– खेम थपलिया,लेखक तथा साहित्यकार
महाभारतको युद्ध सकिएपछि एक दिन युद्धमा आ–आफूले देखाएको वीरताको बखान गर्दै कृष्णसँगै पाण्डवहरू बर्बरिक भएको ठाउँतिर गइरहेका थिए । कृष्ण भने केही बोलिरहेका थिएनन् । उनी चुपचाप पाण्डवहरूका गफ सुन्दै थिए । उनीहरू आफूले यसरी वाण चलाएर सत्रुलाई सखाप पारेको, यसरी गदा हानेर मारेको, यसरी तरबार युद्ध गरेको जस्ता आदि इत्यादि अनेक फुर्तीफार्तीका साथ कुरा गरिरहेका थिए । त्यसपछि नजिकै रहेका पाण्डवहरूका गफ सुनिरहेका बर्बरिकलाई खुब हाँसो उठ्यो । बर्बरिक बेस्सरी हाँस्यो । एकाएक बर्बरिक त्यसरी हाँसेको देखेर एकछिन त पाण्डवहरू पनि अचम्मित भए । त्यसपछि टाउको काटिएर युद्ध हेरिरहेको स्थिर बर्बरिकलाई उनीहरूले सोधे– तिमी यसरी किन हाँसेको ? बर्बरिकले भन्यो– तिमीहरूको गफ सुनेर । उनीहरूले फेरि भने– के हामीले नचाहिँदो कुरा गरेका हौँ र रु बर्बरिकले भन्यो– चाहिँदो कुरा के थियौ र ? उनीहरूले फेरि भने– के हामीले युद्ध लडेनौँ ?त्यसपछि बर्बरिकले शान्त मुद्रामा भन्यो– तिमीहरू पनि थियौ र युद्धमा ? महाभारतको युद्धमा मैले त चारैतिर, जताततै कृष्ण नै कृष्णले मात्रै लडेको पो देखेँ त ! हतियारमा पनि सुदर्शन चक्र मात्र चलेको पो देखेँ त ! त्यसपछि पाण्डवहरू ट्वाँ ! कृष्ण मुस्कुराहटमा !

