नविन खड्का
महासचिव
अखिल (क्रान्तिकारी)
+ संघर्ष, बलिदान र बिजयको गौरवपुर्ण गाथाले भरिएको गौरवशाली इतिहास नेपाली विद्यार्थी आन्दोलन केवल शैक्षिक हक–हितको आन्दोलन मात्र होइन, यो राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र क्रान्तिकारी परिवर्तनको अग्रदूत हो ।
+ बि.सं. २०२२ सालमा अनेरास्ववियुको स्थापना भयो जसले विद्यार्थी आन्दोलनलाई नयाँ वैचारिक र राजनीतिक दिशा दियो ।
+ इतिहासले प्रमाणित गरेको छ– नेपालको हरेक परिवर्तनमा विद्यार्थीहरू अग्रमोर्चामा थिए, छन् र रहनेछन् ।
……………………………………………………………………………………………………………..
संघर्ष, बलिदान र बिजयको गौरवपुर्ण गाथाले भरिएको गौरवशाली इतिहास नेपाली विद्यार्थी आन्दोलन केवल शैक्षिक हक–हितको आन्दोलन मात्र होइन, यो राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र क्रान्तिकारी परिवर्तनको अग्रदूत हो । नेपाली विद्यार्थी आन्दोलनले हरेक ऐतिहासिक मोडमा जनताको पक्षमा उभिँदै निरंकुशता, सामन्तवाद, प्रतिक्रियावाद, बिस्तारवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको छ । आज ६२ औँ विद्यार्थी एकता दिवस मनाइरहँदा हामी त्यो सम्पूर्ण इतिहास, बलिदान र योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दछौँ ।
नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास गंगालाल श्रेष्ठ, चिनियाँकाजी, मित्रमणि आचार्य, दिलबहादुर रम्तेल, दिलमाया बम्जन, सुरेश वाग्ले, रितबहादुर खड्का, किमबहादुर थापा, नेपबहादुर केसी, शेरमान कुवँर, मोहनचन्द्र गौतम, ज्ञामप्रसाद चालिसे, बेनोज अधिकारी, रामबहादुर रायमाझी, जनम बराल, ऋषि घिमिरे, गणेश ढकाल, टीकाराम गौतम, शङ्कर तमु, प्रीतकुमार मोक्तान, शरद अवस्थी, ईश्वर ढुङ्गाना, नारायण शर्मा, सुनिता सापकोटा, विजय ढकाल, सुजित यादव, कमल पौडेल, पसिन्द्र पटेल, बैकुण्ठ पोखरेल, कमल पुन, सम्झना चौधरी, नवराज शाही, प्रज्वल शाही, बेपत्ता पूर्ण पौडेल, विपीन भण्डारी, नवीन राई, कटक साम्पाङ, गोकुल निरौला, दिपेन्द्र पन्त, सीएन ढुङ्गाना, दिलबहादुर राई, देवहरि रिजाल, निर्दल शाह, कृष्ण चौधरी, जानकी चौधरीलगायत अमर सहिद तथा बेपत्ताहरूको बलिदानबाट प्रेरित छ । विद्यार्थी आन्दोलन सामाजिक प्रगति एंवम रुपान्तरणका बाधक शक्ति र प्रवृत्तिका बिरुद्ध जेहाद छेड्ने क्रममा नै संगठित भएको आन्दोलन हो । वि.सं. १९९७ सालमा गंगालाल श्रेष्ठ लगायतले विद्यार्थीहरुको साहसपूर्ण राणा शासनका विरुद्ध प्रचार संघर्ष छेडेका थिए । त्यसले राणा शासनको क्रूर तर कमजोर जगलाई हल्लाइदिएको थियो । उद्देश्यप्रति प्रतिबद्ध र अडिग गंगालाल श्रेष्ठ लगाएत चार जनालाई फाँसी दिइयो, तर आन्दोलन दबेन । वि.स. २००४ सालको जयतु संस्कृतम (संस्कृतको जय होस) आन्दोलन असंगठित भए पनि जसको उद्देश्य शिक्षामा कर्मकाण्ड वाहेकका बिषय पढ्न पाउनुपर्ने माग राखेर रूपमा शैक्षिक तर अन्तरवस्तुका हिसाबले राणा शासन विरुद्ध संगठित आन्दोलन थियो । वि.सं. २००६ सालमा अखिल नेपाल विद्यार्थी फेड्रेसनको स्थापना भएको हो । वि.सं. २००७ सालको दिल्ली सम्झौताको बिरोधमा २००८ सालको विद्यार्थीको बिशाल बिरोध जुलुस भएको थियो ।
वि.स.२०१७ पुष १ मा निरङ्कुश पञ्चायती व्यवस्थाको सुरुवात भएपछि सरकारले सबै संगठनहरुमाथी प्रतिबन्ध लगायो । २०१८ सालमा राष्ट्रिय निर्देशन ऐन जारी गर्दै सात प्रकारका संगठन– किसान संगठन, मजदुर संगठन, युवक संगठन, महिला संगठन, भूपू सेनाहरुको संगठन, बाल र विद्यार्थी संगठनहरु सरकारको पूर्ण जानकारी र नियन्त्रणमा गठन गर्न पाउने व्यवस्था भयो । यति मात्र थिएन, त्यसरी गठन गरिने संगठनहरुको सचिव र कोषाध्यक्ष सरकारले तोक्ने व्यवस्था गरी पंचायतका कठपुतली संगठनहरुको मात्र स्थापना सुनिश्चित गर्न पञ्चायतले दुस्प्रयास ग¥यो । यहि क्रममा २०१९ सालको बैशाखमा जे.पि. हाइस्कुलको विद्यार्थी युनियनको आह्वानमा राजाधानीका २२ हाइस्कूलहरुको भेला आयोजना भयो । उक्त भेलाले राष्ट्रिय निर्देशन ऐनको घोर बिरोध गर्दै सो ऐन अन्तर्गतका कुनै पनि सभा, समारोह, प्रतियोगिताहरुमा सहभागी नहुने र सरकार नियन्त्रित विद्यार्थी संगठनका बिरोध गर्ने निर्णयहरु पारित ग¥यो । आन्दोलनले व्यापक रूप लिदै गयो ।
२०२० साल भाद्र २० गते त्रिभुवन विश्वविद्यालय युनियनको निर्वाचनमा वामपन्थी पृष्ठभूमिका जनार्दन प्रसाद आचार्य विजयी भए । त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजको विद्यार्थी युनियनको सक्रियता र पहलमा २०२० साल फागुन २४ गते जनार्दनप्रसाद आचार्यको सभापतित्वमा बसेको बैठकले चैत्र ४ गते अन्तर कलेज विद्यार्थी युनियनका प्रतिनिधिहरूको बैठक बस्ने निर्णय ग¥यो । चैत्र ४ गते बसेको बैठकले १८ सदस्यीय उपत्यका अन्तरकलेज सम्मेलन आयोजक समिति निर्माण ग¥यो । यही समितिको निर्णय बमोजिम २०२१ साल वैशाख २५ गते देखि २० गतेसम्म अन्तरकलेज सम्मेलन सरकारको व्यापक दमन र धरपकडका बावजूद काठमाडौँका विभिन्न ठाउँमा गरी सम्पन्न भयो ।
पहिलो दिनः सम्मेलन त्रिचन्द्र कलेजमा उद्घाटन भयो ।
दोस्रो दिनः ठमेलको भगवती बहालमा भेला भयो ।
तेस्रो दिनः त्रिपुरेश्वर मन्दिरमा, मन्दिरभित्र भेला भयो ।
चौथो दिनः लैनचौरस्थित शहीद स्मारकभित्र भेला भयो ।
पाँचौँ दिनः विष्णुमती नगरमा भेला गरी सम्पन्न भयो ।
सम्मेलनमा उपत्यकाका कलेजहरूबाट पाँच–पाँच जना, उपत्यका बाहिरका कलेजबाट दुई–दुई जना र उपत्यकाका हाईस्कुलबाट दुई–दुई जना प्रतिनिधिहरू सहभागी थिए । २०२१ वैशाख २० गते सम्पन्न सम्मेलनले निम्न प्रस्तावहरू पारित गरी सशक्त सङ्घर्ष सञ्चालन गर्ने निर्णय ग¥यो ः
१) स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने अधिकार बहाली गर्नुपर्न
२) गाउँको विकासमा मद्दत पु¥याउने र पिछडिएका जनतामा चेतना भर्न विद्यार्थीले आफ्नो अध्ययन पूरा भएपछि अनिवार्य रूपमा दुई वर्ष गाउँ–गाउँमा सेवा गर्नुपर्ने गरी गाउँ–गाउँ आन्दोलन चलाउने ।
३) गोरखा भर्ती केन्द्र खारेज गर्नुपर्ने ।
४) राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने ।
५) सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने ।
६) विद्यार्थीहरूलाई यातायातमा ५) प्रतिशत छुट सुविधा प्रदान गर्नुपर्ने ।
७) अस्पतालमा छुट्टै विद्यार्थी सिट सुरक्षित राख्नुपर्ने ।
सम्मेलन समापन भएलगत्तै २० गते राति डाक्टर तुलसी गिरीको सल्लाहमा प्रहरीहरूले विद्यार्थीहरूको डेरामा छापा मारी व्यापक गिरफ्तारी र सम्मेलनको निर्णयपुस्तिका नियन्त्रणमा लिए । यो घटना लगत्तै जेठ १ गते गिरफ्तार विद्यार्थीहरूको निशर्त रिहाइसँगै सम्मेलनबाट पारित प्रस्तावहरू समेत माग गरी विद्यार्थीहरूले त्रिचन्द्र कलेजबाट विशाल मौन जुलुस निकाले । मौन जुलुसमा प्रहरीले व्यापक दमन गरेपछि अर्को दिनबाट उपत्यकाव्यापी आमहड्ताल शुरु भयो । लगातार आठ दिनसम्म टकरावपूर्ण सङ्घर्षपछि पञ्चायती सरकार विद्यार्थी आन्दोलन समक्ष घुँडा टेक्न बाध्य भयो । स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने अधिकारको बहाली, बन्दी विद्यार्थीहरू विनाशर्त रिहाईलगायतका केही मागहरू पञ्चायती सत्ताले पूरा ग¥यो । यसरी आन्दोलनलाई उत्कर्षमा पु¥याउने शुरु भएको दिन र विद्यार्थी आन्दोलनको जित भएको हँुदा हरेक वर्ष जेठ १ गते विद्यार्थी एकता दिवसको रूपमा मनाइन्छ ।
बि.सं. २०२२ सालमा अनेरास्ववियुको स्थापना भयो जसले विद्यार्थी आन्दोलनलाई नयाँ वैचारिक र राजनीतिक दिशा दियो । पञ्चायतविरुद्धको आन्दोलन, जनमत सङग्रह, बहुदल पुनस्र्थापनाको संघर्ष–यी सबै आन्दोलनमा विद्यार्थीहरू अग्रपंक्तिमा रहे । वि.सं.२०४६ सालको पहिलो जनआन्दोलनमा विद्यार्थीहरूको त्याग र बलिदान निर्णायक रह्यो । २०५० सालमा अनेरास्ववियुबाट अखिल (क्रान्तिकारी) नामाकरण हुनु केवल संगठनको नाम परिवर्तन थिएन, त्यो क्रान्तिकारी विचार, वर्गसंघर्ष र आमूल परिवर्तनप्रतिको प्रतिबद्धताको उद्घोष थियो ।
२०५२ सालमा सुरु भएको महान जनयुद्धले नेपाली समाजलाई नयाँ युगमा प्रवेश गरायो । त्यो जनयुद्धमा हजारौँ विद्यार्थी युवाहरू सहभागी भए । ११ वर्षीय विद्यार्थी सहिद दिलबहादुर रम्तेलको बलिदान नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सधैँ अमर रहनेछ । जनयुद्धका दौरान अखिल (क्रान्तिकारी) ले संगठन विस्तार, जनचेतना निर्माण, जनवादी शिक्षा, जनसत्ता निर्माण र क्रान्तिकारी सँस्कृतिको विकासमा ऐतिहासिक भूमिका निर्वाह ग¥यो । हजारौँ विद्यार्थीहरूले जेल, हिरासत, यातना र सहादत बेहोरी २०६२ र ६३ को ऐतिहासिक जनान्दोलनमा पनि विद्यार्थी आन्दोलन अग्रपंक्तिमा रह्यो । गणतन्त्र स्थापना र संविधानसभाको निर्वाचनसम्मको यात्रामा विद्यार्थीहरूको योगदान अत्यन्त महत्वपूर्ण रह्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विद्यार्थीहरूले गाउँ–गाउँमा चेतना फैलाउने काम गरे ।
त्यसपछिका स्ववियु निर्वाचनहरूमा अखिल (क्रान्तिकारी)ले विद्यार्थी अधिकार, शैक्षिक सुधार र प्रगतिशील नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो । स्ववियुमा २८ वर्षे उमेरहद लागू गराउन संगठनले खेलेको भूमिका विद्यार्थी राजनीतिलाई शुद्धीकरण गर्ने ऐतिहासिक कदम थियो । विद्यार्थीलाई दशप्रतिशत छात्रवृत्ति र सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिलाउने आन्दोलन विद्यार्थी संगठनहरूको महत्वपूर्ण उपलब्धि हो । विश्वविद्यालय सुधार, वैज्ञानिक शिक्षा, सर्वसुलभ शिक्षा र राष्ट्रिय शिक्षा नीतिको सवालमा पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनले निरन्तर संघर्ष गरिरहेको छ ।
वि.सं.२०७० सालदेखि संसदीय निर्वाचनको बहिष्कार गर्दै आएको क्रान्तिकारी धाराका विद्यार्थीहरूले राज्य दमन, जेल, हिरासत र बलिदानको सामना गर्दै पनि आफ्नो वैचारिक अडान कायम राखे । २०७० मा प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गर्ने प्रक्रियामा पनि विद्यार्थीहरूको सक्रिय भूमिका रह्यो । विप्लव नेतृत्वको नेकपा प्रतिबन्धित अवस्थामा हुँदा विद्यार्थी नेता प्रज्वल शाहीको बलिदान क्रान्तिकारी आन्दोलनको इतिहासमा अमिट छाप बनेर रहेको छ । अन्य धेरै विद्यार्थी नेताहरूले जेल, हिरासत र राज्य दमन सहँदै आन्दोलनलाई जीवित राखे । पछि विप्लव नेतृत्वको नेकपा चुनावमुखी दिशातर्फ उन्मुख भएपछि त्यसबाट विद्रोह गरी नेकपा बहुमत निर्माण गर्ने प्रक्रियामा पनि विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रह्यो ।
त्यसैगरी नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच एकताको वातावरण निर्माण गर्न विद्यार्थी आन्दोलनले पुलको भूमिका खेलेको छ । राष्ट्रिय स्वाधीनता, राष्ट्रिय उद्योग, शिक्षा, रोजगार र जनअधिकारका सवालमा विद्यार्थी आन्दोलन आज पनि अग्रपंक्तिमा छ ।
हाल बालेन्द्र नेतृत्वको सरकारले आफ्नो १०० बुँदे नीति तथा कार्यक्रमको ८६ नम्बर बुँदामा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा त्यसविरुद्ध अखिल (क्रान्तिकारी) लगायत संयुक्त विद्यार्थी संगठनहरूले सडक र कानूनी मोर्चाबाट सशक्त आन्दोलन गरिरहेका छौं । विद्यार्थी संगठनहरू लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र जनपक्षीय आन्दोलनका संवाहक हुन् भन्ने कुरा आन्दोलनले पुनः स्थापित ग¥यो ।
आज राष्ट्रिय स्वाधीनता संकटमा छ । शिक्षा व्यापारीकरणको चपेटामा छ । बेरोजगारी, पलायन, दलाल पुँजीवाद र विदेशी हस्तक्षेप बढिरहेको छ । यस्तो अवस्थामा विद्यार्थी आन्दोलनको भूमिका अझ महत्वपूर्ण बनेको छ । इतिहासले प्रमाणित गरेको छ– नेपालको हरेक परिवर्तनमा विद्यार्थीहरू अग्रमोर्चामा थिए, छन् र रहनेछन् । ६२ औँ विद्यार्थी एकता दिवसको अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइते–अपांग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। सम्पूर्ण क्रान्तिकारी विद्यार्थी, युवा र देशभक्त जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता, वैज्ञानिक समाजवाद र जनमुक्तिको महान यात्रामा अझ दृढतापूर्वक अघि बढ्न आह्वान गर्दछौँ ।
विद्यार्थी एकता– जिन्दाबाद !
राष्ट्रिय स्वाधीनताको–रक्षा गरौं !
क्रान्तिकारी विद्यार्थी आन्दोलन– जिन्दाबाद !
संयुक्त विद्यार्थी आन्दोलन– जिन्दावाद !
शहीदहरूको सपना– पूरा गरौँ !
फाँसिवाद– मुर्दावाद !
अखिल (क्रान्तिकारी)– जिन्दावाद !

