मनाङ जिल्लाको कम्युनिष्ट आन्दोलन: संक्षिप्त ऐतिहासिक रुपरेखा

-रामबहादुर बुढा

स्थान परिचय
मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्लाको “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपूर्ण छ । प्राकृतिक छटाले भरिपूर्ण हिमालको काखमा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपूर्ण छ । विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स–साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग कि.मि. छ । (चिनारी नेपाल) मनाङमा तिब्बती लामा धर्मको प्रभाव छ । तिब्बती लामा धर्म जुनसुकै भए पनि आपसी भावनात्मक सम्बन्ध छ । (देव गुरुङ, २०८३) यो नेपालको सैबभन्दा कम जनसंख्या (५,६५८) भएको जिल्ला हो ।

मनाङ जिल्लाको एतिहासिक पृष्ठभुमि
नेपाल ३५ जिल्ला भएको बेला २०१८ साल भन्दा पहिले मनाङ जिल्ला लमजुङ जिल्ला अन्तर्गत  पर्दथ्यो। ७५ जिल्ला बनाए पछि मनाङ अलग जिल्ला बन्यो। अहिले म्यार्दी खोलाले लमजुङ र मनाङ जिल्लालाई छुट्याउँदछ । उत्तरी मनाङका ६ वटा गाउँहरू–मनाङ, भ्राका, खँसार, ङावल, घ्यारु र पिसाङ छुट्टै स्वायत्त क्षेत्र थियो। हिमाल पारीको बस्ती, नेपाल – चिन विच २०१६ सालमा व्यबस्थित रुपले सिमाँकन भैसके पछि नेपाल भुमिको प्रष्ट त भयो। तर नेपाल सरकारको पहुच पुगेको थिएन। मनाङ उत्तरी भेगमा जटिबुटी पाईने अन्य खेती पाती पेसा व्यवसाय कम हुने र बर्षातको मौसममा जटिबुटी सँकलन गरी हिउदमा पोखरा, नारायणगढ, काठमाण्डु लगायतका शहरी क्षेत्रमा झरेर व्यापार गर्थे । यही क्रममा कलकत्ता लगायतका भारतीय शहरहरुका साथै वर्मा, बैँकक, सिगापुर र मलेसिया सम्म पुग्थे। (देखगुरुङसित २०८३ वैशाख २४ मा गरेको कुराकानी ) बुढा पाकाहरुबाट प्राप्त मौखिक जानकारीका अनुसार सायद २०१७ सालको हिउदमा राजा महेन्द्र सिँगापुर भ्रमणमा गएको बेला सिँगापुरका सडकका छेउछाउमा जटिबुटी व्यापार गरिरहेका केही मनाङगेहरु सँग भेटे। जटिबुटी व्यापारका केही समस्याहरु बुझे। नाम ठेगाना टिपेर आउदो वर्षातमा मनाङ आउने कुरा गरे।त्यही भेटको आधारमा २०१८ सालको बर्षातमा राजा महेन्द्र हेलीबाट मनाङ गए र भ्राका भन्ने ठाउँमा हेली ल्याण्ड गरी सिँगापुरमा भेटेका मनाङगेहरुको नाम लिएर सोध खोज गरे। सबैलाई जम्मा गरी चीन सँगको सिमाँकनबाट नेपालको भूभाग परेकोले नेपाल सरकारलाई समर्थन गर्न भने। मनाङबासी नेपाल सरकारलाई समर्थन गरेर के सुविधा पाईन्छ भनेर सोधे। राजाले मनाङवासीको माँग के हो भनि सोधे। मनाङगेहरुले यहाँ खेतीपाती हुँदैन, जटिबुटी सँकलन गरी हिउदमा समुद्र पार सम्म व्यापार गर्न जानु पर्ने। अत ः विदेस–समुन्द्रपार व्यापारको सुविधाको माँग गरे। राजा महेन्द्रले त्यसलाई स्विकार गरी आउदो हिउदमा काठमाण्डुमा आउनु व्यापारको सुविधा दिने भने। सोहि अनुसार २०१८ को सम्भवतः मंसिर महिनामा प्रतिनिधि टोली काठमाण्डु आएर प्रतिनिधि टोली दरवार गए । राजाले उक्त ६ वटा गाँउका वासिन्दाको लागि अन्तरर्राष्ट्रिय व्यापार गर्न लालमोहर दिने व्यवस्था गरे। तत्पश्चात माथिल्लो ६ गाँउ विधिवत रुपमा नेपालको भुभाग मानी प्रशासनिक पहुँच, पन्चायतको गठन लगायतका कार्यहरु सुरु भएका थियो।(देव गुरुङले २०८३ असार २ गते दिएको लिखित उत्तर)

मनाङमा कम्युनिष्ट विचारको शुरुआत
राणा शासन कालमा मनाङ लार्के हुँदै तिव्बत तर्फको बस्तु विनिमय गर्ने व्यापारी मार्ग पथ्र्यो र मुख्यत नुनको व्यापार हुन्थ्यो। विम्थाङ भन्ने ठाँउमा व्यापारी मार्गमा कर उठाउन लमजुङ धनपोखराको नरजँग गुरुङलाई सुव्वा पदवी दिएर पठाएको थियो । त्यसको थोँचे भन्ने ठाँउमा नरजँगका परिवारहरुको बसोबास हुन थाल्यो। उनकै सन्तती खगेन्द्रजंग गुरुङ थोचेमा बसोवास गर्दै आईरहेका थिए। खगेन्द्र जँग युवा अवस्थामा बनारस गएर सँस्कृत शिक्षा पढेको। त्यही समय बनारसमा पुष्पलाल सँग सम्पर्क भै कम्युनिष्ट विचारबाट प्रभावित भएको थिए । उनले तल्लो मनाङको ३ गाँउमा प्रौढ कक्षाको सन्चालन गरे । वहाँ मार्फत नै डिल्ली जँग गुरुङ र गणेस बहादुर गुरुङ प्रभावित हुनु भयो र मनाङमा कम्युनिष्ट विचारको प्रभाव शुरुआत भएको देखिन्छ। तर खगेन्द्र जँग गुरुङ स्वयम कम्युनिष्ट पार्टीमा लाग्नु भएन। तमुवान स्वायत्त राज्य बनाउनु पर्छ भनी आदिवासी आन्दोलनमा लाग्नु भयो। पटक पटक गिरफतार पर्नु भयो। जेल बस्नु भयो। कँग्रेसका नेता वि.पि. कोईराला सँग सम्पर्क पुग्नु भयो। वि.पि. कोईरालाले १५ सालमा वहाँलाई आफ्नो मन्त्रिमण्डलमा साहायक वन राज्यमन्त्री पनि बनाए। काँग्रेस सरकार पछि राजा महेन्द्र सँग सम्पर्कमा पुगे। राजा महेन्द्र र चीनमा माओ विच सँबन्ध बढाउन पैदल यात्रा गरी चिन भ्रमण पनि गर्नु भयो। तर लामो समय सम्म स्वतन्त्र बस्नु भयो। माओवादी जनयुद्व शुरु भए पछि जनयुद्वको समर्थन गर्नु भयो। तमु मोर्चामा सल्लाहाकार बन्नु भयो। प्रचण्ड सँग भेटेर राष्ट्रवादीहरु विच मिल्न र चिनिया कम्युनिष्ट पार्टी सँग भाईचारा सम्बन्ध बढाउन जोड दिनु भयो। त्यसको लागि आफुले सक्दो सहयोगको भुमिका खेल्न सकिने कुरा गर्नु भयो। वहँलाई ज्ञानेन्द्र शाहीको शासन कालमा नेपाली सेनाले गिफ्तार गरी निर्मम यातना दियो। तात्कालीन शाही सेनाले लमजुङ स्थित वहाँको घर लुटपाट र तोडफोड गरे। शान्ति प्रकृया पछि रिहा हुनु भयो। तर १२ बुदे सँझौता र वृहत शान्ति सँझौताको प्रकृयामा पार्टी सँग मतभेद राख्नु भयो र फेरि कुनै पार्टीमा नलागि स्वतन्त्र बस्नु भयो। २०८२ सालमा ९५ बर्षको उमेरमा वहाँको निधन भयो। गणेस बहादुर गुरुङ तात्कालीन नेकपा(माओवादी) को केन्द्रिय सल्लाहकार हुनु भएको थियो। २०६१ सालमा ६२ वर्षको उमेरमा क्यान्सरबाट पीडित भई वहाँको निधन भयो।. (देव गुरुङले २०८३ असार २ मा पठाएको लिखित अन्तरवार्ता )

खगेन्द्रजंग गुरुङको घर मनाङ र लमजुङ दुवै ठाउँमा थियो । २०८२ सालमा ९५ वर्षको उमेरमा उनको मृत्यु भयो । उनी आफ्नो समयको टाठोबाठो मानिस थिए ।खगेन्द्रजंग गुरुङ लामिछाने गुरुङ थिए र डिल्ली जंग गुरुङ पनि लामिछाने गुरुङ थिए , साइनोले नजिक थिए ,जसले गर्दा पनि डिल्ली जंग छिटै कम्युनिष्ट आन्दोलन प्रति प्रभावित हुन सम्भव भयो । खगेन्द्रजंग गुरुङ, राजा महेन्द्रको चिठी लिएर चीनमा माओलाई भेट्न गएका थिए । चिनियाँ पुस्तकहरु “रातो लालटिन”, “ओ याङ्ग हाइको गीत” जस्ता पुस्तकहरु घर लिएर आएका थिए । उनले डिल्ली जंग गुरुङ जस्ता युवाहरुलाई ती किताव पढ्न दिए । कम्युनिस्ट भनेको धनी र गरिव नहुने, सबैले काम गर्ने, सबैले खान लाउन पाउने व्यवस्था हो र यो राम्रो व्यवस्था हो भन्ने छाप डिल्ली जंग गुरुङ जस्ता युवाहरुको दिमागमा प¥यो । चीनबाट आएका ती किताबहरु निकै जाँगरले पढे । चीनबाट आएका किताबले कम्युनिस्ट पार्टीप्रति झुकाव बढायो । (डिल्ली जंग तमु सित गरिएको कुराकानी)

निर्मल लामा पार्टीका महासचिव भएका बेला अनेरास्ववियुका केन्द्रीय नेता तारा न्यौपाने मनाङ पुगेका थिए । तारा न्यौपाने लमजुङका थिए । तारा न्यौपाने डिल्ली जंग गुरुङको घर पुग्नुभन्दा पहिले डिल्ली जंग गुरुङहरु कम्युनिस्ट सिद्धान्तप्रति खगेन्द्रजंग गुरुङका कारण आस्थावान भइसकेका थिए । तर कमिटीमा आबद्ध थिएनन् । मनाङबाट फर्किए पछि तारा न्यौपानेले पार्टीका नेताहरुलाई भनेछन्, “मनाङमा कम्युनिस्टहरु रहेछन् । खै तपाईहरु के हेरेर बसेको पार्टीका नेताहरुले ? पार्टीमा संगठित गर्नुपर्दैन ? निर्मल लामा महासचिव (२०३४–२०३६) भएका बेला मनाङमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । केन्द्रीय नेता चित्रबहादुर के.सी., खम्बासिंह कुँवरसहित ३ जना मनाङ पुगे । चित्रब. के.सी. समेतको उपस्थितिमा ३ जनाको नेकपा मनाङ जिल्ला संगठन समिति बनेको थियो । जसको सेक्रेटरी डिल्ली जंग गुरुङ थिए भने अरु दुई जना खड्वीर गुरुङ र गणेशबहादुर गुरुङ थिए । निर्मल लामाले गोरखपुर बोलाए पछि पंचायतकालमा उनीहरु गोरखपुर पुगेर प्रशिक्षण लिएका थिए । २०४० मा पार्टी विभाजन हुँदा  डिल्ली जंग गुरुङ निर्मल लामाको पक्षमा रहेँ । (डिल्लीजंग गुरुङले हाँक साप्ताहिकलाई दिएको अन्तर्वार्ता र देव गुरुङ सित २०८३ असार २ गतेको लिखित अन्तर्वार्ता)
२०५१ मा पार्टी विभाजन हुँदा पनि डिल्लीजंग निर्मल लामा भएकै पार्टीमा बसे । धेरैपछिसम्म नारायण काजी, अमिक शेरचन, लिलामणि आबद्ध भएकै पार्टीमा बसें ।

मनाङको कम्युनिष्ट आन्दोलनमा देव गुरुङको योगदान महत्वपूर्ण छ ।  उनी कास्कीमा हाइस्कुल पढ्ने बेलाबाटै वामपन्थी विचारबाट प्रभावित भएका थिए। उनी २०३१ सालमा कास्कीको पोखरा स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएका थिए। ९ र १० का पुराना विद्यार्थीहरूले कक्षा आठमा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम अन्तर्गत नास्ता खाने बेलामा कागजहरूमा नास्ता दिने बेला संयोगले देव गुरुङले खाने कागजमा माओकोक ठूलो फोटो परेछ। चीनबाट प्रकाशित हुने सचित्र चिन भन्ने पत्रिकामा छापिएको माओको फोटो थियो त्यो। शिक्षक हेमराज पहारीले तिमी हो यस्तै मान्छे जस्तै ठूलो मान्छे बन्नुपर्छभनेर बताउनु भएछ। एसएलसी दिएपछि मनाङको ठोँचेमा पढाउँदा त्यहाँ पूर्णप्रसाद सुवेदीसँग सम्पर्क भयो। सुवेदी पनि नेकपा चौथो महाधिवेशन धारकै थिए।एसएलसी पास गरेपछि ललितपुरको पुलचोक इन्जिनियरिङ कलेजमा भर्खर भर्ना भएको बेला ललितपुरको ठैबमा भएको अनेरास्ववियुको छैठौँ राष्ट्रिय सम्मेलनमा गुरुङले मनाङबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। २०३८ सालमा काभ्रेको जङ्गलमा अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भयो। त्यो सम्मेलनबाट गुरुङ केन्द्रीय सदस्य चयन भए। २०४० सालमा गोरखपुरमा सम्पन्न भएको आठौं राष्ट्रिय सम्मेलनबाट गुरुङ अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने। (अनेरास्ववियु छैठौंको केन्द्रीय मुखपत्र ,योद्धा ,वर्ष ११ पूर्णाङ्क १३ ,२०७४ ) २०४१ मङ्सिरमा सम्पन्न नेकपा मशालको पाँचौं महाधिवेशनबाट गुरुङ केन्द्रीय सदस्य बनेका थिए। मनाङमा जन्मिएर नेपालको वामपन्थी राजनीतिको राष्ट्रियस्तरमा योगदान गर्ने व्यक्तिहरूमध्ये देव गुरुङ एक हुन्।

एमाले धार

नेकपा (एमाले) निकै पछि मात्र मनाङमा प्रवेश ग¥यो । मनाङमा एमालेको प्रभाव दुईतिरबाट पर्यो। एकातर्फ कास्कीमा आई पिएन क्याम्पसमा पढ्ने विद्यार्थीहरू र अर्कोतर्फ सोलुखुम्बुका पूर्व पञ्चहरू पछि एमाले बने र तिनै सोलुखुम्बुका एमालेहरूको नातेदारहरुले मनाङमा एमाले विस्तार गर्न मद्दत गरे । ( देव गुरुङ २०८३) २०८१ कार्तिकमा सम्पन्न नेकपा (एमाले) मनाङको पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्ष पोल्देन छोपाङ गुरुङको नेतृत्वमा ४२ सदस्यीय समिति गठन भएको छ (ई कान्तिपुर)

चुनावी राजनीति 
चौथो महाधिवेसन भित्र पटक पटक पार्टी विभाजन र एउटा घटकबाट २०५२ देखि जनयुद्वको शुरुआत भए पछि मनाङमा तत्काल पार्टी कमजोर बन्न पुग्यो। ठिक त्यहि बेला मनाङमा कार्यरत लमजुङका शिक्षकहरुबाट एमाले पार्टीको शुरुआत गरियो। नाचै गाँउ निवासी मँगल बहादुर गुरुङ, सँसदीय निर्वाचनको उमेदवार पनि हुनु भयो। मनाङमा पन्चायत काल देखि पन्चहरुको प्रभुत्व रहेको, दोस्रोमा कँग्रेस र तेस्रो कमजोर अवस्थामा कम्युनिष्टहरु रहँदै आएको अवस्था थियो।
१० वर्षको जनयुद्व र बृहत शान्ति सम्झौता पश्चात मनाङमा फेरि कम्युनिष्ट पार्टी विस्तारको सम्भावना बढ्यो। २०६४ सालको सँविधान सभा निर्वाचनमा तात्कालिन नेकपा(माओवादी)को उमेदवार देव गुरुङले जितेका थिए। त्यस पछि माओवादीमा भएको विभाजनले फेरि असर प¥यो र काँग्रेसले जित्न थाले। पछिल्लो समयमा पन्चायत काल देखिको पूर्व पन्चहरुको ठूलो समुह एमाले प्रवेस ग¥यो । परिणाम त एमाले पनि सापेक्षिक रुपमा बढ्दो अवस्थामा पुग्यो। २०७४ मा सबै वाम एक ठाँम हुँदा एमाले उमेदवार पोल्देन छोपाङले जिते । तत्पश्चात वाम एकता हुन नसकेकोले काँग्रेस कै उमेदवारले निरन्तरता पाईरहेकोछ। (देव गुरुङ–२०८३ असार २)

अन्त्यमा
मनाङमा कम्युनिस्ट विचार फैलाउनमा खगेन्द्रजंग गुरुङ जस्ता पंचहरुको देन रह्यो तर सांगठनिक हिसावले नेकपाको पहिलो सुरुवातकर्ता चौथो महाधिवेशन धार हो । थोंचेमाविका प्र.अ. पूर्ण सुवेदी (लमजुङ निवासी) हाल निधन ) लागयत पार्टीमा जोडिए गण्डक व्यूरो इन्चार्ज ओम ब.गुरुङ(लमजुङ)लाई शिक्षक बनाएर मनाङ पठाएको थियो । २०४६ सपछि यशोदा सुवेदी नेकपा एकताकेन्द्रको सेक्रेटरी भएर काम गरेकी थिइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित