भारत । अखिल भारत नेपाली एकता समाजले बालक प्रकाश सार्कीलाई अपहरण गरी हत्या गर्ने गिरोहलाई कारबाही गर्न जोडदार माग गरेको छ । समाजका अध्यक्ष आनन्दबहादुर थापाले २०२५ डिसेम्बर १२मा एक वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा नेपालको अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं २ निवासी डबल बहादुर सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्कीलाई अपहरण गरी हत्या गरी रेलवे ट्रयाकमा फालिदिएको अवस्थामा भेटिएको कुरा सामाजिक संजालहरुमा आइरहेकोमा अखिल भारत नेपाली एकता समाजको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ । घटना हेर्दा किडनी व्यापार गर्ने गिरोहले किड्नी निकाली बालकको हत्या गरेको हुन सक्ने भन्दै समाजले सो घटनाका दोषीलाई पत्ता लगाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न जोडदार माग गरेको छ ।


