काठमाडौं । गणेश नेपालीलाई आत्मदाह दुरुत्साहनमा संलग्नहरु उपर कार्वाही अगाडि बढाउन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले माग गरेको छ । २०८३ असार २५ गते
संयोजक ईश्वर तिमिल्सिनाले एक वक्तव्य जारी गरी सो माग गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –
“शहरी मजदुरहरु प्रति काठमाण्डौं महानगरीय प्रशासन असहिष्णु रहदै आएको सर्वविदित नै छ । बिगतमा महानगरीय प्रहरी प्रशासनको स्वरोजगार मजदुरहरुमाथि अत्याचारका हज्जारौं उदाहरणहरु सबै जनसमुदायका सामुन्ने रहेकै छन । राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार बनेसंगै महानगरीय र संघीय सरकारको चरित्र झन फासिस्ट शैलिको हुँदै आएको
छ ।
हामीले देखेका छौं कि मजदुरहरुमाथिको दमनात्मक अभियान चलाएर उनिहरुले हज्जारौं सुकुम्बासी मजदुरहरुलाई अपमानजनक ढंगले बस्तीबाट लखेटेर सडकमा पुर्याए । निजामति क्षेत्रमा कार्यरत आउट सोर्सिङ मजदुरहरुलाई रोजगारीबाट हटाउने कार्य चलिरहेको छ ।मजदुरहरुमाथि कर माथि कर थोपरेर सत्ताधारीहरु मोटाउने उपाय खोजिरहेका छन । ट्राफिक अनुशासन र नियमका नाममा लाखौं लाख जरिवाना तोक्ने कानुन निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।
यस्तै फासिस्ट शैलिको अत्याचारको परिणामस्वरूप आज दिउसो त्रिपुरेश्वरमा आफ्नो मोटरसाइकलको चक्कामा महानगरीय प्रहरीद्वारा लगाइएको ताल्चा खोलिदिन अनुनय विनय गर्दा असफल भएको र जरिवाना तिर्ने पैसाको अभावमा आत्मदाह गर्न प्रयत्न गरेका गणेश नेपालीको स्थितिबारे सार्वजनिक भएका जानकारीहरुले हामीलाई गम्भीर बनाएको छ । यस अबस्थामा गम्भीर घाइते गोपाल नेपालीको उपचारको सबै जिम्मेवारी बहन गर्न सरकार र सरोकारवाला निकायहरुसँग माग गर्न चाहन्छौं । आत्मदाह दुरुत्साहनमा संलग्नहरु उपर कार्वाही अगाडि बढाउन पनि माग गर्दछौं ।साथै पीडित र आश्रितलाई क्षतिपुर्ती उपलब्ध गराउन माग समेत गर्दछौं ।
सरकारद्वारा अगाडि बढाउन खोजिरहेका मजदुर बिरोधि गतिविधिका साथै राइड सेयरिङ चालक मजदुरमाथि भएको अत्याचारको विरुद्धमा आवाज उठाउन सम्पुर्ण मजदुर संगठन , संघ संस्था , नागरिक समाज एवं जनवादी – समाजवादी शक्तिहरुमा हार्दिक अपिल गर्दछौं । ”

