले बसोबासको व्यवस्था मिलाएको बताइन्छ ।
पीडित नेपालीहरूलाई कानूनी र अन्य आवश्यक सहयोग तत्काल उपलब्ध गराउन, नेपाल सरकारसँग एन.आर.एनले माग गरेको छ । त्यस्तै गलत प्रलोभनमा पारेर नेपालीहरूलाई युरोप लगायतका मुलुक पठाउने गिरोहहरूको पहिचान गरी कडा कारबाही गर्न पनि एन.आर.एन.को माग छ ।
स्पेनिश अनुसार सुरुमा विभिन्न युरोपेली मुलुक छिरेका ती आप्रवासीलाई अलिकान्टे, भ्यालेन्सिया र सारागोजा क्षेत्रका गाउँ बस्तीमा लगेर कृषि फार्ममा काम गराइन्थ्यो ।
छापा मारिएको स्थानबाट प्रहरीले नगद, नक्कली कागजात र मोबाइल फोन आदि बरामद गरेको थियो। प्रहरीले आप्रवासीहरूलाई हावापानी नछिर्ने कक्षमा कोचाकोच गरेर राखिएको जनाएको छ।
स्पेनकै अन्य क्षेत्रमा पनि यसरी कृषि क्षेत्रमा आप्रवासीहरूलाई बाध्यात्मक श्रममा लगाइएको छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको समाचारहरूमा जनाइएको छ ।
प्रहरीले फेला परेका ३०० भन्दा बढी आप्रवासीमध्ये १७८ जना नेपालीको रूपमा पहिचान भएका छन् ।
प्याज खेती लगायतका कृषि कर्ममा संलग्न गराइएको, एकदमै दयनीय अवस्थामा बस्न, खान मात्रै दिएर बेसिक तलबमा काममा लगाइएको र कति जनाले महिनौँदेखि तलब नपाएको पाइएको छ ।
विगत केही समय यता क्रोएसिया, रोमानिया, माल्टा लगायतका मुलुकमा नेपालीहरू सयौँको सङ्ख्यामा सिजनल भिसा वा कृषि मजदुरको रूपमा जाने गरेको र त्यहाँ प्राप्त अस्थायी अनुमति पत्रको आधारमा स्पेन लगायतका मुलुकमा लुकीछिपी काम गर्ने गरेका छन् ।
स्पेन जस्तै पोर्चुगल र ग्रीस लगायतका मुलुकमा पनि नेपालीहरूलाई वाध्यात्मक श्रममा लगाउने घटनाहरू बढी रहेको छ । स्पेनमा कृषि क्षेत्रमा काम पनि पाइन्छ र निश्चित अवधि बसे पछि आवासीय अनुमति पत्रको लागि निवेदन पनि दिन पाइन्छ भनेर ठूलो सङ्ख्यामा नेपालीहरू त्यसतर्फ गएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित