योगमायाको संक्षिप्त जीवनी

-कमला खड्का
मानिस जन्मन्छ ,मर्छ यी स्वभाविक प्रक्रिया हुन् । मानिसको जीवन सार्थकता उसको जीवनको गतिशीलता र रूपान्तरणबाट पुष्टि हुन्छ ।
योगमाया यस्तै गतिशील महिला हुन् । उनले विद्यमान कुरीति महिला विभेद जातीय कुरीतिका विरुद्ध बोल्ने साहसी महिला हुन् । त्यतिबेला विद्यालयको शिक्षाको कुनै सम्भावना थिएन । उनको सृजनशीलता र क्षमतामा असाध्यै चलाक थिइन् । उनी आध्यात्मिक मानवता र संस्कृतिका परिवर्तनको पक्षमा आवाज उठाउने योगमायालाई त्यतिबेलाको नेपाली समाज मा अब्बलता र साहसी महिलाको रुपमा हेर्न सकिन्छ । जीवनमा काम ,क्रोध, लोभ र मोहबाट मुक्त भई विद्रोहलाई त्यतिबेलाको अवस्था अनुसार विभिन्न शैलीमा आवाज उठाउने योगमाया नेपाली समाजकी एक उदाहरणीय चम्किलो तारा हुन् । त्यतिबेलाको अवस्थामा सामाजिक सुधारकालागि विभिन्न खाले विद्रोह अपनाई जल समाधि, अग्नि समाधि जस्ता राणाशासनका विरुद्धमा गरिएका आन्दोलनको एउटा स्वरूप थियो ।
योगमायाको जन्म विक्रम् सम्वत १९२४ मा भएको थियो । उनी श्रीलाल न्यौपाने र चन्द्रकला न्यौपानेको पहिलो सन्तान थिइन् । योगमाया दुई भाइहरू पुष्पलाल र अग्निधर नाम गरेका भाइ कि एक्लै दिदी थिइन् । सामाजिक परम्परा अनुसार सात वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । सात वर्षको उमेरमा घर गर्ने अवस्था थिएन । सात वर्षको विवाहपछि उनलाई घरमा धेरै मानसिक यातना भोग्नुप¥यो । यही कारण उनी शारीरिक र मानसिक यातनाको शिकार भइन् ।
यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहदै झन्डै १४ वर्षको उमेर सम्म घरमै बसिन् । विवाह गरेर गएको बुवार्तन सहन नसकेपछि उनी भागेर माइत गइन् । माइतमा पनि उनले घर गरी खाना नसकेको भनेर सबैले हेलाहोचो गरेको र त्यतिबेला आमाबुवा सबैले आफ्नो घर फर्काउन कोसिस गरे । यसरी माइती र घर दुवैतिरबाट उपेक्षित भएपछि योगमायामा विद्रोहको चेतना पलाउन थाल्यो । यसै क्रममा योगमायाले अर्कै व्यक्तिसँग विवाह गरी भारतको आसाममा पुगिन् । त्यही क्रममा केही वर्षपछि अर्को श्रीमानको पनि निधन भयो । योगमाया झन पछि झन् भावविह्वलमा परिन् । श्रीमानको निधन भएपछि योगमायाले धेरै पीडा सहनुप¥यो । योगमायाको जीवनमा धेरै पीडा थपिँदै गयो ।
त्यसै सिलसिलामा आसामकै डोटेल थर भएका एक व्यक्तिसँग पुनः विवाह गरिन् । ती दुवैजनाबाट नैनकला नाम कि छोरीको जन्म भयो केही समयपछि डोटेल थरका श्रीमानको पनि निधन भयो । यसरी नै योगमायाको जीवनमा झनपछि झन् पीडा थपिँदै गयो । यसै क्रममा योगमाया सामाजिक कामहरूमा सहभागी हुँदै गइन् । त्यतिबेला प्रचलित सामाजिक गतिविधिका रूपमा पूजाआजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गर्दै अगाडि बढ्न थालिन् । यस्ता क्रियाकलापले आर्य समाजमा सुधार र चेतनाको विकास भएको मानिन्थ्यो ।
आर्य समाजीहरूको सुधार चेतना र साधुसन्तहरूको संगतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतनाको विकास भएको थियो । योगमाया अंग्रेज विरोधी समूहमा पनि सहभागी भएको र भित्रभित्रै संगठित हुँदै गएको भन्ने पनि छ । समाजमा भएका अन्याय अत्याचारको खाडल देखेर उनमा विद्रोह पैदा हुँदै गएको पाइन्छ । बाल्यकालदेखिका आफ्ना भोगाइ आफू बाँचेको समाजको मोहबाट मुक्त हुने निदो गरिन् । उनले तपस्या गर्ने पनि निधो गरिन् र तपस्या गर्ने योजना बनाइन् । योगमायाले नेपाल फर्किनकोलागि आफ्नो भाइलाई लिन बोलाइन् ।
उनले तपस्या गर्नको लागि आफ्नो जन्मथलो भोजपुरलाई नै रोज्न पुगिन् । र विक्रम सम्वत १९७३ को कुनै एक दिन उनी आफ्नी छोरी र भाइको साथमा मझुवाबेसी पुगिन् ।मजुवावेशीमा योगमायाको आगमनले त्यहाँका जनताकालागि धेरै खुसीको विषय बन्यो । त्यही खुसीलाई समेट्दै योगमायाले गाउँलेहरूसँग घुलमिल हुन थालिन् । गाउँघरमा हुने पूजा पुराण र ८४ पूजाहरूमा सहभागी हुँदै गइन्। आश्रममा सिकेका ज्ञान र अनुभवलाई उनले प्रयोग गर्ने अवसर पाइन् । यही ज्ञान र अनुभवका आधारमा पण्डितहरूसँग शास्त्र गर्ने तथा समाजका अगुवा पुरुषसँग विभिन्न विषयमा बहस गर्न पनि थालिन् । योगमाया प्युठानको स्वर्गद्वारीमा रहेका महाप्रभु अभियानन्द कहाँ पुगी दीक्षा लिईन् र सन्यासी भनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी मजुवाबेसी मै कुटी बनाएर एक्लै बस्न थालिन् ।
योगमाया आफ्नो ज्ञान र बुद्धिका माध्यमबाट साधक कि भनिन् उनी समाजकी अगुवा महिला भएकोले उनको यो साधना पनि त्यसैतर्फ लक्षित भयो । उनमा प्रवचन दिन सक्ने क्षमता थियो । उनमा धारा प्रवाह प्रवचन गर्ने सक्ने क्षमता भएकोले मानिसहरूको घुइँचो लाग्ने गरेको पाइन्छ । त्यो कुटीमा धेरै मानिसको घुइँचो लाग्ने भएकोले उनले पुन अर्को ठाउँ उफ्रौली टारमामा अर्को कुटी बनाइन् । उफ्रौली टारको कुटी नदीले बगाएपछि इर्खुवा बारीको गौडेनीमा उनी जहाँ पुगे पनि भक्तजनको अत्यधिक घुइँचो लाग्ने गर्दथ्यो । उनले विभिन्न मौसम अनुसार नदीमा बस्ने गर्थिन् । यस्ता कठोर तपस्याले उनलाई दिक्क बनाउँथ्यो ।
विक्रम सम्वत १९९२ मा आफ्ना अनुवाईसहित खाम्पालुङ हिमाल पार गरेर तपस्या समेत गरिन् । १९ ९७ मा उनले भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबुटे तोरीबारीको स्याउको अग्लो थुम्कामा बसेर केही दिनसम्म तपस्या गरिन् ।
सन्यासी जीवन सुरु गरेसँगै योगमायामा सामाजिक चेतना पनि पलाउँदै गयो । उनी धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा विद्यमान सबै खाले विकृतिर विसंगतिका बारेमा खुलेर विरोध गर्न थालिन् । उनी छुवाछुतलाई मानव सभ्यताको सबैभन्दा ठूलो कलङ्क छुतअछुत तथा माथिल्लो जात र तल्लो जातका छुट्टाउनु घोर अपराध मानेको पाइन्छ । त्यतिबेलाको कानुन अनुसार जातपात नमान्नु समाजमा आपत्तिको विषय हुन्थ्यो । त्यस्ता व्यक्ति विभिन्न प्रकारले दण्डित हुन्थे । राणाकालीन कठोर व्यवस्थामा पनि योगमायाले छुवाछुत तथा वर्णाश्रमको खुलेर विरोध गरेको पाइन्छ । उनले पूजा, आराधना, भजन, किर्तन, प्रसाद वितरण र ग्रहणमा उनीहरुलाई सहभागी गराएर आफ्नो धारणालाई व्यवहारमा पनि उतारेको देखिन्छ । उनका भक्तहरू पनि दलित समुदायका व्यक्तिहरू थिए उनीहरू सबैजना बिना भेदभाव सबै गतिविधिमा संलग्न हुन सक्थे । उनको आश्रममा प्रचलित यस किसिमको छुवाछुतरहित वातावरण देखेर उनले चालेका कदममा असन्तुष्ट हुनेहरुले योगमायाको खुब आलोचना पनि गर्थे । योगमाया लैङ्गिक विभेदको कट्टर विरोधी थिइन् । उनी बालविवाहको पनि विरोधी थिइन् । विधुवा विवाहको समर्थन गर्थिन् । सती प्रथा र दासप्रथाको घोर विरोध गर्दथिन् । यद्यपि कानुनी रुपमा सतीप्रथा १९७७ मा उन्मूलन भएको थियो ।
१९८२ मा दासप्रथा अन्त्य भएको घोषणा हुँदा उनी अत्यन्तै हर्षित भइन् । उनले राणा प्रधानमन्त्री चन्द्रशमशेरको यस्तो कार्यको खुलेर प्रशंसा गरिन् । उनी तत्कालीन न्यायिक परिपाटीको विरोधी थिइन् । उनी समाजका ठूला बडा साहु महाजनले गरिबको ढाड सेक्ने गरी व्याज लगाउने चलनको घोर विरोध गर्दथिन् । दिँदा सानोपाथी र लिँदा ठूलो पाथी प्रयोग गर्ने चलनको खुलेर विरोध गर्दथिन् । उनले गरिब दुःखीले न्याय नपाउँदा अत्यन्तै दुःखी हुन्थिन् र खुलेर विरोध गर्दथिन् । योगमायाले त्यतिबेलाको समाजको कुरीतिको खुलेर विरोध गर्दथिन् । जस्तै चर्को व्याज लिन नपाउने, महिलाको इच्छा बेगर सौता हाल्न नपाइने, समान किसिमको मानापाथी लागू गर्नुपर्ने,जात काड्न र मुन्डन चलनको अन्त्य होेस भनेर भन्थिइन् । विधुवाले विवाह गर्न चाहेमा स्वीकृति दियोस् । छुवाछुत मुक्त समाज होस् केटाकेटीको उमेर पुगेर मात्र विवाह होस्, शिक्षामा भेदभाव नहोस् महिला र अन्य सबै जातिले वेद पढ्ने व्यवस्था होस्, गरिबको ऋण मीना होस् खेतीयोग्य जमिन बाँझो राख्न नपाउने होस् ,गाउँमै खादी कपडा बुन्ने र लगाउने व्यवस्था होस् गरिबलाई जग्गा दियोस् ,पुराना ऐन खारेज र नयाँ ऐन जारी गरी देशभरि लागू गरियोस् भन्ने जस्ता मागहरू राख्दै डटेर विरोध गरेको पाइन्छ ।
पुराना ऐन खारेजी र नयाँ ऐन जारी गरी देशभरि लागू गरियोस् भने राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा पण्डित प्रेम नारायणलाई यस किसिमको धर्म राज्यको इच्छा माग्न पठाउने कार्य गरेको थियो त्यति हुँदा पनि त्यो भिक्षा आश्वासनमा मात्र सीमित रह्यो । यसबाट उनी निराश भइन् तर निराशलाई शक्तिमा बदल्न आफै काठमाडौँ गइन् ।
विक्रम सम्वत १९९३ को मानवीका दिन श्री ३ जुद्धशमशेरलाई भेटी उक्त आश्वासन पूरा गर्न आग्रह गरिन् । जुद्ध शमशेरले पुन वचनबद्धता जनाए उक्त आश्वासन कार्यान्वयनमा आएन यो घटना योगमायालाई विद्रोही बनायो । र विक्रम सम्वत १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले धर्मराज्यको भिक्षा नदिए आफ्ना तमाम भक्तजन सहित अग्नि समाधि लिने घोषणा गरिन । अग्नि समाधिको दिन नजिकिँदै गर्दा मानिसहरू बिस्तारै भेला हुन थाले। उफ्रौली टारको मैदानमा ठूलो यज्ञस्थल बनाइयो । यज्ञका लागि जंगलबाट प्रशस्त काठ बटुलिए। आउने कुण्डमा हवन गर्न श्रीखण्ड र यो घ्यू जम्मा पारियो ।
अग्नि समाधि लिन २४० जना जति भक्तले सुवेक्षाले नाम दर्ता गरे । तर उनको अग्नि समाधिको योजनालाई सरकारले सफल हुन दिएन। अग्नि समाधिको घोषणा मितिभन्दा एक दिन पहिले नै धनकुटाका बढाहाकिम माधव शमशेर र भोजपुरका बडा हाकिम को नेतृत्वमा खोटी आएको ठूलो फौजले घेरा हाली उक्त अग्नि समाधिमाथि प्रतिबन्ध लगाइयो ।
यसै क्रममा ११जनालाई धनकुटा जेल चलान गरियो। योग माया र केही भक्तजनलाई केही दिन जेल चलान गरियो । इतिहासमा महिलाहरूलाई बन्दी बनाएको यो पहिलो घटना थियो ।अग्नि समाधि असफल भएपछि योगमायामा झन् विद्रोह झन् झन् बढ्दै गयो । उमेरले ७० काटे पनि उनी झन् झन् तपस्यामा डुब्न थालिन् तर राणा शासकहरूले ती विद्रोही महिलाहरूको आवाज सुनेनन् । अग्नि समाधी काण्डका कारण शासक चिडिएका थिए निरङ्कुश राज्य सत्ता उनीप्रति झन्झन् दमनकारी र बर्बर हुँदै गयो सामन्ती व्यवस्थाका पक्षधर ठुलठुला साहु माहजन योगमाया जस्ता विद्रोही र समाज परिवर्तनको अपेक्षा गर्ने जोसुकैलाई दुःख दिने दण्डित गर्ने गर्थे ।
यसैबीच शासकको यस उपेक्षा विरुद्धका विद्रोहका रूपमा एक मायाले गोप्य रुपमा जल समाधि लिने योजना बनाइन् । राणा प्रधानमन्त्री तथा सिंगो शासन व्यवस्थालाई अग्नि समाधि र जल समाधि जस्ता विद्रोहका शैली चुनौती त थियो नै उनी र उनका अनुयायीको विचारमा मुक्ति प्राप्ति सही मार्ग पनि थियो । त्यसैले आउने समाधि काण्डमा पक्राउ परेका सबै जना जेलमुक्त भएपछि उनले ६८ जना भक्त सहित विक्रम सम्वत १९९८ असार २२ गते हरिशयनी एकादशीका दिन सूर्योदय नहुँदै अधर्मको अन्त्य होस्। धर्मराज्य स्थापना होस् मुक्तिको द्वार खुलोस् ।भन्दै अरुण नदीमा समर्पित भएर जल समाधि लिएको इतिहासमा पढ्न पाइन्छ ।
यसरी नै योगमायाले समाजमा भएका विभिन्न खालका अन्याय,अत्याचार,शोषण दमन,छुवाछुत,विभेदका विरुद्ध अग्नि समाधिको बाटो अंगालिन् । अग्नि समाधि असफल भएपछि उनले पुन जल समाधिको बाटो अंगाली विद्रोहका भावसहित अन्तत आफ्ना भक्तजनसहित अरुण नदीमा जल समाधी गर्न पुगिन् । इतिहासको कालखण्डमा पुरानो राज्य सत्ताका विरुद्धमा र नयाँ राज्य सत्ता प्राप्तिको लागि विभिन्न प्रकारले विद्रोह गर्दै समाज अगाडि बढेको पाइन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित