काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल मेटा र यूट्यूब ‘दोषी’ठहर भएका छन् । बाल्यकालमा सामाजिक सञ्जालको लत लागेको भन्दै एक युवतीले मेटा र यूट्यूबविरुद्ध हालेको मुद्दामा लस एन्जलिसको एक अदालतले ती युवतीको पक्षमा अभूतपूर्व फैसला सुनाएको छ।
अदालतमा जुरीले मेटा र गुगलले नियतवश लत लाग्ने किसिमका प्ल्याट्फर्महरू बनाएको र त्यसले २० वर्षे ती महिलाको मानसिक स्वास्थ्यमा समस्या ल्याएको पाएको बताएको छ।उक्त मुद्दा हालेकी महिला केलीलाई क्षतिपूर्तिस्वरूप ६० लाख डलर उपलब्ध गराउन अदालतले आदेश दिएको छ।
अमेरिकाभरका अनेकौँ अदालतमा रहेका यस्तै मुद्दाहरूमा यो फैसलाको प्रभाव पर्ने ठानिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले बताए अनुसार मेटा र गुगलले त्यो निर्णयप्रति असहमति प्रकट गरेका छन् र पुनरावेदनमा जाने बताएका छन्। मेटाले भनेको छ–किशोरकिशोरीको मानसिक स्वास्थ्य जटिल विषय हो र त्यसको समस्या एउटा एपसँग मात्र जोडेर हेर्न मिल्दैन।
अदालतले केलीलाई ३० लाख डलर क्षतिपूर्तिस्वरूप र ३० लाख डलर दण्ड सजायका रूपमा यी कम्पनीहरूले उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ किनभने उनीहरूले आफ्ना प्ल्याट्फर्मम ‘दुर्भावना, उत्पीडन वा धोखाधडीको कार्य’ गरेको उनीहरूको ठहर छ। मेटाले क्षतिपूर्तिको ७० प्रतिशत र गुगलले ३० प्रतिशत हिस्सा बेहोर्नुपर्ने भनिएको छ।

