सन् २०२६ को मई दिवस ः श्रमिक अधिकारको इतिहास र वर्तमान

– नरेन्द्रबहादुर थापा
सदिऔँदेखि हरेक वर्ष मई १ तारिखका दिन विश्वभरि नै मनाइने “मई दिवस”लाई “अन्तर्राष्ट्रिय श्रमिक दिवस“का रूपमा ग्रहण गरिंदै आएको छ । सोही अनुसार यो वर्ष सन् २०२६ मा पनि यो दिवस मई १ तदनुसार वि. सं.२०८३ बैशाख १८ गते (शुक्रबार) का दिन परेको हुनाले यसलाई १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकोरूपमा मनाईदै छ । यो दिवस केवल एक उत्सव मात्र होइन,यो त श्रमिक वर्गको लगातारको संघर्षको परिणामस्वरुप प्राप्त हुन आएको अधिकार र उपलब्धिको प्रतीक पनि हो।
१.मई दिवस के हो ?
मई दिवस भनेको संसारभरिका श्रमिकहरूले प्राप्त गरेको हक र अधिकारहरुको लागि गरेका योगदान र संघर्षलाई कदर गर्ने ,सम्मान गर्ने र स्मरण गर्ने एउटा सुनौलो दिन हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय मजदुर दिवस “ International WorkersÚ Day” भनेर बुझिन्छ । यो दिन सुरु देखि अहिलेसम्म केवल दिवस मनाइएको मात्र होइन, संसारका श्रमिकहरूले गरेका ऐतिहासिक संघर्ष र त्यसबाट प्राप्त उपलब्धिहरूलाई सम्मान गर्ने प्रयोजनको लागि मनाइने गरिएको छ । यति मात्र पनि होइन । मई दिवस मनाउनुको मुख्य उद्देश्य हो– श्रमिकहरूका अधिकारहरू र प्राप्त उपलब्धिहरूको संरक्षण गर्नु, राम्रो काम गर्नको लागि उपयुक्त वातावरण सिर्जना गर्नु, श्रमिकहरूका लागि उचित पारिश्रमिक प्राप्तिको निम्ति संघर्ष गर्ने व्यवस्था मिलाउनु, आठ घण्टा कामको अधिकारहरूको सुनिश्चितता संरक्षण गर्नु आदि जस्ता विभिन्न विषयहरु रहेका छन् ।
१८औँ शताब्दीको अन्त्यतिर आइपुग्दासम्म औद्योगिक क्रान्तिका बेला श्रमिकहरू दिनको १२–१६ घण्टासम्म काम गर्न बाध्य बनाइएका थिए। त्यसको विरोधमा विश्वका श्रमिकहरूले आफ्नो हक र अधिकार प्राप्तिका लागि एउटा वारपारको निर्णायक आन्दोलन गरे । जसको परिणामले श्रमको क्षेत्रमा विश्वमा ठूलो परिवर्तन ल्यायो ।
२.“मई दिवस कहाँबाट कहिलेदेखि मनाउन सुरु भयो ?“भन्ने प्रश्नको जवाफमा बताउन सकिन्छ कि मई दिवसको इतिहास संयुक्त राज्य अमेरिकाको “शिकागो“ नामको शहरबाट सन् १८८६ मा सुरु भएको हो।
सन् १८८६ को मई १ मा हजारौं श्रमिकहरूले १६ घण्टाबाट ५०% समय घटाएर आठ घण्टा मात्र कामको समय माग गर्दै निर्णायक हड्ताल गरेर बिशाल जनप्रदर्शन समेत गर्दै आएका थिए ।त्यसपछि मई ४, १८८६ मा “ Haymarket Affair” भयो ।
३.यो Haymarket Affair भनेको श्रमिक आन्दोलनमा भएको एउटा घटनाको नाम हो । यसलाई सरल रूपमा बुझ्दा अमेरिकाको शिकागो सहरको कुनै एक “हेमार्केट स्क्वायर“ भन्ने ठाउँमा सन् १८८६ मई ४ मा भएको श्रमिक आन्दोलनको क्रममा हिंसात्मक घटना भएको थियो। त्यो ऐतिहासिक घटनाको नाम हो Haymarket Affair यो घटना के हो र कसरी भयो भन्ने विषयमा कुरा गर्दा श्रमिक आन्दोलनको क्रममा आठ घण्टा कामको माग गर्दै गरिएको एक सभामा बम विस्फोट र गोलीकाण्डहरू भए । प्रहरी र मजदुर दुवैतर्फ हाताहाती भए । केही श्रमिक नेताहरूलाई फाँसी दिइयो। Haymarket मा भएको यही श्रमिक आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाको नाम हो Haymarket Affair .
यस घटनामा प्रदर्शन हिंसात्मक बनेर धेरै मानिसहरू को ज्यान गयो । तथापि यस घटनाले विश्वभरको श्रमिक आन्दोलनलाई अत्यधिक प्रेरणा दियो ।
१८८० को दशक ( विशेषतः हाई मार्केट अफेयरभन्दा अघि) विश्वभरका श्रमिकहरूको अवस्था कठिन , असुरक्षित र शोषणपूर्ण थियो। औद्योगिक क्रान्तिले उद्योगधन्दा त तीव्र गतिमा वृद्धि ग¥यो , तर श्रमिकहरूको जीवनस्तर भने अत्यन्त दयनीय अवस्थामा रह्यो, जसलाई क्रमैसँग बुँदागत रूपमा उल्लेख गरिन्छ् ।
१. त्यतिबेलाका श्रमिकहरूको काम कठोर थियो र कामको समय लामो हुन्थ्यो। त्यस समयमा श्रमिकहरूले दिनको १२ देखि १६ घण्टासम्म काम गर्नुपर्दथ्यो। हप्तामा प्रायः सातै दिन काम गर्नुपर्दथ्यो । विश्राम, बिदा वा निश्चित कामको समयको कुनै व्यवस्था थिएन । अर्थात् ८ घण्टा काम भन्ने अवधारणा त्यतिबेला अस्तित्वमै थिएन ।
२. त्यतिबेलाका मजदुरहरूको ज्याला न्यून भएको कारण श्रमिकहरूको चरम गरिबी अवस्था थियो। तलब अत्यन्तै कम भएकोले परिवार पाल्न समेत कठिन हुने अवस्था थियो। महिला तथा बालबालिकाहरूलाई अझ कम ज्यालामा काम लगाइन्थ्यो ।
३. तत्कालीन समयमा महिला शोषणको ज्यादति थियो । बालश्रम शोषणमा पनि प्रतिबन्ध थिएन। उनीहरूलाई न्यूनतम ज्यालामा कारखानामा काम गर्न बाध्य बनाइन्थ्यो। खतरनाक मेसिनसँग काम गर्दा र दुर्घटना हुँदा पनि सामान्य मानिन्थ्यो । महिलालाई समान काममा असमान ज्याला दिइन्थ्यो।
४. कारखानामा कामको वातावरण असुरक्षित हुन्थ्यो । त्यहाँ सुरक्षा व्यवस्था लगभग शून्य हुने गर्दथ्यो । दुर्घटना ,आगलागी ,रोग (जस्तै फोक्सो सम्बन्धी रोग )व्यापक थियो । बिरामी वा घाइते हुँदा कुनै बीमा या अन्य कुनै सुविधा थिएन ।
५. श्रमिक अधिकारको त्यत्तिकै अभाव थियो । श्रमिकहरूका लागि कुनै श्रमिक कानुन थिएन । युनियन (सङ्घ) बनाउने अधिकार सीमित गरिएको वा निषेध गरिएको थियो । आन्दोलन गरेमा दमन गर्ने , गिरफ्तारी वा जागिरबाट निकालिने खतरा थियो ।
६. आवास र जीवनस्तर कठिन थियो। भिडभाडयुक्त र अस्वस्थ्य बस्तीमा बसोबास हुने गर्दथ्यो । सरसफाई र सफा पानीको अभाव थियो । रोग र मृत्युदर उच्च थियो ।
७. यही अन्यायपूर्ण अवस्थाका कारण श्रमिकहरूले आठ घण्टा काम, उचित ज्याला, सुरक्षित कार्यस्थल र मानवोचित व्यवहार जस्ता मागहरू राखेर संगठित सङ्घर्ष सुरु गरे ।
यिनै संघर्षको उत्कर्षमा गएर हाइ मार्केट अफेयर जस्ता घटनाहरु भए, जसले विश्व श्रमिक आन्दोलनलाई नयाँ मोड दियो।
पछि सन् १८८९ मा “ Second International ले मैइ १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा घोषणा ग¥यो ।
४. कतिऔँ दिवस हो (२०२६ मा)?
पहिलो अन्तर्राष्ट्रिय मई दिवस १८९० मा अन्तर्राष्ट्रिय श्रमिक दिवसकोरूपमा मनाइएको थियो। त्यस आधारमाःअहिले सन् २०२६ मा १३७ औँ अन्तर्राष्ट्रिय मई दिवसलाई श्रमिक दिवसकारूपमा मनाइँदैछ।
५.मई दिवस कसरी मनाइन्छ ?
मई दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा विश्वभर विभिन्न तरिकाले मनाइन्छः
श्रमिक र ट्रेड युनियनहरुका ¥याली, जुलुस, सभा,
ट्रेड युनियन अधिकारका लागि आवाज उठाउने कार्यक्रम,सरकारी बिदा , सम्मान कार्यक्रम र मजदुर नियुक्तिसम्बन्धी संवाद आदि कार्यक्रमहरू गरेर मनाइन्छ।
केही देशहरूमा यो दिवस मनाउन सांस्कृतिक कार्यक्रम, भाषण र श्रमिक सम्मान कार्यक्रम पनि गरिन्छ ।
६.मई दिवसको महत्व
मई दिवसको महत्व धेरै गहिरो छः किनकि यो दिवस श्रमिक एकताको प्रतीककोरूपमा स्थापित भएकोछ र यसले संसारभरिका कामदारलाई एकजुट बनाउन सफल भएको छ। यो दिवसले श्रमिकअधिकारको सम्झना गर्दछ र श्रमिकहरुलाई ८ घण्टा काम, न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अनुभुती दिलाउँछ ।
श्रमिक दिवसले सामाजिक न्यायको आवाज बुलन्द पारेर संघर्ष गर्दा समानता र सम्मानका लागि इतिहासबाट सिक्ने अवसर मिल्दछ र संघर्षले अधिकार ल्याउँछ भन्ने सन्देश प्रवाह गर्दछ ।
७ . मई दिवसको प्रभाव
अन्तर्राष्ट्रिय मई दिवसले विश्वमा ठूला परिवर्तन ल्याएको छः यही दिवसको प्रभावले गर्दा विश्वका श्रमिकहरूका लागि ८ घण्टा कामको व्यवस्था लागू भयो । अन्तर्राष्ट्रियश्रम ऐन र कानूनहरूको विकास भयो । यही दिवसको परिणाम बालश्रममा नियन्त्रण आयो । मजदुरको सम्मान र सुरक्षामा केहिनकेही रूपमा विकास भएकोछ।
८.श्रमिक अधिकारको वर्तमान अवस्था के हो? अझै यसमा के कति सुधारको आवश्यकता छ ?
आजको विश्वमा श्रमिक अधिकारको अवस्था अघिल्ला शताब्दीहरूको तुलनामा काफी हदसम्म सुधारिएको छ। तर अझै पनि सबै श्रमिकले समान रुपमा अधिकारको उपभोग गर्न पाएका छैनन् ।अन्तर्राष्ट्रिय श्रम संगठन (ILO )जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र विभिन्न देशका कानुनहरूले श्रमिकलाई आधारभूत सुरक्षा त दिएका छन्, तर व्यवहारमा ठूलो अन्तर देखिन्छ । ती अन्तरहरु यसप्रकार छन् ।
१. वर्तमान अवस्थामा कानुनी रूपमा अधिकार सुनिश्चित गरिएको छ। अधिकांश देशहरूमा ८ घण्टा काम वा सीमित कार्य समय निर्धारित गरिएको छ । न्यूनतम ज्याला, बिदा, स्वास्थ्य र सामाजिक सुरक्षाको यथोचित व्यवस्था गरिएको छ। युनियन बनाउने अधिकार जस्ता प्रावधानहरू छन्।
नेपालमा पनि श्रम ऐन २०१७ ले श्रमिकका अधिकार सुनिश्चित गर्ने प्रयास त गरेको छ। यद्यपि नेपालको बालेन्द्र शाहको नेतृत्वमा बनेको वर्तमान कठपुतली सरकारले ट्रेड युनियन अधिकारलाई खारेज गर्ने घोषणा गर्दै फाँसी वादी बाटो समातेको छ । यसको चौतर्फी बिरोधका स्वरहरु लगायत अन्तर्राष्ट्रिय दवाव समेत आएको हुनाले सरकारको यस्तो कदम सफल हुने सम्भावना कमै रहेको देखिन्छ ।
२. केही क्षेत्रमा उल्लेखनीय सुधार भएको छ। जस्तै औद्योगिक दुर्घटना घटाउने उपायहरू, बालश्रम घटाउने अभियान, महिला अधिकारमा क्रमश सुधार, श्रमिक बीमा र सामाजिक सुरक्षा योजनाहरू आदि ।
३. व्यवहारमा समस्या कायमै
सामान्यतः कानुन त बनाइएको छ । कानुन भएपनि धेरै ठाउँमा न्यूनतम ज्याला कार्यान्वयन नहुनु , अस्थायी श्रमिक शोषणहुनु , युनियन अधिकार सीमित गरिनु, कामको घण्टा अझै बढी हुनु आदि ।
विशेषगरी विकासशील देशहरूमा समस्या गम्भीर छ।
९.अझै किन सुधार आवश्यक छ?
१. असंगठित क्षेत्रको समस्या
. ठूलो सङ्ख्यामा श्रमिकहरू अनौपचारिक क्षेत्रमा छन्। तर कुनै सम्झौता, सुरक्षा वा बीमा छैन ।
२. वैदेशिक रोजगारी र शोषण
धेरै नेपालीहरू विदेशमा जोखिमपूर्ण काम गर्दछन्। तलब नपाउने, पासपोर्ट जफत हुने, दुव्र्यवहार जस्ता समस्याहरू पनि रहेका छन्।
३. नयाँ अर्थतन्त्र
नयाँ अर्थतन्त्रमा राइडर डेलिभरी, फ्रीलान्स कामदारहरू, स्थायी सुरक्षा र सुविधा अदि नपाउने ब्यवस्था भएको छ ।
४. लैङ्गिक र सामाजिक विभेद रहेको अवस्था
–समान काममा असमान ज्याला– महिला , दलित र आप्रबासी श्रमिक बढी जोखिमको अवस्थामा रहेका छन् ।
५.कार्यस्थल सुरक्षा
अझै पनि धेरै उद्योगहरूमा सुरक्षा मापदण्ड कमजोर रहेका छन्। दुर्घटना र पेशागत रोगहरुको जोखिम छ।
आजको अवस्थामा पनि यो दिवसमा श्रमिक अधिकारका नयाँ मुद्दाहरू (जस्तै– अस्थायी तथा करारमा नियुक्ति गर्ने काम, न्यून ज्याला, प्रवासी श्रमिक समस्या) उठाउने अवसर बनेको छ । साथै अरु धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको छ।
जस्तै कडाइका साथ कानुन कार्यान्वयन गर्नु पर्दछ ।कानुन बनाउने मात्र होइन, प्रभावकारी रुपमा लागू गर्न जरुरी छ।
असंगठित क्षेत्रलाई औपचारिक बनाउनु पर्दछ। सामाजिक सुरक्षा र दर्ता प्रणाली विस्तार गर्नुपर्दछ।श्रमिकहरूको न्यूनतम र जीवनयापन ज्याला हुनुपर्छ। यसको मतलब हो केवल न्यूनतम भन्दा जीवन धान्न पुग्ने ज्याला सुनिश्चित गर्नुपर्दछ।
वैदेशिक श्रमिकको सुरक्षा गरिनु पर्दछ । यो भन्नुको अर्थ हो दूतावास सम्झौता र अनुगमनलाई बलियो बनाउनुपर्दछ । नयाँ क्षेत्रका श्रमिकलाई अधिकार प्रदान गर्न पर्दछ। Gig economy अर्थात छोटो समयको लागि गरिने काम र जटिल श्रमिकका लागि नयाँ कानुनी संरचना आवश्यक छ।
–लैङ्गिक समानता, समान ज्याला, सुरक्षित कार्यस्थल र मातृसुविधा सुनिश्चित गर्नुपर्दछ ।
निष्कर्ष
Haymarket Affair जस्ता संघर्षबाट सुरु भएको श्रमिक अधिकारको यात्रा आज धेरै अघि बढेको छ । तर अझै पनि अधिकार र व्यवहारबीच दुरी कायमै छ। असमानता र शोषण पूर्णरूपमा अन्त्य भएको छैन। त्यसैले श्रमिक अधिकारको लडाई समाप्त होइन, निरन्तर प्रक्रिया हो।
मई दिवस केवल एउटा अरु दिन जस्तो दिन मात्र होइन—यो श्रमिक वर्गको संघर्ष, बलिदान र विजयको इतिहासको दिन हो। सन् २०२६ मा मनाइने १३७ औँ मई दिवसले हामीलाई सम्झाउँछ कि आजका अधिकारहरू सहजै प्राप्त भएका होइनन्, ती हजारौं श्रमिकहरूको संघर्ष र बलिदानको परिणामबाट प्राप्त भएका हुन्।
आजको आवश्यकता भनेको— उत्सव मात्र होइन, श्रमिकको सम्मान, अधिकारको रक्षा र सामाजिक न्यायको लागि निरन्तर प्रयास गर्नु हो।
श्रमको सम्मान गरौं, अधिकारको रक्षा गरौं—यही हो मई दिवसको सन्देश।” १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैलाई शुभकामना।
मिति ः२०८३ बैशाख १८ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित