ल्हाक्पा शेर्पा र कामीरितालाई बधाई

ल्हाक्पा शेर्पाले २०८२ जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औं पटक सफलतापूर्वक आरोहण सम्पन्न गरेकी छन् । यो आरोहणसँगै उनको विश्व मै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिलाको रुपमा संसारमा नाम रोशन भएको छ । ‘पर्वतकी रानी’उपनामले समेत उनलाई चिनिन्छ । पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला जापानको जुनको तावेइ हुन् । उनले सन् १९७५मे १६मा सगरमाथाको आरोहण गरेकी हुन् । सगरमाथा आरोहणको पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन् । उनले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेको भए पनि फर्किने क्रममा निधन भएको थियो । हालसम्म सगरमाथा सफल आरोहण गर्ने महिलाहरुको संख्या ७०४ पुगेको छ । यसको संख्या अझै बढ्ने छ किनकि अहिलेको आरोहण सिजनका लागि ४९२ जनाले अनुमति लिएका छन् ।
त्यस्तै प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले २०८३ जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेका छन् । यसअघि उनी २०८२ जेठ १३ गते सर्वोच्च शिखरमा पुगेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरदेखि सगरमाथा आरोहण शुरु गरेका थिए । २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४५ पटक चढिसकेका छन् । उनलाई संसारभर ‘एभरेस्ट म्यान’को रुपमा समेत चिनिन्छ । ल्हाक्पा शेर्पाले ११औं पटक र कामीरिता शेर्पाले ३२औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न सफल भएकोमा दुवै आरोहीलाई हाँक परिवारको तर्फबाट बधाई छ ।
नेपालको हिमाल आरोहणको औपचारिक शुरुवात सन् १९५० मा भएको मानिन्छ । नेपालमा ८ हजार भन्दा अग्ला १० वटा हिमाल छन् । जब फ्रेन्च नागरिक मोरिस हर्जोगर लुइस लक नेलले जुन ३ मा पहिलो पटक आठहजार मिटरभन्दा अग्लो हिमाल (अन्नपूर्ण प्रथम) को सफल आरोहण गरेपछि हिमाल आरोहणको शुरुवात भएको हो । सगरमाथा आरोहणकोलागि वार्षिक रुपमा २ हजारदेखि २ हजार ५ सयको भन्दा बढी विदेशी विदेशी तथा स्वदेशीले अनुमति लिने गरेको सरकारी तथ्याङ्क छ । पर्वतारोहण नेपालको पर्यटन र आय आर्जनको प्रमुख आधार हो । सगरमाथा लगायतका देशका विभिन्न हिमालहरुको कारण नेपालको गरिमालाई उच्च स्थानमा पु¥याएको छ । संसारको सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा हुनुले नेपाललाई संसारमा चिनाएको छ ।
सगरमाथा आरोहण मानव साहस धैर्य र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीक हो । यही प्रतीकलाई नेपाली शेर्पा समुदायले आफ्नो कर्म र क्षमताबाट विश्वसामु स्थापित गर्दै आएका छन् । ल्हाक्पा र कामीरिताले कायम गरेको नयाँ कीर्तिमान केवल व्यक्तिगत सफलता मात्र हैन ,सम्पूर्ण नेपालीको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक उपलब्धि हो ।
विश्व तापमान वृद्धिले हिमालहरु पग्लिने क्रम उच्च छ । सेताम्मे देखिने हिमालहरु काला पहाडहरुमा परिणत हुन पुुगेका छन् । हिउँ पग्लिँदा हिमतालहरु फुट्ने र मानव वस्तीलाई नै तहसनहस हुने अवस्था सिर्जना भएको छ । यो अवस्थामा हिमालहरु जोगाउन सरकारले विश्वसामु ध्यानाकर्षण गर्नु आवश्यक छ ।
पर्वतारोहण नेपालको प्रमुख पर्यटन उद्योग मध्ये एक हो । यसले देशलाई आम्दानी दिलाएको छ । तर हिमाली पर्यटनबाट राज्यको आम्दानीको तुलनामा दुर्घट्ना,हिमपहिरो,प्रतिकूल मौसमका कारण ज्यान गुमाउनेहरु र अपाङ्ग बन्नेहरुको संख्या पनि ठूलै छ । सरकारले पर्वतीय श्रमिकहरुको बीमा,स्वास्थ्य,पारिश्रमिक र परिवारको सुरक्षामा ठोस नीति ल्याउनु पर्छ । हिमाल आरोहण गर्न चाहने संसाभरका मानिसहरुको जीवन सुरक्षाका उपायहरु अपनाउन ध्यान दिनुपर्छ । हिमाल आरोहणमा पोख्त शेर्पा समुदायको हिमाल आरोहणको पेसालाई व्यवस्थित गर्दै राष्ट्रिय पर्यटनलाई प्रर्वद्धन गर्नुपर्छ । आरोहीहरुको सरकारले उच्च सम्मान गर्नुपर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित