महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सेमिनार सेरोफेरोमा सहभागी हुँदाको अनुभव

 

मनु वि.क.

प्रारम्भ

महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनार गत मंसीर ११–१३ गते अर्थात नोभेम्बर २७ देखि २९ सम्म काठमाण्डौमा सम्पन्न भएको छ । विश्व महिला सेमिनारमा सहभागी भएको यो मेरो पहिलो अनुभव हो । यो भन्दा पहिले पनि विश्व महिलाहरुको सैद्धान्तिक सेमिनार भारतको वेङ्लोरमा २०१८ मा सम्पन्न भएको थियो । त्यो सेमिनारमा नेपालबाट महिलाहरुको सहभागिता रहेको थियो । नेपालमा भएको जेनजी विद्रोहको कारण दोस्रो सैद्धान्तिक सेमिनार नेपालमा हुँने कि नहुने, नेपालमा गर्न सकिने कि नसकिने अन्यौलता थियो । एक चोटी त नेपालमा नभइ जर्मनीमा गर्ने भन्ने पनि थियो । नेपालमा जेनजी आन्दोलन उत्पन्न परिस्थितिको कारण नेपालमा नभई जर्मनीमा हुने भन्ने कुरा पनि आएको थियो । जर्मनीमा हुने भने आफू सहभागी हुन सक्ने सम्भावना निकै कम थियो । तर नेपालमा हुने भए पछि सहभागी हुन पाइयो । विश्वमहिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनारको बारेमा हाँकमा समाचार बनाउने काम गर्दै आएको थिएँ । यो सेमिनारमा विश्वभरिका २० देशका महिलाहरुको सहभागिता रहेको थियो । सेमिनारको तयारीकोलागि महिला नेताहरुको उपस्थिति रहेको थियो । तयारीको लागि भएको नेपाली महिला संगठनहरुको बैठक र विश्वका महिला नेताहरुसहित नेपाली महिलाहरुको तयारी बैठकमा सहभागी हुने मौका मिलेको थियो । ती बैठकहरुमा विश्वमहिला सेमिनारलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विषेशगरी आर्थिक व्यवस्थापनको विषयमा छलफल भएको थियो । जुन बैठकहरुमा उत्साहजनक सहभागिता र छलफल भएको थियो ।

पत्रकार सम्मेलन

बैठकहरुका अलावा सेमिनारको तयारीको शिलशिलामा गरिएको पत्रकार सम्मेलनमा सहभागी हुने अवसर मिलेको थियो ।सेमिनारबारे जानकारी दिने उद्देश्यले भृकुटिमण्डप स्थित रिपोर्टस क्लबको हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

महिला हिंसा विरुद्ध सम्बन्धी १६ दिने अभियान

महिला हिंसा विरुद्ध सम्बन्धी १६ दिने अभियान शुरुको दिन नोभेम्बर २५को दिन काठमाण्डौको रत्नपार्कको शान्तिवाटिकामा कार्यक्रम भएको थियो  ।त्यो कार्यक्रममा नेपालका महिला संगठनहरु सहित विश्वभरिबाट आउनुभएका महिला नेताहरुको सम्बोधन रहेको थियो । कार्यक्रमको संचालन अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनको रहेको थियो । त्यो कार्यक्रममा क्रान्तिकारी महिला संगठन सचिवालय सदस्य अम्विका रेग्मीको सम्बोधन रहेको थियो । सो सम्बोधनमा वहाँले महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा विभिन्न एन.जि.ओ.,आइ.एन.जिओहरुले धेरै खर्चमा महंगा होटेलहरुमा कार्यक्रम गरेर मनाउँछन् तर हामीले सडकमा कार्यक्रम गरेर मनाएका छौं । राज्यले पनि धेरै खर्च गरेर मनाउने गर्छ त्यो वालुवामा पानी हाले जस्तै हो । यसले महिलाको मुक्ति हुँदैन । गरिखाने महिलाहरुले केही पाउँदैनन् वर्गीय आन्दोलन विना गरिखाने महिलाहरुले केही पनि पाउँदैनन् भन्नु भएको थियो । त्यस्तै अनेमसंघ क्रान्तिकारीका अध्यक्ष दामा शर्माले महिलाहरुमाथि हुने सबै खालका हिंसाको अन्त्यको शुभकामना सहित महिलाहरुले घरघरमा हिंसा भोग्नु परेको भन्दै त्यसको अन्त्य हुनु पर्ने धारणा राख्नु भयो । महिला हिंसा सम्बन्धी भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनको माग समेत गर्नु भयो । अखिल नेपाल महिला संघका सल्लाकार तथा एसियन कोओर्डिनेटर दूर्गा पौडेलको महिला हिंसा विरुद्ध १६ दिने अभियाको सन्दर्भमा महिला हिंसा विरुद्ध महत्वपूर्ण भनाइ राख्नु भएको थियो । अनेमसंघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले महिला हिंसा विरुद्धको सोह« दिने अभियान एक अनतर्राष्ट्रिय दिवश भएकोले यस सन्दर्भमा महिलाहरुको हक हितकोलागि न्यानो अभिवादन व्यक्त गर्दै शोषित पीडित तथा श्रमजीवि महिलाहरुलाई व्यवस्थाले शोषण गरेको छ । शोषणको अन्त्य गर्न समाजवादी व्यवस्थाको आवश्यक छ भन्ने धारणा राख्नु भयो । वैज्ञानिक समाजवादी महिला संगठनकी राजेश्वरीले महिला मुक्ति र वर्गीय मुक्ति सँगै हुने धारणा राख्नु भयो । वहाँले महिलाहरु अहिले सामन्तवादी पञ्जाबाट पुँजीवादी पन्जामा पुगेको र पुँजीवादले महिलाहरुलाई चरम शोषण गरेको बताउनु भयो । जर्मनीबाट आउनु भएकी क्यारोलाले प्रत्येक दिन जर्मनीमा र विश्वव्यापी रुपमा महिला हिंसा भइरहेको छ । प्रतिक्रियावादी,साम्राज्यवादीहरु महिला अधिकार विरुद्ध सक्रिय छन् । हामी सबै महिला हिंसाको विरुद्ध लडेनौं भने महिला हिंसा बढिनै रहनेछ । जो महिलाको अधिकार विरुद्ध लड्छन् उनीहरुका विरुद्ध हामी लड्छौं भन्ने धारणा राख्नु भयो । फ्रान्सबाट आउनु भएका नाटलाले महिला हिंसा विरुद्धको सोह« दिने अभियानको कार्यक्रमको ऐक्यबद्धता जनाउँदै न्यायिक समानताको पक्षमा लड्नु पर्ने धारणा राख्नु भयो । वहाँले पुरुषवाद विरुद्धमा संसारका महिलाहरु लड्छन् पुरुष सत्ताका विरुद्ध हुने सबै कार्यक्रमा हामी सबै सँगै लड्नेछौं भन्नुभयो । हामी सँगै सबै बलिया हुनेछौं र हामीले संसार सँगै परिवर्तन गर्नेछौं भन्ने भनाई राख्नु भएको थियो । नेदरल्याण्डबाट आउनु भएकी हलिङकाले संसारभरि महिला हिंसा विरुद्ध र महिला अधिकारको पक्षमा संघर्ष चलिरहेको कुरा बताउनु भयो । वहाले स्वतन्त्र समाज निर्माण गर्न संघर्षलाई अगाडि बढाइरहेको धारणा राख्नु भयो । जर्मनीबाट आउनुभएका सुशेले प्यालेष्टाइनी महिलाहरुको पक्षमा आफुहरु रहेको धारणा राख्नु भयो । टर्कीबाट आउनु भएका प्रतिनिधिले महिला उत्पीडनको विरुद्धमा लड्नकोलागि महिलाहरुले अन्तर्राष्ट्रिय संजाल निर्माण गर्नु पर्ने धारणा राख्नु भयो । इरानबाट आउनु भएका प्रतिनिधिले हामी साम्राज्यवादका विरुद्धमा छौं भन्ने धारणा राख्दै अहिले पनि २० हजारको संख्यामा इरानी महिलाहरु जेलमा भएको बताउनु भयो । वहाँले सरकारले महिलाहरुलाई विनाकारण मृत्युदण्ड दिएको छ भन्नु भयो र हामी गरिबीको विरुद्धमा लड्नेछौं भन्ने भनाइ राख्नु भयो ।

महिला हिंसा विरुद्धको यो कार्यक्रम सकिने बेलामा सहभागीहरुले स्वतन्त्र प्यालेष्टाइनको पक्षमा हामी फ्रि प्यालेष्टाइन चाहन्छौं भन्दै “वी वान्ट फ्रि प्यालेष्टाइन”भन्दै नारा लगाएका थिए । नारा लगाउँदा सहभागीहरुको साँच्चिकै उत्साह देखिन्थ्यो । उनीहरुले प्यालेष्टाइनी झण्डा पनि बोकेका थिए । मेरो मनमा कामना रहिरह्यो–“यो स्वतन्त्र प्यालेष्टाइनको मागको नारा संसार भरि पुगोस् ,संसारले सुनोस्, प्यालेष्टाइनीहरुले न्याय पाउन् र प्यालेष्टाइनीले स्वतन्त्रता पाउन् ।”

महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनार(पहिलो दिन)

महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनारमा नेपाल भरिबाट र विश्वका विभिन्न २८ देशहरुबाट सहभागीहरुको उपस्थिति रहेको थियो । सेमिनारमा नेपालबाट क्रान्तिकारी महिला संगठन नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी),समाजवादी महिला संगठन,वैज्ञानिक समाजवादी महिला संगठनको उपस्थिति रहेको थियो । यो सेमिनार कुनै पनि दाताले सहयोग गरेर वा कुनै पनि साम्राज्यवादी दाताहरुको सहयोगमा हुँदै थिएन । यो सेमिनारमा सहभागीहरुले आफ्नै खर्चमा सम्पन्न गर्नु भएको थियो । सेमिनार तीन दिनसम्म चलेको थियो । सेमिनारमा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुशीको अनुभूति भइरहेको थियो ।

हामी क्रान्तिकारी महिला संगठनका सदस्यहरु सकेसम्म आफ्नो संख्या पूरा गर्ने हिसाबले सहभागी हुने भन्ने निर्णय भएको थियो । जिल्ला जिल्लाबाट सक्दो उपस्थिति हुने भन्ने भएको थियो । सो अनुुसार जिल्ला जिल्लाबाट महिलाहरुको उपस्थिति भएको थियो । महिलाहरुलाई घर छोड्दा सबै कुरा बिग्रन्छ भनिन्छ तर पनि महिलाहरु सबै कुरालाई व्यवस्थापन गरेर सेमिनारमा सहभागी हुनु भएको थियो । संसारभरबाट आएका महिलाहरुको महिला आन्दोलन सम्बन्धी अनुभव साटासाट गर्ने अवसर पाइयो ।

सेमिनारमा नेपाल सहित विश्वभरिका पुँजीवाद,साम्राज्यवाद तथा फासीवाद विरोधी महिलाहरुको उपस्थिति रहेको थियो । यो सेमिनारमा महिला आन्दोलनको विषय,संसारभरमा देखिएको विचारधारात्मक ह्रास, समाजवादी आन्दोलन, महिला आन्दोलन तथा नारीवादी आन्दोलन,साम्राज्यवादी उत्पीडनको विषय, युद्ध, शान्ति, युद्धले विश्वभरिका महिला बालबालिकाहरुलाई पारेको नकरात्मक प्रभाव, विश्वमा देखिएको साम्राज्यवादी होड, पर्यावरण विनास, संसारभरि फैलिएको जेनजी विद्रोह र यसको असर,प्लाष्टिकजन्य पदार्थहरुको उत्पादनले मानव स्वास्थ्यमा पारेको प्रभाव, साम्राज्यवादी उत्पादनले स्थानीय विउ विजनमा पारेको प्रभाव, इस्लामिक धार्मिक अतिवादका कारण महिलाहरुले भोग्नु परेका उत्पीडन,महिला स्वतन्त्रता,न्याय समानता र मानवताका पक्षमा जोडदार रुपमा आवाजहरु उठे । साम्राज्यवादी फासीवादको विरुद्धमा संसारभरका जुनसुकै स्थानमा रहे पनि एकताबद्ध भएर संघर्ष संचालन गर्नु पर्ने कुरामा सहभागीहरुको जोड रहेको थियो ।

सेमिनारमा संसारभरिका विभिन्न देशका महिलाहरुले महिला मुक्ति र मानवताको रक्षाकोलागि संघर्ष केन्द्रित गर्नु पर्नेकुरामा जोड दिइएको थियो । सेमिनारमा साम्राज्यवादी उत्पीडन,पितृसत्ता,धार्मिक कट्टरता,अन्धविश्वास, लगायतका विषयहरु महिला उत्पीडनको कारण भएको बारे छलफल भएको थियो । महिलाहरुले राजनैतिक अधिकार, न्याय, समानता तथा स्वतन्त्रता पाएका भनिएका मुलुकहरुमा पनि महिलामाथि हुने गरेका उत्पीडनको अन्त्य हुन नसकेको,महिलाहरु दोस्रो दर्जाको रुपमा काम गरिररहनु परेको, महिलाहरुमाथि दोहोरो, तेहेरो जिम्मेवारी बहन गर्नु परेको विषयमा आवाजहरु उठेका थिए । संसारभरि महिला हिंसा,महिला हत्या,महिलामाथिका ज्यादतीमा कमी नआएको विषयमा महिलाहरुले एक एक गरी आफ्ना प्रतिवेदनहरु प्रश्तुत गरेका थिए । एक्लै संघर्ष गरेर पुँजीवाद तथा साम्राज्यवादी उत्पीडनका विरुद्धमा संघर्ष गर्न गाह्रो छ । त्यसकारण संसारभरिका शोषित पीडित, उत्पीडितहरु सैद्धान्तिक रुपमा स्पष्ट हुँदै संघर्षलाई अगाडि बढाउनु पर्नेमा जोड दिइएको थियो ।

सैद्धान्तिक सेमिनार भएकोले विभिन्न देशबाट आउनुभएका अतिथिहरुले आ–आफ्नो अवधारणाहरु एक एक गरी प्रस्तुत गरिएको थियो । प्रस्तुतअवधारणाहरुमाथि सहभागीहरुको तर्फबाट आ–आफ्नो सुझावहरु राखिएको थियो । सहभागी देशहरुबाट आ–आफ्नो देशको वैचारिक राजनैतिक संघर्ष ,अधिकार र जारी संघर्षबारे जानकारी गराइएको थियो । नेपालको राजनैतिक आन्दोलन,अधिकारप्राप्तिको आन्दोलनमा महिलाहरुले खेलेको उच्चस्तरको भूमिकाको बारेमा नेतृत्वहरुबाट जानकारी गराउने काम भएको थियो । सहभागी देशका महिलाहरु राजनैतिक आन्दोलनमा महिलाहरुले खेलेको भूमिका बारेमा जानकारी हासिल गर्न र यहाँको आन्दोलनबाट आफूहरुले पनि शिक्षा लिन आतुर रहेको कुरा बताउनु भएको थियो । नेपाली महिला नेतृत्वहरुबाट नेपालको साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध आन्दोलन,लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा महिलाहरुले पु¥याएको अतुलनीय योगदानको बारेमा जानकारी दिने काम भएको थियो । त्यस्तै गरी विभिन्न देशहरुको जारी र विगतमा भएका आन्दोलनहरुको बारेमा जानकारी गराउने काम भएको थियो । नेपाली महिलाहरुले यो सेमिनारको अवसरमा संसारभरिमा कसरी आन्दोलन चलेको छ भन्ने विषयमा, महिलाहरु कसरी संगठित हुँदैछन् भन्ने बारेमा जान्ने मौका प्राप्त भएको थियो । संसारभरि नै साम्राज्यवादीहरुले प्राकृतिक साधन स्रोतको अत्यधिक दोहन गरेको,विभिन्न देशहरुलाई राजनैतिक रुपमा आफ्नो इशारामा चल्ने बनाएको विषयमा जानकारी प्राप्त भएको छ । यो सेमिनारले संसारभरि नै जहाँ जहाँ छरिएर रहेको भए पनि साम्राज्यवादी, पुँजीवादी तथा फाँसीवादी उत्पीडनको अनुभूति एकै भएको,महिलाहरु संसारको जुन कुनामा रहेको भए पनि समस्याहरु एकै प्रकारको रहेको बारेमा जानकारी हासिल गराएको छ ।

सेमिनारले सैद्धान्तिक ज्ञान विना कुनै पनि प्रकारको उत्पीडनको विरुद्धमा सशक्त आन्दोलन गर्न नसकिने विषयमा धारणाहरु स्पष्ट पार्न मद्दत गरेको छ । सेमिनारमा पुँजीवादले गरेको प्राकृतिक साधन स्रोतको अत्यधिक दोहनले पृथ्वी रित्तो हुँदै गएको, स्थानीय साधन स्रोत र ज्ञानको लोप हुँदै गएको,जलवायु परिवर्तनको असर जताततै पर्न थालेको,हिमालहरु काला पत्थरमा परिणत हुँदै गएको ,जलवायु परिवर्तनको कारण संसारभर मौसमी तथा वेमौसमी प्राकृतिक प्रकोपको वृद्धि हुँदै गएको,प्राकृतिक प्रकोपको कारण सम्बन्धित स्थानका स्थानीयहरुको वस्ती नै जोखिममा पर्न गएको जस्ता विषयहरुको बारेमा जानकारी हासिल गर्ने काम भएको छ ।

इश्लामिक राज्यहरुमा महिलाहरुले सामान्य अधिकारहरु पनि प्राप्त गर्न नसकेको कुरा जानकारी प्राप्त भयो । अफगानिस्तानमा तालिवानले महिलाहरुलाई पढ्न लेख्न र बोल्न नदिएको कुरा, सिरियामा महिलाहरुले जारी राखेको संघर्षको कुरा, इरानमा महिलाहरुमाथि भएको उत्पीडनको कुरा तथा हाल इजरायली आक्रमणमा प्यालेष्टाइनी महिला तथा बालबालिकाहरुले मारिनु परेको कुरा र महिला तथा बालबालिकाले भोग्नु परेका निकै पीडादायी कथाहरुको बारेमा एकै थलोमा जानकारी हासिल भयो । नेपालमा अहिले सैद्धान्तिक ह्रास भइरहेको छ । क्रान्तिकारी विचार,दर्शन र राजनीतिको केही अर्थ छैन भन्दै नेतृत्वहरु मनलागी गर्दै चुनाव केन्द्रित हुँदै कुदिरहेको अवस्था छ । संविधानले प्रदान गरेका महिला अधिकारहरु, राजनैतिक अधिकारहरु खोसिँदै गएका छन् । अधिकारहरु संरक्षण गर्न र थप अधिकारहरुको प्राप्तिको संघर्ष संसदमा गएर टुङ्गिएको छ । ठूलो पार्टी कसरी बन्ने भन्ने ध्याउन्नमा राजनैतिक पार्टीहरु लागेका छन् । देशमा क्रियाशील महिला संगठनहरु पनि त्यसै विचारको पछि लागिरहनु परेको छ ।

“सिद्धान्त नै महिलाहरुको शोषण र दमनबाट मुक्ति हो  अर्थात ,“थेउरिज अफ वुमन्स लिबरेशन फ्रम एक्सप्लोइटेशन एन्ड अप्रेशन ”,कसरी   “साम्राज्यवादलाई परास्त गर्न सकिन्छ ? ” ”हाउ टु डिफिट इमपेरियालिज्म” भन्ने मूल नाराका साथ सैद्धान्तिक सेमिनारको आयोजना भएको थियो । सेमिनारको पहिलो दिन उद्घाटन समारोह भएको थियो । नेपालका महिला संगठनका र विश्वबाट उपस्थित हुनुभएका महिला नेताहरुको आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । मैनबत्ती बालेर सेमिनारको उद्घाटन गरिएको थियो । नेपाल तथा विश्वका समाजवादी पार्टीहरुको सेमिनारलाई शुभकामना दिइएको थियो ।

सेमिनारको उद्घाटन समारोहमा क्रान्तिकारी महिला संगठन नेपालको संयोजक अम्विका मुडवरीको सम्बोधन रहेको थियो । सम्बोधनका क्रममा वहाँले संसारभरबाट नेपालमा सेमिनार सफल पार्न आउनु भएका महिलाहरुमा क्रान्तिकारी महिला संगठन नेपालको तर्फबाट अभिनन्दन गर्दै नेपालको राजनीतिक आन्दोलन र जनयुद्धमा महिलाहरुले अत्यन्त ठूलो भूमिका खेलेको कुरा बताउनु भयो । वहाँले विश्व साम्राज्यवाद र पुँजीवादले पर्यावरणको विनास गरिरहेको बताउनु भयो । वहाँले नेपालमा दलाल पुँजीवादको विकास भएको भन्दै त्यसका विरुद्धमा संघर्षलाई केन्द्रित गर्नु पर्ने धारणा राख्नु भयो । अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुनले विश्व साम्राज्यवादको घोर भत्सर्ना गर्नु भयो र वहाँले विश्व साम्राज्यवादको विरोधमा संसारभरका महिलाहरु एक भएर लड्ने छौं र सुन्दर समाज निर्माण गर्नेछौं भन्ने भनाई राख्नु भयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष दामा शर्माले अहिले संसारभरका महिलाहरुमा साम्राज्यवादको विरुद्ध महिलामाथि हुने सबै किसिमका हिंसाको विरुद्धमा जागरण आइरहेको बताउनु भयो । वहाँले कुनै पनि प्रकारको हिंसा,विभेद नहसुँ भन्ने धारणा राख्नु भयो । साथै वहाँले संसारमा पर्यावरणीय संकट गहिरिँदो छ भन्दै पर्यावरणीय विनासको क्षतिपूर्तिको माग गर्नु गर्ने धारणा राख्नु भएको थियो । एसिया कोओर्डिनेटर दूर्गा पौडेलले कार्यक्रममा सहभागीहरु बढी भन्दा बढी सक्रियतापूर्वक सहभागी हुनु पर्ने बताउनु भयो । महिला र बालबालिकाहरुमा युद्धले निकै प्रभाव पारिरहेको कुरा बताउनु भयो । साम्राज्यवादले संसारभर युद्ध थोपरिरहेको छ । वहाँले पुँजीवाद मरणासन्न अवस्थामा रहेको छ भन्नुहुँदै महिलाहरुले युद्ध रोक्न महिलाहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले विश्व युद्धको खतरा बढिरहेको भन्दै विद्रोहलाई विचारमा बदलेर नयाँ ढंगले उठाई सिंगो मानव समाजलाई मुक्ति गर्नतर्फ अग्रसर हुन यो सैद्धान्तिक सेमिनारले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने भनाइ राख्नु भयो । वैज्ञानिक समाजवादी महिला संगठनकी संयोजक राजेश्वरीले विश्व साम्राज्यवादको कारण संसारमा युद्ध थोपरिरहेको छ । यसले गर्दा मानिसहरुको मृत्यु भइरहेको छ । महिलाहहरुलाई उपभोग,उपयोग गर्ने काम भइरहेको कुरा उल्लेख गर्नु भयो । वहाँले नेपाली क्रान्तिकारी आन्दोलनमा महिलाहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै संसारका महिलाहरु रोजा लक्जेम्बर्ग र पारिजातहरुले महिला मुक्ति आन्दोलनमा निकै ठूलो योगदान दिएको कुरा बताउनु भयो । वहाँले महिलाहरुलाई युद्धमा प्रयोग गरिएको कुरा बताउनु भयो । समाजवादी महिला संगठनका अध्यक्ष कमला विश्वकर्माले सेमिनारको शुभकामना दिँदै समाजमा दलित उत्पीडित महिलाहरुले झनै विभेद र उत्पीडिन भोग्नु परेको कुरा उल्लेख गर्नु भयो । उदघाटन समारोहमा अफगानिस्तानका महिलाहरुले शुभकामना भिडियो पठाउनु भएको रहेछ । त्यो शुभकामना भिडियोमा अमेरिकी साम्राज्यवादको साथ र समर्थनमा बनेको इश्लामिक कट्टरवादी शासकहरुले महिलाहरुमाथि गरेको उत्पीडनको उल्लेख गरिएको थियो । भिडियोमा कार्यक्रमको शुभकामनामा दिनुका साथै अफगानिस्तानमा महिलाहरुले भोग्नु परेका उत्पीडनहरुको बारेमा बताइएको थियो । यो भिडियोमा महिलाहरुलाई विदेश जान प्रतिबन्ध लगाइएको कुरा, एक जना पुरुषको साथमा मात्रै घरबाहिर निस्कन पाउने कुरा,कलेज स्कूलहरुमा भर्ना हुन नपाउने कुरा जागिर र काम गर्न नपाउने कुरा र घर भित्रकै काममा मात्रै बस्नु पर्ने कुरा बताइएको थियो । गाजामा महिलाहरुले देखाएको बहादुरीको प्रसंशा गरिएको थियो । भिडियोमा महिलाहरुले भनेका थिए –“इश्लामिक शासकहरुले महिलाहरुलाई यो सेमिनारमा सहभागी हुन नदिए पनि हामी प्रविधिको प्रयोग गर्दै शुभकामना पठाउन सफल भएका छौं ,यही नै हाम्रोलागि खुशीको कुरा छ ,सेमिनार सफलताको शुभकामना ! ”

यो भिडियो हेरिसकेपछि मेरो मन निकै पीरमा डुबेको थियो । मैले केही वर्ष पहिले “अफगानिस्तानमा महिला अधिकार माथि प्रतिबन्ध”भन्ने शीर्षकमा लेख लेखेको थिएँ । यो भिडियो सुनिसकेपछि मैले झण्डै आँसु छोडे । मैले कार्यक्रममा आफैलाई सम्हालेँ । अफगानिस्तानका महिलाहरुको यो भिडियो सुनिसकेपछि पुरुष सत्ताले महिलाहरुलाई मान्छे नै नठानेको,महिलाको कुनै पनि सोच्न सक्ने क्षमता नभएको जस्तो गरेको मनमा लाग्यो । हुन त हिन्दु धर्ममा पनि महिलालाई एक्लै हिँड्न नहुने, बिहे अगाडि बुबाको संरक्षणमा ,बिहे पछि श्रीमानको र श्रीमानको मृत्यु पछि छोराको संरक्षणमा बस्नु पर्ने भन्दै नियमहरु लगाउने गर्दछ तर नेपालमा महिलाहरु अधिकार र स्वतन्त्रतामा माथि नै भएको महसुश भयो । कम्तीमा पनि यहाँ महिलाहरुलाई पढ्न,लेख्न पाउने,काम गर्न पाउने अधिकार छ । संविधानले महिला अधिकारहरुको व्यवस्था गरेको छ भन्ने मन मनमा सोच्न पुगें । भिडियो सुनेपछि संसारका महिलाहरु आफ्नो मुक्तिकोलागि अझै संघर्ष गर्नु आवश्यक छ । महिलाहरुले स्पष्ट वैचारिक दृष्टिकोणका साथ संघर्षलाई अगाडि बढाउनु पर्ने आवश्यक छ भन्ने मन मनमा भइरह्यो ।
उदघाटन कार्यक्रम पछि विषयवस्तुहरु राख्ने क्रम शुरु भयो । कार्यक्रममा जर्मनीबाट आउनु भएका सुसे, नेदरल्याण्डको प्रतिनिधिको सम्बोधन रहेको थियो । बोत्स्वानाबाट आउनु भएका प्रतिनिधिले महिलाहरुलाई नव चेतना जगाउँदै छौं , महिला र बालबालिकाहरुकोलागि लड्न पुरुषहरुलाई सहयोग गरिरहेका छौं, हामीले महिला हिंसा , देह व्यापार ,मानव अंग बेचविखन, देहव्यापार विरुद्ध चेतना जगाउने काम गरिरहेका छौं भन्दै हामी संघर्षमा एक्लै छैनौं भन्ने धारणा राख्नु भयो । वहाँले हामी महिलाहरुले महिला पीडकहरुलाई चिनेका छौं भन्दै त्यसका विरुद्ध संघर्ष गर्नु पर्ने बताउनु भयो ।
टर्कीबाट आउनुभएका प्रतिनिधिले टर्कीमा सन २०२३ मा भूकम्प गएपछि १० हजार मान्छेको मृत्यु भयो । निकै ध्वस्त भएको थियो । भूकम्प पछि पुनर्निर्माण गर्न पुँजीवादी कम्पनीहरु आए । ती कम्पनीहरुले टर्कीका जमिनहरु लिए । उनीहरुले निर्माण गर्ने नाममा वातावरण विनास गरे । यसबाट महिलाहरु धेरै प्रभावित भए । महिलाहरुलाई बाल विवाह गराउने गरिएको छ । महिलाहरु संघर्ष गरिरहेका छन् । पूँजीवादका विरुद्ध संघर्ष अगाडि बढाइएको छ । पुँजिवादलाई वर्गसंघर्षबाट परास्त गर्नु पर्ने छ भन्ने धारणा राख्नु भयो । टर्कीबाट आउनु भएका अर्का प्रतिनिधिले युरोपेली देशहरुले ठूलो मात्रामा प्लाष्टिकहरु टर्की पठाउने गरेका छन् । उनीहरुले आफ्नो देशको फोहोर टर्की पठाउने गरेका छन् । टर्कीको जमिनहरुमा प्लाष्टिक फालिएको छ । जमिनमा प्लाष्टिक नै प्लाष्टिक भएको छ भन्ने धारणा राख्नु भएको छ । वहाँले यो कुरा भनिरँदा हाम्रो देश पनि प्लाष्टिकले भरिएको ,हाम्रो गाउँ , ठाउँ र शहरमा प्लाष्टिक नै प्लाष्टिकले भरिएको छ । वातावरणलाई यसले नराम्रो असर गरिरहेको छ । पुँजिवादीहरुलाई,प्लाष्टिक उत्पादक कम्पनीहरुलाई यसबारेमा केही चिन्ता नै छैन । माटोमा यसको असर कति पर्छ र भविष्यमा माटो कसरी बिगार्छ भन्ने बारेमा जसले प्लाष्टिकको  प्रयोगगरिरहेका छन् भन्नेबारेमा समेत कुनै चिन्ता र चासो छैन । हाम्रो देशमा विदेशी कम्पनीहरुका प्लाष्टिकका सामानहरु आइरहेका छन् । तिनीहरुको प्रयोग पछि उचित व्यवस्थापन नहुँदा जताततै छरिएका अवस्थामा रहेका छन् भनेर मनमा चिन्ता परिरह्यो ।
फ्रान्सबाट आउनुभएका प्रतिनिधिले फ्रान्समा जंगल फँडानी बढ्दै गएको कुरा बताउनु भयो । पर्याप्त स्वास्थ्य सेवाको अभाव छ । पूँजीवादीहरुले खानी संचालन गर्दै आएका छन् । खानी सञ्चालन गर्न वन विनास हुँदैछ । वार्षिक ४.५ प्रतिशतका हिसाबले जंगल विनास गरिरहेका छन् । जुन बाँकी वन छ त्यो पनि विनास हुँदै गइरहेका छन् । २०३० सम्म जंगल विनास रोक्न योजनाहरु पनि बनेका छन् । विश्वमा कार्बन उत्सर्जन,बढिरहेको छ । कार्बन उत्सर्जन घटाउनु पर्ने छ । जलवायु परिवर्तन सम्बन्धी सचेतना जगाउनु पर्ने छ । वन विनास रोक्न सौर्य उर्जामा ध्यान दिइएको छ । पर्यावरणीय संकट समाधानकोलागि मिलेर काम गर्नु पर्ने छ । उत्पीडित महिलाहरु मुक्तिकोलागि संघर्ष गरौं भन्ने भनाई राख्नु भयो ।
पेरुबाट आउनु भएका प्रतिनिधिले यो सैद्धान्तिक सेमिनारमा हामी महिलाको संस्कार, संस्कृतिबारे, महिलाहरुको पेशा बारेमा मात्रै बोल्न आएका छैनौं, किसान परिवार ग्रामीण महिलाहरुको बारेमा बोल्न आएका छौं साथ साथै सिद्धान्तको रक्षाको बारेमा समेत बोल्न आएका छौं भन्ने धारणा राख्नु भयो । वहाँले जमिनमा खेती गर्ने महिलाहरुले सबै परिवारलाई पालिरहेका हुन्छन् । महिलाहरुले जमिनमा काम गर्नु भनेको जैविक विविधताको संरक्षण गर्नु पनि हो भन्नु भयो । महिलाहरुले कृषि कर्ममा लाग्दा कृषि आशावादितापूर्ण र विविधतापूर्ण बनाउन र बीउको संरक्षण गर्न मद्दत गरेको छ भन्नु भयो । साथै वहाँले महिलाहरु कृषिमा रसायनको प्रयोगका विरुद्ध संघर्ष गरिरहेका छौं भन्नु भयो । विदेशी पुँजीले जमिन र पानी लुटिएको बेला ग्रामिण महिलाहरु नै त्यसको विरोधमा उभिन्छन् भन्ने धारणा राख्नु भयो । वहाँले महिला उत्पीडनको आर्थिक, सामाजिक, राजनैतिक जराहरु रहेको पनि बताउनु भयो । वहाँले हामीले महिला र पुरुषको समानताको लागि मात्र हैन, खाद्य सुरक्षाकोलागि समेत संघर्ष गर्नु पर्ने बताउनु भयो । हामीहरुले खानीहरुको सुरक्षा गर्नु पर्ने छ , खानीहरुसँग औपनेवेशिक उत्पीडन जोडिएको छ ,खानीहरुको संरक्षण गर्नु पर्ने हाम्रो दायित्व छ भन्नु भयो । वहाँले पुँजीवादीहरु महिलाहरुलाई अराजनीतिक गर्न चाहन्छन् , नारीवादी बनाउन चाहन्छन् हामी त्यसको विरोधमा लड्छौं । ग्रामीण क्षेत्रका महिलाहरुको संघर्षको कुरा महत्वपूर्ण छ, भन्नुहुँदै वहाँले हामी महिलाहरु आफै उत्पादन गर्छौं बीउ जोगाउँछौं । अर्थतन्त्र बलियो बनाउँछौं, हामी आफुलाई मुक्त गर्छौं ,पानी नपर्दा होस या पर्दा हामीले काम गर्छौं, एउटा विरुवा नहुँदा अर्को विरुवा खोज्ने हामीहरु महिलाहरु हौं , स्थानीय विरुवालाई हामी जागृत गर्छौं भन्ने वहाँको महत्वपूर्ण भनाइ थियो । वहाँको यो भनाइ सुनिसकेपछि स्थानीय बीउहरु लोप हुँदै गएको कुरा,बीउ विजनमा पुँजीपतिहरुको एकाधिकार कायम हुँदै गएको र किसानहरु बीउ किन्न बाध्य हुनु परेको कुरा मेरो मनमा खेलिरह्यो । किसानहरुले आफ्नो स्थानीय बीउहरु आफै संरक्षण गर्नु पर्ने कुरा सबैका लागि महत्वपूर्ण छ भन्ने लागिरह्यो ।

नेदरल्याण्डबाट आउनु भएकी हलिंकाले महिलाहरु दोहोरो तेहेरो शोषणमा बाँच्नु परेको कुरा राख्नु भयो । संसारभरिका महिलाहरु उत्पीडनमा रहेको कुरा राख्नु भयो । सबैले आ–आफ्नो धारणाहरु राखिसकेपछि सो धारणाहरु माथि सहभागीहरुको तर्फबाट धारणाहरु राख्नेक्रम शुरु भयो । इरानबाट आउनु भएका सहभागीले महिला महिला भएकै कारण हत्या हुन पुगेको छ । महिलाहरुलाई तल गिराएर अगाडि बढ्ने हाम्रो प्रणाली छ । महिलाहरु हिजाब नलगाए कै कारण मारिनु परेको छ । इरानमा २०२२मा हिजाब नलगाएको भनेर मासा अमिनीलाई जेल लगी मृत्युदण्ड दिइएको थियो । त्यसपछि हिजाब विरोधी ठूलो प्रदर्शन भएको थियो । हिजाब नलगाएको कारण इरानमा भूकम्प गयो भनेर महिलाहरुमाथि उत्पीडन गर्ने गरिएको छ । धेरैलाई जेल हालिएको छ । जेलमा युवाहरुलाई मृत्युदण्ड दिइएको छ । इश्लामिक शासन हुँदासम्म महिलाहरु सुरक्षित छैनन् भन्ने धारणा राख्नु भयो । जर्मनीबाट आउनु भएका सहभागीले यो सेमिनारले पर्यावरणीय संकट बारे आवाज उठाउन पर्ने धारणा राख्नु भयो । त्यस्तै फ्रान्सबाट आउनुभएका सहभागीले संसारभरमा महिलामाथि बलत्कारको घटनाहरु बढिरहेकाले त्यो विषयमा आवाज उठाउनु पर्ने बताउनु भयो । भारतबाट आउनु भएका प्रतिनिधिले साम्राज्यवादी उत्पीडन हिंसा महिलाहरुले भोग्नु परेको ,विश्वमा तेस्रो युद्ध चलिरहेको कुरा उठाउँदै त्यसका विरुद्धमा एक हुनु पर्ने धारणा राख्नु भयो । वहाँले जागिरे महिलाहरु बेलुकी पनि घरमा काम गर्नु परिरहेको बताउनु भयो । वहाँले विश्वमा महिला हत्या बढिरहेको बताउनु भयो ।

नेपालबाट भाग लिने महिलाहरुले विश्वव्यापी रुपमा तापमान वृद्धिले सगरमाथा काला पत्थरमा परिणत हुँदै गएको,महिलाहरुले रोजगारीकोलागि विदेशी भूमिमा समेत पसिना बगाउनु परेको, चर्को श्रम शोषण भोग्नु परेको , महिला हिंसा,हत्या बलत्कारको शिकार हुनु परेको,दलाल संसदीय व्यवस्थाले गर्दा शोषण उत्पीडन चरम रुपमा पुगेको र देशमा कम्युनिष्ट पार्टी भन्नेहरुमा गम्भीर प्रकारको सैद्धान्तिक विचलन आएको वैचारिक स्पष्टता भएको र वैचारिक स्पष्टता बेगर परिवर्तन असम्भव रहेको धारणा राख्नु भएको थियो ।

यसरी महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनारमा विषयवस्तुहरु उठेका थिए । ४ बजेपछि गाजा साँझको आयोजना गरिएको थियो । यसमा कलाकारहरुले कविता ,गीत, नाटकको माध्यमबाट शोषण उत्पीडनको विरोध गर्नु भएको थियो । दोस्रो दिन जर्मनीबाट आउनु भएका गावीले साम्राज्यवादीहरुले हामीलाई विभाजन गर्न खोजिरहेका छन् , समाजवाद असफल भएको भन्ने भ्रम फिँजाइरहेका छन् । हामीले समाजवादलाई असफल भएको छैन भन्नु पर्छ भनेर जानु पर्छ । समाजवाद असफल भयो भनेर सोभियत युनियनको भूमिकालाई कम आँक्न सकिँदैन, अहिले माक्र्सवादी लेनिवादी संगठन र सिद्धान्तबिना हामीले परिवर्तन गर्न सक्दैनौं । हामीले समाजवादी राष्ट्रहरुलाई एकताबद्ध गर्नु पर्छ , संसदीय व्यवस्थाबाट समाजवाद आउँदैन । महिलाहरुको गर्भपतनको स्वतन्त्रता , महिलाहरुसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरुलाई कार्यान्वयनमा ल्याउनु पर्छ । महिला मुक्तिको काम महिलाहरुको मात्रै काम होइन । यस विषयमा पुरुषहरुले पनि सोच्नु पर्छ । सोभियत युनियनमा महिला मुक्तिको विषयमा जसरी पुरुषहरुको भूमिका थियो त्यसरी नै पुरुषहरुले पनि सोच्नु पर्छ । सोभियत संघ सँग सँगै चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको समयमा पनि पुरुषहरुले महिलाको पक्षमा भूमिका निभाउनु भएको थियो, त्यसैगरी पुरुषहरुले महिला मुक्तिको खातिर भूमिका निभाउनु पर्छ भन्ने विचार राख्नु भयो ।

वहाँले समाजमा एल.जी. बी.टी. क्यू .(LesbianGayBisexualTransgender, and  Queer)हरुको बारेमा कुरा राख्नु भएको थियो ।  अंग्रेजी शब्द लेस्वियन भनेको समलिंगी (केटीले केटी मन पराउने) , गे भनेको (केटाले केटा मन पराउने) , बाइसेक्सुल भनेको द्वियौनिक (केटाकेटी दुवै मन पराउने ) , ट्रान्सजेण्डर भनेको लिंग परिवर्तन गरेको  र क्वयर भनेको समलिंगी (विशष्टि लिंगी) भन्ने शब्द हो ।  वहाँले यस बारेमा बोल्नु भएको थियो । वहाँले यिनीहरुको समाजमा पहिचानको नै समस्या रहेको छ भन्दै उनीहरुलाई कसरी संगठित गर्ने र समाजवादी आन्दोलनमा कसरी ल्याउन सकिन्छ भनेर योजना बन्नु पर्ने धारणा राख्नु भयो । उनीहरु समाजमा बहिस्करणमा परेका छन् भन्नुभयो । महिलाहरुले समाजवाद उन्मुख कार्यक्रम लिएर जानु पर्छ भन्ने धारणा राख्नु भयो । वहाँले महिलाहरुको आन्दोलन छुट्टै आन्दोलन हो भनेर बुझ्नु हुँदैन भन्ने विचार व्यक्त गर्नु भयो । महिलाहरुले पनि काम गर्नु पर्छ । पुँजिवाद र पितृसत्ताले महिलाहरुलाई घरमा काम गर्नु पर्छ भनेको हुन्छ । यो पुरुषहरुको नियम हो । यो नियम पितृसत्ताले बनाएको छ । कम्युनिष्टहरु वस्तुनिष्ट तरिकाले जानु पर्छ । लैंगिकताको कुरालाई पनि उठाएर जानु पर्छ उनीहरुलाई पनि संगठित गर्नु पर्छ । महिला अधिकारको आन्दोलन कमजोर भएको छ । महिलाहरुले राजनीतिक अधिकार प्राप्तिकोलागि अभियान सामुहिक रुपले चलाउनु पर्छ । यो अभियानले महिलाहरुको समान अधिकार स्थापना गर्न सकिन्छ । महिलाहरुले समान कामको समान ज्याला पाउनु पर्छ , जेष्ठ नागरिकको स्याहारको कामलाई सामाजिकीकरण गर्नु पर्छ, महिला माथि हुने सबै हिंसाको अन्त्य गर्नु पर्छ । स्वतन्त्रताको क्षीतिजलाई हामी देख्न सक्छौं भन्दै आफ्नो अत्यन्त गहकिलो भनाइहरु राख्नु भयो ।

फिलोनीले अन्तर्राष्ट्रिय संघको आवश्यकताबारे कुरा गर्नु भएको थियो । वहाँले विश्वव्यापी रुपमा अभियान चलाउन सक्छौं , हामीसँग साहस हुनुपर्छ ,हामीले महत्वपूर्ण संघर्ष जितेका छौं । संघर्षहरु संस्थागत हुन सकेको छैन । संस्थागत नभैकन कुनै पनि संघर्ष अगाढि बढाउन सकिँदैन । हामी एक अर्कासँग जोडिँदै जानु पर्छ । सीमित बैठकहरुमा मात्रै यो सम्भव छैन । भुइमान्छे र माथिल्ला तहका मान्छेको बीचमा विभाजन छ । शक्ति र स्रोतको सबै एक ठाउँमा लगाउनु पर्छ । गठबन्धन गरेर काम गर्नुपर्छ गठबन्धन गरेर काम गर्नु निकै महत्वपूर्ण छ । महिलाहरुको अन्तर्राष्ट्रिय एकता बलियो बनाउनु पर्छ भन्ने विचार राख्नु भयो ।

सिरियाबाट आउनु भएका प्रतिनिधिले सैद्धान्तिक सेमिनारमा नेपालको माटोमा आएर बोल्न पाउँदा निकै खुशी लागेको छ भन्दै सेमिनारको आयोजना गरेकोमा नेपाली महिलाहरुलाई बधाई दिँदै नेपाली महिलाहरुले तागत आशा र यही सपना देखाउनुभएको बताउनु भयो । वहाँले हामी को हौं त्यही व्याख्या गरौं भन्दै महिलाहरु पहिचान गुमाएको अवस्थामा छौं भन्नु भयो । वहाँले श्रृष्टिको क्षमता बोकेका महिलाहरुले हज्जारौं वर्षदेखि महत्वपूर्ण भूमिका निभाउँदै आएका छौं शासकहरुको सत्ता पतन भयो, सभ्यता पतन भए, भूमि विभाजित भए, परिवार अलग्गिए हामी उभिइरहेका छौं मध्यपूर्वमा महिलाहरुलाई सजिलो कुरा छैन । आँसुको बलिन्द्रधारामा महिलाहरु छन् ,सन्ततिको पर्खाइमा महिलाहरु छन् भन्नु भयो । वहाँले सेमिनारमा आउन पाउँदा र फरक फरक देशहरुको संघर्षको इतिहास सुन्न पाउँदा अत्यन्त खुशी लागेको छ भन्दै महिला रहे जीवन र मानवता रहन्छ भन्दै आफ्नो भनाइ अन्त्य गर्नु भएको थियो ।

महिलाहरुको दोस्रो सैद्धान्तिक सेमिनार (दोस्रो दिन)

दोस्रो दिन सहभागीहरुको तर्फबाट नेदरल्याण्डबाट आउनु भएकी हलिंकाले विश्वव्यापी रुपमा महिला समस्या समान छन् । ती समस्याहरु र शोषणबाट महिलालाई मुक्त गर्न सक्छौं भन्ने सोचिरहेका छौं ,गैरराजनीतिक संस्थाहरुको तरिकासँग हामी सहमत हुन सक्दैनौं । महिला मुक्ति क्रान्तिबाट मात्रै सम्भव छ । हामी वुर्जुवा मापदण्डका विरुद्ध लडिरहेका छौं ,वर्गसंघर्षलाई छोड्नु हुँदैन । हामी वित्त पूँजीकाविरुद्ध संघर्ष गरिरहेका छौं भन्ने भनाइ राख्नु भएको थियो ।
नेपालबाट आफ्ना धारणाहरु राख्ने क्रममा सहभागीहरुले सुदुरपश्चिममा महिलाहरुले महिनावारी हुँदा र सुत्केरी हुँदा बस्नु परेको छाउपडी प्रथाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । सन्तोषी विश्वकर्माले नेपालमा धार्मिक अन्धविश्वास ,छुवाछुत जातीय विभेद छ । दलितहरु अशिक्षित छन् । सम्बन्धविच्छेदका घटनाले गर्दा एकल महिलाहरुलाई सन्तानको जिम्मेवारीले थिचिरहेको छ । यो समस्या कसरी हल गर्ने भन्ने बारेमा छलफल हुनुपर्छ भन्ने धारणा राख्नु भयो ।
टर्कीबाट आउनु भएका प्रतिनिधिले निजी सम्पत्ति ,स्वामित्व र पुँजीवाद विरुद्ध लड्न अति आवश्यक छ । क्रान्तिकारी समाज निर्माण गर्नु पर्छ । महिलाबिना कुनै पनि क्रान्ति सम्भव छैन भन्ने धारणा राख्नु भयो । नेपालबाट सिंगापुर सेनामा भर्तीभएका पुरुषहरुका विधवा महिलाहरुले भोग्नु परेका समस्याहरुको बारेमा विगेसोले राखेको कुराहरु मैले राख्ने काम गरें । नर्थ कुर्दिस्थानबाट आउनु भएका प्रतिनिधिले कुर्दिस्थानमा महिलाहरुले आफन्तहरु गुमाउनु परेको कुरा बताउनु भयो । वहाँले फासीवादले महिलाको अधिकारलाई नियन्त्रण गरेको छ । महिलाको स्वाभिमानलाई नियन्त्रण गर्ने काम गरिरहेको छ धर्म युद्ध र फासीवाद छुट्टा छुट्टै छैनन् । हामीले धार्मिक कुराहरुलाई आलोचना गरेर मात्र हुँदैन महिला मुक्तिकोलागि महिलालाई केन्द्रमा राखेर काम गर्नु पर्छ भन्ने धारणा राख्नु भयो ।

जर्मनीबाट आउनु भएका सहभागीले विश्वमा न्यूक्लियर युद्धको खतरा बढिरहेकाले त्यसको विरुद्धमा सबैले विश्वव्यापीरुपमा संघर्ष गर्नु पर्ने बताउनु भयो । शासक वर्गले श्रमिक वर्गको उत्पीडन गरिरहेको छ । संसारमा फासिवादको दबदबा रहेको छ यसको विरोधमा एक जुट हुनुपर्ने बताउनु भयो । रसियाबाट आउनु भएका प्रतिनिधिले महिलाहरुको अवस्थाबारे धारणा राख्नु भयो । वहाँले रुसमा महिलाहरु संसद र सरकारमा केही न केही सहभागी छन् । स्थानीय तहमा ९ प्रतिशत महिलाको सहभागिता रहेको छ । अहिले युद्ध चलिरहेको छ । युद्धका कारण महिलाहरु पीडित बन्नु परेको छ । महिला माथि घरेलु हिंसा छ, महिलामाथि हुने उत्पीडन अपराधीकरण हुँदैछ ।श्रीमानहरुले नै श्रीमतीहरुको हत्या गरेका छन् । २०२३ मा सैनिक क्याम्पबाट फर्किए पछि एक जना सेनाले आफ्नी श्रीमतीलाई हत्या गरे । युद्धले पारिवारिक सम्बन्ध भत्किएका छन् । जीवन निकै कष्टकर छ । महिलाहरुले घर भित्र र घर बाहिर काम गर्नु परेको छ । हामी लैंगिक असमानताको विरुद्ध संघर्ष गर्नु परेको छ । समाजवादीहरु अन्तर्राष्ट्रिय रुपमा लड्नु पर्छ । अहिले संसारभरि आप्रवासन बढिरहेको छ । चरमपन्थीहरु आप्रवासीहरुलाई रुचाउँदैनन् भन्दै संघर्ष गर्नु पर्ने बताउनु भयो ।

जर्मनबाट आउनु भएका अर्का सहभागीले अहिले विश्वमा न्यूक्लियर युद्धको खतरा बढिरहेको बताउनु भयो । पुँजीवाद फासीवादमा परिणत हुँदै गएको छ । फासीवादभनेको श्रमिक वर्गको उत्पीडन हो । फासीवादमा नरसंहार हुन्छ । अहिले इजरायलले प्यालेष्टाइनमाथि आक्रमण जारी राखेको छ । प्यालेष्टाइनमाथिको इजरायली आक्रमणमा परी अहिले ६० हजार भन्दा बढीको मृत्यु भएको छ । मारिनेहरुमा ६० प्रतिशत भन्दा बढी महिला बालबालिकाहरु छन् । महिला र संसारभरका उत्पीडितहरुले क्रान्तिलाई अगाडि बढाउनु पर्छ, विश्वमा भइरहेको चरम असमानता राष्ट्रवादीको नाममा अधिनायकवाद लाद्न खोजिँदैछ । अहिले रुस र चीन प्रतिरक्षाको अवस्थामा छन् ,माक्र्सवादले पुँजीवादको स्वरुपको बारेमा व्यापक अध्ययन गर्नु भएको थियो र क्रान्तिकारी विचारलाई स्थापित गर्ने काम गर्नु भएको थियो भन्ने धारणा राख्नु भयो । वहाँहरुले धारणाहरु राखिरहँदा मलाई संसारभर घुमे जस्तो अनुभूति भइरहेको थियो । किनकि संसाभरका महिलाहरुले आ–आफ्नो देशको अवस्थाका बारेमा बताइरहनु भएको थियो ।

कार्यक्रमको तेस्रो दिन
कार्यक्रमको तेस्रो दिन नेपालको महिला आन्दोलन बारेमा जानकारी गराउने उद्देश्यले नेपालका महिला नेताहरुले बोल्नु भएको थियो । वहाँहरुले नेपालको महिला आनदोलनका साथै नेपालको राजनीतिक अवस्थाको बारेमा जनाकारी गराउनु भएको थियो । समाजवादी महिला संगठनका अध्यक्ष कमला विश्वकर्माले संसारभरका महिलाहरु नेपालमा भेट्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्बिका मुडभरीले जनयुद्धमा महिलाहरुले खेलेको भूमिकाको बारेमा बताउनु भयो र वहाँले अहिले महिलाहरु गृहणी भएर बस्नु परेको अवस्थाको बारेमा धारणा राख्नु भयो । वहाँले जनयुद्ध लडेका महिलाहरु अहिले रोजगारीको लागि खाडी लगायतका देशहरुमा जानु परेको बताउनु भयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले विदेशी तथा स्वदेशी महिलाहरुको अवस्था उस्तै रहेको भन्दै नेपालमा महिलाहरुले राजनैतिक परिवर्तनमा दिएको योगदानस्वरुप संविधानमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गर्न सफल भएका छन् भन्नु भयो । वहाँले जनयुद्धमा सहभागी हुँदा महिलाहरु जंगलमै सुत्केरी भएर पनि आन्दोलनमा सहभागी भएका थिए भन्ने धारणा राख्नु भयो । अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुनले नेपालको परिवर्तनको आन्दोनलनमा महिलाहरुले निकै ठूलो योगदान दिएको बताउनु भयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष दामा शर्माले नेपाली महिला आन्दोलनबारे चासो दिएकोमा खुशी व्यक्त गर्दै नेपालको राजनीतिक आन्दोलनमा महिलाहरु नानी बोकेर पनि लडेको बताउनु भयो । जनयुद्धमा महिलाहरु संघर्ष गरे,जनयुद्ध र जनआन्दोलनको बलमा राजतन्त्र गएको भए पनि सुशासन कायम हुन नसकेको कारण जेनजी आन्दोलन भएको कुरा राख्नु भयो । एसिया कोओर्डिनेटर दूर्गा पौडेलले नेपाली महिलाहरु अंग्रेजहरुसँगको नेपाली युद्ध नालापानीको युद्धमा महिलाहरुले वीरतापूर्वक लडेको बताउनु भयो । त्यसयताको राजनैतिक परिवर्तनको संघर्षमा महिलाहरुको अत्यन्तै ठूलो योगदान रहेको पनि वहाले बताउनु भएको थियो ।

अन्तमा कार्यक्रममा साम्राज्यवाद परास्त गर्न प्रस्तावहरु पारित भयो । प्रस्तावहरु पारित भए पछि सबै सहभागीहरुको गडगडाहट तालीको साथमा हामीले साम्राज्यवाद परास्त गर्न सक्छौं भन्दै समापन भएको थियो । नोभेम्बर २६ का दिन आइकोर अन्तर्गतका महिलाहरुको दोस्रो सम्मेलन भएको थियो । सम्मेलनमा हाम्रो संगठनको पनि सहभागिता रहेको थियो । विभिन्न कारणले गर्दा यो सम्मेलनमा केही समय ढिलो पुगेकी थिए । सुकुण्डापार्टी प्यालेश कपन भंगालमा यो कार्यक्रम रहेको थियो । कार्यक्रमस्थल यो भन्दा पहिले नगएको कारण थाहा थिएन गाडीमा जाँदा शुरु हुने समय भन्दा केही ढिलो पुगेँ । त्यहाँ संसारभरबाट आउनु भएका महिलाहरुको उपस्थिति थियो । हाम्रो संगठनका साथीहरु पनि उपस्थित भइसक्नु भएको थियो । म पुग्दा कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा ढिलो पुग्दा मलाई कार्यक्रमको सबै कुराहरु बुझ्न असजिलो भइरहेको थियो । कार्यक्रममा साथीहरु सहभागी भइरहनु भएको थियो । कार्यक्रम निकै शान्त र सौहार्दतापूर्वक चलिरहेको थियो । त्यहाँ भाषाको समस्या समाधान गर्न अनुवादको व्यवस्था गरिएको थियो । एकै चोटी धेरै भाषाहरुमा अनुवाद हुने व्यवस्था मिलाइएको थियो । अनुवाद गर्दा ठ्याक्कै प्रयोगहुने शब्दहरुको प्रयोगको अभाव पनि देखिएको थियो । म पुग्दा कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा महिलाहरु आ आफ्नो मत राखिरहनु भएको थियो । कार्यक्रममा सिरियाबाट आउनु भएका प्रतिनिधिले महिलाहरुको अवस्था निकै नाजुक हुँदै गएको बताउनु भयो । वहाँले महिला शोषण र विना ज्यालाको घरको काममा महिलाहरु सहभागी हुन परिरहेको कुरा राख्नु भयो । महिला माथि यौन हिंसाका घटनाहरु बढिरहेको बताउनु भयो वहाँले विश्व महिला आन्दोल कमजोर हुँदै गएको कुरा राख्नु भयो ।

इन्डियाबाट आउनु भएका प्रतिनिधिले आइकोरको सम्मेलनलाई बधाइ दिनु भयो । वहाँले संसारभरमा नै मुक्ति आन्दोलन चलिरहेको बताउनु भयो र महिलाहरु एकताबद्ध भएर लड्नु पर्ने कुरामा जोड दिनु भयो । दक्षिण अफ्रिकाबाट आउनु भएका प्रतिनिधिले दक्षिण अफ्रिकामा महिला माथि लैंगिक हिंसा अति चर्को रुपमा रहेको छ भन्नु भयो । यो सम्मेलनले महिलाहरुको समान कामको समान जयालाको कुरा , महिला नेतृत्व विकासको कुरालाई गम्भीरता पूर्वक छलफल गर्नेछ भन्दै यो सम्मेलनले संसारभरका महिलाहरुलाई एकताबद्ध बनाउने छ भन्ने धारणा राख्नु भएको थियो । वहाँले संसारभरका महिलाहरुमाथि हुने हिंसा फरक रुपमा भए पनि सारमा एकै प्रकारको रहेको बताउनु भयो । जर्मनीबाट आउनु भएका प्रतिनिधिले महिला उत्पीडनका विरुद्ध लाग्नु पर्ने धारणा राख्नु भयो । वहाँले महिलाहरुलाई भावनात्मक रुपमा पनि शोषण भइरहेको बताउनु भयो । वहाँले महिलाहरु समान ज्यालाबाट पनि वञ्चित भएको बताउनु भयो । यसकोलागि महिलाहरुले उचितप्रकारले संघर्ष गर्नु पर्ने बताउनु भयो । श्रीलंकाबाट आउनु भएका प्रतिनिधिले अहिले श्रीलंकामा राजनीतिक परिवर्तन भएको छ ,सरकार परिवर्तन भएको छ । यो अवस्थामा गार्मेन्टहरुमा काम गर्ने महिलाहरुको अवस्था निकै नाजुक हुँदै गएको छ । महिलाहरुले घर भित्रै काम गर्दा दिन बित्छ तर पारिश्रमिक मिल्दैन यस्तो अवस्थामा हामीेले संघर्ष गर्नु पर्ने अवस्था छ भन्ने धारणा राख्नु भयो । टर्की बाट आउनु भएका प्रतिनिधिले हामी महिला हौं । महिला स्वतन्त्रता चाहिन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अत्यन्तै कमजोर छ । हाम्रो एकता चाहिन्छ भन्ने धारणा राख्नु भयो । दक्षिण अफ्रिकाका प्रतिनिधिले दक्षिण अफ्रिकामा महिलाहरु आर्थिक कठिनाइँसँग जुधिरहेको बताउनु भयो ।

अन्त्यमा

सैद्धान्तिक सेमिनार वरिपरि यी कार्यक्रमहरु भए । यी कार्यक्रम र सैद्धान्तिक सेमिनारमा सहभागी हुँदा मलाई निकै उत्साह आयो । यी कार्यक्रमहरुमा संसारभरका महिलाहरु देश फरक भए पनि भावना एकै छ भन्ने देखिएको थियो । महिलाहरुले अत्यन्तै गहिरोसँग महिला अधिकार,महिला समानता र मुक्तिकोलागि,कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्था स्थापनाकोलागि आवश्यक सैद्धान्तिक ज्ञानको वृद्धि, विकासमा छलफल गर्ने अवसर मिल्यो । महिलाहरुले साम्राज्यवादलाई परास्त गर्नेछौं भनेर मानव मुक्तिको खोजी गरे ।

कार्यक्रममा श्रमजीवि महिलाहरुले विभिन्न सामानहरु हातैले बुनेका कोही उत्पादन गरेका समानहरु बिक्री गर्नु भएको थियो । बाहिर स्टल नै राखेर पनि विभिन्न खानाका परिकारहरुका साथै खाद्य सामानहरु राखिएको थियो । महिला आन्दोलन र समाजवादी आन्दोलनसँग सम्बन्धित पुस्तकहरु पनि बिक्रीकालागि राखिएको थियो ।
जब सबै कार्यक्रमहरु सकियो, तब सहभागीहरु आ–आफ्नो योजनामा ,गन्तव्यमा जाने बेला भयो, सबैले सामानहरु लिँदै विदा भनेर हात हल्लाइरहँदा मुहार निकै मलिनो देखिन्थ्यो । तर जानु त पर्ने नै थियो, छुट्टिनु त पर्ने नै थियो । मानव मुक्ति आन्दोलनमा फेरि फेरि पनि सबैसँग भेट हुनेछ भन्ने मैले मन मनमा सोचिरहेँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित