क्रान्तिको गन्तव्यमा पुग्न क्रान्तिकारी विचारको जगमा अडिन आवश्यक छ

– कमल चौधरी, केन्द्रीय सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार समिति

० जनताको ठूलो जनमत लिएर सरकारमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा सरकारको नेतृत्व गर्न थालेको पनि तीन महिना हुन थालेको छ । के जनताको अपेक्षा अनुसार नै काम भईरहेको जस्तो लाग्छ यहाँलाई ?
–केपी ओलीको नेतृत्वमा एमाले–नेकाको सरकार रहेको समयमा भाद्र २३ र २४ गते जेनजेडको विद्रोह भयो र सरकार ढल्नुको साथै संसद विघटन गराइयो । सर्वोच्चको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधान अनुकूल नभए पनि अन्तरिम कालको लागि प्रधानमन्त्री बनिन् । फागुन २१ गते सैनिक परिचालनको साथ गराइएको संसदीय निर्वाचनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा अन्य वामपन्थी पार्टीहरुले बहिष्कार गरेका थिए भने चुनावमा भाग लिने पार्टीहरु मध्ये रवि–बालेनलाई हिरो बनाएर सामाजिक संजालद्वारा चलाइएको एल्गोरिदम, नेपाली सेना हाइ प्रोफाइलको पक्षधरता र निर्वाचन आयोगको छदम भूमिकाको परिणाम रास्वपा भारी बहुमतले विजय भयो । नेका, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा संसदमा त पुगे तर निकै कमजोर स्थान रह्यो । पुराना पार्टीका प्रचण्ड, अर्जुननरसिंह केसी, वर्षमान बाहेक सबै पुराना नेता पराजित भए । रास्वपाको टिकटमा अमरेश कुमार सिंह भने तेस्रो पटक संसदमा पुगे । हुन त पुराना पार्टीहरुको विगतको भूमिका प्रति जनता रुष्ट छ । तर रास्वपा पनि दुधले धोएको होइन । पार्टी अध्यक्ष लामिछानेमाथि दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, सहकारी ठगीका साथै जेल ब्रेकका अभियोग छन् । संसदमा पुगेका कैयौं घण्टी छाप नेता संगीन अपराधसँग सम्बन्धित विवादमा छन् । बैंकका अभियोगमा छन् । संसदमा पुगेका कैयौं घण्टीछाप नेता संगीन अपराधसँग सम्बन्धित विवादमा छन् ।
रास्वपाको वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको छ । अहिले तीन महिना बित्दैछ तर बाह्य शक्तिबाट परिचालित बालेन्द्र शाहको फासिवादी शासनबाट देशमा गम्भीर स्थिति उत्पन्न भएको छ । पद तथा गोपनीयताको सपथ खाँदा बितिक्कै बालेनले विरोधीहरुलाई धरपकड र सुकुम्बासीको झुपडीमा डोजर चलाएर उठिबास गराउने काम गरे । रास्वपाका कैयौं संसदले सरकारी जमिन कब्जा गरेर पक्का घर बनाएर बसेका छन् तर तिनीहरुका घर भत्काइएन । विद्यार्थी संगठन र टे«ड युनियनमा बन्देज लगाइएको छ । संसद छलेर अध्यादेशद्वारा संवैधानिक प्रावधानलाई निस्तेज गर्ने प्रयास गर्दै आफ्नो मनमानी शासन अघि बढाएको छ । संसदमा प्रथम त उपस्थित हुन नमान्नु, उपस्थित रहँदा राष्ट्रिय हित प्रतिकुल हुने गरी बोल्नु, बालेन्द्र शाहको राष्ट्रघाती र गैरलोकतान्त्रिक चरित्र प्रष्ट भएको छ ।

० नवलपरासीको सुस्ताको स्थानीय जनताहरुले नेपाली भूमिमा प्रवेश गरेको भारतीय सुरक्षाबल (एसएसवी)का जवानहरुलाई नेपाली जनताले प्रतिकार गरेको घटना जानकारी पाउनु भयो होला नै । तर सरकार त्यसबारेमा बोलिरहेको देखिंदैन ।सरकारले त्यसबारेमा आफ्नो धारणा किन स्पष्ट नगरेको होला ?
–दुवै सदनको संयुक्त अधिवेशनमा सरकारद्वारा दिइएको लिखित नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा प्रस्तुत भैरहेका बेला संसदीय मर्यादा विपरीत प्र.म. बालेन्द्र शाहको अचानक बहिर्गमन र त्यसपछिका दिनहरुमा सांसदहरुको प्रश्नको उत्तर दिन प्रधानमन्त्री संसदमा उपस्थित हुन इन्कार गर्नु तर निश्चित कार्य तालिका विना अचानक संसदमा उपस्थित भएर सांसदहरुलाई प्रश्न गर्न लगाएर “म प्रधानमन्त्री भएपछि मात्र थाहा पाए अनुसार भारतले मात्र नेपालको जमिन मिचेको होइन, नेपालले पनि भारतको जमिन मिचेको रहेछ” भनेर घोषणा गरेपछि दिल्ली खुशी मात्र होइन, उत्साहित भएर ढिला नगरी सुस्ता क्षेत्रको नेपाली भूमिमा आएर भारतीय एसएसवी दलबलसहित नेपालले निर्माण गरिरहेको तटबन्ध कार्य रोक्न धम्की दिनुको साथै नेपालीहरुको बस्तीमा पसेर उत्पात मच्चाउन थालेपछि सुस्तावासी नेपाली महिला, पुरुष एकजुट भएर प्रतिकार गर्दै एसएसवी सशस्त्र जवानहरुलाई बहादुरीका साथ नेपाली भूमिबाट लखेटे । नेपाल सरकार त्यसबारे कुनै प्रतिक्रिया नदिई मौन बसेको छ भने कालापानी, लिम्पियाधुरा, लिपुलेकबाट भारतीय सेना फिर्ता गर भन्दै हालै जेनजी युवाहरुले लाजिमपाटस्थित भारतीय राजदुतावास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरी सोह्रखुट्टे प्रहरीवृत्तमा थुनामा राखेको अवस्थामा सुदन गुरुङ प्रहरी थुनामा रहेका जेनजी युवाहरुलाई धम्क्याउँदा भारतको विरोध गरिस भने छाड्दैनौं भन्दै धम्काएको थियो । थुनामा रहेको बन्दीहरुलाई गैर कानुनी रुपले सुदन गुरुङले धम्काइरहँदा त्यहाँको प्रहरी मुकदर्शक रहेको थियो । यसबाट स्पष्ट हुन्छ भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन हालको रास्वपा सरकारले नचाहेको स्पष्ट हुन्छ ।

० दलीयस्तरमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र सरकारीस्तरबाट परराष्ट्रमन्त्री भर्खर भारत भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री अहिले चीन भ्रमणमा पनि गएका छन् । यो सरकारले वैदेशिक सम्बन्धलाई ठीक ठाक ढंगले अगाडि बढाइरहेको जस्तो निमन्त्रणामा यहाँ लाग्छ ?
–हालै भारत सत्ताधारी दल विजेपीको निमन्त्रणामा रास्वपा अध्यक्ष रवि लामिछाने गए लगत्तै भारत सरकारको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण गरेर आएाछन् । भ्रमणको क्रममा रवि लामिछानेको स्वागत सत्कार विशेष ढंगले र खनालको तुलनामा बढी महत्व दिएको देखियो । त्यो बलिको बोकालाई फूल अक्षेता देखाए जस्तै हो । भारतीय धूर्त शासकहरु नेपाली फ्याउरे नेताहरुलाई कसरी उल्लु बनाउन सकिन्छ राम्रोगरी बुझेका छन् । यसमा के पनि बुझ्न सकिन्छ कि ओलीको बखत भारतको कभरमा छ भन्ने सन्देश दिनको लागि पनि हुन सक्छ ।
खनालको जयशंकरसँगको भेट सन्तुलित रहेको बुझिएको छ । लामिछाने र खनालले नेपालको पुरानो भारी नबोक्ने भनेर भारतलाई सुनाउनुको अर्थ नेपाल–भारतको सीमा विवादको सन्दर्भ पनि हो कि भनेर शंका उब्जेको छ । शिशिर खनालले लिम्पियाधुरा, कालापानी,लिपुलेक नेपालको हो त भन्ने गरेको छ तर वास्तविक अर्थमा यो पनि पुरानो भारीको मान्यता मै छ कि के हो ? यो आउँदो समयमा थाहा लाग्नेछ । शिशिर खनालको चीन भ्रमणमा लिपुलेक भएर चीन भारत व्यापार सम्झौता नेपालको जानकारी विना गरिएको बारेमा कुरा उठाउनु आवश्यक छ भने चिनियाँ पक्षबाट अमेरिकी उच्च ओहोदाका मानिस नेपाल भ्रमणमा आउँदा चीनको अहित हुने गतिविधि गर्ने गरेको बारेमा र मुस्ताङ युरेनियमको अन्वेषण प्रशोधन गर्न अमेरिका तथा अष्ट्रेलियाको संयुक्त टोलीलाई दिने सरकारको तयारीबारे प्रश्न आउन सक्ने सम्भावना छ ।
नेपालको पराराष्ट्र नीति अझै पनि कुनै शक्ति राष्ट्रको गुटबाट असंलग्न रहनुमा नै हितकर हुन सक्दछ तर बालेन स्वयं अमेरिकी प्रभाव छन् त्यसमा थप छिमेकी राष्ट्र भारतको प्रभाव पनि जोर पकडेको छ । यी अवस्थामा बालेन सरकारको चीन नीति कतिको सन्तुलनमा रहन सक्ला यो आउँदो समयमा प्रष्ट हुनेछ । नेपालको भविष्य दुवै छिमेकी राष्ट्र भारत–चीनबीचको सन्तुलनमा निर्भर हुने कुरामा सचेत हुनु आवश्यक छ ।

० गृहमन्त्री पदबाट हटाइएका सुदन गुरुङलाई एक महिनापछि पुनः गृहमन्त्रीको पदमा बहाली गरिएको छ । सुदन गुरुङलाई नै गृहमन्त्री बनाउनु पर्ने बाध्यता यो सरकारलाई के प¥यो होला ?
–जेनजीको नाममा भएको प्रदर्शनको उद्देश्य सरकारको अदुरदर्शी नीतिको कारण बढेको नातावाद, कृपावाद, भ्रष्टाचार, महंगी, कष्टकर जनजीवनलाई सुशासनको बाटोबाट सुधार गर्न सरकारसँग माग गर्दै उठेको आन्दोलन थियो । सरकार वा व्यवस्था परिवर्तनको लक्ष्य थिएन । जेनजी आन्दोलनसँग सम्बन्धित युवाहरु अझै पनि त्यही नै भनिरहेका छन् । जेनजीभन्दा बाहिर रहेको बारबरा फाउण्डेशनसँग सम्बद्ध सुदन गुरुङ, अमेरिकी युथ काउन्सीलसँग सम्बद्ध बालेन लगायतका मान्छे र दलाइ लामाको टिओबी गिरोह र त्यसको पाश्र्वमा काम गरिरहेका साम्राज्यवादी विस्तारवादी शक्तिले जेनजीहरुलाई ढाल बनाएर नेपालको सरकार ढालेर आफ्नो कठपुतली सरकार बनाउने षडयन्त्रकारी खेलमा बदल्न सफल भयो ।
सुदन गुरुङ त्यस षडयन्त्रकारी संगठनको मुख्य पात्र मध्येको भएकोले योजना अनुसार गठन भएको सरकारमा सुदन गुरुङलाई प्रमुख जिम्मेवारी सहित गृहमन्त्रीमा पुनर्वहाली गरिएको बुझ्न सकिन्छ ।

० विगतमा थारु समुदायका नेता महेश चौधरी लगायतले थारु समुदायलाई मधेशी भन्नुहुँदैन भन्न जोडदार मत राख्दै आएको पाइन्छ, त्यस्तै तपाईले पनि थारु समुदाय मधेशी होइनन् भन्ने विचार राख्नुहुन्छ । मधेशी भूभागमा परापूर्वकालदेखि बसोबास गर्दै आएका कारणले थारु समुदायलाई पनि मधेशी समुदायमा राख्न किन मिल्दैन ?
–यसको बारेमा धेरैलाई भ्रम रहने गरेको हुनाले प्रश्न महत्वपूर्ण छ तर यसको उत्तर लामो पृष्ठभूमिमा जानुपर्ने हुन्छ । मैले अन्यत्र धेरै पटक भन्ने गरेको छु । यहाँ संक्षेपमा यति भन्न चाहन्छु कि थारु नेपालको आदिवासी जनजाति हो । त्यसैले यसको आफ्नो थलो र पहिचानको इतिहास छ । मधेशी कुनै जाति वा समुदाय होइन, गोर्खाली राज्य विस्तारको क्रममा गोर्खालीहरुले तराईलाई मधेश र यहाँ बसोबास गर्ने विभिन्न जातजाति का बारेमा थाहा नभएर एकमुष्ट मधेशी भनेर बुझ्ने र बोलाउने गर्दथे । श्रीलंकामा तमिल मुक्ति आन्दोलनले जोड पकडेपछि तराईका उपेक्षित समुदाय पनि त्यसको देखा सिकीमा मधेशी अधिकारको माग राखी एनजिओ÷आइएनजिओको माध्यमबाट आन्दोलन गर्न थालेका छन् । राजनैतिक रुपले २०६२÷६३ को जनआन्दोलनको समयमा मधेशीहरु आफ्नो पकड बनाउ सफल भए । भ्रम र अवसरवादी स्वार्थको कारण कतिपय थारुहरु पनि आफूलाई मधेशी भने पनि थारुको छुट्टै ऐतिहासिक पृष्ठभूमि छ। थारु मधेशी होइन ।

० सप्तरी जिल्लाको कम्युनिस्ट आन्दोलन संक्षिप्त रुपमा सिंहावलोकन गर्नुपर्दा के भन्नुहुन्छ ?
–२००६ सालमा चार जना नेताको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । २००६ सालमा जमिन्दारको अत्याचार विरुद्ध पूर्वी सप्तरीमा किसानहरुको विद्रोह भयो । त्यस विद्रोहलाई तत्कालीन राणा शासन कालको प्रहरीले दमन ग¥यो । तर त्यसको प्रभाव शोषण उत्पीडनमा दुःख भोगिरहेका किसानहरुलाई जगायो । कुनै राजनैतिक पार्टीको सहाराविना नै गाउँका किसानहरु संगठित हुन थाले । त्यसबेला सप्तरीको सीमापूर्व कोशी नदी र पश्चिममा कमलानदीसम्म रहेको थियो । २००८ सालतिर भारतमा नोकरी गरेर बसिरहेको सप्तरी (हाल सिरहा) का कृष्णप्रसाद उपाध्याय भारतीय कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका थिए । उनले जिल्लामा फर्किएर किसानहरुलाई संगठित गर्ने उद्देश्यले किसान संगठन गठन गरेको थाहा लाग्छ । त्यसबेला विना पार्टी सम्पर्क पूर्व सप्तरीमा पनि किसानहरु सक्रियतापूर्व संगठित भएका थिए । २०१० सालतिर सप्तरीमा नेकपाको जिल्ला सेक्रेटरी कमर शाह र पार्टी केन्द्रीय सदस्य डिपी अधिकारी आएको थाहा लाग्छ । किसान आन्दोलन निकै व्यापक भइसकेको थियो तर कमल साह र डिपी अधिकारीले नेतृत्व दिन त्यति सक्रिय देखिएनन् । २०१२ सालतिर पश्चिमी सप्तरीमा जयगोविन्द साहले किसान आन्दोलनलाई नेतृत्व गर्नु भएको थियो । लाहान क्षेत्रमा चन्द्रसेखर कर्ण र राजविराजमा कृष्णराज वर्माले नेतृत्व गरेको किसान आन्दोलन निकै उचाईमा पुगेको थियो । २०१२ सालपछि किसान आन्दोलन मत्थर हुँदै गयो । पार्टीको केन्द्रीय नेतृत्वमा मनमोहन अधिकारी हुनुहुन्थ्यो । २०१२ सालमा राजामा विन्ती पत्र दिएर पार्टी खुला गराइयो तर मत्थर हुँदै गएको किसान आन्दोलनलाई उठाउने प्रयत्न भएन । पश्चिम नेपालमा किसान आन्दोलनको नेतृत्व गर्नुभएका भिमदत्त पन्तलाई स्थानीय सामन्तहरुको षडयन्त्रमा आफ्नै मित्रले गद्दारी गरेर हत्या गरिदिएको थियो । २०१५ मा नेकपाको तर्फबाट उम्मेदवारी भएको थियो र सम्मानजनक मत आए पनि विजय हात लागेन । नेकपामा उत्पन्न वैचारिक झगडामा सप्तरी जिल्ला नेतृत्व दक्षिणपन्थी धारतिर लागेपछि कम्युनिस्ट आन्दोलन विघटित भयो । २०३३ सालमा का. सूर्यनारायण चौधरीको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको गठन भयो । जुन विभिन्न समूहसँग एकता र फुटको स्थितिको सामना गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मौजुदा अवस्थासम्मको यात्रामा छ ।

० सरकारको जनस्वास्थ्य अधिकृत पदमा रहेर काम गरिरहेको व्यक्ति नेकपा (मसाल) को पूर्णकालीन बनेर  काम गर्नु भयो ? त्यसको पृष्ठभूमि बताइदिनुन ?
–मैले कर्मचारी हुँदाको अवस्थामा नै नेकपा (चौम) को पार्टी सदस्य भए पनि २०४८ सालमा भएको कर्मचारी आन्दोलनमा सक्रिय भएको कारणले नोकरीबाट हटाइयो । त्यसपछि नेकपा(मसाल) को पूर्णकालीन कार्यकर्ता भएर पार्टीको जिम्मेवारीमा आएँ ।

० नेकपा (मसाल), नेकपा(एकीकृत), नेकपा(क्रान्तिकारी–माओवादी) हुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसम्मको यहाँको राजनीतिक यात्रालाई संक्षिप्त समीक्षा गर्नुपर्दा के भन्नुहुन्छ ?
–नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) बीच एकता भै नेकपा (एकताकेन्द्र–मसाल) बनेको थियो । दुई समूहबीच वास्तविक एकता कहिल्यै भएन । पूर्व समूहको विरासतलाई पूर्व समूह दुवै नेतृत्वले विर्सन सकेनन् र पार्टी फेरि दुई समूहमा विभक्त भए । म लगायतका आठ जना केन्द्रीय समितिमा रहेको कामरेडहरु एकताको निरन्तरताको लागि सक्दो प्रयास ग¥यौं तर दुवै पक्ष समूहका नेताहरु संकीर्ण स्वार्थको साथ पार्टी फुटाए पछि हामी ८ जनाको समूह दुवै समूहबाट स्वतन्त्र रहेर पार्टीको पुनर्गठन ग¥यौं । त्यसपछि एकता र फुटको क्रममा विचार मिल्ने क्रान्तिकारी कामरेडसँग एकता दिगो हुने र अवसरवादीहरु फुट्दै जाने अनुभव गरेका छौं । तिनै एकताको क्रममा साथ पाएका क्रान्तिकारी कमरेडहरुसँग मिलन र पूनर्मिलन हुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसम्मको यात्रामा छौं । क्रान्तिको गन्तव्यमा पुग्न क्रान्तिकारी विचारको जगमा अडिनु आवश्यक रहेको कुरामा विश्वास छ ।

० तपाई अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार सचिवको रुपमा रहेर काम गरिरहनु भएको छ । यहाँले आफ्नो पदीय दायित्व के कसरी निर्वाह गरिरहनु भएको छ ?
–म पार्टीको पोलिट्व्यूरोको जिम्मेवारीमा रहँदा पार्टीकै कामको सन्दर्भमा साइकिलबाट लडेर बायाँ तिघ्राको माथिल्लो जोर्नीको हाड फुटेर अस्पतालमा सल्यक्रिया गरेर स्टिल हाली दिएको छ । त्यसले हिंडडुल गर्न कठिन हुन गएकोले पोलिट्व्यूरो जस्तो पदमा बसिरहन उचित नभएको ठानेर स्वेच्छाले त्यस जिम्मेवारीबाट हटें । पार्टीले सल्लाहकारको जिम्मेवारी दिएको छ । शारीरिक काम नसके पनि आफ्नो सोच विचारले भ्याएको सल्लाहसुझाव दिएर पार्टी र क्रान्तिको काममा सहयोग पु¥याउन प्रयत्न मेरो सदैव रहनेछ ।

० हाँक साप्ताहिक मार्फत् थप केही भन्नु छ कि ?
–हाँक साप्ताहिकले श्रमजीवी, उत्पीडित वर्ग र समुदायलाई मुक्ति संघर्षको पथमा सहभागी बनिरहोस् यही कामना छ मेरो । 000

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित