मनु वि.क.
फोहोरको विषय जहिल्यै निकै जोडतोडका साथ उठ्ने गर्दछ । फोहोर अहिले शहर बजारको विकास सँगै विकास र विस्तार हुँदैछ । फोहोर अहिले सबैतिर पुगिरहेको छ । फोहोर कुहिने प्रकारको फोहोरहरु प्रकृतिमा केही समयको अन्तरालमा आफै कुहिएर विसर्जन हुन्छन् । नकुहिने प्रकारका फोहोरहरु धैरै बढेको छ । फोहोर व्यवस्थापनकोे चुनौती आफूलाई निकै शक्तिशाली ठान्ने मुलुकहरुलाई गाह्रो विषय बन्दै गइरहेको छ ।
काठमाडौँ उपत्यकाको फोहोर फाल्ने बन्चरे डाँडामा स्थानीयले फोहोर फाल्न पटक पटक अवरोध गर्दछन् । काठमाडौँका चोकचोकमा फोहोर थुिप्रने, दुर्गन्ध फैलिने डर र सडकमा हिंड्दा पनि मुख थुनेर हिँड्नु पर्ने हुन्छ । त्यस्तै अन्य नगरपालिका गाउँपालिकाहरुले पनि फोहोर व्यवस्थापनको चुनौती भौग्दै आएका छन् । ल्यान्डफिल साइटको विवादले पोखराको फोहोर नउठेर समस्या छ । फोहोरको विषय अत्यन्तै जटिल विषय हो । एक छिन मात्रै पनि ती फोहोरहरु व्यवस्थित गर्न नसक्दा तिनीहरुले मानव स्वास्थ्यमा निकै असर पार्दछ । प्रकृतिमा उत्पादन भएका फोहोरहरु प्रकृतिमा नै कुहिएर जान्छन् तर मानवले निर्माण गरेका प्लाष्टिक जन्य फोहोरहरु तथा सिसा कुनै पनि हालतमा कुहिँदैनन् । चाहे तिनी मानिसले लगाउने जुत्ताका होउन् चाहे ती मानिसलाई गुडाउने गाडीका होउन् ती फोहोरहरुले सुन्दर पृथ्वीको माटोलाई निकै असर गरिरहेको छ । अहिले उद्योगहरुबाट उत्पादित खाद्यपर्दाथहरुमा प्रयोग हुने प्लाष्टिक देखि लिएर चाउचाउ विस्कुट ,मिठाइका कागजका खोलहरु देखि लिएर सूर्ती जन्य पदार्थका खोलको रुपमा प्रयोग भएका प्लाष्टिक कागजहरु जताततै लथालिंग अवस्थामा छन् ।
मानव सृजित फोहोरलाई मानिसले नै व्यवस्थापन गर्नु पर्दछ । फोहोर व्यवस्थापन गरिएन भने तत्कालीन र दीर्घकालीन असर पर्दछ । फोहोर आफै सिर्जना हुने कुरा हैन मानव व्यवहारका कारण फोहोर बढेको हो । अव्यवस्थितरुपमा बसोबास, शहरीकरण,औधोगिकरणले फोहोर बढाइरहेको छ । औधोगिक सामानहरुको अत्यधिक प्रयोग, स्थानीय उत्पादनमा वेवास्ता,मानव वस्ती कहाँ राख्ने र कहाँ नराख्ने भन्ने कुनै योजना नहुनु, सरसफाईमा मान्छेले पर्याप्त ध्यान नपु¥याउनु, फोहोरको असरको बारेमा जानकारी नहुनु, स्थानीय तह, राज्य संरचना र केन्द्रीय सरकारले फोहोरको गम्भीरतालाई ध्यान नदिनु, जहाँ पायो त्यहीँ फोहोर फाल्ने गलत आनिबानी, फोहोरको पृथकीकरण नगर्ने अर्थात कुहिने र नकुहिने फोहोर नछुट्टाउने जस्ता कारणले गर्दा फोहोरको समस्या गम्भीर बन्दै गएको छ ।
फोहोर व्यवस्थापन बारे कक्षामा पढ्नु पर्दछ । यो भन्दा झण्डै २५ वर्ष अगाडि देखि कक्षाका किताबहरुमा फोहोर व्यवस्थापन बारेमा कक्षामा पढाइ हुने गर्दछ । कक्षाहरुमा पढाइ भए पनि फोहोरको मात्रा बढेको बढ्यै छ । फोहोरको मात्रा बढ्दा माटोलाई असर गरिरहेको छ । कुहिने फोहोर त केही समय पछि कुहिएर जान्छ तर नकुहिने फोहोरहरु जस्तै,सिसा, प्लाष्टिक, घर निर्माण गर्दा निस्केका नकुहिने प्रकारका फोहोरहरु निकै जटिल बनेको छ ।
फोहोर व्यवस्थापनको लागि दीर्घकालीन योजना बन्नु पर्दछ । त्यसका लागि पहिलो काम घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी फरक फरक भाँडोमा राख्नु पर्दछ । कुहिने फोहोरलाई घरमा नै सडाएर कम्पोष्ट मल बनाउने र आम रुपमा गमला खेती गर्ने र उत्पादित कम्पोस्ट मल प्रयोग गर्ने बानीको विकास गर्ने हो भने फोहोरको झण्डै आधा समस्या समाधान हुन सक्छ । त्यसका लागि महानगर, उपमहानगर र नगरपालिका, वडा, टोल विकास संस्थामा छलफल चलाउनु पर्दछ । अर्को उपाय नगरपालिकाले फोहोर प्रशोधन गरेर मल उत्पादन गर्ने, फोहोरबाट ग्याँस निकाल्ने, विजुली निकाल्ने जस्ता फाइदाजनक काम गर्न सक्दछ । अर्को उपाय, फोहोर भनिएका चिजलाई पुनः प्रयोगमा ल्याउन ध्यान दिनु पर्दछ । नसड्ने चीजहरूलाई तिनीहरूको प्रकृति अनुसार अलग्गै छुट्टाएर रिफाइनिङ गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
फोहोरको व्यवस्थापनमा कुनै एक व्यक्ति, संस्था, समाजले पहल गरेर हुने देखिँदैन । गर्न खोजेर सम्भव पनि हुँदैन । फोहोर अहिले सफा मानिएका गाउँघर जताततै पुगेका छन् । जहाँ पनि नकुहिने फोहोर प्लाष्टिक जन्य फोहोर भरिएको छ । पहिले सफा रहने खोल्सा खोला खोँच जहाँ पनि फोहोरको डङ्गुर मात्रै देखिन्छन् । नसड्ने सामानहरू जताततै छन् । प्लाष्टिक र सिसा जन्य फोहोरले शहर गाउँको सुन्दरतालाई मेटाएको छ । मानवको चेतना स्तरलाई, मानवको फोहोर प्रतिको वेवास्ता गर्ने बानीलाई देखारहेको छ । यहाँको स्थिति केहो भनेर हेर्दा कुनै गाउँमा वा शहरमा जानु पर्दैन त्यहाँको कुनै एक ठाउँको चोकमा हेर्दा थाहा हुन्छ ।
फोहोरलाई व्यवस्थापनको विषयमा नेतृत्वहरुको खासै ध्यान जान सकेको छैन । राजनैतिक दलहरु र तीनका नेताहरुमा यो विषयलाई गम्भीरतापूर्वक लिने र त्यो सम्बन्धी योजनाहरु पेश गरेको खासै पाइँदैन । अहिले चुनावको माहोल छ चुनावमा फोहोरलाई व्यवस्थापको विषयमा दलहरुको घोषणा पत्रमा कुनै बुँदा नै पर्दैन । विगतमा पनि चुनावहरु हुने र जितेर आउने तर यो सम्बन्धी केही योजना नबन्ने भएका कारण फोहोरको विषय खास बन्न सकेको छैन ।
फोहोर मानव जीवनका लागि अति हानीकारक छ । मानवले यो विषयमा ध्यान नदिने हो भने तत्कालै र दीर्घकालमा असर पार्न सक्छ । माटो र वातावरणमा असर पार्न सक्छ । फोहोर गाउँ र शहर सबैको चिन्ताको विषय बनिरहेको छ । शहरको ठूलो समस्या अहिले फोहोर रहेको छ । काठमाडौँको ठूलो समस्या फोहोर व्यवस्थापन रहेको छ । काठमाडौँको फोहोर व्यवस्थापनको स्थान सिसडोल तथा बञ्चरेडाँडामा स्थानीयको पटक पटक अवरोेध हुँदा उनीहरूका मागको सुनुवाई नहुँदा फोहोरका गाडीहरू फर्किएका हुन्छन् । शहर बासीको फोहोर घरमै महिनौँ सम्म रहने स्थिति रहेको छ । विगतमा पनि यस्तो हुने गरेको थियो । फोहोर अब धान्नै नसक्ने अवस्थामा पुगेको स्थिति आउन थालेको छ । यसका लागि फोहोरको दीर्घकालीन व्यवस्थापनमा सबैको ध्यान जानु पर्दछ । फोहोर कम गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
अहिले शहरीकरण जुन भएको छ त्यो निकै अव्यवस्थित छ । शहरीकरण गर्दा ,घरहरु निर्माण गर्दा करेसाबारी राख्ने गरी घरहरु बनाउने ,कोचाकोच गरेर बनाउन भवन नक्सा पास नदिने । सकेसम्म फोहोर कम गर्ने बानी बसाल्ने, सामानहरु खरिद गर्दा पहिले ल्याएका थैलीहरु नै प्रयोग गर्ने, एक चोटी ल्याएको थैलीलाई नफाट्दा सम्म उही नै प्रयोग गर्ने, सकभर लामो समयसम्म प्रयोग गर्न सकिने खालको झोलाहरु प्रयोग गर्ने, जुटको वा कपडाको झोलाहरु प्रयोग गर्ने, सकेसम्म घरमै बनेका खानेकुराहरुको सेवनमा जोड दिने । (यसो गर्दा बाहिरको प्लाष्टिकहरु घरमा आउँदैनन्) बच्चाहरुलाई घरको खाना खाने बानीको विकास गराउने । (यसो गर्दा पछि सम्म बच्चाले प्रयोग गर्ने प्लाष्टिकको मात्र कम हुन्छ ।) उद्योग कलकारखानाहरुलाई आफुले उत्पादन गरेका सामानहरु प्रयोग गरेर नचाहिने भए पछि तिनीहरु उद्योगमा नै फिर्ता गर्ने तरिका अपनाउन बाध्य पार्ने । त्यसो भएमा उत्पादित फोहोर बनेका वस्तुहरु कम्पनीहरुमा नै जान्छन् र पुनः प्रयोग हुन्छन् । उद्योग कल कारखानाबाट निस्केका सामग्रीहरु सकभर स्वदेशको नै प्रयोग गर्ने । अहिले हाम्रो देशमा दाँत माझ्ने मञ्जनदेखि औषधीहरु सबै अर्काको देशबाट आउँछ,हाम्रो देशले प्रयोग गरिसकेपछि तिनका खोल, सिसाहरु यसै फाल्नु पर्दछ । ट्रकका ट्रक सामानहरु शहरमा पस्दा तिनीहरुले शहरलाई प्रदूषित गर्ने फोहोरहरु पनि ओसारिरहेका छन् ।
यदि उद्योगहरु आफ्नै देशमा छन् र तिनीहरुले खोल र सिसाहरु लैजाने हो भने फोहोर कम हुन्छ । त्यस्तै विदेशी ब्राण्डका रक्सीका बोटलहरु यसै जता ततै फालिएका हुन्छन् । अहिले मदिरा सेवन नगर्ने मानिस पाउन गाह्रो छ । मदिरा सेवन गरिसकेपछि सिसाहरु जताततै फालिएका हुन्छ । यसले माटोलाई निकै असर गरेको हुन्छ ,तिनीहरु कुहिन सक्दैनन् । बगेर खोलामा गए भने पानीको बगाइमा टुक्रिएर पानीमा नै सिसाको मात्रा बढ्ने र सबै जलचरलाई असर गर्दछन् । सिसाजन्य वस्तुहरुको प्रयोगमा कमी ल्याउने बानी बसाल्ने ।
कुहिने र नकुहिने फोहोर छुट्याउने, घरमा नै फोहोर छुट्याएर कुहिने फोहोरबाट मल बनाएर उत्पादन बढाउने । नकुहिने फोहोरहरुलाई फलाम,सिसा,प्लाष्टिकहरुलाई छुट्याउने। त्यसलाई पगालेर नयाँ प्रकारले प्रयोग गर्न सकिन्छ । नागरिकहरुले घरमा छुट्याउन नसकेका फोहोरहरुलाई संकलन केन्द्रहरुमा छुट्याउने र बिक्री गर्ने वा पुनः उत्पादन गरी पुन प्रयोग गर्ने । अहिले कुहिने र नकुहिने फोहोरहरु एकै ठाउँमा कोचेर राखेको देखिन्छ । कुहिने फोहोर छुट्याएर करेसाबारीलाई मल बनाउने,नकुहिने फोहोरलाई पनि बिक्री हुँदासम्म छुट्याएर बेच्ने,नकुहिने फोहोर संकलन गर्न र कुहिने फोहोर संकलन गर्न संकलनकर्मी आउँदा छुट्टा छुट्टै बारमा आउने । त्यसो भएमा छुट्टाछुट्टै बारमा छुट्टा छुट्टै फोहोर संकलन हुन्छ । स्थानीय स्तरमा कुहिने फोहोर जम्मा गर्ने केन्द्र बनाउने र त्यो मलको रुपमा बिक्री गर्ने । फोहोर कम गर्ने बानीको विकास गराउने । सकभर अनावश्यक उपभोगलाई निरुत्साहित गर्ने ।
यसो गरेमा फोहोरहरु केही कम गर्न सकिन्छ कि? फोहोर मुक्त पृथ्वी,गाउँ शहर बनाउन सबैले हृदयदेखि नै ध्यान दिउँ । किन कि पृथ्वी सुन्दर बन्न चाहन्छ ,गाउँशहर सुन्दर बन्न चाहन्छ ।
फोहोर कम गर्ने उपायहरु
Comments

