निलो क्रान्ति, निलो बस

मनु वि.क.
भाद्र २३ र २४ गतेको जेन्जी नाम दिइएको विध्वंश पछि देशमा रास्वपाको निलो क्रान्ति सम्पन्न भएको छ । नेपालमा निलो क्रान्ति भन्ने वित्तिकै रक्तविहीन सुधारवादी क्रान्तिको रुपमा बुझ्न र बुझाउन खोजिएको छ । नेपालमा निलो क्रान्ति भन्दै रास्वपा स्थापना कालदेखिनै अभियानहरु सञ्चालन हुँदै आयो । पार्टीको झण्डा निलो,पार्टी कार्यालयको रङ निलो महाधिवेशनमा सजावट निलो, भर्खरै निर्माण सम्पन्न भएको सिंहदरबारस्थित संघीय संसदको सजावट निलो सबै निलो,हुँदा हुँदा गाउँका घरहरु निलो, सबै निलो हुँदा यो निलो क्रान्ति भएको छ । निलो क्रान्तिको अवधारणा रास्वपाले आफ्नो पार्टी स्थापनाकोकालदेखि नै ल्याएको हो भने सभापति रवि लामिछाने सहकारी ठगीको कसुरमा जेलमा परेपछि उनी समर्थकहरुले निलो क्रान्तिलाई प्रचारमा ल्याउन खोजे । उनीहरुले निलो क्रान्ति भन्दै सुशासन, पारदर्शीता, विश्वास योग्य नेतृत्वको प्रचारलाई निकै जोड दिए । आफुहरु समावेशिता, भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको देखाउन पटक पटक विभिन्न नाममा अभियान र आन्दोलन सञ्चालन गरे ।
नेतृत्व विना घोषणा भ्रष्टाचार तथा अनियमितता विरुद्ध भन्दै अबोध विद्यार्थीहरुलाई शान्तिपूर्ण प्रदर्शन भन्दै देशको झण्डा ओढाएर बोलाएर,मराएर, सयौंलाई घाइते, अपाङग बनाएर अरबौंको भौतिक सम्पत्तिमा आगजनी लुटपाट मच्चाएर भाद्र २३ र २४ गतेको विध्वंश निलो क्रान्तिको उच्च रुप सकिएर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भइ सो सरकारले फागुन २१ को संसदीय निर्वाचन गराएको नाटक गर्दै रास्वपाले बहुमत ल्याएपछि निलो क्रान्तिलाई वैधता प्राप्त भएको छ । निलो क्रान्ति कम्युनिष्टहरु र कम्युनिष्ट शासनको विरुद्धमा खडा गरिएको भ्रान्ति बुझ्न नेपाली जनता र युवाहरुले सकेनन् । रगतविनाको शान्तिपूर्ण क्रान्ति भने पनि ७६ जना अबोधहरुको ज्यान गएको छ । सयौंको संख्यामा घाइते हुुनु परेको छ । यसबाट कम्युनिष्ट क्रान्तिकारीहरुका विरुद्ध बोल्नेहरुले बुझुन् निलो क्रान्ति पनि र रक्तपातविहीन हुँदैन । त्यसो त संसारका शान्तिका पक्षधर हुँ भन्ने धर्ममा पनि ठूला ठूला लडाइँ र रक्तपात भएका छन् । संसारभर स्वार्थ टकराउँदा हुने द्वन्द्वमा रगत र वलिदानको कुनै हिसाब छैन । क्रान्तिको विरोधमा आगो ओकल्नेहरुको निलो क्रान्तिले पनि अबोधहरुको रगत लिएर छाड्यो । यति मात्रै हैन देशलाई गम्भीर अस्थिरता र असुरक्षातर्फ धकेलिरहेको छ । निलो क्रान्ति सम्पन्न भएको पछि सत्ताको स्वादमा चुर्लुम्म डुब्न पाए पछि निलो क्रान्तिको उद्देश्य पूरा भएको छ ।
रास्वपाको निलो क्रान्तिपछि बनेको वालेन नेतृत्वको सरकारले महिलाहरुकोलागि छुट्टै बसको अवधारणा ल्याएको छ ,महिलाहरुको सुरक्षा र महिलामाथि सार्वजनिक यातायातमा हुने हिंसा अर्थात महिलाहरुले सार्वजनिक यातायातमा भोग्नु परेका दूव्र्यवहारबाट बचाउन महिलाहरुको लागि छुट्टै ब्लुबसको अवधारणा ल्याएको बताइएको छ । यो अवधारणा केही वर्ष पहिले चितवन जिल्लामा लागू भएको थियो । २०८० सालमा चितवनको क्षेत्र नं २ का सांसद तथा रास्वपा सभापति रवि लामिछानेको क्षेत्रमा बसलाई भाडामा लिएर महिलाहरुकालागि निःशुल्क निलो बस सञ्चालनमा ल्याएका थिए । अहिले सरकारको सय दिनमा सम्पन्न गरेको काम अन्तर्गत भन्दै काठमाण्डौमा महिलाहरुका लागि निलो बस सञ्चालन गरिएको छ ८ वटा साझा यातायातलाई निलो रङ पोतेर महिलाहरुकोलागि मात्रै निलो बस सञ्चालन गरेकोमा सरकारले निकै गर्वको महसुस गरेको छ ।
निलो बस सञ्चालनमा ल्याउनु महिला अधिकार स्थापित हुने कुरा हैन । महिलाका समस्याहरु समाधान हुने कुरा हैन । निलो बसमा केही महिलाहरु मात्रै चढ्ने कति अवैज्ञानिक अवधारणा छ । महिलाहरु जो दाई ,भाई, श्रीमान ,छोरा, असुरा,प्रेमी जो भए पनि छोडेर एक्लै चढ्नु प¥यो । यो हाम्रो समाज विरोधी र मानव जीवन विरोधी कुरा हो । महिलाहरु महिला मात्रै हिंड्दैमा सुरक्षित हुन्छन् ,हिंसाको सामना गर्नु पर्दैन, भन्नु हाँसो उठ्दो कुरा हो । महिलाहरु महिलाबाट नै कैयौं अवस्थाहरुमा हिंसाको शिकार भएका छन् । असुरक्षाको सामना गरिरहेका छन् । अहिले निलो बस महिलाकोलागि बनाएर महिलालाई समाज परिवार सँग छुट्याउन चाहेको हो या के हो ? महिलाको मानसिकतालाई पुरुषविरोधी बनाउन र पुरुषलाई महिला विरोधी बनाउन लामोसमयदेखि वैचारिक प्रयासहरु जारी छन् । महिला भएकै कारण सबै राम्रो या पुरुष भएकै कारण नराम्रो या पुरुष भएकै आधारमा राम्रो भन्ने मानसिकता विकास गर्न खोजिँदैछ । यसले समाजलाई कता लान खोजिँदैछ भन्ने देखाउँछ । महिला भएकै आधारमा कति राम्रा भन्ने कति पीडित भन्ने र कति अभावमा रहेका भन्ने कुरा आउँछ । त्यस्तै पुरुष भन्ने वित्तिकै पनि यही कुरा लागु हुन्छ ।
सबै नागरिकलाई सुरक्षित, सस्तो तथा निःशुल्क यात्रा अहिलेको आवश्यकता हो । छोटो या लामो दुरीको यातायातको भाडा तिर्न जनतालाई गाह्रो भइरहेको अवस्थामा सबै नागरिकलाई निःशुल्क यातायातको आवश्यकता छ । सबै नागरिकलाई निःशुल्क यात्रा बनाउन सरकारले काम गरेको भएमा त्यो निकै गर्वको कुरा हुने थियो । दूर्गमबाट अस्पताल आउने नागरिकहरुले चर्को शुल्कको भाडा तिर्नु पर्ने बाध्यता छँदैछ । दूर्गमका महिलाहरु सुत्केरी व्यथा लाग्दा समेत बोकर अस्पताल ल्याउनु पर्ने अवस्था छ । साझालाई नै सबैकोलागि निःशुल्क बनाएको भए अतिउत्तम काम हुने थियो । तर सस्तो लोकप्रियताका लागि साझालाई निलो पोतेर निलो बनाइयो र जो सुगम स्थान हो त्यहाँ लागू गरियो । सबै नागरिकले तिरेको करले केही शहरिया महिलाहरुलाई निःशुल्क बस सेवा उपलब्ध गराएर सरकारले अरु नागरिकहरुको सेवा सुविधामा वेवास्ता गरेको छ । यो महिलाहरुलाई महिलासँग मात्रै सुरक्षित हुन्छन् भन्ने शिक्षा दिन खोजेको छ । महिलाहरु महिलाहरुसँग मात्रै सुरक्षित हुन्छ भनेमा महिलाहरु त्यो बस चढ्दा मात्रै सुरक्षित हुनु पर्ने हो या सबैतिर सुरक्षित हुनु पर्ने हो महिलाहरु सबै स्थानमा सुरक्षित भएको महसुस गर्न पाउनु पर्छ घर,समाज यात्रा जुन स्थानमा पनि सुरक्षित नभइकन केवल निलो बसमा चढेको आधारमा सुरक्षित हुन सक्दैनन् ।
महिलाहरुले सदियौंदेखि पितृसत्ता,धार्मिक पाखण्डता,अन्धविश्वास, रुढीवादी चालचलन आर्थिक,सामाजिक,राजनैतिक असामानताका कारण तमाम प्रकारका विभेदहरु भोग्दै आएका छन् । अहिले पुँजीवादले महिलाहरुलाई सस्तो श्रममा काम गर्न बाध्य पारिरहेको छ । त्यो मात्रै हैन महिलाका अंग प्रत्यङ्ग प्रदर्शन गराएर विज्ञापनको साधन बनाइरहेको छ । महिलाहरुले विश्व श्रम बजारमा निकै कष्टपूर्वक काम गर्नु परिरहेको छ । उनीहरु परिवार आफ्ना छोराछोरीलाई छोडेर विदेशिनु परेको छ । चरम प्रकारको शोषण उत्पीडनमा जीवन लतारिरहनु परेको छ । कामकाजी महिलाहरु पनि दोहोरो तेहेरो मारमा श्रम गर्नु परिरहेको छ । भूमिहीन, गरिब, किसान, मजदुर,सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासी महिलाहरुको दयनीय अवस्था छ,अािर्थक रुपमा विपन्न महिलाहरुले गर्भवति तथा सुत्केरी अवस्थामा पोषणयुक्त खाना किन्न नसकेर पहेंलपुर शरिर लिएर हिड्नु परेको छ । घर भाडामा बस्नु परेका ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाहरुले कोठाभाडा तिर्नको लागि नै महिनादिन काम गर्नु परेको छ । छोराछोरीको शिक्षा दिक्षाको राम्रो व्यवस्थापन हुन सकेको छैन । अभाव,दुःख,पीडा र अनेकौं कष्टहरु सहेर हिड्न विवश महिलाहरुको अवस्था निकै दयनीय छ ।
बजारले महिलाहरुको परम्परागत ज्ञान सीपको पुरै अपमान गरेको छ । विदेशी सामानहरुले गर्दा हस्तकलाबाट निर्मित तथा स्थानीय उत्पादनहरुलाई विस्थापन गरेको छ । महिलाहरुले स्वदेश मै रोजगारी नपाउँदा विदेशी भूमिमा अनेकौं दुःख कष्ट सहनु परेको छ । वर्तमानमा महिलाहरुलाई लागूऔषधको कारोबारीले लागूऔषधको कारोबारमा भरिया बनाउने वा आफैलाई जान अनजानमा फसाएको छ । महिलाले दिन रात तमाम प्रकारका हिंसाहरुको सामना गर्नु परेको छ । बलत्कार,घरेलु हिंसा, सार्वजनिक स्थानमा महिलामाथि हुने हिंसा सबै सहनु परेको छ । महिलाको सम्मान गर्न र महिलालाई राम्रो नजरले हेर्न समाजले अझै सिकेको छैन । पाप धर्मको नाममा महिलालाई अन्धविश्वासी कुराहरुलाई खुरु खुरु मान्ने बनाइएको छ । महिलाहरु पुरुषप्रधान समाजले स्थापित गरेका मूल्य मान्यताहरुको विरुद्धमा जाने दिमागलाई अन्धविश्वासलाई हटाउने दिमागलाई वैचारिक रुपले पुरै भुत्ते पारिएको छ । महिलाको संविधानले प्रदान गरेका हकहरु खोसिएका छन् । किसान, मजदुर, भूमिहीन, गरिब, महिलाहरुलाई केही राहत हुन सकेको छैन । लोकतान्त्रिक सरकारले प्रदान गरेका भनिएका अधिकारहरु पनि विस्तारै कटौतीमा पर्दै गएका छन् ।
सूचना तथा संचारमा सरकारको अघोषित प्रतिबन्ध छ । सूचना संचारमा विज्ञापन रोक्ने सरकारको निर्णय र निर्देशनले सूचना संचारको क्षेत्र आहत बनेको छ । सूचना संचारको क्षेत्र आहत बन्दा कसरी महिला अधिकार स्थापित हुन सक्ला ? महिलाका आवाजहरु कसरी मुखरित हुन सक्लान् ? महिलाहरुले कसरी आफ्नो हक अधिकारको बारेमा सूसुचित हुन सक्लान ? सरकारले विस्तारै जनअधिकारहरुलाई कुन्ठित गर्दै लगेको छ । यो सरकारले विश्वविद्यालयहरुमा विद्यार्थी संगठनका संरचनाहरु हटाउन र विद्यार्थी संगठनहरु हटाएर विद्यार्थी काउन्सिल गठन गर्न भनेको छ । राजनैतिक दलहरुलाई घुमाइ घुमाइ प्रतिबन्धको अवस्थामा पु¥याएको छ । देश विदेशी शक्ति केन्द्रहरुको क्रिडास्थल बन्ने सम्भावना बढेर गएको छ । जनाधिकारहरु खोसिने अवस्थामा पुगेका छन् । डिजिटलाइजेसनको नाममा विदेशी कम्पनीहरु सूचना संचार पूर्वाधारमा लगानी गर्न आतुर छन् । देश ऋणको भारमा फसेको छ ,२८ खर्ब सार्वजनिक ऋणले देश खोक्रो बनेको छ ।
यो गर र त्यो गर भन्दै विदेशीहरुको सरकारमाथि ठाडो हस्तक्षेप बढेको छ । विदेशी शक्तिकेन्द्रहरुको चलखेल राम्रोसँग बढेको छ । यो अवस्थामा महिलाहरुले कसरी सुख र अमन चयनको महसुस गर्न सक्छन् ? देशमा सबै नागरिकले सुख पाउने दिन नआएसम्म महिलाको मात्रै सुख तथा समृद्धिको कल्पना सम्भव छैन ।
वर्तमान सरकार काडमाण्डौका महिलाकालागि भन्दै निलो बस सञ्चालनमा ल्याएर कमाउन खोजेको लोकप्रियताले महिला तथा सम्पूर्ण शोषित पीडितहरुको हित गर्दैन । सबै उत्पीडित तथा शोषित पीडितहरुको हक अधिकार ल्याउन महिला पुरुष सँगै लडेर मात्रै सम्भव छ । केही महिलाहरुले निलो बसमा चढ्न पाएकै आधारमा महिलाका सबै समस्याहरु सम्बोधन भएको ठान्न सकिँदैन र सरकारले शोषण उत्पीडनको अन्त्य गरेको भनेर मान्न सकिँदैन । महिलाका तमाम समस्याहरुको सम्बोधनकालागि सबै क्षेत्रका पुरुष महिलाहरुको एकता संघर्ष र सचेत प्रयत्नबाट मात्रै सम्भव छ । निलो क्रान्ति तथा निलो बसबाट महिलाका तमाम समस्याहरु समाधान हुँदैनन् । यहाँ एक नागरिकले अर्को नागरिकमाथि गर्ने उत्पीडन ,एक देशले अर्को देशमाथि गर्ने उत्पीडन, क्षेत्रीय तथा वर्गीय उत्पीडन कायम नै छ । तमाम देशहरु उत्पीडनको शिकार भएका छन्, आर्थिक शोषण, प्राकृतिक साधन स्रोत कब्जाको होड चलिरहेको छ । अहिले निलो क्रान्ति गरेकाहरुले त्यो सबै कुरालाई ओझेलमा पारेर सुशासन र भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई प्रमुखता दिएको बताएको छन् जुन क्षणिक र भ्रमबाहेक केही होइन । महिलाहरुको निलो बस पनि महिलाहरुकालागि भ्रम बाहेक केही होइन । यो भ्रमलाई चिर्न सबैले सक्दो पहल गर्नु पर्दछ । शोषण विरुद्ध एकताबद्ध संघर्षको खाँचो छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित