रेशम वि.सी.
सत्ता स्वार्थ चढ्यो पुग्यो निक चुचुरो, काले र सेते मिल्यो ।
अर्को छैन खुशी कसै पनि यता, चण्डाललाई खल्यो ।
चर्को मूल्य तिरेर किन्नु कसरी, बढ्दो महंगो भयो ।
ढुंगो लाग्छ सकिन्न निल्नु कसरी, भान्सा निकै बिग्रियो ।
व्याधा खेल्छ िशकार यो शहरमा, आतंक मच्चाउँदै
कैले जंगलभित्र पस्छ कहिले, निस्कन्छ बोलाउँदै
सारा जीवन छट्पटाइ नि रह्यो, के रोग त्यो भित्रियो ।
ढुंगो लाग्छ सकिन्न निल्नु कसरी, भान्सा निकै बिग्रियो ।
सत्ताकै बलमा अडिन्छ भनिने, देख्दैछ स्वप्ना यति ।
कहाँ कोसँग हात जोडुँ कसरी, गर्दैछ खोजी अति
बाजी मार्न सकिन्न कि दिनदिनै, त्यो खास नै रित्तियो ।
ढुंगो लाग्छ सकिन्न निल्नु कसरी, भान्सा निकै बिग्रियो ।
ढोंगी स्याल कराउँदा शहर नै, आतंकले थर्कियो
हिंसा गर्छ कि झैं गरेर ननिको, त्यो सिंह झैं गर्जियो ।
सुन्ने शक्ति हराउँदै जब गयो, मष्तिष्कमा ह्रास भो ।
ढुंगो लाग्छ सकिन्न निल्नु कसरी, भान्सा निकै बिग्रियो ।
राजा रंग सबै समान उसका, दन्त्यकथा झैं भयो ।
आशा गर्नु र के निकास दिनमा, आफै मगन्ते भयो ।
लाग्यो सोध्न छिमेक दुष्टसँग त्यो, हे देव भन्दै गयो
ढुंगो लाग्छ सकिन्न निल्नु कसरी, भान्सा निकै बिग्रियो ।।