रामबहादुर बुढा
स्थान परिचय
जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । भौगोलिकरुपमा विकट भए तापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको महत्वपूर्ण पहिचान रहेको छ । यो जिल्ला नेपाली भाषा र संस्कृतिको उद्गम स्थल मानिन्छ । मध्यकालीन युगमा जुम्ला एक शक्तिशाली राज्यको रुपमा रहेको तथ्य इतिहास सिद्ध छ ।
यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडाहरु तिला र जवा दुई जुम्लाहा नदीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदीहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ । यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिममा कालिकोट, उत्तरमा मुगु र दक्षिणमा जाजरकोटसंग सिमाना जोडिएको छ ।
(जिल्ला वस्तुगत विवरण ,जुम्ला। २०८०। तथ्याँक कार्यालय जुम्ला(जुम्ला,मुगु डोल्पा)
गोर्खाली राज्यको विजय पछि पूर्वमा ठाँगे, पश्चिममा कर्णालीको रामघाट र बाजुरा,उत्तरमा यारिलीमी गैरीलेक, दक्षिणमा जाजरकोट र दैलेखको सीमा भित्रको भूमि कायम गरिएको थियो । राणा शासनकालमा शासन सुविधाका लागि १८ दरामा विभाजित गरिएको थियो । २०१९ साल पछि अञ्चल विभाजन गर्दा पूर्वमा तिला नदी, पश्चिममा रामघाट, उत्तरमा घुच्चीलेक र दक्षिणमा दैलेख जिल्लाको सीमा सम्म गरी ४९ वटा गाउँ पञ्चायत सहितको जिल्ला नै जुम्ला जिल्ला थियो । अहिले पूर्वमा मौर्यालेक, पश्चिममा नाम्म गाउँ, उत्तरमा घुच्चीलेक र दक्षिणमा जाजरकोट जिल्लाको सीमा सम्मको भूभाग जुम्ला जिल्ला कायम गरिएको छ । (उही)
जुम्लामा प्रजातान्त्रिक आन्दोलनः
कर्णाली क्षेत्रमा जुम्ला पहिलेदेखि नै त्यस क्षेत्रको केन्द्र रहेकाले जुम्लामा हुने राजनीतिक गतिविधिले त्यस क्षेत्रलाई प्रभावित गर्दथ्यो । २००७ सालमा भीमबहादुर श्रेष्ठको नेतृत्वमा जुम्लामा आन्दोलन भएको थियो । उनी २०१५ सालको संसदीय निर्वाचनमा जुम्ला संसदीय क्षेत्र नं. ७३ बाट स्वतन्त्र उम्मेदवार उठेका थिए र विजयी भएका थिए । विजयपछि उनले नेपाली कांग्रेसलाई समर्थन गरेका थिए । (बालकृष्ण दाहाल, ‘विकेडी” (सं) (२०७२) प्रजातन्त्र सेनानी, प्रकाशकः सहिद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठान) भीम प्रसाद श्रेष्ठको प्रसंग यहाँ किन उठाइएको हो भने उनको संघर्षशील जीवनशैलीले जुम्लामा कम्युनिस्ट आन्दोलनमा लाग्ने पछिल्लो पुस्तालाई प्रेरित गरेको थियो ।
जुम्लामा कम्युनिस्ट पार्टीको प्रवेश
२०२९ साल असार २३ गते काठमाडौंको मञ्जुश्रीको डाँडा जलविनायक चोभारमा एक कार्यक्रमका साथ नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य मध्येका एक जना निरञ्जन गाविन्द बैद्यका हातबाट जुम्लाका बल बहादुर महतलाई नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिएको थियो । कालिकोटका प्रेम कैदीले त्यस कार्यक्रमको समन्वय गरेका थिए । उक्त कार्यक्रममा नेकपाका अर्का संस्थापक नरबहादुर कर्माचार्यको पनि उपस्थिति थियो । बलबहादुर महत जुम्लामा पौष महिनाको ६ गते पुगे । स्याङ्जाका विश्वेश्वरप्रसाद हरामी र माधव प्रसाद शर्मा चन्दननाथ बहुउद्देश्य हाइस्कूल जुम्लामा अस्थायी शिक्षकको नियुक्ति लिई शिक्षण कार्यमा लागे र पार्टीगत कामका लागि पनि सम्पर्क गरे ।(नोटः स्याङ्जाका उक्त ठाउँ अहिले कास्कीमा पर्दछ । )
जुम्लामा नेकपा स्थापना ः
२०३० साल फागुन २७ गते बलबहादुर महतको नेतृत्वमा भक्त बहादुर रोकाय, तोयानाथ योगी र कृष्णप्रसाद देवकोटा सहित ४ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको जुम्ला जिल्ला कमिटी गठन गरियो, त्यो नै जुम्लाको लागि पहिलो कम्युनिस्ट पार्टीको स्थापना थियो । विश्वेश्वर हरामी इन्चार्ज र माधव प्रसाद शर्मा सहइन्चार्ज रहेर जुम्लामा काम गरे । २०३० चैत्रमा चन्दननाथ बहुउद्देश्यीय हाइस्कूलमा स्वतन्त्र विद्यार्थी युनियनको गठन गरिएको थियो, त्यसको सभापतिमा भक्त बहादुर रोकाय निर्वाचित भएका थिए ।
जुम्लामा कम्युनिस्ट लिग ः
भूमिगत रुपमा पार्टी संगठन अगाडि बढ्दै गइरहेको अवस्थामा विश्वेश्वर प्रसाद हरामीसँग सम्पर्क नभएपछि नेपाल कम्युनिस्ट पार्टी जुम्ला कम्युनिस्ट लिगको रुपमा २०३२ मा रुपान्तरण भयो । सोको नेतृत्व तोयानाथ योगीले गरे । २०३१ सालमा रत्नबहादुर थापा, दलबहादुर महत, विष्णु बहादुर महत, दलबहादुर शाही, मानबहादुर शाही, धनबहादुर बुढा थापा सहित पार्टी सदस्यता प्राप्त गरे । यसरी नै प्रत्येक सालमा पार्टी सदस्यता प्राप्त गर्ने क्रम चलिरह्यो ।
२०३२ सालमा डिल्ली बहादुर महत, काली बहादुर शाही, काली बहादुर रोकाय लगायत, २०३४ सालमा रत्न सार्की, बलवीर भन्ने बलबहादुर महत, डल्लो भन्ने जंगवीर सार्की लगायतले पार्टी सदस्यता लिए ।
जुम्लामा ने.म.कि.पा. स्थापना
२०३५ साल पौषमा नेपाल मजदुर किसान संगठनको जुम्लामा स्थापना भयो । यसको नेतृत्व डिल्ली बहादुर महतले गर्नुभएको थियो । त्यसमा बल बहादुर महत, रत्नबहादुर थापा, तोयानाथ योगी, भक्त बहादुर रोकाया, विष्णु बहादुर महत रहेका थिए । बलवीर भन्ने बल बहादुर महत समेत सामेल थिए । २०३५ मा रामकृष्ण बुढा थापा, गणेश के.सी. जय बहादुर शाही, विर्ख बहादुर बुढाथापा, अमरसिंह बुढाथापा, राजु शरण न्यौपाने, धनबहादुर थापा, धनबहादुर शाही, पृथी बहादुर शाही, पृथी बहादुर महत, प्रेम राज न्यौपाने, पशु सुनार, गणेश के.सी., कर्णबहादुर सुनार सहितले पार्टी सदस्यता प्राप्त गरेका थिए । २०३६ सालमा पार्टी सदस्यता प्राप्त गर्नेहरुमा पदमबहादुर रोकाय, गोर्ख बहादुर पछाई, प्रेमा सिंह रोकाय, चक्रबहादुर पछाई, दीर्घ बहादुर बढुवाल, रत्नसिंह कार्की लगायत थिए ।
२०३८ सालमा तिर्थबहादुर बुढा, देवीलाल थापा, शान्तिलाल महत, हरिहर भन्ने हरि बहादुर महत, अमरबहादुर महत, किर्तिबहादुर महत, खड्क सिं भन्ने खड्क बहादुर महत, भरतलाल महत, टेकबहादुर भण्डारी, रामलाल दमाई र गोपाल रावल लगायतले पार्टी सदस्यता लिए ।
२०४६सालमा गोवी रावल, हरिषचन्द्र सार्की, टुटो सार्की, पदम रावल, आकासी भन्ने रणबहादुर रोकाय, गौरी पछाई, रणबहादुर रोकाय, गुम्चो पछाई, धनजीत रोकाय, भक्त बहादुर बडुवाल, हंस बहादुर रोकाय, मान बहादुर विष्ट, पम्फी बुढा, अम्मर बुढा, गोपाल बुढा, धिरेन्द्र राज गिरी, बुद्धि बुढा, श्रीबहादुर महत, गोविन्द पाण्डे, मानदत्त अधिकारी, गोपाल रावल, गोपाल रोकाय, मानबहादुर रोकाय, कृष्ण भण्डारी, जय बहादुर महरी, काली बहादुर नेपाल, कृष्णबहादुर महत, भिम थापा, अजवीर सार्की, देवी बहादुर रावल, रविलाल आचार्य, छक्क बहादुर हमाल, कर पछाई, बलवीर पछाई, धनकृष्ण पाण्डे, देवीदत्त न्यौपाने, बलबहादुर के.सी., पदम रावल, गोर्खबहादुर बुढा, काली बहादुर बुढा, दयाराम खड्का, हंस बहादुर विष्ट, रत्नबहादुर महत, जंगबहादुर महत, रामप्रसाद शर्मा, दानबहादुर रोकाय, नन्द बहादुर शाही, नन्द बहादुर खत्री, राजबहादुर खत्री, बलवीर पछाई, नरवीर पछाई, जुना शाही, जुना बोगटी, भक्तबहादुर बोगटी, प्रेम बुढा, लगायत पार्टी सदस्यता प्राप्त गरे ।
नेमकिपाबाट विद्रोहगरी मालेको स्थापना ः
२०४७ साल असार महिनामा बलबहादुर महत लगायत १८ जना जिल्ला कमिटी सदस्य नेपाल मजदुर किसान पार्टीबाट विद्रोह गरी काठमाडौं नेकपा (माले) को पार्टी कार्यालय पुगी नेता मदन भण्डारी र जीवराज आश्रितसँग सम्पर्क राखे । २०४७ भाद्र २ को पोलिट्व्यूरो बैठकले बलबहादुर महत र प्रेमबहादुर सिंहलाई पार्टी सदस्यता दिने निर्णय ग¥यो । गणेश भट्टराईसँग सम्पर्क राखी जुम्लामा नेकपा मालेको पार्टी स्थापना गर्ने निर्देशन समेत भयो । २०४७ भाद्र ११ गते पार्टीको भेला गरी बलबहादुर महतको नेतृत्वमा १३ सदस्यीय नेकपा (मा.ले) जिल्ला कमिटीको निर्माण भयो र भाद्र १३ गते तोयानाथ योगीको घरमा पार्टी कार्यालय खोलिएको थियो । कमिटी यसप्रकार थियो ः
(१) बहलबहदुर महत, संयोजक, (२) तोयानाथ योगी सदस्य, (३) राजु शरण न्यौपाने सदस्य, (४) गोर्ख बहादुर पछाई सदस्य, (५) शान्तिलाल महत, सदस्य, (६) पदम बहादुर रोकाय, सदस्य (७) प्रेमा सिंह रोकाय, सदस्य (८) रत्न सार्की, सदस्य (९) धिरेन्द्रराज गिरी, सदस्य (१०) रामलाल दमाई, सदस्य (११) हरिहर भन्ने हरि बहादुर महत, सदस्य (१२) श्यामलाल महत, सदस्य (१३) धिरेन्द्रराज गिरी, सदस्य ।
नेमकिपाको निरन्तरता ः
२०४७ मा बलबहादुर महतहरु मालेमा प्रवेश गरेपनि रामकृष्ण बुढा थापा, डिल्लीबहादुर महत, गणेश केसी, अमरबहादुर बुढा थापा, भक्तबहादुर रोकाया, जयबहादुर शाही लगायतले नेपाल मजदुर किसान पार्टीलाई निरन्तरता दिए । तर भक्त बहादुर रोकाया २०५१ सालमा नेमकिपाबाट जुम्लाबाट सांसद जिते पनि नेपाली कांग्रेस प्रवेश गरेर मन्त्री बने । त्यसरी जुम्लामा राम्रो सांगठनिक आधार भएको नेमकिपायका नेताहरु केही एमाले र केही कांग्रेसतिर लागे । अनि नेमकिपा कमजोर बन्दै गयो ।
जनयुद्ध
२०५९ सालकार्तिक २८ गते जुम्लाको सदरमुकाम खलंगामा माओवादीले भीषण आक्रमण गरेको थियो ।
दाङको घोराहीपछि माओवादीले अञ्चलस्तरीय आक्रमण जुम्लामा गरेको थियो । जहाँ माओवादीतर्फ पनि ठूलो क्षति पुगेको थियो । आक्रमणका लागि आउँदै गर्दा बाटोमा एक दर्जन छापामार हिउँले पुरिएर मरेछन् । जुम्ला सदरमुकाम पुगेर आक्रमण शुरु गर्नेबित्तिकै सुरक्षा फौज भन्ठानेर एकापसमै हानाहान गर्दा थप दुई छापामार मारिएको पछि थाहा भयो । भिडन्तका क्रममा पनि झन्डै साढे दुई दर्जन छापामार मारिएपछि माओवादी पछि हटेको थियो । घाइते बोकेर फर्कंदै गर्दा उनीहरू कालिकोट र जुम्लाकै रारालिही क्षेत्रतर्फ गइरहेको आकाशबाट प्रस्टै देखिएको क्याप्टेन रामेश्वर थापाको संस्मरण पुस्तक ‘बारुदमाथि उड्दा’ मा उल्लेख गरेको छन् । त्यस आक्रमणमा परी ज्यान गुमाएका, घाइते भएका र मानसिक रूपमा त्रास भोगेका मानिसहरुको कथा राधा पौडेलले “खलंगामा हमला (२०७०)”मा लेखेकी छिन । यो दैनिकीको शैलीमा लेखिएको आत्मकथा हो । यस पुस्तकमा लेखकले मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।
२०५८ चैत्र १ मा माओवादीहरुले जुम्लाको सेरिढुस्कामा एमबुस थापेर १ म्यागनस कब्जा गरेका थिए । २०५९ कार्तिकमा अञ्चल सदरमुकाम जुम्ला आक्रमण गरी १ सय भन्दा बढी हतियार कब्जा गरी लिएर गएका थिए । माओवादीतर्फ ४० जनाले शहादत प्राप्त गरेका थिए । सरकार तर्फ प्रहरी डि.एस. पी. शिवनारायण मण्डल सहित ३४ जनाको मृत्यु भएको थियो । (चलाउने‘दीपक’,२०८१, माओवादी जनयुद्ध)
चौथो महाधिवेशन धारः
कर्णाली अञ्चलमै विद्यार्थी राजनीतिको तर्फबाट चौथो महाधिवेशन धारको राजनीतिलाई कालिकोट, जुम्ला लगायत त्यस क्षेत्रमा प्रचार गर्ने काम प्रेम कैदी लगायतले गरेका हुन् । तर कैदी सहित नेताहरुको अस्थिरताका कारण उपलब्धिमूलक ढंगले चौम धार÷मसाल धार÷मशाल धारको संगठन विस्तार हुन सकेन । पछि त्यसै धारबाट विकास भएको माओवादीले जनतामा प्रभाव छोड्यो । तर शान्तिप्रक्रियापछि त्यो धारमा पनि ह्रास हुँदै गयो ।
भोट राजनीतिः
२०४८ मा नेमकिपाका डिल्लीबहादुर महत नेमकिपाबाट जुम्लाबाट सांसद बने । तर उनी २०५२ मा एमालेमा प्रवेश गरे र मन्त्री समेत भए । २०५१ मा भक्तबहादुर रोकाया नेमकिपाबाट जुम्लाबाट सांसद बने तर उनी नेपाली कांग्रेसमा प्रवेश गरे । २०५६ मा जुम्लाबाट एमालेबाट देवीलाल थापा सांसद जिते । २०६४ को संविधानसभा निर्वाचनमा नेकपा (माओवादी) का नरेश भण्डारी विजयी भए । राष्ट्रिय जनमोर्चाका गौरीलाल कार्की जुम्लाबाट संविधानसभाका उम्मेदवार बनेका थिए ।

