काठमाण्डौ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले माघ १९ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ आयोजना गर्न लागिएको जनाएको हो । प्रतिष्ठानले पहिलो पटक आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव माघ २५ देखि २७ गतेसम्म हुनेछ । महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने छ ।
महोत्सवमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्षमा समेत छलफल हुनेछ ।

