–मरियन एस्पिनोसा, राष्ट्रिय जनवादी मोर्चा फिलिपिन्सका प्रतिनिधि
( नोट : प्रस्तुत सामग्री २०२६मई २२ र २३ मा राष्ट्रिय जनवादी मोर्चा फिलिपिन्सले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनमा मरियन एस्पिनोसाले दिएको उद्घाटन मन्तव्य हो । )
सम्मेलनको पृष्ठभूमि
कामरेडहरू, आदरणीय प्रतिनिधिहरू, विभिन्न देशहरूबाट तथा जनवादी आन्दोलनहरूबाट आउनुभएका कार्यकर्ता मित्रहरू, तपाईहरू सबैलाई हार्दिक न्यानो अभिवादन।
सबैभन्दा पहिले, म नेग्रोस ओक्सिडेन्टलमा सहादत प्राप्त गरेका हाम्रा श्रद्धेय लाल योद्धाहरूलाई स्मरण गर्दै मन्तव्य सुरु गर्न चाहन्छु।आजभन्दा ठिक एक महिना अघि, अप्रिल १९ र २० मा, फिलिपिन्स सशस्त्र बलको फासिवादी ७९औँ पैदल सेना (इन्फ्यान्ट्री बटालियन)विरुद्ध गरिएका प्रतिरक्षात्मक कारबाहीहरूको क्रममा, न्यू पिपुल्स आर्मी अर्थात् नयाँ जन सेना (एनपीए) का १० जना सदस्य र २ जना नाबालकसहित ९ जना गैरलडाकु कामरेडहरूलाई नेग्रोस ओक्सिडेन्टलको टोबोसो स्थित बाराङ्गाय सलामाङ्कामा दुश्मनले नरसंहार गर्यो।एनपीएलाई जनआधारबाट अलग पार्ने र जनतामाथि नियन्त्रण कायम गर्ने उद्देश्यले सेनाले ६५३ परिवारलाई जबरजस्ती विस्थापित गरायो । नरसंहारपछिका दिनहरूमा, आफ्ना युद्ध अपराधका समाचार बाहिर नआउन् भनेर फिलिपिन्स सशस्त्र सेनाले सञ्चार माध्यममा प्रतिबन्ध लगायो।
शवहरूको न्याय वैद्यकीय (फरेन्सिक) परीक्षणले उनीहरूलाई पछाडिबाट गोली हानिएको र केही व्यक्तिहरू अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ। सेनाबाट चुहिएको एउटा ड्रोन भिडियोमा उत्तरी नेग्रोसका एनपीए कमाण्डर रोजर ‘का .तापाङ’ फाबिल्लारलाई जीवित अवस्थामा पक्राउ गरिएको देखाइएको छ,जसले उनीहरूलाई पक्राउ गरेपछि तत्काल हत्या गरिएको संकेत गर्दछ। नवउपनिवेशहरूमा फासिवाद यस्तै रूपमा प्रकट हुने गर्दछ ।
फिलिपिन्स तथा सशस्त्र मुक्ति संघर्ष चलिरहेका अन्य देशहरूमा फासिवाद मुख्यतः अमेरिकी प्रतिविद्रोह निर्देशिका (counter-insurgency guide ) मा आधारित सैन्य कारबाहीका रूपमा प्रकट हुन्छ। यसको विशेषता भनेको ग्रामीण क्षेत्रमा सम्पूर्ण जनतामाथि सैनिक नियन्त्रण कायम गर्नु हो। यसको अर्थ जनताको हरेक गतिविधिमाथि नियन्त्रण गर्नु हो—उनीहरू कहिले खेतमा जान पाउने र खेतीपाती गर्न पाउने भन्ने कुरा समेत सेनाले निर्धारण गर्छ।सशस्त्र क्रान्तिलाई कुनै पनि प्रकारको भौतिक, राजनीतिक वा नैतिक समर्थन गर्ने नागरिकहरूलाई धम्क्याउने, दुःख दिने र हत्या गर्ने काम गरिन्छ।यसले युद्धका नियमहरू निर्धारण गर्ने अन्तर्राष्ट्रिय कानुनहरूको खुला उल्लङ्घन गर्छ । यसमा ‘कैदी नबनाउने नीति ’अपनाइन्छ, जसको उद्देश्य प्रतिरोध गर्ने वा आवाज उठाउने जनताको मनमा भय उत्पन्न गर्नु हो।
कठपुतली शासन व्यवस्थाको सन्दर्भमा, साम्राज्यवादी देशहरूमा जस्तै फासिवाद केवल गम्भीर संकटको समयमा मात्र उत्पन्न हुँदैन। बरु, यो अर्धउपनिवेशिक राज्यको स्थायी चरित्रका रूपमा रहन्छ, किनभने यस्तो राज्यले जनसमुदायको सशस्त्र प्रतिरोधलाई दबाउने प्रयास गरिरहेको हुन्छ।
नवउपनिवेशहरूमा फासिवाद भनेको प्रतिक्रान्तिकारी स्थायी युद्ध हो
आज हामी नवउपनिवेशहरूमा २१औँ शताब्दीको फासिवादबारे छलफल गर्न यहाँ भेला भएका छौँ। तर, छलफल सुरु गर्नुअघि हामी यस कक्षमा उपस्थित सबैलाई सम्झाउन चाहन्छौँ कि आज हामीले उठाउने विषयहरू केवल सैद्धान्तिक विषय मात्र होइनन्। हामीले छलफल गर्ने विषयहरू भनेका नवउपनिवेशहरूमा रहेका कम्युनिस्ट पार्टीहरू, सर्वहारा–समाजवादी आन्दोलनहरू तथा राष्ट्रिय मुक्ति संघर्षहरूको दैनिक यथार्थसँग सम्बन्धित छन्।
यो भेला केवल एउटा बौद्धिक अभ्यास मात्र होइन। बरु, साम्राज्यवादी प्रभुत्व र फासिवादी दमनका बदलिँदा स्वरूपहरूलाई अझ राम्रोसँग बुझ्ने र तिनका विरुद्ध प्रतिरोधलाई अझ प्रभावकारी ढङ्गले संगठित गर्ने हाम्रो निरन्तर प्रयासको एउटा हिस्सा हो।गत नोभेम्बर २०२५ मा, फिलिपिन्सको राष्ट्रिय जनवादी मोर्चाले साम्राज्यवादी केन्द्र राष्ट्रहरूमा फासिवादबारे एक सैद्धान्तिक सम्मेलन आयोजना गरेको थियो। त्यस सम्मेलनमा हामीले आजको फासिवादलाई हिटलर र मुसोलिनीको युगमा सीमित ऐतिहासिक अवशेषका रूपमा होइन, बरु संकटग्रस्त साम्राज्यवादको बारम्बार देखा पर्ने राजनीतिक अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने निष्कर्ष निकालेका थियौँ।
गत वर्षको उक्त सम्मेलनमा हामीले लेनिनको त्यो व्याख्याको समीक्षा गरेका थियौँ, जसअनुसार साम्राज्यवाद पूँजीवादको उच्चतम तथा मरणोन्मुख चरण हो, जसले अनिवार्य रूपमा प्रतिक्रियावाद, युद्ध तथा दमनको तीव्रता उत्पन्न गर्छ।दिमित्रोभले फासिवादलाई वित्तीय पूँजीको सबैभन्दा प्रतिक्रियावादी, अन्धराष्ट्रवादी तथा साम्राज्यवादी तत्त्वहरूको खुला आतङ्कवादी अधिनायकत्वका रूपमा परिभाषित गरेका थिए। त्यसको सट्टामा, माओले अर्धउपनिवेशिक तथा अर्धसामन्ती समाजहरूमा फासिवादी आतंक कसरी दलाल शासक वर्ग, सैनिक दमन तथा साम्राज्यवादद्वारा समर्थित प्रतिक्रान्तिमार्फत प्रकट हुन्छ भन्ने कुरा स्पष्ट गरेका थिए। यी सैद्धान्तिक आधारहरू आज पनि अत्यन्त सान्दर्भिक छन्।
लेनिनले आजको विश्व अवस्थाको सही पूर्वानुमान गरेका थिए।सन् २००८ को विश्वव्यापी वित्तीय संकटले नवउदारवादी विश्वीकरणको अस्थिरता र पतनलाई उजागर गरिदियो। बैंकहरू र एकाधिकारवादी कम्पनीहरूलाई ठूलो आर्थिक सहयोग प्रदान गरिए पनि पूँजीवादका संरचनागत अन्तर्विरोधहरू कहिल्यै समाधान भएनन्।बरु, असमानता झन् बढ्दै गयो, सामाजिक सेवाहरू खस्किँदै गए, ऋणको बोझ बढ्दै गयो र विश्वभरका श्रमजीवी जनताले झन् असुरक्षित जीवन भोग्नुपर्यो।
कोभिड–१९ महामारीले विद्यमान विश्व व्यवस्थाको अविवेकपूर्ण र क्रूर चरित्रलाई अझ स्पष्ट रूपमा उजागर गरिदियो।सबैभन्दा धनी देशहरूमा समेत लाखौं मानिस बेरोजगारी, भोकमरी, रोग र रोक्न सकिने मृत्युको शिकार भए, जबकि एकाधिकारवादी निगमहरूले अथाह नाफा कमाइरहे। विशेषगरी नवउपनिवेशहरूका सरकारहरूले आपतकालीन उपायहरूको प्रयोग गर्दै निगरानी, प्रहरी अधिकार तथा असहमतिमाथि लगाइने प्रतिबन्धलाई विस्तार गरे।
यसैबीच, अन्तर–साम्राज्यवादी प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ।प्रमुख शक्तिहरूबीच आर्थिक, प्राविधिक, सैन्य तथा भूराजनीतिक क्षेत्रमा प्रतिस्पर्धा तीव्र बनेको छ । प्रतिनिधि (प्रोक्सी) युद्धहरूले सम्पूर्ण जनसमुदायलाई निरन्तर विनाश गरिरहेका छन्।सामाजिक क्षेत्रमा हुने खर्च कटौती गरिँदैछ भने सैन्य बजेट लगातार बढाइँदैछ। परमाणु युद्धको खतरा फेरि एकपटक मानवतामाथि मडारिन थालेको छ।
यस्तो परिस्थितिमा, फासिवादी राजनीति शासक वर्गहरूले संकटलाई व्यवस्थापन गर्न, प्रतिरोधलाई दबाउन तथा साम्राज्यवादी प्रभुत्वलाई जोगाइराख्न प्रयोग गर्ने एउटा संयन्त्रका रूपमा देखा पर्छ। साम्राज्यवादी देशहरूमा हामी उदार लोकतान्त्रिक संस्थाहरूको क्रमिक क्षय र अति–दक्षिणपन्थी राजनीतिको सामान्यीकरण देखिरहेका छौं।जातीय विभेद, आप्रवासी विरोधी उन्माद, सैन्यीकृत सीमा व्यवस्था तथा अन्धराष्ट्रवादलाई जनताको आक्रोशलाई पूँजीवादी व्यवस्थाबाट अन्यत्र मोड्न झन् बढी प्रयोग गरिँदैछ।
‘ राष्ट्रिय सुरक्षा‘’ , ‘सीमा सुरक्षा ’ ,‘ आतंकवाद विरोध ’तथा ’कानून र व्यवस्था ’जस्ता भाषाहरू विस्तारित प्रहरी अधिकार, व्यापक निगरानी, सेन्सरशिप तथा आन्दोलनहरूको दमनलाई वैचारिक रूपमा उचित ठहर्याउने माध्यम बनेका छन्।यसैसँगै, डिजिटल प्रविधिहरूले आधुनिक राज्यको क्षमतालाई नयाँ स्तरमा पुर्याएका छन्।कृत्रिम बुद्धिमत्ता (एआई), पूर्वानुमानमा आधारित प्रहरी प्रणाली, जैविक पहिचान तथ्यांक भण्डार (बायोमेट्रिक डाटाबेस), अनुहार पहिचान प्रणाली, व्यापक तथ्यांक विवरण (मेटाडाटा) सङ्कलन, कलन बिधिमा आधारित (एल्गोरिद्मिक) प्रचार तथा अनलाइन अभिव्यक्ति माथिको नियन्त्रण (सेन्सरशिप)अहिले शासन र सामाजिक नियन्त्रणका अभिन्न अङ्ग बनेका छन्। लोकतान्त्रिक अधिकारहरूको क्षयसँगै दमनको प्राविधिक परिष्करण तीव्र गतिमा अघि बढेको छ। तर, हामीले सुरुमै बताए झैं, फासिवादले आफ्नो सबैभन्दा तीव्र र क्रूरतम रूप नवउपनिवेशहरूमा धारण गर्छ। नवउपनिवेशिक विश्वमा, फासिवाद कठपुतली राज्यका संरचनाभित्र गहिरोसँग गाभिएको हुन्छ।
एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा मध्यपूर्वका इतिहासहरुले साम्राज्यवादी शक्तिहरूले क्रान्तिकारी आन्दोलनहरूलाई दबाउन र आर्थिक प्रभुत्व कायम राख्न कसरी सैनिक तानाशाही, प्रति–विद्रोही शासन तथा अधिनायकवादी व्यवस्थाहरूलाई व्यवस्थित रूपमा निर्माण र संरक्षण गरे भन्ने कुरा देखाउँछ। संयुक्त राज्य अमेरिका तथा अन्य साम्राज्यवादी शक्तिहरूले विश्वका विभिन्न भागहरूमा प्रतिक्रियावादी शासनहरूलाई —दक्षिण भियतनामदेखि इन्डोनेसियासम्म, चिलीदेखि फिलिपिन्ससम्म, मध्य अमेरिकादेखि मध्यपूर्वसम्म समर्थन गरे वा स्थापना गरे ।यी शासनहरू राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई कुचल्ने, मजदुर र किसानहरूलाई दमन गर्ने तथा विदेशी एकाधिकारवादी स्वार्थहरूको रक्षा गर्ने साधनका रूपमा प्रयोग गरिए।
प्यालेस्टाइनमा हामीले साम्राज्यवादी शक्तिहरूको समर्थन प्राप्त बाहिरबाट आएका उपनिवेशवादी देशका मानिसहरु (settler-colonial) र फासिवादी हिंसाको आजको सबैभन्दा स्पष्ट उदाहरण देखिरहेका छौँ।त्यहाँ सम्पूर्ण समुदायहरूलाई घेराबन्दी, बमबारी, जबर्जस्ती विस्थापन तथा निरन्तर निगरानीको अधीनमा राखिएको छ।
भारतमा, अधिनायकवादी बहुसंख्यकवादी राजनीति, सैन्यीकरण तथा व्यापक आतंकवाद विरोधी कानुनहरू अल्पसंख्यकहरू, कार्यकर्ताहरू तथा क्रान्तिकारी आन्दोलनहरूविरुद्ध प्रयोग गरिँदै आएका छन् ,ल्याटिन अमेरिका, अफ्रिका र एसियाभरि, कार्यकर्ताहरू, ट्रेड युनियनकर्मीहरू, पत्रकारहरू, किसान संगठनकर्ताहरू, आदिवासी अधिकार रक्षकहरू तथा प्रगतिशील संगठनहरूले हत्या, बेपत्ता पारिने, कारावास तथा योजनाबद्ध उत्पीडनको निरन्तर सामना गरिरहेका छन्।फासिवादी दमनको निरन्तरताले एउटा कुरा स्पष्ट देखाउँछ—साम्राज्यवाद आफ्ना अन्तर्विरोधहरूलाई अझ बढी हिंसाको सहाराबाहेक समाधान गर्न असमर्थ छ। तर इतिहासले हामीलाई अर्को पाठ पनि सिकाउँछ।
दमनलाई तीव्र बनाउने हरेक प्रयासले प्रतिरोधका नयाँ रूपहरूलाई पनि जन्म दिन्छ।
बीसौँ शताब्दीभरि मजदुर, किसान तथा उत्पीडित जनताले सञ्चालन गरेका फासिवादविरोधी संघर्षहरूले फासिवाद अजेय छैन भन्ने प्रमाणित गरेका छन्।औपनिवेशिक कब्जा, सैनिक तानाशाही तथा फासिवादी आतंकको बारम्बार संगठित जनआन्दोलन, राष्ट्रिय मुक्ति संघर्ष, भूमिगत प्रतिरोध तथा क्रान्तिकारी पार्टीहरूले सामना गरेका छन्।
भियतनामका जनताले इतिहासकै सबैभन्दा शक्तिशाली साम्राज्यवादी युद्ध संयन्त्रमध्ये एकलाई पराजित गरेका थिए।एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका उपनिवेशविरोधी आन्दोलनहरूले पुराना औपनिवेशिक साम्राज्यहरूलाई ध्वस्त पारे।दोस्रो विश्वयुद्धको समयमा विश्वभरका मजदुर र जनताले फासिवादी कब्जाविरुद्ध प्रतिरोध गरे।इतिहासभरि जनसमुदायले बारम्बार प्रमाणित गरेका छन् कि सबैभन्दा शक्तिशाली हतियारले सुसज्जित प्रभुत्वकारी व्यवस्थाहरू पनि संगठित र दृढ जनशक्तिको सामना गर्दा कमजोर सावित हुन्छन्। यही कारणले फासिवादको अध्ययनलाई प्रतिरोधको प्रश्नसँग सधैँ जोडेर हेर्नुपर्छ। तीव्र दमनको परिस्थितिमा जनताले मुक्ति संघर्षका लागि आफूलाई कसरी संगठित र संघर्षरत बनाउँछन् ,
क्रान्तिकारी तथा जनवादी आन्दोलनहरूले निगरानी, प्रचार तथा सैनिकीकरणको सामना कसरी गर्छन् , कम्युनिस्टविरोधी कानुन, बिचार छ्नोट नियन्त्रण (censorship), तथा अपराधीकरणमार्फत निरन्तर आक्रमण भइरहेका बेला जनसंगठनहरूले आफ्नो राजनीतिक पहल कसरी कायम राख्छन्, नवउपनिवेशहरूमा दुश्मनद्वारा सञ्चालन गरिने स्थायी प्रतिक्रान्तिकारी युद्धको सामना गर्न कम्युनिस्ट पार्टीहरू तथा राष्ट्रिय मुक्ति आन्दोलनहरूले के गर्नुपर्छ ? यी यस सम्मेलनका अगाडि रहेका केही अत्यन्त महत्वपूर्ण प्रश्नहरू हुन्। आउँदा केही दिनहरूमा, हामी नवउपनिवेशहरूमा फासिवाद कसरी प्रकट हुन्छ भन्ने विषयको अध्ययन गर्नेछौं । हामी फासिवादी शासनका स्वरूपहरूको ऐतिहासिक विकास, प्रतिविद्रोहसम्बन्धी सिद्धान्तहरूको विकास, आधुनिक दमनमा प्रविधिको भूमिका, कानुन र सञ्चार माध्यमको सशक्तिकरण तथा आजका क्रान्तिकारी आन्दोलनहरूका सामु रहेका जिम्मेवारीहरूबारे छलफल गर्नेछौं।
शासक वर्गसँग विशाल सैन्य, आर्थिक तथा प्राविधिक शक्ति छ। तर उनीहरू गम्भीर वैधताको संकटसँग पनि जुधिरहेका छन्।विश्वका विशाल जनसमुदायले बेरोजगारी, युद्ध, भोकमरी, विस्थापन, पर्यावरणीय विपत्ति तथा राज्यद्वारा गरिने हिंसामार्फत साम्राज्यवादका असफलताहरूलाई प्रत्यक्ष रूपमा अनुभव गरिरहेका छन्।यसले समाजवादी पुनरुत्थानका लागि अत्यन्त अनुकूल परिस्थिति सिर्जना गरेको छ, विशेष गरी नवउपनिवेशहरूमा, जहाँ साम्राज्यवादका संकटहरू जनताले सबैभन्दा तीव्र रूपमा भोगिरहेका छन्।नवउपनिवेशहरूका कम्युनिस्ट पार्टीहरू तथा राष्ट्रिय मुक्ति आन्दोलनहरूको हैसियतले, हाम्रा देशहरूको वर्तमान अवस्थाले साम्राज्यवाद र सम्पूर्ण प्रतिक्रियावाद विरुद्धको मुक्ति युद्धलाई विजयमा पुर्याउने एउटा विशेष अवसर प्रदान गरेको छ, जसलाई हामीले उपयोग गर्नुपर्छ।
यस सम्मेलनको सुरुवात गर्दै गर्दा, फासिवाद र साम्राज्यवादी प्रभुत्वविरुद्धको निरन्तर संघर्षमा सर्वोच्च बलिदान दिने हाम्रा असंख्य सहिद तथा वीरहरूलाई सम्मान गरौं। उहाँहरूको संघर्षले हामीलाई सम्झाउँछ कि स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय मुक्ति तथा वास्तविक लोकतन्त्रप्रतिको जनआकांक्षालाई फासिवादी हिंसाले कहिल्यै समाप्त गर्न सक्दैन। शासक वर्गलाई हामी यो स्मरण गराऔँ कि नवऔपनिवेशिक संसारमा उनीहरूले बगाएको रगतले अन्ततः त्यही आन्दोलनलाई पोषण गर्नेछ, जसले एक दिन उनीहरूलाई जरैदेखि ध्वस्त पार्नेछ।
म आफ्नो मन्तव्यको अन्त्य गर्दै एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु।
नेग्रोस टापुमा हाम्रा १९ जना जनतामाथि गरिएको नरसंहारपछि सेना दमन र धम्की बढाइरहेको अवस्थामा पनि, सयौं जनसमुदाय एनपीए कमाण्डर रोजर फाबिल्लारको अन्त्येष्टिमा समर्थन जनाउन उपस्थित भए र संगठित रूपमा परिचालित भए। यसले देखाउँछ कि दुश्मनले हाम्रा गुरिल्ला क्षेत्रमा आफ्ना फासिवादी सशस्त्र फौजका जतिसुकै बटालियनहरू पठाए पनि जनतालाई आत्मसमर्पण गर्न बाध्य बनाउन सक्दैन।जनताले प्रिय जनसेनासँग कुममा कुम मिलाएर संघर्ष जारी राख्नेछन्।
यहाँ उपस्थित दुश्मनविरुद्ध सशस्त्र प्रतिरोध गरिरहेका सबै पार्टीहरू र मुक्ति आन्दोलनहरूका लागि यो प्रेरणाको स्रोत बनोस्। नवउपनिवेशहरूमा हामीले सञ्चालन गरिरहेको जनयुद्ध केवल हाम्रा उत्कृष्ट लाल योद्धाहरू र कमाण्डरहरूले मात्र लडिरहेका छैनन्, अझ महत्त्वपूर्ण कुरा, यो युद्ध इतिहासका वास्तविक निर्माता जनसमुदायसँग मिलेर लडिएको युद्ध हो।
आज र भोलिका हाम्रा छलफलहरूले वर्तमान विश्व संकटबारे हाम्रो बुझाइलाई अझ तीक्ष्ण बनाओस् र फासिवाद तथा साम्राज्यवादका सबै रूपहरूविरुद्ध संघर्षरत आन्दोलनहरूलाई अझ सुदृढ बनाउन योगदान पुर्याओस्।
यहाँहरुलाई धेरै धन्यवाद।
अन्तर्राष्ट्रिय एकता –अमर रहोस्।
विश्वका जनताका संघर्षहरू अमर रहून्।

