माओको संक्षिप्त जीवनवृत्त

हेमन्तप्रकाश ओली ‘सुदर्शन
माओ चीनको हुनान प्रान्तमा पर्ने शाओशान उर्बर उपत्यकाको शाओ शान चुङ भन्ने गाउँमा २६ डिसेम्बर १८९३ मा जन्मिनु भएको थियो । माओ जन्मेको त्यो जिल्ला एउटा धनी कृषिक्षेत्र थियो । यो हुनान प्रान्तका विभिन्न स्थानमा जाने सडक वा नदीहरुद्वारा जोडिएको मूल बाटोसहितको रणनीतिक इलाका पनि हो । वाणिज्यका चौबाटाहरुमा भएकोले हुनानी जनता आफ्नो कृषि व्यापारका लागि प्रसिद्ध थिए ।

पछिल्लो उन्नाइसौं र सुरुको बिसौं शताब्दीमा हुनान चीनमा कैयौं विद्वानहरुको उत्पादन गर्ने बौद्धिक केन्द्र र मतभेद तथा विद्रोहको केन्द्र पनि बन्यो । यसले चिनियाँ बादशाहहरुलाई मद्दत गर्ने महारथीहरुका साथै तिनको सत्ता ढाल्ने क्रान्तिकारीहरु दुवै जन्मायो । यो उन्नाइसौं शताब्दीको सबभन्दा ठूलो किसान विद्रोह महान् ताइपिङ किसान विद्रोहको प्रमुख केन्द्र पनि थियो । हुनानले विद्रोहका लागि लाखौं लडाकुहरु पनि उपलब्ध गरायो । जुन १८५० देखि सन् १८६४ सम्मका चौध वर्षका लागि अन्तिम भयो । किसान विद्रोहका लागि यो व्यापक समर्थन जमिन्दारहरुको शोषण र अत्यधिक करका कारण किसानको जब्बर गरिबीका कारणले भएको हो । तथापि विद्रोहलाई नृशंसपूर्वक कुल्चिइन्थ्यो । विद्रोहको स्मृति गाउँहरुमा बलवान थियो, जसको वरिपरि माओले आफ्नो बालककाल र युवा उमेर बिताउनुभयो ।

माओका पिता माओ जेन शेन गरिब किसान परिवारमा जन्मेका थिए । आफ्नो पिताको ऋण तिर्न सात वर्ष सैनिक हुन बाध्य भए । पछि कडा परिश्रम र सावधानीपूर्वक बचत गरेपछि उनले आफ्नो जग्गा फिर्ता लिन सफल भए । उनी निम्न मध्यम किसान भए तापनि परिवारको जीवन अवस्था अझै पनि गरिबीमा थियो । सोह्र वर्षको उमेरमा पनि माओले एक महिनामा एउटा अण्डा र एक महिनामा तीन वा चार पटक मासु खान्थे । माओका पिताले आफ्नो छोराछोरीहरुलाई सम्भव भएसम्म छिटै काम लगाउँथे । यस कारण माओ ६ वर्षको उमेरदेखि खेतमा काम गर्न थाल्नुभयो । माओकी आमा वेन ची मेई शाओशानबाट सोह्र माइल टाढा सियाङ सियाङ जिल्लाकी थिइन् । माओ जेठो छोरा हुनुहुन्थ्यो । उहाँका दुई जना भाइ थिए भने एक धर्म बहिनी थिइन् । तिनै जना पहिलो किसान कम्युनिस्ट पार्टीका सदस्यहरु थिए, जुन माओले गठन गर्नु भएको थियो । तिनै भाइ बहिनीले क्रान्तिमा सहादत प्राप्त गरे ।

माओ सानैदेखि विद्रोही हुनुहुन्थ्यो । उहाँले आफ्नो पितालाई सत्ताधारी भन्नुहुन्थ्यो । उहाँ आफ्ना पिताको शासनविरुद्ध आमा, भाइ र कामदारहरुसँग एकीकृत हुनुहुन्थ्यो । यो प्रतिपक्ष थियो । विद्यालयमा पनि उहाँ पुरानो रीतिरिवाजका विरुद्ध लड्नुहुन्थ्यो । एक पटक उहाँले विद्यालय शिक्षकका विरुद्ध प्रदर्शन गर्नुभएको थियो । सात वर्षको उमेरमा आप्mनो गाउँको पहाड वरिपरि तीन दिन दौडिरहनुभयो । यो प्रदर्शनपछि उहाँलाई विद्यालयमा कुटिएन । यसलाई माओले आफ्नो सफल हड्ताल भन्नुभएको छ । माओको पहिलो विद्यालय गाउँले प्राथमिक विद्यालय थियो । उहाँ त्यसमा सात वर्षको उमेरमा भर्ना हुनुभयो । उहाँले जति पर्याप्त मात्रामा पढ्नुभयो, त्यति नै पढ्ने जोशको विकास गर्नुभयो । उहाँ विद्रोह र साहसका भावनात्मक कितावहरु रुचाउनुहुन्थ्यो । प्रायः उहाँ तेलको बत्तिमा पढ्नुहुन्थ्यो । माओका पिताले धेरै कम पढेका थिए र माओले शिक्षा जारी राख्न चाहन्थे । उनलाई खेतमा काम गर्ने र आफ्नो हिसाब किताब राखिदिने मान्छे चाहिएको थियो । त्यसकारण उनले सन् १९०६ मा माओलाई विद्यालयबाट निकालेका थिए । तथापि माओले पढ्ने इच्छा जारी राख्नुभयो । उनले आफ्नो छोराको इच्छा बुझेनन् र यसको समाधानका लागि विवाह गरिदिने सोचे । चौध वर्षको माओसँग बीस वर्षकी युवतीसँग विवाह गरिदिए ।

क्रान्तिकारी वातावरण तीव्र रुपमा बढ्दै थियो । यो अवधिमा दुई विद्रोहले स्थान ग्रहण गरे, जसले माओलाई अन्तिम प्रभाव पा¥यो । हुनानमा एउटा विद्रोहको सन् १९०३ मा राष्ट्रवादी सन यात सेनको क्रान्तिकारी पार्टीले ग¥यो । अर्को जमिनदारका विरुद्ध शाओ शानकै किसानहरुको समूहद्वारा गरिएको विद्रोह थियो । दुवै नै कुल्चिइएका थिए र नेताहरुको टाउको काटिएको थियो । माओ यो अत्याचारद्वारा धेरै प्रभावित हुनुभएको थियो र देश तथा जनताका लागि कुनै आमूल परिवर्तन गर्ने आकांक्षा राख्नुभयो र उहाँले आफ्नो शिक्षालाई पनि निरन्तरता दिने आकांक्षा लिनुभयो । अन्ततः सन् १९१० मा आफ्नो आमाको गृह जिल्ला सियाङ सियाङमा रहेको उच्च प्राथमिक विद्यालयमा उहाँलाई पठाइयो ।

यो विद्यालयका विद्यार्थीहरु सबै जमिनदार र धनी पृष्ठभूमिका थिए, जसले सुरुमा माओलाई हेला गर्दथे । तथापि माओले छिट्टै नै आफ्नो उच्चत्तर बौद्धिकता, कडा परिश्रम र अध्ययनद्वारा अरु सबै विद्यार्थीहरुलाई काबुमा लिनुभयो । उहाँ सबै कक्षा छोडेर गइसकेपछि पनि धेरै बेरसम्म बसेर अध्ययन गर्नुहुन्थ्यो । उहाँका शिक्षकहरु उहाँको क्षमताद्वारा निकै प्रभावित थिए । तथापि केही महिनाभित्र उच्चस्तरमा पुग्न उहाँ बेचैन हुनुहुन्थ्यो । एक वर्षपछि उहाँले माध्यमिक विद्यालयमा भर्नाका लागि सजिलै परीक्षा उत्तीर्ण गर्नुभयो, जुन प्रान्तीय राजधानी हुनानको चाङ्सामा रहेको थियो । सेप्टेम्बर १९११ मा चाङसासम्म चालीस माइल हिंड्नुभयो । माओले अठार वर्षको उमेरमा पहिलो पटक सहर देख्नुभयो ।

विद्वानहरुको नगरी चाङसा माओ आगमनको समयमा अत्यधिक अशान्त थियो । शिक्षक र विद्यार्थीहरुले विभिन्न नाममा क्रान्तिकारी संघ बनाएका थिए । भूमिगत साहित्य प्रसारण हुँदै थियो र कुनै पनि बेलामा बिस्फोटनको अपेक्षा गरिरहेको थियो । माओ जसले कुनै आमूलकारी चिन्तनको विकास गरिसक्नु भएको थियो र घटनाहरुमा भाग लिन आतुर हुनुहुन्थ्यो । माओको आगमनको एक महिनाभित्र सन् १९११ को पुँजीवादी क्रान्ति सन यात सेनको नेतृत्वमा विस्फोटन भयो । माओले तुरुन्तै क्रान्तिकारी सेनामा भर्ना हुने निर्णय गर्नुभयो । तथापि क्रान्तिमाथि तुरुन्तै धोका भयो र प्रतिक्रान्तिकारीहरुको हातमा अवतरण भयो । पाँच महिनापछि माओले सेनाबाट राजीनामा गर्नुभयो र चाङसामा आएर बस्नुभयो ।

आफ्नो पालोमा माओले के गर्ने र जीवनमा कुन बाटो लिने भन्ने कुरा खोज्न थाल्नुभयो । अखबारमा विज्ञापन पढेर साबुन बनाउने विद्यालय, प्रहरी विद्यालयदेखि कानुन विद्यालय र वाणिज्य विद्यालयसम्म कैयौं विद्यालय पाठ्यक्रम दर्ता गर्नुभयो । अन्ततः उहाँ चाङसामा पहिलो प्रान्तीय माध्यमिक विद्यालयको लागि प्रवेश परीक्षा दिनुभयो र पहिलो हुनुभयो । छ महिनापछि उहाँले त्यो विद्यालय छोड्नुभयो र उहाँको आफ्नै शैक्षिक तालिकाको व्यवस्था गर्नुभयो , जुन हुनान प्रान्तीय पुस्तकालयमा दैनिक अध्ययनबाट बनेको थियो । ६ महिनासम्म विहानदेखि अबेर रातसम्म दुईवटा चामलका रोटीको दिउँसोको खाना लिएर सम्पूर्ण समय पुस्तकालयमा बिताउनुभयो । यो अवधिको घनीभूत अध्ययनले पश्चिमका साथ साथै, चिनियाँ लेखकहरुको सामाजिक तथा वैज्ञानिक शीर्षकहरुको धेरै व्यापक क्षेत्रलाई ढाक्यो । यसले माओको शिक्षामा जग हाल्यो । तथापि छ महिनाको अध्ययनले माओलाई सम्पूर्ण रुपले पैसाहीन बनायो। उहाँका पिताले आफ्नै प्रकारको अध्ययन गर्ने छोराको इच्छा बुझ्न सक्ने कुरा भएन, वास्तविक स्कूलमा भर्ना नभएसम्म समर्थन गर्न अस्वीकार गरे ।

माओ सन् १९१३ मा हुनानको प्रथम नर्मल कलेजमा भर्ना हुनुभयो, जुन शिक्षकको कलेज थियो । उहाँ त्यहाँ सन् १९१३ देखि सन् १९१८ सम्म पाँच वर्ष रहनुभएको थियो । चिनियाँ केन्द्ीय सरकारको पतन र प्रथम विश्वयुद्धको विस्फोटकले चीन र विश्वभरी चरम उथलपुथलको अवस्था सिर्जना गरेको थियो । चीनमा युद्ध सरदार जनरलहरुको प्रान्तीय सेनाबीचको युद्ध आम घटना बन्यो । यो त्यो अवधि थियो, जसबेला जापानले युद्धमा अरु साम्राज्यवादीहरुलाई भिडाउन चाहन्थ्यो ताकि चीनमा समग्र प्रभुत्व जमाउन सकियोस् । यसले चिनियाँ बुद्धिजीवी र क्रान्तिकारी पक्षलाई बलियो प्रतिपक्षमा लियो । यी वर्षहरुमा नै माओको विचारले आकार ग्रहण ग¥यो । उहाँ सन् १९१५ मा नर्मल कलेजमा विद्यार्थी समाजको सचिव बन्नुभयो र विद्यार्थी स्वशानका लागि संघको स्थापना गर्नुभयो । यो संगठनले विद्यार्थी मागहरुका लागि कलेज प्रशासनका विरुद्ध कैयौं प्रचार संगठित ग¥यो । माओले जापानी प्रभुत्व र तिनको चिनियाँ कठपुतलीका विरुद्ध सडक प्रदर्शनको नेतृत्व पनि गर्नुभयो । यो संगठन हुनान प्रान्तमा भावी विद्यार्थी संगठनका लागि न्यूक्लियस (नाभी) बन्यो ।

जसै युद्ध सरदार जेनेरेलको आक्रमण हुन्छ, त्यसै विभिन्न स्थानहरुमा विद्यार्थीहरुका आत्मरक्षा दल बन्न थाले । सन् १९१७ मा माओ कलेज बटालियनका प्रधान बन्नुभयो । उहाँले स्थानीय प्रहरीबाट केही हतियार पनि प्राप्त गर्नुभयो र अरु हतियार संकलन गर्न तथा युद्ध सरदार समूहमाथि छापामार आक्रमण गर्न विद्यार्थीको नेतृत्व गर्नुभयो । आफ्नो छापामार कार्यनीतिको उपयोग गर्दै पहिलेका हुनान योद्धाहरुको साथै, सैनिक सिद्धान्त अध्ययनको प्रयोग गरी माओले कलेज बटालियनलाई प्रभावकारी लडाकु शक्तिका रुपमा विकास गर्नुभयो । माओले चलिरहेको प्रथम विश्वयुद्धका सबै प्रमुख सैन्य अभियानहरुमा गहिरो चासो राख्नुभयो । उहाँले रणनीति र कार्यनीति विषयमा प्रवचन दिनुभयो र आलेखहरु लेख्नुभयो । माओ विभिन्न अन्य गतिविधिहरुमा पनि सामेल हुनुभयो । उहाँले अफिम र बेश्यावृत्ति जस्ता समाजिक खराबीहरुका विरद्ध लड्नुभयो । उहाँले महिला उत्पीडनका विरुद्ध लड्नु भयो र विद्यार्थी आन्दोलनमा अधिकतम सहभागिता सुनिश्चित गर्ने प्रयत्न गर्नुभयो । उहाँले लेखन, पौडी, खेलकुंदसम्बन्धी विद्यार्थी तथा युवा माझ घनीभूत शारीरिक तालिम दिने साहस गर्नुभयो । उहाँले स्वयंलाई चरम शारीरिक तन्दुरुस्तीमा राख्नुभयो । वर्र्षैभरी चिसो स्थानमा रहनुभयो । चिसो पानीमा पौडी खेल्नुभयो । पहाडमा नांगो खुट्टा र नांगो छाती लिएर लामो बाटो हिंड्नुभयो। सन् १९१७ मा उहाँले रात्री स्कूल सुरु गर्नुभयो, जहाँ उहाँ र अरु विद्यार्थी तथा शिक्षकले निःशुल्क चाङसा कारखानाका मजदुरहरुलाई पढाउनुभयो ।

सन् १९१८ मा माओले नयाँ जनअध्ययन समाजको उद्घाटन गर्नुभयो, जसलाई उहाँले एक वर्षीय योजनामा राखिसक्नुभएको थियो । यो कैयौं विद्यार्थी समूहहरुमध्ये एउटा थियो तर कुनै अर्कोमा बदलियो, राजनीतिक पार्टीको केन्द्र बन्यो । प्रारम्भदेखि नै यसले कार्वाहीमा जोड्यो, साथसाथै बहसमा पनि । यसले क्रान्तिको कुरा मात्र गरेन, बरु यसको अभ्यास पनि ग¥यो । सर्वप्रथम यसले आफ्ना सबै सदस्यहरुलाइ क्रान्तिकारीकरण ग¥यो । उनीहरुलाई नवमानवमा परिणत गर्दै लियो । यसका महिला सदस्यहरु थिए र अरु मुद्दाका साथै, परम्परागत विवाह प्रणाली तथा महिला उत्पीडनको मुद्दा पनि उठाउँथे । यसका गतिविधिहरु बहस, अध्ययन र सामाजिक कार्यका कार्यक्रमअनुसार हुन्थे । सामाजिक कार्यमा मजदुरहरुको रात्री स्कूल, कारखानाहरुमा भेटघाट, जापानी साम्राज्यवादका विरुद्धको प्रदर्शन, आलेखन, नयाँ विचारका लागि संघर्ष र मातृभाषाको प्रयोग समाविष्ट थिए । पछिल्लो वर्ष समाजका वास्तविक सदस्यहरुमध्ये सबै तेह्र जना सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीमा भर्ना भए । सन् १९१९ मा त्यसका असी जना सदस्यहरुमध्ये चालिस जना पार्टीमा जोडिएका थिए ।

सन् १९१८ मा माओले नर्मल कलेजबाट स्नातक गरेको समय वरिपरि उहाँ चाङसामा आमाद्वारा भर्ना गरिनु भएको थियो । आमा त्यहाँ उपचारका लागि आएकी थिइन । उनलाई अक्टोबर १९१८ मा सन्चो हुन सकेन र मृत्यु भयो । आमाका मृत्युपछि माओ चीनको राजधानी पेकिङ जानुभयो, जहाँ उहाँले छ महिना पेकिङ विश्वविद्यालयको पुस्तकालय सहायकका रुपमा निम्न वेतन लिएर जागिर गर्नुभयो । यो जागिर विश्वविद्यालय पुस्तकाध्यक्ष ली ताचाओमार्फत् प्राप्त भएको थियो, जो रसियाली क्रान्तिकालाई चिनाउने पहिलो बुद्धिजीवी थिए र चीनमा माक्र्सवादी विचारलाई परिचित गराउने पहिलो व्यक्ति थिए । ली ता चाओ मातहत रहेर माओले तीव्रतापूर्वक माक्र्सवादतर्फ विकास गर्नुभयो । उहाँले लेनिनका रचनाहरु अध्ययन गर्न सुरु गर्नुभयो, जुन चिनियाँ भाषामा उल्था गरिएका थिए । सन् १९१८ को अन्त्यतिर उहाँ लीद्वारा गठित माक्र्सवादी अध्ययन समूहसँग जोडिनुभयो । उहाँले धेरै बुद्धिजीवी र माक्र्सवादीलाई पनि भेट्नु भयो । त्यसमध्ये एक जना चेन तु स्युको उहाँमाथि प्रभाव परेको थियो, जो पछि चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो सचिव भएका थिए । त्यसबेला चेन ‘नवयुवा’ नामक क्रान्तिकारी पत्रिकाका सम्पादक थिए, जसको लाग माओले लेख लेखिसक्नुभएको र उहाँमाथि त्यसको प्रभाव परेको थियो ।

माओले पेकिङमा छ महिना मात्र बिताउनुभयो । तथापि यो अवधिमा र उहाँले आफ्ना चाङसा कलेजमा प्रवचनकर्ताहरुमध्ये एक जनाकी छोरी याङकाई हुईसँग प्रेम गर्नुभयो, जो त्यस बेला पेकिङ विश्वविद्यालयका प्राध्यापक थिए । तिनी त्यसबेला विद्यार्थी थिइन र विश्वविद्यालयको पत्रकारिता विषय पढ्दै थिइन । दुवैका लागि यो पहिलो प्रेम थियो । उहाँहरुको प्रेमलाई पछि ‘नयाँ प्रेम’ भन्न थालियो, जहाँ जीवन साथीहरुले मागी विवाहको परम्परागत प्रणालीका विरुद्ध गएर आफ्नै छनौट गर्दछन् । केही समयको लागि उनीहरुको प्रेम गोप्य रह्यो । उनीहरु देशले यति धेरै आवश्यक ठानेको बेला प्रेमको समय हो कि होइन भन्ने कुरामा सुनिश्चित थिएनन् । उनीहरुले अन्तिम निर्णय लिनुपूर्व केही हदसम्म पर्खने निर्णय गर्नुभयो । १९१९ का ऐतिहासिक मे ४ को आन्दोलन विस्फोट हुनपूर्व अप्रिल १९१९ मा माओ चाङ्सा फर्किनुभयो । यो साम्राज्यवाद विरोधी प्रजातान्त्रिक आन्दोलनले समग्र चीनलाई हल्लायो । विद्यार्थीद्वारा नेतृत्व गरिएको भए पनि यसले तीव्ररुपमा मजदुरहरुको विशाल भाग, व्यापारीहरु, दोकानदारहरु, कलाकारहरु र अन्य तप्काहरुलाई समेट्यो ।

माओ तुरुन्तै राजनीतिक आन्दोलनमा पूर्ण दिलका साथ सामेल हुनुभयो । आफ्नो आगमनसँगै उहाँले प्राथमिक विद्यालय शिक्षकका रुपमा न्यून वेतनको जागिर खानुभयो । तथापि सम्पूर्ण खाली समय उहाँले आन्दोलन संगठित गर्दै र माक्र्सवाद फैलाउँदै बिताउनुभयो । नयाँ जनअध्ययन समाज र अन्य विद्यार्थी संघ निर्माण गर्नुभयो, जसले विशाल मार्गमा युवा विद्यार्थी र महिला विद्यार्थीलाई समेट्यो । सबै शाखाहरुलाई एकीकृत गर्दै माओले जापानी सामानहरु कब्जा गर्न र जलाउनका लागि आन्दोलन संगठित गर्नुभयो ।

उहाँले ‘सियाङ रिभर रिभ्यू’ नामक साप्ताहिक पत्रिका प्रकाशन गर्नुभयो, जसले छिट्टै दक्षिणी चीनको विद्यार्थी आन्दोलनमाथि ठूलो प्रभाव पारेको थियो । जब अक्टोबर १९१९ मा साप्ताहिकलाई प्रतिबन्धित गरियो, तब माओले पत्रिकाहरुका लागि पत्रकारका रुपमा जागिर पाउनुभयो र हुनान आन्दोलनका लागि वुहान, पेकिङ र साङघाई जस्ता ठूला सहरमा समर्थन लिन सुरु गर्नुभयो ।

जब उहाँ फेब्रुअरी १९२० मा पेकिङ अवतरण गर्नुभयो, तब उहाँले छिट्टै चिनियाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने योजनाका साथ लाग्नुभयो । उहाँले विश्वविद्यालयका पुस्तकालय अध्यक्ष ली ता चाओ र अन्य बुद्धिजीवीहरुसँग बहस गर्न थाल्नुभयो । उहाँले कारखाना रेलमार्गका आँगनहरुमा भेटघाट गर्नुभयो र मजदुरहरुसँग माक्र्सवादबारे छलफल गर्नुभयो । उहाँले माक्र्सवाद अध्ययन गरिरहेकी याङ काई हुईलाई पनि भेट्नुभयो । उहाँहरुले एक अर्काप्रतिको आफ्नो समर्पण र क्रान्तिकारे छलफल गर्नुभयो र उहाँहरुले संलग्नता पाउनुभयो । पेकिङ पछि माओ चीनको सबभन्दा ठूलो सहर र यसको सबभन्दा ठूलो औद्योगिक तथा व्यापारिक केन्द्र साङघाईमा चार महिना बिताउनुभयो । यहाँ उहाँले चेन तु स्यु र अन्य माक्र्सवादीहरुसँग बहसको योजना बनाउनुभयो । स्वयंलाई टेवा दिन उहाँले बाह्रदेखि चौध घण्टा काम गर्न एउटा श्रमिकका रुपमा धोवीको जागिर गर्नुभयो । यो अवधि मे १९२० मा चीनको पहिलो कम्युनिस्ट ग्रुपको साङघाईमा स्थापना भयो । जब माओ सन् १९२० मा हुनान फर्किनुभयो, तब उहाँले उस्तै कम्युनिस्ट समूह स्थापना गर्न सुरु गर्नुभयो । उहाँको पिताको त्यही वर्षकै सुरुमै मृत्यु भयो र माओले प्रारम्भिक रुपले शाओ शानमा घर बनाउनुभयो । आफ्ना दुई भाइ र धर्म बहिनी पहिलो भर्तीमा थिए । त्यसपछि उहाँ चाङसा फर्किनुभयो, जहाँ उहाँले भर्ती जारी राख्नुभयो । त्यहाँ उहाँले प्रारम्भिक विद्यालयको निर्देशकका रुपमा जागिर थाल्नुभयो र नर्मल कलेजमा एउटा कक्षा पढाउनुभयो, जसका लागि उहाँले पहिलो पटक सुविधाजनक तलब पाउनुभयो ।

सन् १९२० को अन्त्यतिर माओले याङ काई हुईसँग विवाह गर्नुभयो । उहाँहरु डेढ वर्षका लागि सँगै बस्नुभयो, त्यसबेला माओ चाङसामा प्राथमिक विद्यालय निर्देशक हुनुहुन्थ्यो । उहाँहरु त्यसबेला आदर्श जोडिका रुपमा मानिएका थिए र पार्टी कार्यमा पनि संलग्न थिए, जसको याङ काई हुई सन् १९२२ मा सदस्य भइन् । उहाँहरुका दुई छोराहरु थिए, जसमध्ये एउटाको सन् १९५० को अमेरिकी साम्राज्यवादका विरुद्ध कोरियाली युद्धमा स्वयंसेवक भई लड्दा मृत्यु भयो । अर्को लेखापाल भए । याङ, जसले गुप्त पार्टी कार्य गर्दागर्दै सन् १९३० मा पक्राउ परिन् र फासि दिइयो ।माओले यो अवधिमा विभिन्न आन्दोलनहरुमा भाग लिनुभयो र उहाँको प्रमुख केन्द्रविन्दु भनेको चिनियाँ कम्युनिस्ट पार्टीको संरचना निर्माण गर्ने काम थियो । हुनानमा कम्युनिस्ट समूह गठन गरिसकेपछि १९२१ को जुलाईमा गोप्यरुपमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिन माओ साङघाई जानुभयो । उहाँ बाह्र जना प्रतिनिधिमध्ये एक हुनुहुन्थ्यो, जसले त्यस समयमा सन्ताउन्न जना पार्टी सदस्यहरुको मात्र प्रतिनिधित्व गर्दथे ।

महाधिवेशनपछि माओ हुनान प्रान्तको प्रान्तीय सचिव बन्नुभयो । शुरुदेखि नै उहाँले लेनिनवादी पार्टी सिद्धान्तको आधारमा हुनानमा पार्टी निर्माण गर्न विशेष ध्यान दिनुभएका थियो । उहाँले अस्तित्ववान क्रान्तिकारी संगठनहरुको साथसाथै, उन्नत मजदुरहरुबाट युवाहरु भर्ती गर्नुभयो, जसले मजदुर आन्दोलनलाई विस्तार गर्नुभएको थियो, उहाँले पार्टी सदस्य र युवा संघका सदस्यहरुको विचारधारात्मक तथा राजनीतिक स्तर उठाउन द्वय मासिक पत्रिका सुरु गर्नुभयो । जनसमुदायबीच कम्युनिस्ट शिक्षा र कार्यान्वयन गर्न यसले मद्दत ग¥यो । सन् १९२३ को अवधि, जसले माओ चाङ्सा, यान युआन, कोलियरी (कियाङ सी प्रान्तको नजिक) र शुईकौशान सिसाखानीमा मजदुरहरुलाई संगठित गर्ने मुकाविलामा केन्द्रित हुनुभयो । अगस्ट १९२१ मा उहाँले पहिले कम्युनिस्ट टे«ड युनियन स्थापना गर्नुभयो ।

सन् १९२२ मा उहाँले ‘अखिल चीन श्रमिक महासंघ’ को हुनान शाखा गठन गर्नुभयो, जसको अध्यक्ष माओलाई बनाइयो । अभियान कोइला आन्दोलन र विशेष संगठन कम्युनिस्ट संगठनको उत्तम उदाहरण थियो । पार्टीले सर्वप्रथम कोइला मजदुरहरुका लागि माक्र्सवादी शिक्षा लागु गर्न खाली समय स्कूल संचालन ग¥यो । त्यसपछि यसले टे«ड युनियन संगठित ग¥यो । त्यसैबेला समाजवादी युवा संघको शाखा मजदुरहरुका बीचमा गठन भयो, जसका सर्वोत्तम सदस्यहरु पार्टीमा विलिन भए । यनियुआन कोइला खानीको प्रमुख हड्ताल उहाँले हेर्नुभयो, जसको देशव्यापी नतिजाहरु थिए । यसको बलियो संगठन थियो, जुन दमनको बेला पनि जीवित रह्यो । मजदुरहरुले क्रान्तिकारी युद्धका विभिन्न चरणमा महत्वपूर्ण समर्थन र सहभागिता प्रदान गरे । अभियान चिङकाङ पहाडमा कम्युनिस्ट आधार इलाकाका लागि सम्पर्क केन्द्र थियो ।
माओले १९२२ को जुलाईमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सम्पर्क स्थान छुटेकोले भाग लिन सक्नुभएन । उहाँले १९२३ को जुनमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनमा भाग लिनुभयो, जसमा उहाँ केन्द्रीय समितिमा चुनिनुभयो । यो महाधिवेशनले सन् यात्सेनद्वारा नेतृत्व गरिएको कोमिङताङ पार्टीसँगको सहकार्यमा एउटा साम्राज्यवाद तथा सामन्तवाद विरोधी मोर्चा निर्माण गर्ने निर्णय ग¥यो । यसले कम्युनिस्ट पार्टीका सदस्यहरुलाई व्यक्तिगत रुपले कोमिन्ताङ पार्टीमा भर्ती हुन निर्देशन ग¥यो, माओले पनि त्यसै गर्नुभयो ।

सन् १९२४ र सन् १९२६ मा आयोजित यसको पहिलो र दोस्रो महाधिवेशनमा कोमिन्ताङ केन्द्रीय कार्यकारी समितिको बैकल्पिक केन्द्रीय सदस्यका रुपमा चुनिनुभयो । उहाँले कोमिन्ताङको केन्द्रीय प्रचार विभागको प्रमुख भएर काम गर्नुभयो । उहाँले राजनीतिक साप्ताहिकको पनि सम्पादन गर्नुभयो ।

(नोटः यो लेख लेखकको “दर्शनशास्त्रको इतिहास” पुस्तकबाट लिइएको हो ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित