शहिद टंक भूसालको जीवनी

पिताम्बर भट्टराई
शहिद टंक भूसाल अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा मैदान बुवा जीवलाल भूसाल आमा केसवती भूसालको कोखबाट २०११ पुस महिनाको १ गते जन्मनु भएको थियो । वहाँका जेठा दाजु तेजनाथ भुसाल, भाइ युवराज भुसाल, दिदी मेनुका वेसावती र बहिनी पशुपति भूसाल हुनुहुन्छ । वहाँका बुवाले किसान पेसा गर्नु हुन्थ्यो । त्यो मात्र नभएर त्यस क्षेत्रका कहलिएका ज्योतिष पनि हुनुहुन्थ्यो । टङक भूसालको निम्न मध्यम वर्गीय परिवार थियो । वहाँले प्राथमिक शिक्षा अर्घा रजस्थल र आफ्नै बुवाबाट पढ्नु भएको थियो । माध्यमिक परीक्षा जनज्योति हाइ स्कूलबाट लिनु भएको थियो ,एसएलसी पास हुनु भएको थियो ।टङक भूसालको विवाह २०३६ सालमा २५ वर्षको उमेरमा अर्घाखाँची केरुङ्मा निवासी विष्णुप्रसाद खनाल तथा द्रुपद खनालकी सुपुत्री सरस्वती खनालसँग भएको थियो । २०२८÷२९ सालतिर अर्घाखाँचीमा ने.क.पा.चतुर्थ महाधिवेशन पक्षधर र पुष्पलाल समुहबीचमा ठूलो संघर्ष चलिरहेको थियो । जनज्योति हाइस्कूलमा तत्कालीन समयमा चौथौ महाधिवेशन पक्षधर सम्पूर्ण शिक्षकहरुले सामुहिक राजीनामा दिएको कारण विद्यालयको तत्कालीन समस्या समाधान गर्नुको बदला शिक्षकहरुको राजीनामा स्वीकृत गरी पुष्पलाल समुहले विद्यालय कब्जा गरी पुष्पलाल पक्षधर शिक्षकहरु नियुक्ति गरेका थिए । चतुर्थ महाधिवेशन पक्षधर कतिपय विद्यार्थीहरु पुष्पलाल समुहबाट गरिने राजनैतिक दबाब सहन गर्न नसकी स्कूललै छाडेर हिडेका थिए । तर टङक भूसालले भने प्रतिरोध गरी आफ्ना समुहको विद्यार्थीको नेतृत्व गरी संघर्ष गर्दै एसएलसी सम्म अध्ययन गर्नु भयो । वहाँ विद्यार्थी अवस्थादेखि नै संघर्षशील हुनुहुन्थ्यो ।
तत्कालीन समयमा एसएलसी भन्दा माथि अध्ययन गर्न अर्घाखाँचीमा नभएको र बाहिर गई अध्ययन गर्ने परिस्थिति नमिलेका कारण औपचारिक शिक्षा एसएलसी भै स्थगन गरी अर्घा रासी चौर विद्यालयको शिक्षक भइ अध्यापन गर्न शुरु गर्नु भयो । अनौपचारिक शिक्षा माक्र्सवादी शिक्षा अध्ययन गर्दै जानु भयो । तत्कालीन चतुर्थ महाधिवेशनका नेता खुवीराम आचार्यबाट पनि पछि प्रशिक्षित हुँदै जानु भएको थियो ।
सामाजिक कार्य
समाज सेवामा टङक भुसाल निकै सक्रिय हुनुहुन्थ्यो । गाउँमा कोही बिरामी परेमा ,मर्दा,पर्दा, भैसी किनबेच गर्दा, बाटो खन्दा, पधँेरो सोहोर्दा जनताका काममा हरबखत तल्लीन रहनु हुन्थ्यो । टङक भुसाल र शोभाखर आचार्यको सक्रियतामा अर्घाराशी चौरमा तत्कालीन विद्यालय भवन पनि निर्माण गरिएको थियो । म पिताम्बर भट्टराई २०३६÷३७ तिर गच्छे बजारमा मेडिकल हल संचालन गरेर स्वास्थ्य सेवा दिइरहेको थिए । टंक भूसाल र म राजनीतिक आस्थाको कारणले एकै ठाउँ थियौं । गाउँमा कोही बिरामी पर्ना साथ वहाँ मलाइ लिन आउनु हुन्थ्यो । म वहाँ सँगै बिरामीको घरै पुग्थें । निःशुल्क सेवा दिएर बिरामीको उपचार गथ्र्यौं ।वहाँ समाजमा आँखाको नानी जस्तै प्यारो बन्नु भएको थियो ।


संघर्ष –रक्सी बिक्री बन्द गर्ने कार्यक्रम
अर्घा मैदानमा वर्षें दशैंको पूर्णिमामा राष्ट्रिय मेला लाग्छ । त्यहाँ मेला हेर्न हज्जारौं हजार मान्छे जम्मा हुन्छन् । पहिले त्यहाँ व्यापक रुपमा मदिरा बिक्री गरिन्थ्यो । मदिराले अनेक किसिमका विकृति ल्याउँदथ्यो ।रीसइवी भएका मान्छेहरु आपसमा कुटपिट गर्थे । कसैले महिलाहरुका गहना लुट्थे इज्ज्यत लुट्थे ,पसल लुट्थे, यस्तो अनेक समस्या हुन्थ्यो । नेकपा चतुर्थ महाधिवेशन अर्घाखाँचीले उक्त पूर्णिमामा अर्घा मेलामा मदिरा बेचविखन गर्न नदिने कसैले अटेर गरेमा प्रतिरोध गर्ने सूचना जारी गरेको थियो । एरिया पार्टी सेक्रेटरी टंक भूसालको सक्रियतामा र अनेरास्ववियु छैठौंको नेतृत्वमा थुप्रै युवाहरु उक्त कार्यमा सहभागी र सक्रिय विरोध गरिरहेका थिए । रक्सी ठेकेदारहरुले पनि रक्सी विरोधको प्रतिरोध गरी गुण्डाहरुको परिचालन गरेका थिए । प्रशासनको तर्फबाट पनि प्रहरीहरुले ठेकेदार पक्षलाई साथ दिइ रहेका थिए ।क्रान्तिकारी युवाहरु र गुण्डाहरुको बीचमा ठूलो साङघातिक भिडन्त भयो । कैयौं युवाहरु घाइते भए । अन्ततः युवाहरुको रक्सी विरोधी अभियानले सफलता पाएको थियो । उक्त मेलामा हाल जिल्ला प्रशासन कार्यालयले नै मदिरा बेच्न रोक लगाउँदै आएको छ ।
गुठी काण्ड
अर्घा भगवति मन्दिरको गुठी बाजा बजाउने ,वलि चढाउने नित्य पूजा गर्ने जस्ता विविध कामकोलागि वेलटारी गुठी थियो ।त्यो सम्बन्धित किसानले उपभोग गर्न पाएका थिएनन् । फटाहाहरुले उपभोग गर्थे । गुठी भने किसानहरुले तिर्नु पथ्र्यो र त्यो प्रक्रियाको विरोध गर्दै उक्त वेलटारी खेत सम्बन्धित किसानले धान काटी स्याहारी वितरण गर्ने काम टंक भूसालको नेतृत्वमा भएको थियो । खेतालाहरुलाई उचित ज्यालाको आवाज उठाउन पनि टंक भूसालले प्रोत्साहन गर्नु भएको थियो ।
शिक्षक शिक्षक संघर्ष
उहाँका भाइ युवराज भूसालबाट प्राप्त जानकारी अनुसार टंक भूसाल शिक्षक संघको जिल्ला सदस्य हुनुहुन्थ्यो र २०३६ मा आएको शिक्षक संघर्षमा सक्रिय भाग लिनु भएको थियो । २०३९सालमा पञ्चायती स्थानीय निर्वाचन थियो । ने.क.पा. चतुर्थ महाधिवेशनले उक्त पञ्चायती निर्वाचन बहिस्कार गरेको थियो । पार्टीको आयोजनामा अर्घाखाँची जिल्लाको कुनै ठाउँमा बृहद भेला भएको थियो । टंक भूसाल पनि भेलामा सहभागी रहनु भएको थियो । भेलाको अनुसार बहिस्कारको लागि गरिने विविध कार्यक्रम लिएर उहाँ घर फर्कनु भयो । जिल्लाभरि एकैदिन मसाल जुलुश र पञ्चायती सरकारले गराउँदै गरेको चुनावको विरोधमा व्यापक नारा बाजी र मसाल जुलुस भएको थियो । अर्घामा पनि मसाल जुलुस र नारावाजी भएको थियो ।
पकडझकड
उक्त मशाल जुलुस नाराबाजीबाट अत्तालिएको पञ्चायती सरकारले जिल्लामा गिरफ्तारीको क्रम अघि बढ्यो । ।अर्घातोस क्षेत्रबाट अनेरास्ववियु छैठौंका इश्वरी बन्जाडे अर्घाबाट वयोवृद्ध खुवीराम आचार्य ,टंक भुसाल, कमल भूसाल सन्धिखर्कबाट गुणनीधि भुसाललाई पक्रेर प्रहरी कार्यालयमा थुन्यो । स्मरण रहोस टंक भूसाल विद्यालयबाट घर आउनासाथ कपडा नखोल्दै पक्रेको थियो। जाँदा जाँदै वहाँले घर परिवारलाई सान्तवना दिएर आफुलाई तुरुन्तै छाडिसक्ने बताउनु भएको थियो ।
यातना तथा हत्या
त्यो बेला अर्घाखाँची सन्धिखर्कमा प्रहरी कार्यालय प्रहरी प्रमुख इन्स्पेक्टर रहन्थ्यो । प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर नवराज बहादुर सिंह थियो । उसले क्रमशः वृद्ध खुवीराम, विद्यार्थी इश्वरी भूसाललाई अंगभंग हुनेगरी पिटेपछि टंक भूसाललाई उसले रक्सीले मातेर पिट्न शुरु ग¥यो । पिट्दै टंक भूसाललाई त्रास देखाइ पार्टीको पोल खोलाउन चाहेको तर टंक भूसालले दृढ क्रान्तिकारीता प्रदर्शन गरी इन्स्पेक्टरसँग नडराइ उसको मुखमा ओठे जवाफ दिएपछि इन्स्पेक्टरले पिटी पिटी २०३९ जेष्ठ २ गते मारेको थियो र गुणनीति भूसाललाई पनि यातना दिएको थियो ।टंक भूसाल ग्रामीण सामन्तहरुसँग निरन्तर संघर्ष गरेकोले सामन्तहरुले बदला लिन प्रशासन समक्ष बढाइचढाइ चुकली लगाउने र टङ्क भूसालले इन्स्पेकटर सामु पोल खोल्नुको बदला उच्च क्रान्तिकारीता प्रदर्शन गरी इन्स्पेक्टरसँग नडराइ उसको मुखमा ओठे जवाफ दिएपछि नै उहाँको हत्या भएको थियो । उहाँले पार्टीको पोल खोल्नु भएको भए अवश्य जीवनदान पाउनुहुन्थ्यो । तर उहाँले त्यसो गरेर बाँच्न चाहनु भएन ।
दाहसंस्कार
हत्यापछि हत्यारा प्रशासनले जिल्लामा अञ्चलाधीशलाई बोलायो । अञ्चलाधीश कार्यालय लुम्बिनीबाट सहायक अन्चलाधीश अर्घाखाँची आयो । ३ गतेको राति एकान्त घाटमा लगेर दाहसंस्कार गर्ने षडयन्त्र भयो तर तत्कालीन जिल्ला पञ्चायत सभापतिले जनविरोधको कारणले विरोध गरेपछि सम्भव हुन सकेन । तेस्रो दिन प्रहरी प्रमुख इन्स्पेक्टर कार्यालयका अगाडि ठूलो भीड जम्मा भयो नाराबाजी भयो । तत्कालीन अर्घाखाँची प्रजिअले नाटक गरेर रुँदै आफु दुःखी भएको अभिनय गरे यो अभिनय उनको भीड शान्त गर्नको लागि थियो इन्स्पेक्टरलाई ज्यान मार्ने अभियोगमा कारवाही गर्ने आश्वासन दिएपछि पनि जनता आश्वस्त हुन सकेनन् । जिल्ला प्रहरी कार्यालयमा भीड प्रवेश गरी टंकको शव बाहिर निकालेर नाराबाजी गर्दै बजार प्रदर्शन गरी दाहसंस्कार चुत्रावेशीमा गएिको थियो।
शालिक निर्माण
अर्घाखाँचीका जनताको आर्थिक व्यापक सहयोग र राजमोको पहलमा सन्धिखर्कको शान्ति बगैंचामा टंक भूसालको शालिक स्थापना भएको छ । हरेक वर्षको जेष्ठ २ गते शिक्षक संगठनहरुको आयोजनामा शहिद टंक भुसालको सहिद दिवश सन्धिखर्क शान्ति बगैंचामा मनाउँदै आएको छ । तत्कालीन नेकपा मशालको प्रयास स्वरुप सरकारले टंक भूसालको नामको सूचिमा समावेश गरेको छ ता पनि उहाँको श्रीमती सरस्वती भूसालले सरकारी सुविधा सहयोग केही पाउनु भएको छैन । कष्टकर जीवन बिताउँदै आउनु भएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित