जेसी सिंजाली, सुर्य थापा
सामाजिक रुपान्तरणका कुरा गर्दै गर्दा हामी समाज सुधारको लागि नयाँ रुप कुन अपनाउने भन्ने बारेमा नै अस्पष्टता भएको अहिलेको परिवेश छ । यस अवस्थामा हामी कुन बाटो अपनाउदा उचित होला भन्ने सबैमा छ । नेपाली समाजमा धेरै प्रकारका क्रान्तिकारी धारहरुका गुट र उप गुटहरु छन् । जनतामा अहिले कुन प्रकारको धार या बाटो रोज्ने भन्ने अन्यौलता छ ।
चेतनशील बुद्धिजीवीहरु नै देशको हित विपरीत गइरहेका छन् । सिधा जनतालाई हरेक बहानामा फसाउदै गएका छन् । अहिले कम्युनिष्ट बताउनेहरुको एकीकरणको कुरा उठिरहेको छ र एकीकरण पनि हुँदै गएका छन् । हाम्रो क्रान्तिकारी एकता, हामी सबै भन्दा महान, अनि जनतालाई हामी तपाईंको साथमा हमेसा छौँ । आउँदो चुनावमा हामीलाई बहुमतको सरकार बनाउन दिनुस् । अनि हामी तपाईंहरुको माग पूरा गर्नेछौँ जस्ता झुठो सपना जनतामा छर्ने काम संसदवादीहरुले गर्दै आएका छन् । यो परिवेशमा हामी नयाँ ढंगबाट अगाडि बढनु र देश जनताको आवाज उठाउनु साथै समस्याको समाधान खोज्नु अहिलेको समय हो ।
यहाँ गम्भीरतापूर्वक सोच विचारका साथ एक ठाउँमा उभिएर देश र जनताको खातिर हाम्रो आवाजलाई देशैभरी उठाँदै जानुपर्ने छ । यो अवस्थामा यहाँ विदेशी दलालहरुका मतियारहरु जनतालाई झुक्याउन गुलिया सन्देश बोकेर घरघरमा जानेछन् । त्यसकारण हामी सच्चा देशभक्तहरु एक भएर अघि बढ्नुको विकल्प छैन । त्यसकारण रुपान्तरणका कुराका साथै हामी एक ढिक्का बनेर देशको खातिर कपालमा कफन बाधेर जनताको साथमा जानु पर्दछ । हाम्रो जनशक्तिलाई खलबल बनाउन हरेक तरिकाबाट वर्ग दुश्मन लागेको अवस्था छ । हामीहरु चुपचापसँग क्रान्तिकारी कुरा गरेर टुटफुटमा तल्लीन हुने समय यो होइन । त्यसकारण लागौं हामी सच्चा देशभक्त जनताको आवाज उठान गर्दै गाउँ गाउँमा। सहर र महलमा होइन झुपडी झुपडीमा पुगौं जनताको न्यायाधीश बनेर । नयाँ ढंगको नयाँ समाज ल्याउनको लागि उठेमा सारा समाज हाम्रो साथ हुनेछ । यहाँ दुखित वेरोजगारीहरुको लहर हाम्रै साथ हुनेछ । त्यसकारण हामी अल्मलमा होइन निर्धक्क साथ जनसत्ता निर्माणमा दलालहरुको पर्दाफास गर्दै सिधा साधा जनतालाई जागरुक बनादै अघि बढौं ।
संसदवादी दलहरुले विभिन्न प्रलोभनमा जनतालाई झुक्याउने कुचेष्टा गर्दै आएका छन् । उनीहरुको गलत काम बारेमा हामीले जनतालाई जानकारी गराउनु पर्दछ । अनि बल्ल मात्र रुपान्तरणको बाटो सहज हुनेछ। नयाँ जनवाद र वैज्ञानिक समाजवादको सफल जीत हुनेछ ।

