निवन्धः “कतै हाम्रा साथीहरु छुट्दै त छैनन्”

नारायण योगी
बिहानको छ बजेको छ। कायाकैरनको ट्युन मोबाइलमा लगाएर म हात मुख धुनमा व्यस्त थिएँ ।केहीबेर पश्चात पत्रपत्रिकाको खबर सुनें । तत्पश्चात बिहानको खाजासाजा खाएर म खेतबारीको काममा निस्किएँ ।आजभोलि प्याजको बीउ उमारेर छर्ने र १ –१÷२महिना पछि बिक्रीवितरणको काम मेरो जहानले २०४७सालदेखि गर्दै आईरहेका छिन् ।बीउ किन्ने पैसा नभएकोले एकजना साथीसँग बिउकिन्ने पैसा सापटी लिएर त्यो काममा लागेका छौं । यसमा एउटा स्मरणीय कुरा राख्नु सान्दर्भिक होला । त्यो के भने जेन्जी विद्रोह पश्चात् बनेको यो चुनावी कठपुतली सरकार किन कठपुतली हो भन्ने कुरा यो सिजनमा सबै कृषि जन्य वस्तुहरूको मुल्य ठीक दोब्बरले बढेको छ । प्याजको बीउको मूल्य बढनुको साथै त्यसमा पुरानो बीउ मिसाएर पठाइएको छ ।त्यस्तै तर्बुजा र अन्य हिउँदे बालीको मूल्य पनि १००% ले बढेको छ । निश्चय पनि यतिबेला दलाल कठपुतली सरकारसँग जोडिएका व्यापारी , कर्मचारीतन्त्रलाई रोकटोक गर्ने निर्वाचित निकाय छैन । हामीलाई यो प्याजको बेर्नाको कामबाट वर्षेनी सामान्य घरखर्च चलाउनमा भरथेग हुने गर्दछ ।आज राति अबेरसम्म मोबाइलमा रिलहरू हेरेकोले आँखा पनि पिरो पिरो भै रहेको छ । बिहानदेखि तीन कप चिया पिइसकेँ तर पनि शरिरको भारीपन गएको छैन । तैपनि काममा त जानु नै प¥यो आफ्नो काम साँचेर पनि हल हुने कुरा भएन । अहिले मेरो शरिरले बेहुर्नु परेको पीडा वा परिबन्दको खेल जे भने पनि यसको दुश्चक्रमा म जस्ता थुप्रै मित्रहरू परिरहेको हुनुपर्छ भन्ने मेरो अनुमान छ । जेहोस म बिहानको काम सिध्याएर घर फर्किएर आएर यसो के बसेको थिएँ । उताबाट फोनको रिङटोन बज्यो ।हेलो गरेँ हैन तपाईं अनलाइन हुनुहुँदैन र ? उताबाट प्रश्न आयो, मैले मोबाईलमा वाईफाईको सिग्नल हेरेँ अफ रहेछ । “ए हैन , मैले वाईफाई अफ गरेको रहेछु ।”
तैपनि कुरा केहो गरौन ? मैले जवाफ फर्काएँ । तर वहाँ ले नेटमै कुरा गर्ने भन्नु भयो । मैलेले वाईफाई अन गरेँ । कुरा शुरू भयो करीब आधा घण्टामा हाम्रो कुराले विश्राम पायो । प्राय नेटबाट लामा लामा कुरा हुने र घण्टौं घण्टा सम्म ननस्टप च्याट त कति हो र कुन कुन स्तरका हुने गर्दछन् , त्यसबारेमा यहाँ पुनर्लेखन गर्नु पर्दछ जस्तो लाग्दैन यसको शिकार बनेर सर्वस्व गरेका र कतिपयले आत्महत्या सम्म गरेका थुप्रै घटनाका समाचारहरू बेला बेला आईनै रहेका हुन्छन् । मलाई सानो छँदा बुबा आमाले मरेको देशीले जिउँदो नेपालीलाई ठगेको कथाको कुरा जस्तो रहेको भान मेरो मानसपटलमा ताजा भएर आएको छ । यद्यपि सामाजिक संजाललाई सदुपयोग गरेर निकै राम्रो र सकारात्मक लाभ लिन सकिन्छ नै तर युरोप , अमेरिका बसेको व्यापारीले कसरी हाम्रो वुद्धि बर्कत,धन, मन, संस्कार, संकृति, आत्मसम्मान, स्वाभिमान , राष्ट्रिय भावनाको व्यापार गरिरहेको छ । यो यतिबेला निकै गम्भीर र महत्वपूर्ण कुरा बन्न गएको छ भन्ने मेरो ठम्याइ छ।
गत महिना दाङ घोराहीको सर्वाेदय पुस्तकालयमा गएको बेलामा जवाहरलाल नेहरूको पुस्तक विश्व इतिहासकी एक झलक भाग–१ पढ्न शुरुवात गरेको थिएँ ।मैले पढ्न थालनी गरेको उक्त पुस्तकको लेखक र उनले पुस्तक कै सन्दर्भमा उल्लेख गरेका कुराहरू पण्डित नेहरूले उक्त पुस्तकलाई पुस्तककार दिनुपूर्व उनले आफ्नी छोरी इन्दिरा प्रीयदर्सनीको नाममा भारत कि प्रथम महिला प्र.म. इन्दिरा गान्धीलाई पत्र लेख्दैजाँदा त्यो पुस्तकाकारमा तयार भयो । यसका तीन भाग रहेका छन् ।उनी जेलमा बस्दाका बखत चार वर्ष नपुग्दै देहरादुनमा सन् १९३७ मा लेखेका रहेछन् । उनले अंग्रेजीमा लेखेपनि पछि हिन्दीमा अनुवाद गरी प्रकाशन गरिएको रहेछ । उनले पत्ररूपी पुस्तकमा निकै परिश्रम गरेर तात्कालिक विश्व घटनाको बारेमा विसद व्याख्या र त्यसमा आफ्नो दृष्टिकोण स्पष्टताका साथ राखेका छन् । भूमिकामा उनी लेख्छन् –युरोप र विश्वको बारेमा अंग्रेजीमा धेरै पुस्तकहरू छन् तर हिन्दी उर्दुमा विरलै पुस्तकहरू रहेकोले यो हिन्दी र उर्दुमा प्रकाशित हुनु पर्छ भन्ने थियोे । उनी लेख्छन् – म कुनै इतिहासकार होइन , न त स्थापित प्रख्यात लेखक नै त्यसकारण मेरो लेखाईमा त्रुटी हुनु स्वभाविक नै छ ।दुनियाँको इतिहासको कुनै पनि विषयमा केही लेख्नु हिम्मतको काम हो मेरोलागि यो साहस गर्नु अनौठो कुरा थियोे । कुनै ठूलो पुस्तक लेख्ने कुरा मैले सोचेको पनि थिएन । यद्यपि जेलमा लामो बसाइँ र एक्लो पनमा मैले केही गर्ने सोंचिरहेको थिए । आजभोेलिको मेरो ध्यान वर्तमान अवस्थाका कठिन प्रश्नहरूबाट हटेर विगततर्फ फर्केर जान खोजिरहेको परिस्थितिमा दिमागमा दौडिरहेका विचारलाई समाएर कागतमा लेख्ने कुरा अलि सहज र सरल पनि हुने ,त्यसका नयाँ नयाँ पक्षहरू पनि प्रकट हुने भएकोले मैले लेख्न शुरू गरें । उनी अगाडि थप लेख्छन्, अंग्रेजहरू वा युरोपका मानिसहरूले जे जति पुस्तकहरू लेखे त्यसमा अधिकतम युरोपेलीहरूको कुराहरू छन् । एसिया र पुराना इतिहासका चर्चाहरू कम छन् । मेरो कोशिस यो छकि एसियाको बारेमा धेरै लेखुँ । दुवै चीजलाई राखेपछि मात्र सही तस्विर आउने छ । युरोप को भाषामा धेरै पुस्तकहरू दुनियाँको इतिहासको बारेमा लेखिएका छन् । तर हाम्रो देशको हिन्दी भाषामा यस्ता पुस्तकहरूको निकै कमी छ । त्यसकारण मेरो चाहना छ कि यो मेरो पुस्तक हिन्दीमा प्रकाशित होस्। यसमा कमी कमजोरी र त्रुटीहरू पनि त्यतिकै छन् । तैपनि यस पुस्तकले यो कमीलाई केही हदसम्म पूरा गर्नेछ । मलाई खुशी छ यो हिन्दीमा प्रकाशित भैरहेको छ ।

नेहरूले उक्त पत्रमार्फत धेरै कुरालाई केलाउने काम गरेका छन् । पहिलो भागमा करिब १२५ वटा विषयमा उनले जानकारीमूलक इतिहास ,वैज्ञानिक उन्नति ,प्रगति ,देशहरूमा भएका राजनीतिक उतारचढाव,संघर्ष ,परिवर्तन, सत्ता संघर्ष आदि टिप्पणी सहित पत्र लेखेकाछन् । उनले छोरी इन्दिरालाई उनको जन्म दिनको अवसर पारेर पत्रको थालनी गरेकाछन् ।उनले शुरुमै उनको जन्म दिनको शुभेच्छा व्यक्त गर्दै पत्रमार्फत उपहार व्यक्त गर्दै लेख्छन् –मैले नैनीजेलबाट तिमीलाई के उपहार दिन सक्छु र? यसैपनि मेरो उपहार वास्तविक र निकै ठोस स्वरूपका हुन पनि सक्ने छैनन् ।ती त हावाका कण समान सुक्ष्म हुनेछन् ।जसको सम्बन्ध मन र आत्मासँग हुनेछ । उनले उपदेश दिन आफु अनिच्छुक रहेको र यद्यपि केही जानकारी दिनुपर्ने भएकोले चिनियाँ यात्रि ह्वोय्नसाङ जो सन् ६२९मा भारत आएर उनले भारतको बारेमा निकै चाखलाग्दा कुराहरू बताएका छन् । यसैक्रममा विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय नालन्दाको चर्चा गर्न छुटाएका छैनन्।बरू निकै महत्व र गर्वका साथ यो कुरा लेखेकाछन् कि एसिया हिजो कस्तो थियोे । एसियामा निकै ठूला ठूला महापुरूषहरू जन्मिए नेपालमा ,गौतम बुद्ध,भारतमा हिन्दु धर्मका प्रवर्तकहरू जन्मिए । कृष्ण, जरूस्थ,इसा ,मुह्म्मद चीनका दार्शनिक कन्फुसियस र लाओत्से पनि एसिया मै जन्मिए । यसै प्रसंगमा उनले फिलिस्तिन जसलाई आजभोलि प्यालेस्टाइन भन्दछौ जहाँ इजरायली तानाशाह बेन्यामिन नेत्नन्याहूले प्यालेस्टाइनमाथि दुई वर्षसम्म अमानवीय नरसंहार चलाएर पचासौं हजार प्यालेस्टाइनीहरूको अनाहकमा ज्यान लियो र लाखौंलाखलाई अपाङ्ग ,घरबारविहीन बनाएर उठिबास लगायो । यसको जतिसुकै भत्सर्ना गरेपनि अपुग हुन्छ । नेहरू लेख्छन् –यो एसियाको प्राचीन महादेश हो र यो यहुदी , इसाई र मुसलमानहरूको पवित्र भुमि हो ।

 

आजभोलि भारतमा त्यहाँको फासिवादी सरकारका प्रम मोदी, अमित शाह लगायत नेताहरूले पण्डित जवाहरलाल नेहरूलाई बन्देमातरमको कवितालाई लिएर निकै अपमानजनक शब्दावलीको प्रयोग र तथ्यका विरूद्ध संसदमा बोलिरहेका छन् । यद्यपि विजेपी र आरएसएसले सावरकर,गोलवलकरलाई आफ्नो आदर्श मान्दै आएको छ सावरकरलेसन् १९३७ तिर अंग्रेजी साम्राज्यको अगाडि आत्मसमर्पण गरेर पत्र लेखेको र त्यो लेखेवापत मासिक पैसा लिने गरेको तथ्यहरू बेला बेला प्रकाशित भैरहेका छन् । यसैगरी गान्धीको हत्या गर्ने नाथुराम गोड्सेलाई पनि विजेपी र आरएसएसले सहिद मानेका छन् । आज भारतमा त्यहाँको संविधान विपरीत हिन्दुराज्य निर्माण गर्ने र अल्पसंख्यक,दलित,किसान, महिला जनजातिलाई दमनको नीति सरकारले अपनाएको स्पष्टसँग देखिएको छ ।

पण्डित नेहरूले छोरीको जन्मदिनसँग जोडेर त्यहाँको अक्टोबर क्रान्तिको कुरा त्यसको प्रभाव र नेता लेनिनको वखान गर्न छुटाएका छैनन् । उनी लेख्छन् –यद्यपि एउटा यस्तो समय पनि आउँदो रहेछ जब कुनै विशाल उदेश्यकालागि सम्पूर्ण जनतामा उत्साह भरिँदो रहेछ । त्यो बेला सीधा सादा लाग्ने साधारण मानिसहरू कसरी वीर बन्दा रहेछन् र इतिहास मुटु हल्लाउने नयाँ युग पैदा गर्ने बन्दो रहेछ । महान नेताहरू मा यस्तो कुनैकुनै खास कुरा हुँदो रहेछ जसले सम्पूर्ण जातिका मानिसहरूमा जीवन पैदा गरिदिँदो रहेछ र उनीहरूद्वारा ठूला ठूला काम पनि गराँउदो रहेछ । यो त्यही वर्ष हो जुन समयमा तिम्रो जन्म भयो । अर्थात सन् १९१७ इतिहासको निकै प्रसिद्ध वर्ष । यसै वर्ष एक महान् नेता जसलाई गरीब दीन दुःखीहरूप्रति उनको हृदयमा निकै प्रेम र सहानुभुति थियोे । आफ्नो समुदायद्वारा इतिहासको एक सानदार र अमर अध्यायको रचना गराउन सफल रह्यो । त्यही महिनामा हो जुन महिनामा तिमी जन्मियौ । लेनिनले उक्त महान् क्रान्तिको शुुरूवात गरेका थिए। जसमा रूस र साइबेरियाको कायापलट भयो ।
उनले रूसको आन्दोलनको प्रभाव भारतमा कसरी परिरहेछ र त्यहाँ महात्मा गान्धंीले कसरी अग्रेजविरोधी स्वतन्त्रताको आन्दोलनलाई नेतृत्व गरिरहेका छन् र सम्पूर्ण भारतीयहरूको त्यसमा,त्यो आन्दोलनमा कुन प्रकारको भूमिका हुन्छ भन्ने बारेमा छोरी इन्दिरालाई लेख्छन् –हामी मध्ये कसैले पनि यस्तो कुरा गर्नेछैनौं जसले हाम्रो उदेश्यमा धब्बा लागोस् र हाम्रो राष्ट्रको बदनामीहोस् । यदि हामी भारतको सिपाही बन्ने हो भने हाम्रो देशको गौरवको रक्षक बन्नुपर्ने छ । यो गौरव हाम्रो पवित्र धरोहर बन्नेछ। “कहिलेकाहीँ मनमा हुने दोधारका बेला कसरी सही निर्णयमा पुग्ने भन्ने सन्दर्भमा उनले लेख्छन्–“तिमीले कहिल्यै पनि गुप्तचरले जसरी काम नगर्नु , कुनै यस्तो काम नगर्नु जो अरू मानिस लाई लुकाउने इच्छा नजागोस् । किनकि लुकाउने इच्छा हुनुको अर्थ यो हो कि तिमी डरले त्यसो गरिरहेकी छौ । डराउने कुरा निकै खराब कुराहो । त्यो तिम्रो प्रतिष्ठाको विपरीत हो । तिमी निडर बनेर अगाडि बढ । बाँकी सबै चीजहरू आफसे आप आउँदै जानेछन् ।
त्यसकारण प्यारी छोरी यदि तिमी यो कसौटीलाई सामुन्ने राखेर काम गर्दछ्यौ भने प्रकाशको सन्तान बनेर बढ्नेछ्यौ र चाहे जे जस्ता चुुनौतिहरू तिम्रो सामु आए पनि, तिमी निर्भीक र शान्त रहनेछ्यौ र तिम्रो अनुहारमा चिन्ताका कुनै भावहरू देखिने छैनन् ।”पण्डित नेहरूले निकै महत्वपूर्ण र गहकिला विचारहरू पत्र मार्फत छोरीलाई लेखेका छन् ।आजको यो एककाइसौं शताब्दी जहाँ विज्ञानले कम्प्युटर, एआई, इन्टरनेट ,सेटेलाईट,रोबोट, आदि कुनै क्षेत्रमा निकै धेरै प्रगति गरेको भएतापनि त्यसको र उपभोग र प्रयोगद्वारा अधिकतम लाभ मुठ्ठीभर शासक वर्गले गरिरहेको र त्यसबाट पनि उत्पीडित राष्ट्र, उत्पीडित सम्पूर्ण जनवर्गलाई सुविधाको नाममा पुनः दास बनाउने षड्यन्त्रको महाजालको जालो बनाएर त्यसमा बल्झाउन थालेकोले हामी सम्पूर्ण प्रगतिशील तथा जनवादी विचार पक्षधरले यसको प्रयोगद्वारा बढी भन्दा बढी यसको प्रयोग गरेर जनतालाई क्रान्तिकारी चेतना पैदा गर्दै समाजमा आमूल परिवर्तनको विचार माथि उठाउन हाम्रो हालको दिनचर्यालाई बदलेर हाम्रा असल साथीहरूको साथमा संलग्न हुने प्रकृयालाई बढोत्तरी गर्नेे दिशातर्फ जाआंै । अन्यथा असल साथीहरू छुटेको छुट्यै हुन बेर नलाग्ला भन्न सकिन्न ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित