कविता ः सपना

मनु वि.क.
देशमा कहिले एकथरी आउँछन् कहिले अर्कोथरी
पालैपालो र सुनाउँछन्
ए,अब तिमीहरुको दुःख जानेवाला छ
भन्दै थमाउँछन् एक थान सपना ।

बाँडिएको सपना पूरा हुने आसमा
सपना लागू हुने आसमा कटाइदिन्छु
दुइ चार महिना
जोड्दा जोड्दै कटाइसकेँ वर्षौं वर्ष
सपनाको संसारमा रमाउँदै
बाँडेको सपनालाई मनमा सजाउँदै
समय काटिदिनु पर्ने बाध्यता छ
त्यही बाध्यतामा रुमलिँदै जवानी सकिँदैछ ।

सकिँदै गरेको जवानीको पत्र पल्टाउँदै
नियालीरहेका छन् दुइ आँखा ,
खोजिरहेका छन् पत्रहरुमा
कहाँ लुकाएका छन् एक थान सपना ?
पत्रहरु पल्टाउँदै, पत्रहरु कोट्याउँदै
दिनहरु बितिगएको छ
तर पूरा छैनन् एक थान सपना ।

फेरी मनको गहिराइमा खोज्छु
सपना किन पूरा हुँदैन ?
पूरा नहुने सपना किन बाँडिन्छ ?
सपनाहरु किन टुक्रिइन्छ प्रत्येक पलहरुमा ?

सपना देखाउनु र रोटी सेकाउनु सजिलो छ
सपना सुनाउनु र सत्ता कमाउनु सजिलो छ
तर सपना पूरा गर्न
वास्तविक मुक्तिको बिहान ल्याउन
बाधा र काँढाहरु छन्
काँढाहरु फाल्न,बाधाहरु पन्छाउन सजिलो त छँदै छैन
बाधाहरु फालेर
बन्धनहरु च्यातेर
सुनौलो सपना साकार पार्नु छ
मेरो देशका नानीहरु
मेरो देशको जवानीहरु
सपनालाई यथार्थतामा परिणत गर्न वास्तविक
चेतनाको खाँचो छ
बिना चेतना
बिना योजना कहिले पूरा भएको थियो र सपना ?
सपनाको भ्रममा रमाएर
सपनाको भ्रमलाई सामाजिक संजालमा भाइरल बनाएर
गरिबको मुक्ति कहाँ हुन्छर ?
गरिबको मुक्तिको सपना
सत्ताको उन्मादले बुझ्दैन
सपनाले मुक्ति,स्वतन्त्रता र समानताको मार्ग रोज्नु पर्छ
भविष्यका नानीहरुलाई वास्तविक सपना देखाउनु पर्छ

नानीहरुको आँखामा वास्तविक सपना आउनु पर्छ ।
२०८३ ÷१ ÷२७

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित