बारा जिल्लामा कम्युनिष्ट आन्दोलन ः संक्षिप्त ऐतिहासिक रुपरेखा

 

-रामबहादुर बुढा

स्थान परिचय
बारा जिल्ला नेपालको राजधानी काठमाडौ उपत्यकाबाट दक्षिण तर्फ तराईको समथर जिल्ला हो । यस जिल्लाको उत्तरपूर्वी भागमा कुनै समयमा गढी गौडा (बारा गढीमाई) र गोश्वारा रहेको थियो। “गढी“ शब्दले किल्ला वा किल्ला जस्तो बलियो संरचना वा दुर्गलाई जनाउँछ, जुन प्राचीन समयमा सुरक्षा तथा प्रशासनिक केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो । बारा गढिमाई मधेश क्षेत्रमा महत्वपूर्ण गढीहरूमध्ये एक मानिन्थ्यो, जसले विभिन्न समयमा राजनैतिक, प्रशासनिक तथा सैन्य गतिविधिहरू सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । सम्भवतः यो गढी नेपाल एकीकरणको पूर्व वा त्यस समयमा मधेश क्षेत्रमा स्थानीय शासकहरूको बाहुल्यता रहेको बेलामा अस्तित्वमा आएको थियो । यस क्षेत्रलाई “बारागढी“ भनेर चिनिनुका पछाडि त्यहाँ रहेका परम्परागत किल्ला वा गढीको उपस्थिति नै प्रमुख कारण हुनसक्छ । यही नाम कालान्तरमा परिवर्तित हुँदै बारा बनेको विश्वास गरिन्छ । मध्ययुुगमा स्थापना भएको नेपालको पूूर्वी तराईमा चर्चित राज्य सिम्रौनगढ यही बारा जिल्लामा पर्दछ । यहाँ विभिन्न भग्नावशेष, ईंटाका प्राचीन संरचनाहरू, मन्दिरहरूको भग्नावशेष आदि भेटिन्छन्, जसले यस क्षेत्रको सम्पन्न इतिहासलाई उजागर गर्छ। यद्यपि, सिम्रौनगढ १३२४ ईस्वीमा दिल्ली सुल्तान गयासुद्दीन तुघलकले आक्रमण गरी ध्वस्त पारेका थिए । (सजिलो पत्रिका अनलाइन)

यस जिल्लाको पूर्वमा रौतहट मकवानपुर, उत्तरमा मकवानपुर र दक्षिणमा रौतहत र पर्सासँग सिमाना जोडिएको छ । बारा जिल्ला समुन्द्र सतहवाट १५२ मि. देखि ९१५मिटरको उचाईमा अवस्थित छ । यो जिल्ला ११९०वर्ग कि.मि.क्षेत्रमा फैलिएको छ । (जिल्ला प्रशासन कार्यालय बाराको वेभसाइट) २०७८ को जनगणना अनुसार बारा जिल्लाको कुल जनसंख्या ७ लाख ४३ हजार ९ सय ७५ रहेको छ ।

बारामा कम्युनिष्ट आन्दोलनको प्रवेश
२००७ सालको राणा विरोधी आन्दोलनमा लागेका युवाहरु मध्ये केही कम्युनिष्ट राजनीतिमा जोडिए । जस्तै राणा विरोधी आन्दोलनमा लागेका युवाहरु मधु सिंह, मदन अर्याल, नन्दन अर्याल, हरिहर यादव नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भए । समाजमा रहेको अन्याय, विभेद, शोषणबाट मुक्तिका लागि कांग्रेसले लिएको बाटोबाट सम्भव छैन भन्ने ठानेर सही सिद्धान्त कम्युनिस्ट सिद्धान्त हो, माक्र्सवाद हो भन्ने चेतनाको विकास भएका युवाहरु कम्युनिस्ट पार्टीमा आबद्ध भए । वि.सं. २००९ सालमा श्यामप्रसाद शर्माले नन्दन अर्याललाई नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरेका थिए ।

बारा जिल्लामा किसान आन्दोलन
२००८ साल देखि २०१३ साल सम्म नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्घित अबस्थामा त्यस पार्टीले किसान संघ मार्फत आफ्ना गतिविधि सञ्चालन गरेको थियो। किसान आन्दोलनको निम्ति बारा प्रख्यात जिल्ला हो । २०१८ साल भन्दा पहिले रौतहट जिल्लाको कटहरीया, बलरामपुर, मर्जादपुर, भसेढवा, कर्कच, पर्साको वीरगञ्ज सबै बारा जिल्लामा नै पर्दथे ।
२००९ साल र २०११ सालमा दुईपटक ठूलो किसान आन्दोलन चल्यो । त्यतिबेला किसान आन्दोलनको नारा थिएः
क) बटैया हक (मोही हक) –कायम करो ।
ख) मननवाका माग –पूरा करो ।
ग) मदत भकारी –कायम करो ।
घ) पक्का चार किलो–मजदुरी दोे । (मजदुर किसानलाई जम्मा ३ किलो धान दिने चलन थियो । किसान संघले ४ किलो धान ज्याला माग राखेको थियो ।)
ङ) जमिनको –बटवारा करो ।
(जमिनको हदबन्दी गर्ने माग राखिएको थियो । )
च) जिसका जोत उसका पोत !
छ) किसानहरुलाई चर्को व्याज लिन पाइँदैन ।
किसान संघले उठाएको नारामा सिंगै जिल्लाभरीका किसानहरु एक ठाउँमा आए । किसान आन्दोलन सशक्त ढंगले अगाडि बढ्यो ।

२००९ सालको किसान आन्दोलनबाट हरिहर यादव र बद्रिदास बाबा जेल परेका थिए । उनीहरुलाई ९ महिना जेल राखिएको थियो । २०११ सालको किसान आनदोलनमा बारा जिल्ला गढहलका साहु हृदय नारायण तेलीको घर घेरा हालेका थिए किसानहरुले । वडा हाकिम दुर्गादत्त वीरगन्जबाट आएर साहु हृदयनारायणको घर घेरा हाली नाराबाजी गरिरहेका किसानहरुलाई गिरफ्तार गर्न आदेश दिए। आन्दोलनकारीहरुलाई गिरफ्तार गर्न थाले पछि सुरक्षाकर्मी र आन्दोलनकारीहरुका बीचमा झडप भयो । प्रहरी मिलेट्रीले चलाएको गोलीबाट एक जना आन्दोलनकारी मुखिलाल महतो कोइरी ढले । केही प्रहरीहरु साहुको संरक्षणमा लागे भने केही प्रहरी लिएर वडा हाकिम दुर्गादत्त त्यहाँबाट वीरगन्ज तिर भागे । त्यस आन्दोलनबाट मधु सिंह (बरेवा), नन्दन अर्याल (वघवन), हरदयलाल महतो कोइरी (कटहरिया), देवनारायण साह कलवार (वघवन), रामव्रीज खाँ थारु (सिसवा), कारी राउत अहिर (गढहल), बन्सी राउत अहिर (गढहल), नन्दकिशोर चौधरी (गढहल) लाई प्रहरीले गिरफ्तार ग¥यो । १/२ दिन वीरगन्ज राखेर ८ जनालाई नख्खु जेल ल्यायो । उनीहरु ९ महिना काठमाडौं नख्खु जेलमा बसेका थिए । २०११ सालको त्यस किसान आन्दोलनमा बारा जिल्ला वकुलरका मुखिलाल महतो कोइरीले सहादत प्राप्त गरेका थिए । (नन्दन अर्याल सितको अन्तर्वार्ता, हाँक टुडे, साउन २९ )

प्रारम्भ देखि तेस्रो महाधिवेशन सम्म
२००८ सालतिर कचरुवाका हरिहर यादव र बद्रि साधुले कम्युनिस्ट पार्टीको नेता तुलसीलाल अमात्यसित मिलेर काम गर्न थालेका थिए । उता वीरगन्जतिर मदनमणि दीक्षित, महेशमणि दीक्षित, गोपाल गौतम, धनुषचन्द्र गौतम, नन्दन अर्याल सहित मिलेर काम गर्न थालेका थिए ।

२०१४ को नेकपाको दोस्रो महाधिवेशनमा बारा जिल्लाको कलैया, वरेवाका मधु सिंह दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । पंचायत शुरु भएपछि राजनीतिमा उनी निश्क्रिय भए । शिक्षक भएर काम गरे । (नन्दन अर्यालसितको अन्तर्वार्ता, हाँक टुडे, साउन २९) २०१९ को नेकपाको तेस्रो महाधिवेशनमा बारा जिल्लाको प्रतिनिधित्व थियो भनिन्छ ।

मा.ले.धार
बारा जिल्लामा नेकपा (माले) धारलाई सुरुवात गर्नमा मुुकुन्द न्यौपानेको मुख्य योगदान छ । २०३२ सालमा कोअर्डिनेशन केन्द्र बन्नु भन्दा पहिले मुकुन्द न्यौपाने बारा जिल्लाको पँडरी, कोलवी, बाँदर झुला, निजगढ क्षेत्रमा पुगी भेटघाटलाई तीब्रता दिने काम गरेका थिए । मुुकुन्द न्यौपानेको रौतहटको हिमाली बास भन्ने ठाउँमा अलि स्थायी बसाई लामो समय सम्म रह्यो । मुुबाराका बासु चौधरी, काशी चौधरी, खेदु साह, बहादुर चौधरी, मोहन कोइरी लगायतलाई संगठित गर्दै गए । २०३७ सालको जनमत संग्रहमा नेकपा (मा.ले) ले निर्वाचन बहिष्कार गरेको भए पनि “माटो खानुभन्दा घाँस खानु ठीक” भनेर बाराका मालेहरुले बहुदललाई भोट दिएका थिए ।
२०३५ सालमा नेकपा मालेको मोरङको इटहरामा भएको प्रथम भेलामा मुुकुन्द न्यौपाने बाराबाट पुगेका थिए र केन्द्रीय सदस्य बनेका थिए । २०४६ सालमा सिराहामा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनमा बाराबाट मदन ढुंगेल (बारा जिल्ला सचिव) र सलिम अन्सारीले प्रतिनिधित्व गरेका थिए । २०४९ मा काठमाडौंमा सम्पन्न नेकपा (एमाले) को पाँचौं महाधिवेशनमा बारा जिल्लाबाट पुरुषोत्तम पौडेल, सलिम अन्सारी, छविलाल उप्रेती, रामविलास चौरासिया, सुशीला मुडभरी, लक्ष्मण पौडेल, अध्ययन पाण्डे, पलट चौधरी, नेत्रकुमारी पौडेल सहित १३ जनाले प्रतिनिधित्व गरेका थिए ।
नेकपा मालेको इतिहासमा २०३७ देखि २०४५ सम्म मदन ढुंगेल, २०४५ मा केदार ढुंगेल, २०४६ मा देवी ज्ञवाली, २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकता लगत्तै गोपाल ठाकुर, २०४८ को पहिलो जिल्ला अधिवेशनबाट पुरुषोत्तम पौडेल जिल्ला सचिव बनेका थिए । त्यसपछिका सम्मेलनहरु दोस्रो जिल्ला सम्मेलनबाट बलवीर चौधरी र तेस्रोबाट अच्यूत मैनाली जिल्ला सचिव बनेका थिए । नेकपा (माले) को इतिहासमा दुईवटा घटना २०३७ सालको कोल्मीको घटना र २०३८ को वकडी पर्सौनाको घटना विशेष छ । ती घटनामा सरकारले दमन गर्दा माले पार्टी फैलियो ।

चौ.म. धार
चौ.म. धारलाई बारा जिल्लामा जग बसाउनमा भैरव रेग्मीको महत्वपूर्ण योगदान छ । २०३१ सालमा बनारसमा यस धारको चौथो महाधिवेशन भएपछि क्षेत्रीय व्यूरो अन्तर्गत रहेर उनले बारा–पर्सा क्षेत्रमा पार्टी काम गरे । जतिबेला उनी विरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढाउँथे । त्यसो त पार्टी महासचिव भक्तबहादुर श्रेष्ठको सम्पर्क सुत्रहरु प्रयोग गरेर उनले बारामा पार्टी संगठनको काम गरे । २०३७ सालमा भैरव रेग्मीको सक्रियतामा भरत आचार्य (कलैया वकिल) ,प्रकाश शर्मा ( पाटनबाट बारा गइ गञ्जभवानीपुर माविममा पढाउने शिक्षक ) लगायतलाई जोडेर बारा जिल्ला पार्टी बनाएका थिए । ईश्वरी ढुङगेलले पनि २०३७ सालमै पार्टी सदस्यता प्राप्त गरेका थिए । कलैया पिताम्बर शर्मा ,बारा कै हरि पाण्डे पनि त्यसमा जोडिए । २०३७ साल चैत्र २७ गते अखिल (छैठौं सम्मेल पक्षधर)ले नेपाल बन्दको आयोजना गरेको थियो । मकवानपुरको हेटौंडामा विद्यार्थीको जुलुशमा सहभागी भएका बेला त्यसै दिन भैरव रेग्मी र भक्त बहादुर श्रेष्ठका भाइ गोविन्द श्रेष्ठ गिरफ्तार भए ।२०३७ सालमा गिरफतार भएपछि २०३९ सालमा रेग्मी रिहा भए । रिहा लगत्तै उनी पार्टी केन्द्रीय सदस्य भइ पूर्ववत क्षेत्रको जिम्मेवारीमा रही काम गरे ।२०४० र २०४२को फुटमा नेकपा(मसाल) को मोहनविक्रम पक्षलाई यी विभाजनले खासै असर पारेन । २०५९ सालमा मसाल र एकताकेन्द्रका बीचमा एकता भएपछि गण्डकी –नारायणी क्षेत्रीय व्यूरोको इञ्चार्ज परी थापा र सचिव प्रेम सुवेदी थिए ।

२०६३ मा एकताकेन्द्र –मसाल विभाजन भएपछि नेकपा (मसाल) पक्षको केन्द्रबाट जिम्मेवारी बारा जिल्लामा रुद्र पौडेललाई दिइएको थियो । २०४६ सालमा नेकपा (मसाल)का कार्यकर्ताहरु सिमरामा अर्जुन प्याकुरेलको घरमा जम्मा भइ सल्लाह गरेर पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी भए । त्यो भेलामा कर्ण थापा, रमेश भट्टराइ , केदार प्याकुरेर दीपक चौधरी,वैकुण्ठ पौडेल, सुरेश थापा लगायत थिए । उनहिरुले कर्ण थापा,रमेश भटटराई ,वैकुण्ठ पौडेल, सुरेश थापालाई कलैयाबाट गिरफ्तार गरी २२ दिनपछि रिहा गरेको थियो । २०६२/ ०६३ को जनआदोलनमा नेकपा (मसाल)का धर्मानन्द उपाध्यायलाई गिरफ्तार गरी घाइते हुने गरी कुटपिट गरेको थियो ।

पुष्पलाल धार – यस धारामा हरिहर यादव ,यादव प्रसाइ,उपाध्याय, लक्ष्मण पौडेलले काम गरे।

रायमाझी धार – गौरी शंकर गुँड लगायत यो धारामा रहे । पछि उनीहरु यस धारबाट विकसित भएको मानान्धर समुहमा रहे । नन्दन अर्याल पनि लामो समय यस धारमा काम गरे ।

जनयुद्ध – बाराको खजुरिया घटना विशेष छ । सेनाले घेरा हाली गोली हानेका थिए । चार जनाको हत्या भयो र जिल्ला सचिव जयराम दाहाल घाइते भएका थिए । (हरेरामप्रसाद पटेल हाँक टुडे,२०८२ कार्तिक २१)

कुराकानी –भैरवरेग्मी, पुरुषोत्तम पौडेल, कर्ण थापा, ईश्वर ढुंगेल लगायतसँग

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित