–भारतीय पूर्व विदेशमन्त्री, के. नटवर सिंह
म जुलाई १९५६ देखि मई १९५८ सम्म पेइचिङमा बसे, जुनबेला“हिन्दी–चिनी भाइ भाइ” धेरैको ओठमा थियो । माओ–त्सेतुङले अन्धकारमय विसंगत स्थिति विरुद्ध सफलतापूर्वक हाक्नु भएका १९४९ को क्रान्तिको बखान हरेकले गर्थे । चीनमा जतिखेर यो क्रान्तिको महान घटना घट्यो, त्यतिबेला म सेण्ट स्टेफेन कलेज दिल्लीमा थिए । माओको नाम मैले पहिलो पटक पत्रपत्रिकाहरुमा पढेको थिए । मैले सपनामा पनि सोचेको थिइन कि सात वर्षभित्र म चुङनानहाईबाट मात्र दुई माइल पर पेइचिङको तु सुङ पुमा बसिरहेको हुनेछ । त्यो निषेधित शहर जहाँ माथि र उहाँका साथीहरु बस्नुहुन्थ्यो ।
भारतीय विदेश सेवामा प्रवेश गर्दा मैले चीन सम्बन्धी अध्ययन गर्ने इच्छा राखें । स्वतन्त्रता पछिको अघिल्ला वर्षहरुमा, जवाहरलाल नेहरु भारतीय विदेश सेवामा प्रवेश गर्नेहरुसँग एक एक गरी अन्तर्वार्ता लिने गर्नुहुन्थ्यो । समयको यस अन्तरालमा आएर पच्चीसे ननाघेका र जीवनको त्यो संघारमा उभिएका जवान मानिसहरुका लागि त्यसले के अर्थ राख्दछ भनी बताउनु गाह्रो हुन्छ । नेहरुले मलाई सोधेका प्रश्नहरुमध्ये एउटा चीनको बारेमा थियो । त्यसैले काम ग¥यो । मैले चिनियाँ भाषा सिक्ने निधो गरें । एउटा भाषा, जसलाई एकपल्ट सिकेपछि त्यसले अरु कुनै पनि विदेशी भाषा सिक्ने इच्छालाई साध्य तुल्याउँछ ।
१९५० को दशकमा पेइचिङ उराठ मात्र थिएन, बैरागलाग्दो पनि थियो । त्यहाँ कुनै एअरकण्डिशन, सेन्ट्रल हिटिङ र निजी गाडी कुटनीतिज्ञहरु बाहेक अरुलाई थिएन । म आफ्नो भल्क्सवागन विटल निर्धारित पेट्रोल स्टेशनमा लाने गर्थे र एउटा जेरी क्यानले पेट्रोल खन्याउँथे । त्यहाँ धेरै तला भएका घरहरु थिएनन् । यसको कारण के थियो भने चीनमा विगतका दिनहरुमा सम्राट र साम्राज्ञीहरु रहने शहरका भवनहरुभन्दा अग्ला घरहरु बनाउने अनुमति कसैलाई पनि थिएन ।
जनगणतन्त्र चीन अन्तर्राष्ट्रिय रुपमा परित्यक्त अवस्थामा थियो । कुटनीतिक नियोगहरुमा सोभियत खेमा, असंलग्न राष्ट्रहरु जस्तै भारत, इण्डोेनेशिया, बर्मा, श्रीलंका, इजिप्ट, स्क्याण्डिनेभियन राष्ट्रहरु, संयुक्त अधिराज्य (राजदुत नभई कार्यवाहक मात्र) फ्रान्स र अन्य एक दुई राष्ट्रहरुका प्रतिनिधिहरु थिए । सबै गरेर बढीमा तीस विदेशी नियोगहरु थिए । संयुक्त राष्ट्रसंघको प्रतिनिधिको त्यहाँ कुनै कार्यालय थिएन । यूरोपिन राजदुतावासहरुको जानकारी कसैले राख्दैन थिए । यसले गर्दा सोभियत खेमा र असंलग्न राष्ट्रहरु (जसले त्यतिखेर महत्व पाइरहेका थिए नै सम्पूर्ण राजकीय कार्यहरुमा उपस्थित रहन्थे । अध्यक्ष माओ–त्सेतुङ र प्रधानमन्त्री चाउ एनलाईले दिनु भएका विशिष्ट भोजहरुमा भोज कक्ष भनेका लागि अनुग्रह प्राप्त राजदुतावासहरुका थर्ड सेक्रेटरीसम्मका सबै कुटनीतिक कर्मचारीहरुलाई निम्त्याइनु आवश्यक हुन्थ्यो ।
यही कुरा भ्रमणमा आउने राष्ट्र प्रमुखहरुको स्वागतहरुमा पनि लागु हुन्थ्यो । जसको परिणामस्वरुप कम्तीमा ६ हप्ताको एक पटक लामो अभियान (लङ्ग मार्च) का विख्यात व्यक्तित्व र पराक्रमीहरु जस्तो माओ–त्सेतुङ, चु तेह, ली शाओ ची, चाउ एनलाई, चेन युन, तेङ स्याओपिङ, लिन प्याओ, चेन यी, हे लुङको, मो जो आदि एकै ठाउँमा उपस्थित हुने गर्नुहुन्थ्यो । विशेषतः म जस्तो एउटा मान्छेलाई एउटा रोमाञ्चकारी अनुभव हुन्थ्यो, जसले एडगर स्नोको महान् कृति “चीनको रातो तारा” उत्सुकतासाथ पढेको छ । एउटा पच्चीस वर्षे युवाको रुपमा मैले पच्चीसौं पटक माओसँग र सयौं पटक चाउ एनलाईसँग हात मिलाएको हुनुपर्छ । मलाई माओसमक्ष पुग्न, उहाँसँग हात मिलाउन र उहाँको एउटा तस्तिर लिनबाट कसैले पनि रोकेनन्… ।
चाउ एनलाई चाहिं धेरै पटक देखिनु र भेटिनु हुन्थ्यो । मेरो कार्यकालमा उहाँले निकै पटक दुतावासको भ्रमण गर्नुभयो । दुतावासमा आएर माओले एकपटक खाना खानु भएको थियो, तर मेरो समयभन्दा अघि चाउ एनलाई नेहरु झैं, प्रधानमन्त्री र विदेशमन्त्री दुवै हुनुहुन्थ्यो ।सबै कार्यक्रमहरुमा उहाँ उपस्थित प्रत्येक कुटनीतिज्ञहरुसँग हात मिलाउनु हुन्थ्यो । विशेष भोजहरुमा उहाँ प्रत्येक टेबुलमा पुग्नुहुन्थ्यो र टोस्ट प्रस्ताव राख्नु हुन्थ्यो । उहाँको त्यति धेरै माउता (कडाखाले रक्सी) को घुड्को लिनसक्ने क्षमताप्रति म प्रायः चकित हुन्थें । पछि पत्तो पाएँ कि उहाँ हल्का किसिमको घुँडको मात्र लिइरहनुभएको हून्थ्यो । जब कि उहाँका पाहुनाहरु पूर्ण स सत्कार पाइरहेका हुन्थे । उहाँ जहिले पनि राम्रो उपस्थितिमा बिनित, शोभित र प्रसन्न देखिनु हुन्थ्यो । चाउ एनलाईसँग मुग्ध पार्ने क्षमता थियो । तर प्रसंग सोधिंदा उहाँ चिडिन पनि सक्नु हुन्थ्यो जुन कुरा पछिल्ला वर्षहरुमा केही भारतीय कुटनीतिज्ञहरुले थाहा पाए । मर्यादाक्रममा चाउ एनलाई, ली शाओ ची र चुतेह भन्दा पछि आएर पनि उहाँको समर्पण र अनुरागले उनीहरुलाई छायाँमा पारेको थियो ।
माओ त्सेतुङको सन्दर्भमा भिन्नता छ । उहाँ समानहरुमध्ये एक होइन, उहाँको बराबर अरु छैनन् । भारतीय सन्दर्भमा गान्धीजी जस्तै । माओ सूर्य हुनुहुन्थ्यो भने अरु सबै उपग्रहहरु थिए । उहाँ तिनीहरुलाई रोज्नुहुन्थ्यो, अरुले उहाँलाई रोजेको होइन, उहाँको संकल्प भयंकर थियो र उहाँ महान् हुनुहुन्थ्यो । एडगर स्नो, थियोडोर ह्वाइट एण्ड्रे भाल्रौक्स र हेनरी किसिञ्जर सबैले माओले देखाउनु भएको एकाग्रतालाई हेरे । जो कोहीले पनि माओलाई निम्त्याए, उहाँले कहिल्यै अनादर गर्नुभएन । राष्ट्रपति निक्सन, त्यो महान व्यक्तित्वद्वारा एउटा सानो सत्कारमा निम्त्याइनु भयो र छोटो समयमै सम्पन्न पनि भयो । … जब निकसनले माओसँग विशेष कुराकानी गर्ने प्रयत्न गर्नुभयो, उहाँलाई भनियो कि–“ती प्रश्नहरु मेरो ठाउँमा, छलफल गर्नुपर्ने प्रश्न नै होइनन् । त्यसबारे प्रधानमन्त्रीसँग छलफल गरिनुपर्छ । म दार्शनिक प्रश्नहरुमा मात्र छलफल गर्दछु ।”
डा. एस. राधाकृष्ण न अपूर्व मेलझोल प्राप्त गर्नु हुने एक मात्र उच्चपदस्थ व्यक्ति हुनुहुन्थ्यो । जब उहाँले अध्यक्ष माओ–त्सेतुङलाई उहाँको चुङतानहाईस्थित सानो घरमा भेट्नुभयो, राधाकृष्णनले माओको गालामा हातले थपथपाउनुभयो । हामी सबै स्तब्ध भयौं । तर राधाकृष्णनले “अध्यक्ष महोदय, भयभीत नहुनुहोस्, मैले स्टालिन र पोपलाई पनि यस्तै गरे” भनेर बहाना गर्नुभयो । आत्मवाद प्रशस्तै भयो । अब माओ र इतिहासमा उहाँको स्थानतिर जाउँ ।
हुनान प्रान्तको शाओशान गाउँदेखि पेइचिङको निषेधित शहरसम्मको लामो अभियान (लङ्ग मार्च) एउटा अद्भूत वीरगाथा हो । माओले चीनलाई विगत पाँच हजार वर्षदेखि कसैले नदिएको परिवर्तन दिनुभयो । उहाँले चीनलाई एकीकृत गर्नुभयो, चीनलाई उभ्याउनु भयो र यसलाई सम्बृद्ध तुल्याउनु भयो । माओले चिनियाँ जनतालाई स्वाभिमान प्रदान गर्नुभयो , पद्धति र अनुशासनको पुनर्परिचय दिनुभयो, जुन कुरा कन्फुशियसका देशवासीहरु सधै प्रशंसा गर्नेछन् । उहाँले माक्र्सलाई पुनव्र्याख्या गर्नुभयो र किसानहरुलाई केन्द्रस्थानमा राख्नुभयो । उहाँ माक्र्स र लेनिनको समकक्षको मौलिक विचारक हुनुुहुन्थेन, तर उहाँको मौलिकता र बौद्धिक कार्य भनेको माक्र्सवादलाई चिनियाँ माटोमा ढाल्नु र यसमा विशेष सफलता पाउनु हो । माओ सदाका लागि महानतम नेता हुनुहुन्थ्यो, जसले चीनलाई बदलेर विश्वलाई नै परिवर्तनको मार्ग दिनुभयो ।
यो स्पष्ट छ कि माओ त्सेतुङका उपलब्धिहरु उहाँका असफलताहरु भन्दा महान् र स्मरणीय छन् । उहाँ अलौकिक पृथक समूहका मानिसहरु मध्ये हुनुहुन्थ्यो, जसले आफ्नै जीवनकालमा विश्वलाई बदल्यो । माओ नहुनु भएको भए त्यहाँ कुनै तेङ श्याओ पिङ हुने थिएन । यो कुरामा म विश्वस्त छु, तेङ पनि यसमा सहमत हुनुहुनेछ ।
(नोटः यो संस्मरणात्मक लेख सन् १९९४ जनवरी १४ मा फ्रन्टलाइनमा प्रकाशित भएको थियो । गोविन्दकृष्ण र शार्दुल भट्टराईले यसलाई अनुवाद गरेपछि सूर्य मासिक वर्ष २, पूर्णाङ १४, २०५१ साउनमा प्रकाशित भएको थियो ।)

