– नारायण शर्मा
देश दुखिरहेका बेला, देशमा विधि र थिती भताभुङ्ग हँुदै गैरहेका बेला कुनै पनि स्वाभिमानी देशभक्तको मनले टुलुटुलु हेरेर बसिरहन मान्दैन । अहिले देश दुखिरहेको छ । देशको स्वाधिनता र राष्ट्रियता कमजोर बन्दै गैरहेको छ । जनमनहरु भिभक्त र बिरक्त हुँदै गैरहेका छन । “राष्ट्रका लागि सङ्गीत अभियात्रा “ त्यही दुखिरहेको देशको घाउमा मल्हम लगाउने एक प्रयास हो । निरासा र आक्रोसको भुमरीमा रुमल्लिइरहेका जनमनमा उर्जा भर्ने कोशिश हो ।
देशमा भएका हरेक परिवर्तनहरुमा साँस्कृतिककर्मीहरु त्यसमा पनि विषेशतः प्रगतिशील सङ्गितकर्मीहरुको विशेष र महत्वपूर्ण भूमिका रहेको तथ्यलाई कसैले पनि नकार्न मिल्दैन । देशमा राजनैतिक परिवर्तनहरु त धेरै भए, निरंकुश जहाँनिया राजतन्त्रात्मक व्यवस्था गएर देशमा गणतान्त्रिक व्यवस्था स्थापित भयो । तर त्यो परिवर्तनको अनुभूति व्यवहारतः जनताले गर्न पाइरहेका छैनन । देशमा गणतान्त्रिक व्यवस्था अनुरुपको संस्कार र संस्कृतिको विकास हुन सकेन । हिजो मिलेर आन्दोलनको नेतृत्व गरेका राजनैतिक दलहरु सत्ता र सत्ताको वरपर पुगेपछि कुर्सीको खेलले गर्दा आफै विभक्त हुँदै गए । जनतामा हिजो आन्दोलनको नेतृत्व गरेका दल र तिनका नेताहरु प्रति वितृष्णा बढ्दै जान थाल्यो । त्यसको फाइदा उठाउन प्रतिगामी शक्तिहरु अग्रसर हुन थाले । हिजोको “जनयुद्ध” र जनआन्दोलनले चिहानघारीमा पु¥याएको प्रतिगामी शक्तिले फेरि आफ्नो फणा फिजाउँदै हिजोको आन्दोलनको नेतृत्व गर्ने दलहरु र तिनका नेता प्रति बिषवमन गर्न थाले । हाम्रो सामाजिक सद्भाव खल्बलिन थाल्यो । “राष्ट्रका लागि सङ्गीत अभियात्रा” खल्बलिदै गएको त्यही सामाजिक सद्भावलाई सम्हाल्न प्रगतिशील जनसंगीतकर्मीहरुबाट चलाइएको एक संयुक्त अभियान हो ।
यो कुनै पार्टी विशेष र नेताका विरुद्धमा चलाइएको अभियान होइन । यो कुनै एक पार्टी विशेषको स्वार्थपूर्तिका लागि उसकै योजनामा चलाइएको अभियान पनि होइन । सङ्गीत अभियात्रा विशुद्ध रुपमा प्रगतिशील जनसङ्गितकर्मीहरुको एक साझा मंच हो । त्यस्ता जनसङ्गितकर्मीहरु जसले विभिन्न कठिनाइहरु आइ पर्दा पनि प्रगतिशील धारालाई छाडेका छैनन, जनताको सुखी दिन ल्याउनका लागि अहोरात्र जनसङ्गितको मार्गमा निरन्तर निरन्तर लागिरहेका छन, तिनै जनपक्षिय गितकार÷सङ्गितकार र कलाकारहरुको साझा चौतारी हो – सङ्गीत अभियात्रा । देशमा भएका हरेक परिवर्तनहरु र कम्युनिस्ट पार्टीको संगठन बिस्तारमा आफ्ना गीत÷सङ्गितका माध्यमबाट अमुल्य योगदान पु¥याएका वरिष्ठ जनसङ्गितकर्मीहरुदेखि लिएर उदीयमान जनगायक÷गायिकाहरुको सङ्गीत अभियात्रामा सहभागिता रहेको छ ।
अहिले संचालन भैरहेको “राष्ट्रका लागि सङ्गीत अभियात्रा” को अभियान टोलीमा कुनै पार्टी विशेषमा आबद्ध नरहनु भएका वरिष्ठ जनगायक जीवन शर्मादेखि विभिन्न वाम पार्टी र तिनका साँस्कृतिक सङ्गठनहरुमा सङ्गठित रहनु भएका जनसङ्गितकर्मी एवं कलाकारहरुसम्म सहभागी रहेका छाँै । वरिष्ठ जनसङ्गितकर्मी उदय श्रेष्ठ र मणि थापा अभियानको पहिलो कार्यक्रमदेखिनै टोलीसँगसँगै हिंडिरहनु भएको छ । “टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर” – यस गीतका श्रष्टा एवं सङ्गितकार कर्ण गौतम “विद्रोही” जनगायक मोहित श्रेष्ठ, जनगायिका निलिमा पुन र कुश्मिता दर्लामी, जनवादी गीतकार तथा सङ्गितकार चिरन सि, जनगायक लक्ष्मी रिजाल “उदय”, उदीयमान जनगायक लक्षमण पाख्रिन, नवजनगायिका अनु शर्मा, कुशल नृत्य गर्ने जनकलाकारहरु सन्ध्या मगर र कबिता पुन यो अभियान टोलीका नियमित सदस्य रहनुभएको छ । अभिनयको पाटोलाई पनि कार्यक्रममा समावेस गरौँ भन्ने सल्लाह बमोजिम म पनि यो अभियान टोलीमा एक नियमित सदस्यको रुपमा रहेको छु । वरिष्ठ जनगायकहरु रामेश श्रेष्ठ र रायन श्रेष्ठको साथ सहयोग र शुभेच्छा यो अभियान टोलीलाई रहेको छ । आफ्नो स्वास्थ्य र उमेरावस्थाका कारण उहाँहरु अभियान टोलीमा नियमित हिँड्न सक्नु भएन । काठमाडौंमा २०८० वैशाख ५ गते हुने अभियानको अन्तिम कार्यक्रममा उहाँहरुको पनि सहभागिता रहने छ । सङ्गीत अभियात्रा गठनमा महत्वपूर्ण भूमिका निभाउनु भएका वरिष्ठ जनसङ्गितकर्मी माधव प्रधान अभियानको सुरुका केही कार्यक्रममा उपस्थित रहन नसके पनि बिचबाट टोलीमा सामेल हुनुहुनेछ । जनगायिका प्रगति महरा दाङ घोराहीको कार्यक्रमदेखि टोलीमा सहभागी रहनु भएको छ । यसैगरी जनगायक टेक बलम्पाकी, केसरी घर्ती, काजी गाउँले, वरिष्ठ जनगायक ओम श्रेष्ठ, वीर प्रसाद भन्सारी, नारायण योगी र दल बहादुर बिक लगायत पनि आफ्नो नजिकका ठाउँ विशेषका कार्यक्रमहरुमा सहभागी रहनुहुनेछ । यस बाहेक जहाँ कार्यक्रम हुन्छ त्यो क्षेत्रमा क्रियाशील अन्य जनसङ्गितकर्मीहरुलाई पनि त्यहाँको कार्यक्रममा सहभागी गराउने हामी बीचमा समझदारी भएको छ ।
हामीले कार्यक्रममा प्रस्तुत गर्ने साँस्कृतिक कोशेलीहरु प्रायः वाम आन्दोलनमा क्रियाशील सबैका लागि सुपाच्य हुने खालका नै छनौट गरेका छाँै । देशको माटो जोगाउन आहवान् गरिएका गीतहरु, श्रमजीवि जनताको दुख र बेदना समेटिएका गितहरु, टुटफुट र खण्डित हुन होइन एकताबद्ध भएर अघि बढ्न अभिप्रेरित गर्ने गीतहरु, देशभक्त तथा क्रान्तिकारी योद्धाहरुलाई साहस र उर्जा भर्ने गीतहरु हाम्रो कार्यक्रममा प्रस्तुत हुनेछन । एउटा सङ्गठनमा आबद्ध रहेको जनकलाकारको गीत जतिसुकै उर्जाशील र कर्णप्रिय भए पनि अर्को सङ्गठनको जनकलाकारले नगाउने जुन संर्किणता रहँदै आएको थियो त्यसलाई तोडेका छाँै यसपटक हामीले । “यो हो हाम्रो रातो लालटिन” ,“टुटफुट खण्डित कुरा नगर” र “आउ मिलाउ हाम्रा हातहरु” बोलका गीतहरु कार्यक्रममा हामीले सामुहिक रुपमा गाउँदै आएका छौ । हामीले प्रस्तुत गरेका हरेक कार्यक्रमहरुमा हाम्रा प्रत्यक प्रस्तुतिहरुलाई दर्शक श्रोताहरुले निकै अभिरुचिपूर्वक हेर्नु भएको छ र मन पराउँदै आउनु भएको छ । कार्यक्रम सम्पन्न भैसकेका स्थानहरुमा हामीले पाएको प्रतिकृयाले आफ्नो उद्देश्यमा हामी सफल हुँदै गैरहेको महशुस हामिले गरेका छाँै ।
देशको वाम आन्दोलन विभिन्न चिराहरुमा विभक्त छ । जनगायक जीवन शर्मा बाहेक यो अभियानमा सहभागी हामी प्रायः सबै कलाकर्मीहरु तिनै विभिन्न वाम पार्टीसँग गासिएका छौं । आफ्नो पार्टी सङ्गठनका जिम्मेवारहरु हाम्रा आफ्ना ठाउमा छँदै छन् । हामी पार्टी सङ्गठनको त्यो जिम्मेवारी र दायरा भन्दा अलिक माथि उठेर एउटा साझा उद्देश्यका लागि यो अभियानमा निस्किएका हौँ । अलग अलग सङ्गठनहरुमा क्रियाशील हाम्रा बानी स्वभाव र प्रवृत्ति घुलमिल हुन केही समय लाग्नु स्वभाविक थियो । तर अहिले हाम्रो अभियान टोलीभित्र आत्मिय सम्बन्ध विकसित हुँदै गैरहेको छ । अहिले त हामीलाई अर्को साथी अर्कै पार्टीको हो जस्तो पटक्कै लाग्दैन । हामी एउटै महाअभियानका अभियात्री हाँै भन्नेमा विस्वस्त बन्दै गैरहेका छौँ । हामी बीचको यो गढिलो र मीठो आत्मिय एकताले कार्यक्रम पनि निकै जोशिलो, प्रभावकारी र आकर्षक बन्दै गैरहेको छ । देशले आज जुन दुर्गति भोगिरहेको छ यो वाम आन्दोलन विभाजित हुनुको परिणाम पनि हो । हाम्रो अभियानको एक उद्देश्य विभाजित रहेको वाम आन्दोलनलाई एकीकृत हुन परिस्थिति अनुकूल बनाउनु पनि हो । कम्युनिस्ट भनिने पार्टी र त्यसका शीर्ष तहका नेताहरुमा नीति सिद्धान्त र कम्युनिस्ट आचरणको जुन ह्रास आइरहेको छ त्यसलाई रोक्न र सच्चाउनका लागि एक प्रकारको खबरदारी पनि हो यो अभियान । हामी जनकलाकार बीचको यो दरिलो एकताबाट हाम्रा पार्टी र नेताहरुलाई हामी एकताको दरिलो सन्देस प्रवाह गर्न चाहान्छौँ ।
देशको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकता पार्टी, सङ्गठन भन्दा पनि माथिको विषय हो । राष्ट्रियताको विषयमा यो पार्टी त्यो पार्टी भनेर हामी विभाजित हुनु हँुदैन । राष्ट्र सङ्कटमा परेका बेला सब नेपालीहरु त्यसरी नै एक हुन सक्नु पर्दछ जसरी हिजो भारतीय नाकाबन्दीका विरुद्धमा भएका थियाँै । जसरी लिपुलेक लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी गर्ने बेला भएका थियौँ । देशको राष्ट्रियता यतिबेला सङ्कटको भुमरीमा अल्झिरहेको छ । “राष्ट्रका लागि सङ्गीत अभियात्रा” को उद्देश्य विभाजित नेपाली मनहरुमा राष्ट्रियता रक्षाका निम्ति उर्जा भर्नु पनि हो ।
“राष्ट्रका लागि सङ्गीत अभियात्रा” का आजसम्मका कार्यक्रमहरु भव्यताका साथ सम्पन्न भएका छन् । हामीले अभियानको पहिलो कार्यक्रम २०७९ चैत्र ४ गते कैलालीको धनगढीमा गरेका थियौँ । अभियानको दोश्रो कार्यक्रम उस्तै भव्यता साथ चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो । दुवै स्थानका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेपछि अहिले हामी दाङ जिल्लाको सदरमुकाम घोराही आइपुगेका छौ । दाङ जिल्ला आफैमा प्रगतिशील गित÷सङ्गीत र साहित्यको खानीका रुपमा परिचित छ । प्रगतिवादी कवि आदरणीय सहिद कृष्णसेन इच्छुकको घर रहेको जिल्ला हो दाङ । हाम्रो यो अभियानको एक आदरणीय र सम्मानित व्यक्तित्व हुनुहुन्छ सहिद कृष्णसेन इच्छुक । उहाँकै सपनालाई साकार बनाउन हामी प्रगतिशील साँस्कृतिककर्मीहरु प्रगतिपथको यो यात्रामा निरन्तर यात्रारत छौं । दाङ वामपन्थी जनमतको प्रचुर बाहुल्यता भएको जिल्ला समेत हो । जनसङ्गितलाई माया गर्ने धेरै जनसमुदायहरु बस्नुहुन्छ दाङ जिल्लामा । यसर्थ दाङको घोराहीमा चैत्र १० गते आयोजना गरिएको कार्यक्रम पनि शानदार रुपमा भव्यतापूर्वक सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छांै ।
२०७९ चैत्र ९ गते, घोराही दाङ

