सनकको भरमा देश चल्दैन

–रामराज रेग्मी, लेखक तथा वामपन्थी बुद्धिजीवि

० असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा संविधानमा रहेका संघीयता, समानुपातिक, शासकीय स्वरुप जस्ता मूलभूत विषयहरुलाई संविधान संशोधन मार्फत् परिवर्तन गर्ने निर्णय ग¥यो । यस विषयमा तपाई के भन्नुहुन्छ ?
–रास्वपाको यो निर्णय अवैज्ञानिक छ । देश र जनताको लागि घातक छ । ०६२/०६३ को जनआन्दोलन र जनयुद्धको योगदानस्वरुप नेपालमा संघीयता, समानुपातिक, समावेशी व्यवस्था, धर्मनिरपेक्षता जस्ता उपलब्धि प्राप्त भएका छन् । जनताको बलिदानबाट प्राप्त अधिकारहरु नै खोसिने गरी संविधान संशोधन गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको छ । जनताका अधिकार खोसिने गरी हुने कुनै पनि क्रियाकलाप स्वीकार्य हुँदैन ।

० संविधानमा केन्द्र र प्रदेश,प्रदेश र स्थानीय तहका बीचमा अधिकार बाँडफाँड गरिएको छ । यहाँसम्म कि संविधान संशोधन गर्दा समेत प्रदेश तहको भूमिका त्यहाँ राखिएको छ । प्रदेश नै खारेज गर्दा त पूरै संविधान नै पुनर्लेखन हुने भयो, हैन र ?
–संविधान पुनर्लेखन हुन्छ कि भन्ने बारेमा हामीले धेरै चिन्ता गर्नु पर्दैन । तर संविधान पुनर्लेखन भए पनि जनताको हितमा हुनुपर्दछ । संविधान संशोधन गर्दा जनताको मनोभावना बुझेर मात्र गरिनु पर्दछ। पंचायती व्यवस्थामा एकात्मक केन्द्रिकृत प्रणाली थियो । ०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि एकात्मक केन्द्रिकृत प्रणाली नै देशमा लागु भयो । ०६२/०६३ को आन्दोलन अगाडि र पछाडि जनजाति, मधेशी, दलितहरुले खुला प्रतिस्पर्धा गर्दा हाम्रो प्रतिनिधित्व सुनिश्चित हुँदैन । त्यसकारण हाम्रो प्रतिनिधित्वलाई पनि सुनिश्चित हुनु प¥यो भनेर आन्दोलन गरेका हुन् । त्यसो भएकाले निर्वाचन पद्धतिलाई पनि विचार गर्नुपर्दछ । स्वायत्तता पनि दिनुपर्छ भन्ने आन्दोलनको माग थियो । सबै कुरा जनजातिले भने जस्तो भएन । संघीयता भनिए पनि अझै, कैयौं कुराहरु अपुग नै छ । कतिपय ठाउँमा जनजातिहरुको सघन वस्तीहरु छन् । जस्तो कि मनाङ र मुस्ताङमा त्यहाँ जनजातिहरुको सघन वस्ती छ । त्यस्ता जनजातिहरुको सघन वस्ती भएका ठाउँमा मलाई के लाग्छ भने जवरजस्ती नेपाली भाषा लादेर उनीहरुको बौद्धिक विकास हुँदैन । मातृ भाषामा अध्ययनलाई विशेष महत्व दिंदा उनीहरुको आत्मविकास गर्न सजिलो हुन्छ, वैज्ञानिक हुन्छ । जनतालाई स्वायत्तता दिने कुरामा अझै कमी छ । प्रहरीलाई प्रदेशले प्रयोग गर्न पाउँदैन, त्यो सिडिओको हातमा छ । रास्वपाहरुले सघीयता नै खारेज गर्ने कुरा गर्दैछन्, यसले देशमा अर्को द्वन्द्व निम्ताउने देख्छु मैले । केन्द्रको अधिकार तल विकेन्द्रित गर्ने, जनतालाई अरु अधिकार सम्पन्न गराउने बारे बरु विचार गर्नुपर्छ । रास्वपाले यसबारेमा गलत विचार लिइरहेको छ भन्ने लाग्छ ।

० रास्वपाले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउने प्रस्ताव अगाडि सा¥यो नि ?
–पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएका देशहरु कुन कुन हुन् ? त्यसको फाइदा के हो र बेफाइदा के हो ? नेपालको सन्दर्भमा त्यस्तो प्रणालीले के कति फाइदा दिन्छ ? ती सबै कुराको अध्ययन गरेर मात्र पूर्ण समानुपातिक प्रणाली अपनाउनु पर्दछ , अपनाउने भए पनि हचुवाको भरमा निर्णय लिनु हुँदैन । रास्वपाले जे जस्ता प्रस्तावहरु संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरुपका बारेमा ल्याएको छ, स्वयं रास्वपाभित्र पनि व्यापक छलफल भएर आए जस्तो लाग्दैन । यी बारेमा सम्बन्धित विषयका विज्ञहरु बोल्नु प¥यो । आम जनतामा छलफल हुनु प¥यो ।

० प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको छलफललाई पनि अगाडि बढाइँदैछ नि ?
–जनता सचेत नभएको अवस्थामा, चेतनशील जनता नभएको ठाउँमा प्रत्यक्ष कार्यकारी प्रमुख खतरा हुन सक्छ । त्यसका लागि जनता नै सतर्क रहनुपर्छ । संसदबाट निर्वाचित प्रधानमन्त्री बालेन अहिले नै निरंकुश देखिन्छन् भने अझ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्दा देश निंकुशतामा फस्ने वा दुर्घटनामा जाने त्रास जनतामा छ ।

० संविधान संशोधनको बहानामा अन्य पार्टीहरुलाई अल्झाइ दिएर रवि–बालेनले निरंकुश फासिवादी शासन चलाउन खोजेका त हैनन् भन्ने आशंका पनि गरिएको छ ?
–मैले भनि हाले नि यी विषय स्वयं आफ्नै पार्टी भित्र पनि राम्रोसँग छलफल नगरी यी कुरा आएका छन् भने त्यो आशंका त अवश्य हुने नै भयो । कतै देशलाई असफल राष्ट्र बनाउने डिजाइन त भइरहेको छैन भनेर शंका उपशंका त उब्जिरहेकै छ ।
० धनुषाको चुनावीसभामा बालेनले प्रदेश खारेज गर्ने हैन, प्रदेश बलियो बनाउने हो भने, अनि जनताले भोट दिएर सरकारमा गए। सरकारमा गएपछि त्यही पार्टीले अहिले प्रदेश खारेजीको एजेण्डा ल्यायो भनेर पनि विरोध भइरहेको छ ?
–यिनीहरु निश्चित आइडिअलजी (विचारधारा ) बोकेका र विचारबाट चल्ने मान्छे हैनन् । यिनीहरु ह्वीममा चल्ने मान्छेहरु हुन् । सनकका भरमा ड्राइभरले गाडी चलायो भने के हुन्छ ? म आमजनताको प्रधानमन्त्री हुँ भन्ने नसोंची सनकको भरमा देश चलाउन थालेपछि देश दुर्घटनामा जान सक्छ त्यसैले आम जनता नै सचेत हुनुपर्ने देखिन्छ ।

० तपाईले “राष्ट्रिय पहिचानका मूल मुद्दाहरु” भन्ने पुस्तकमा नेपाल बहुराष्ट्रिय देश होइन भन्नु भएको छ । अहिलेपनि तपाईको विचार त्यही हो ?
–हो, मेरो विचार अहिले पनि त्यही नै हो । जस्तो यूरोपमा फ्रेन्च, जर्मन जस्ता राष्ट्रहरु विभिन्न जाति, भाषा, समुदाय मिलेर राष्ट्र बने त्यस्तै नेपालमा मगर, गुरुङ, क्षेत्री , बाहुन, त्यसरी निर्माण भएका राष्ट्र होइनन् र नेपाललाई बहुराष्ट्रिय देश भन्न मिल्दैन ।

० भर्खरै पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले भ्रष्टाचारको अभियोगमा गिरफ्तार गरेको छ । अब अरुको पनि पालो आउँदैछ भन्ने सुनिन्छ । एकथरीले विष्णु पौडेललाई मुद्दा चलाउनु राम्रो भयो भनेका छन् र अर्काथरीले पूर्वाग्रह राखियो भनेको सुनिन्छ । तपाईको यसबारेमा के विचार छ ?
–गिरफ्तार गर्दैमा हामीले प्रतिक्रिया जनाउनु पर्दैन । भ्रष्टाचारीहरुलाई पक्रनु पर्छ तर सुदन गुरुङ पनि निकै शंकास्पद देखियो । सरकारमा बस्नेहरुले करोडौं करोडका सुन देखाए । ती कहाँबाट आएका हुन् ? पारदर्शी हुनुपर्दछ, सम्पत्तिको विवरण खुलाउनु पर्दछ । आफ्नालाई जोगाउने अरुलाई मात्र कार्वाही गर्न थालेपछि प्रतिशोधको व्यवहार हो कि भन्ने जनतामा पर्दछ । भ्रष्टाचारीहरु सबै कार्वाहीको डायरामा आउनुपर्दछ ।

० अब तपाईको कुरा गरौं । “बुर्जुवा शिक्षा बहिष्कार गरौं” भन्दै पढाई छोडेर हिंड्ने मध्ये तपाई पनि हो भन्ने सुनियो ।
– म , शेषमणि, छविचन्द्र ढकाल, रामप्रसाद अधिकारी लगायत हामी बुर्जुवा शिक्षा बहिष्कार अभियानमा लाग्यौं। २०२० को दशकको अन्त्यतिर बुर्जुवा शिक्षा बहिष्कार गरांै भन्ने माहोल बन्यो ।भारतमा नक्सलाइट आन्दोलन तीव्र रुपमा चलिरहेको थियो । उता चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिको लहर चलेको थियो । त्यसको प्रभावले हामी पनि बुर्जुवा शिक्षा बहिष्कार गरौं भनेर पढाई छाडेर हिंडियो । भारतका चारु मजुम्दारको दस्तावेजहरु नेपालमा भूमिगत रुपमा आउँथे । हामीले ती पढ्थ्यौं । चीनमा पनि पढालेखा बुद्धिजीवीहरु गाउँमा गएर किसानसित काम गर्ने अभियान थियो । म टियुमा एमए पढ्दा पढ्दै हिंडे ।

० शिक्षक छँदाको अनुभव पनि सुनाउनुस् ।
–पढाई बहिष्कार गरेर हिंडेपछि घर आएँ । ६/७ महिना घर बसें । यसले राम्रै गर्ला भन्ने आमा–बुबाले सोच्नु भएको थियो । बुबासित मेरो अन्तर्विरोध भयो । म २०२८तिर शिक्षक भएर लम्जुङको भोटेओडार पुगे। त्यसमा कृष्ण आचार्य पनि हुनुहुन्थ्यो । उहाँ उद्योगपति हो । त्यहाँ ६/७ महिना पढाएपछि प्रहरीले मलाई गिफ्तार गरेर वेशीशहर लगेर १ महिना जति थुन्यो । त्यसपछि मलाई लमजुङ जिल्ला निस्कासन ग¥यो । लमजुङबाट फर्किएपछि म म्याग्दीको बाटो सोलेको धुरी काटेर बागलुङको बुर्तिवाङमा १ वर्ष उत्तरगंगा माविमा प्र.अ. भएर बसें । यो राजनीतिक मान्छे, व्यवस्था विरोधी मान्छे हो भन्ने थाहा पाएर मलाई त्यहाँका मुखियाहरुले हटाउन खोजे ।
अन्तर्विरोध बढेपछि म बागलुङकै गल्कोटमा चित्र बहादुर के.सी. हेडमास्टर भएको स्कूलमा आएर ६ महिना जति पढाएँ। त्यसपछि मलाई साथीहरुले तनहुँ, ढोरफेदीमा ठाउँ खाली भएर शिक्षक बनाएर ल्याउनु भयो । शिक्षक जीविकाको कुरा मात्र थियो । मेरो मुख्य काम राजनीति नै थियो । त्यहाँ बस्दा दलित, मजदुर, बाउसेहरुको घरमा जाने, उनीहरुलाई कुरा बुझाउने, समय मिलेमा उनीहरुसितै काम गर्ने, इटा बनाउने यसरी जनताको बीचमा संगठन गर्ने काममा लागियो । मैले मेरी श्रीमतीलाई पनि लिएर तनहुँ गएको थिएँ । त्यहाँ थर्पुमा हली आन्दोलन पनि गरायौं। हाम्रा आफ्ना गोप्य सेल्टरहरु थिए । थर्पुमा ६ वर्ष र ढोरफेंदीमा २ वर्ष गरी ८ वर्ष मैले तनहुँमा पढाएँ । विद्यार्थी संगठन पनि गराइयो तर ती सबै पाँचौं र छैठौंमा गए । हाम्रो आफ्नो भएनन् ।

० अति गोप्यवादी समूह थियो रे नि?
–हाम्रो संगठनको नाम “अति गोप्यवादी समूह” हैन । खास नाम नेपालका कम्युनिस्टहरुको संगठन (माओवादी)” थियो । हेटौंडा, काठमाडौंमा को को थिए भन्ने कुरा मैले भन्न सक्दैन । तनहुँमा शेषमणि जी, रामप्रसाद अधिकारी, रामबहादुर अधिकारी, यता कास्कीमा कमल मोहन पौडेल, टंकनाथ पौडेल, होमनाथ पौडेल, रामबहादुर तामाङ थिए । हामीले तनहुँ, स्याङ्जा, कास्कीमा काम ग¥यौं । किसान र मजदुरकाबीचमा बढी काम ग¥यौं । किसान र मजदुरका बीचमा बढी काम ग¥यौं । तनहुँमा ऋसिङ, घिरिङ धेरै ठाउँमा काम ग¥यौं । माओवादी जनयुद्धका बेला हामीले बनाएका सेल्टरहरु माओवादीहरुले पनि प्रयोग गरे । तपाईहरुले काम गरेका ठाउँमा हामी सुरक्षित भयौं भन्थे तनहुँमा माओवादी साथीहरुले ।

० २०४७ सालपछि त तपाईहरु सबै एमालेमा जानुभयो । पार्टीको नाम नै ‘माओवादी’ । त्यस्तो पार्टीका मान्छेहरु एमालेमा नगएको भए हुन्थ्यो भन्ने लाग्दैन ?
–त्यतिबेला हामीले बाटो पाएनौं । हाम्रो पार्टीको नेता श्याम प्रसाद शर्माजी नै खुलेर बाहिर आउनु भएन । अति गोप्यवादी तरिका पनि सधैभरी ठीक हुने रहेनछ भन्ने मलाई अहिले लाग्छ । हामी २०४९ मा एमालेमा गयौं । श्याम प्रसाद शर्माजीसित सल्लाह नै गरेर हामी गण्डकीका साथीहरु एमालेमा गयौं नै भनेर हिंड्यौं । शेषमणिजी एमालेको राष्ट्रिय परिषद् सदस्य हुनुभयो । मलाई एमालेले कास्कीमा जिल्ला कमिटीमा राखे तर म पछि माओवादीमा गएँ ।

० एकीकृत नेकपा माओवादीमा कति समय काम गर्नुभयो ?
–२०६७ मा पालुङटार बैठक भन्दा पहिले म माओवादीमा आबद्ध भएँ । मैले माओवादी छाडेको एक वर्ष भयो । माओवादीले मलाई केन्द्रीय निर्वाचन आयोगमा राखेका थिए । हाम्रो स्कूलिङमा हुर्किएका हामीहरु एमाले वा माओवादी वा स्वतन्त्र जो जहाँ भए पनि हाम्रो बीचमा हार्दिकता छ । हामी कतिपय काम मिलेरै गर्छौं । त्यो संस्कृतिको विकास भने हामीमा छ । मैले माओवादी छाडेको कुनै पद वा लाभ नपाएर छाडेको हैन ।

० यहाँले सबैभन्दा पहिले लेखेको पुस्तक कुन हो ?
–मैले २०३२ सालमा सबैभन्दा पहिले “मानिसको समाजका विभिन्न जुगहरु”शीर्षकको पुस्तक प्रकाशित गरेको थिएँ । त्यो किताब मैले बनारसबाट छपाएको थिएँ । जीवन नेपाली भन्ने लेखकको नामबाट मैले त्यो किताब लेखेको थिएँ । काठमाडौंमा निरन्जन गोविन्द बैद्यलाई बेच्न दिएको थिएँ । धेरैले त्यो किताब पढें । राम्रै बिक्री भयो । अब म सँग त्यो पुस्तक एक प्रति मात्र छ ।

० अन्य पुस्तकहरु ?
–०६२/०६३ तिरबाट म फेरि पुस्तक लेखनतिर लागें । “मानव समाज रुपान्तरण” लेखे । मैले अर्थशास्त्र, समाजशास्त्रबारे पनि लेखे । तर मेरो अहिले मुख्य अध्ययन र लेखनको विषय दर्शन हो ।
दर्शनको विद्यार्थी हुँ। मैले यतिबेला हाम्रै परिवेशको दर्शनको खोजी गरिरहेको छु। यसभन्दा पहिले पूर्वीय समाजमा भौतिकवाद भन्ने पुस्तक पनि लेखेको थिएँ। त्यसमा पौराणिक समाजमा पनि यहाँ भौतिकवाद थियो भन्ने कुरालाई उजागर गरेको छु । वुद्ध दर्शन, जैन दर्शनमा पनि कैयौं भौतिकवादी चिजहरु पाइन्छन् । बुद्ध मूर्ति पूजाका विरोधी थिए। कपिलको सांख्य दर्शन ,मिथिलाको न्यायदर्शन ती सबै दर्शनहरूमा रहेका भौतिकवादी विचारलाई मैले यस पुस्तकमा उजागर गर्ने कोसिस गरेको छु।

०अब के लेख्दै हुनुहुन्छ ?
–मैले एउटा उपन्यास लेख्ने तयारी गरिरहेको छु। उपनिषद्कालका दार्शनिक उद्दालकलाई आधार बनाएर मैले त्यो उपन्यास लेख्दैछु। छान्दग्य उपनिषदमा दार्शनिक उद्दालकको विचारहरु छन् ।उनले चेतना पदार्थको उपज हो भनेका छन् ।ब्रह्माले जगत सृष्टि गरेका होइनन् ,सुक्ष्म तत्वको विस्तारित रूप हो भनेका छन् ।

०तपाईँको पारिवारिक पृष्ठभूमि ?
–थाहा पाए अनुसार रेग्मीहरू बझाङको रेगमबाट रेग्मी बनेको हो। र नेपालभरिका रेग्मीहरूको पृष्ठभूमि त्यही नै हो।मेरो बुवा पिताम्बर रेग्मी र आमा भुवनेश्वरी हुनुहुन्छ ।कास्की हंसपुरकी इन्दु सुवेदीसित मेरो मागी विवाह भएको थियो।

० कास्कीमा कम्युनिस्ट आन्दोलनको सुरुवातबारे बताइदिनुहुन्छ कि?
–पुष्पलाल श्रेष्ठ सुरुमा तनहुँ आएको र तनहुँ पछि कास्की आएर यहाँ कम्युनिस्ट विचारको प्रचारप्रसार गरेको भेटघाट गरेको पाइन्छ । पुष्पलालपछि हिकमत सिंह भण्डारी, निर्मललामा लगायतका व्यक्तिहरु पनि आएर यहाँ कम्युनिस्टको विचार प्रसार गरेको पाइन्छ । यहाँ कास्कीमा कम्युनिस्ट आन्दोलनको विचार फैलाउनमा हर्ष स्याङ्बोको पनि महत्वपूर्ण भूमिका छ ।उनी दार्जिलिङतिरका प्रवासी नेपाली थिए। भारतमा पुष्पलालसँग भेट भइसकेपछि उनी केही समय शिक्षक भएर मुस्ताङ बसें, मुस्ताङपछि कास्कीमा आई उनले यहाँ माक्र्सवादको विचार प्रचारप्रसार गर्नेमा भूमिका खेलेको पाइन्छ। अलि पछि मात्र यहाँ कम्युनिस्ट पार्टीको संगठन निर्माण भएको पाइन्छ ।

०कास्कीमा साहित्यिक अवस्था कस्तो छ ?
–यहाँ कास्कीमा साहित्यिक अवस्था त्यति राम्रो छैन। तैपनि हामीले केही काम गरिरहेकै छौं। यहाँ गण्डकी साहित्य संगम लगायतका संगठनहरु छन् । हामीले गण्डकी साहित्य संगम मार्फत नियमित पुस्तक प्रकाशित गर्ने पनि गरेका छौं । मासिक नियमितरुपमा साहित्यकारहरू भेटघाट गर्ने, आफ्ना रचनाहरू कविताहरू सुनाउने पनि गर्दै आइरहेका छौं तर यसले गुणात्मक फड्को मार्ने गरिकन साहित्यिक विकास गर्न सकिएको छैन ।

० हाँकमार्फत थप भन्नु केही छ कि ?
–हाँकले रूसमा ईस्क्राले गरे जस्तै काम गर्न सकोस् । जनताको पक्षमा काम गर्न सकोस् भन्ने मैले शुभकामना दिन्छु ।
धन्यवाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित